कला

भरोसा

लघुकथा

पण्डित चेतनारायणको छोरा ८ वर्षपछि घर आउने कुराले परिवार निकै ख़ुशी छ। ग्रीनकार्ड पाएर आउँदै गरेको छोराप्रति गर्व छ दुवैलाई।

कृष्णलाई लिन एयरपोर्ट पुगेका चेतन र  सृजना छोरा कृष्णलाई देख्दा भगवान् कृष्णको रूपजस्तो देखिए।

 – सर्लक्क परेको जिउडाल , गोरो अनुहार र रसिलो ओठ । अहो कति सुन्दर !  दुवै मुखामुख गरे । 

सबै घर फर्किए । कृष्णको बिहेको कुरा चलिरहेको थियो । फेसबुकबाटै केटाकेटीको कुरा भएकाले बिहे छिट्टै भयो । केही दिनको नेपालको बसाइपछि छोराबुहारी विदेश पठाएर बुढाबुढी घरमा बसेका थिए।

छोराबुहारी गएदेखि सम्पर्कमा पनि टाढा हुँदै गए । बाबुआमाको खासै वास्ता गरेनन् । बाबुआमाले  फोन गर्दा व्यस्त छौ पछि गर्छौं  भन्दथे । बाटो हर्दा हप्तौ सकिन्थ्यो । तर, चेतन र सिर्जना दुखी हुन थाले । चेतनले छोराबाट आशा नगर्न  सिर्जनालाई आग्रह गरे।

चिन्तै चिन्ताले चेतन बिरामी परे । उनी यस संसारबाट सधैको लागि बिदा भए । बाबुको काजक्रिया गर्न आएको  छोरालाई सिर्जनाले  बाबु म कसरी बस्ने  तिमीहरू फर्केर आऊ नत्र म पनि जान्छु भनिन्।

बाबाको वर्ष दिनको काम सकेर लैजान वचन दिएर कृष्ण विदेश  फर्कियो । दिन बिते । वर्ष दिनको काम सकियो ।आमालाई घर बेच्न लगाएर पैसा सबै आफ्नै खातामा राख्यो ।

भोलि अमेरिका जाने तर सिर्जनालाई बुढाको सम्झनाले सतायो । उता अर्को कोठामा छोराबुहारीको गुनगुन आवाज़ सुनेर ऊनी ढोकानिर गइन् । दुवैको रहस्यमय कुरा बुझेर रोइन् ।

सबै एयरपोर्ट पुगे । केही समयको प्रतीक्षा कक्षको बसाइपछि कृष्णले आमालाई यहीँ  बस्न कतै नजान भन्दै आफूहरू टिकट लिएर आउने बतायो।

कृष्णसंगै आमा उठेर बाटो छेक्दै भनिन् – बाबु त्यो सम्पत्ति सबै तेरै त  थियो । तैले बेचिस् । यदि तैले भनेको भए मैले मेरो नामको सम्पूर्ण जेथा बेचिदिने थिएँ । तेरो बुबाले अन्तिम समयमा बानेश्वरका दुइटा घडेरी र तिलौरीको १५ कट्ठा खेत कसैलाई नभन्ने सर्तमा मेरो नाममा गरिदिनुभएको थियो।

 – तेरो व्यवहारले हामी पहिला नै सचेत थियो । म विदेश जान हैन । तँलाई बिदा गर्न आएकी हुँ ।  तँ  जा , सुखद यात्राको कामना । तेरा  लोग्नेस्वास्नीका कुरा मैले सबै सुनेकी थिएँ । मेरोजस्तो सन्तान भगवानले कसैलाई नदेउन्   भन्दै सिर्जना ऑसुका भेल बगाउँदै फर्किन् । कृष्ण र उसकी पत्नी निःशब्द  टोलाइरहे ।

प्रकाशित: २ फाल्गुन २०७७ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App