कला

पुस्तक चर्चा - कोको पहाडमा भोको यात्री

सुटकेसको चाबीको साँचो जनैमा बाँधेको रहेछु। जापानी एयरपोर्टभित्रका सुरक्षाकर्मीको टोलीले हाँस्दै मलाई भित्र पठायो। त्यहाँ भित्र छिरेपछि चिनियाँ साथी रूवानको कुरा सुन्दा त म तीनमात्र होइन पन्ध्र छक परें। हाते झोलामै उसले चक्कु राखेको रहेछ स्याउ काट्न सजिलो हुन्छ भनेर। स्क्यानरले त्यत्रो चक्कु फेला पारेन। मेरो जनैमाथि त्यत्रो आक्रमण। हरे शिव ! मेसिनले पनि गरिब देशकालाई मात्रै खेद्ने ! ‘कोको पहाडमा भोको यात्री’ नामक नियात्रा संग्रहका लेखकले विदेश यात्राको क्रममा भोगेको एक रोचक अविस्मरणीय प्रसंगबाट पुस्तकको समिक्षा सुरु गरौं।  

नेपाल सरकारको प्रशासनिक निकायका थुप्रै कर्मचारीहरु विदेश घुम्छन्। उनीहरु त्यहाँको रमाइलो त्यतै छाडेर फर्कन्छन्। विदेशमा पुगेर फोटो खिच्ने, प्रसिद्ध ठाउँ घुम्ने र मिठो मिठो खानेकुरा खाएर फर्किने प्रचलन धेरैले बसालेका छन्। एकाध व्यक्तिमात्र आफ्नो भ्रमण र यात्रालाई ताजगी बनाउन सक्छन्। त्यही क्रममा  उनीहरू किताब लेख्छन्। कोही भिडियो बनाउँछन्। गायक–गायिकाले गीत बनाउँछन्। कसैले नेपाल सरकारले केही गरेन, विदशाँ यस्तो रहेछ भनेर आलोचना गर्छन्।  

विदेश यात्राको ‘प्याकेज’ सहसचिव भिष्म कुमार भूसालले लेखेको पुस्तक संग्रह ‘कोको पहाडमा भोको यात्री’ हालै पढ्ने अवसर जुर्‍यो। अन्य विधाका पुस्तक पढ्न भन्दा नियात्रा संग्रह अलि जिउँदा हुन्छन्। यथार्थपरक हुने भएकोले बढी पढ्न मन लाग्छ। यात्राहरुले अलि अलि बढी तान्छन्। यात्राका अनुभव पढ्न पाइने भएकोले छुट्टै मज्जा आउँछ। आनन्ददायी यात्रा अनुभव र मज्जा लिन सकिने पुस्तक ‘कोको पहाडको भोको यात्री’ले त्यस्तै अनुभव दिलायो। पुस्तक पढ्दैगर्दा ठाउँ–ठाउँको दृश्य आयो। अक्षरहरू जिउँदा लागे। किताबमा थुप्रै भूगोल र संस्कृति अटाइएका रहेछन्। त्यसमा समावेश गद्य एकदमै लचकदार र गहन छ, जसले मनसम्म खिच्न मद्दत पुर्‍यायो। पढ्न थालेपछि झनै खुल्दुली बनायो । अब के हुन्छ होला भन्ने खुल्दुली मनमा भइरह्याे। करिब ५ घण्टामा मैले लेखकले वर्षौं लगाएर घुमेका देशमा घुम्न पाएँ। नेपाल, चीन, जापान, युरोप, अफ्रिका र अमेरिकाकामा रमाइला ठाउँहरु बुझ्न पाएँ।  

सरस भाषा शैलीमा रचिएका पुस्तकका लाइनहरुले झन् पढुँपढुँ झै बनाइरह्यो। करिअर बनाउने क्रममा भौतारिएका व्यक्तिहरुको लागि यो पुस्तक क्याप्सुल हुन सक्छ भन्ने मलाई लाग्यो। लेखक विभिन्न घटनाका भुक्तमान भएकाले किताबमा समावेश प्रसंग अनुत्तरित लागेनन्। प्रशासन क्षेत्रका अनुभवले पनि यो पुस्तक ओझिलो बनेको होला भन्ने पुस्तक पढेपछिको मेरो बुझाई रह्यो।  किताब यात्रामा पाठकलाई सँगसँगै घुमाउन र संस्मरणको मिठो अनुभूति दिलाउन लेखकले कोशिस गरेका छन्।  

जागिर र पढाईको क्रममा विदेशका विभिन्न देश पुग्न सफल भएका सहसचिव भूसाल त्यहाँ आफूले भोगेका अनौठा, रोचक र स्मरणीय अनुभवलाई पुस्तकमा खिच्न सफल भएका हुन्। विदेश भ्रमणको शिलशिलालाई अक्षरका पानामा साँची राखेका छन्। आफूले विदेशमा देखेका र भोगेका अनौठा पक्ष अरुलाई बाड्न उनले नियात्रा संग्रह ‘कोको पहाडमा भोको यात्री’ नियात्रा संग्रह प्रकाशन गरेका हुन्। नियात्रा संग्रह केही महिनाअघि मात्रै सार्वजनिक भएको थियो। विभिन्न मुलुक घुम्ने अवसर पाएको एउटा साहित्य प्रेमी कर्मचारीले कसरी संसार घुम्छ र उसले त्यहाँ के के देख्छ भन्ने कुरा यो पुस्तक पढेपछि थाहा हुन्छ। लेखकले आफ्नै पारामा भ्रमणको अनुभव अक्षरमा उतारेका छन्। यो पुस्तकमा कैयौं देशको सांस्कृतिक र जीवनशैलीको चर्चा पनि पढ्ने क्रममा भेटिए।  

पुस्तकले विदेश पुग्दै नपुगेका मानिसलाई अक्षरको माध्यमबाट विदेश पुर्‍याउँछ। कहिले रेलको यात्रा गराउँछ, कहिले टे«न त कहिले हवाईजहाजको। अनि नेपालमा नभएका र त्यहाँ भएका ऐतिहासिक र रमाइला पक्षको सचित्र गर्छ। चीनदेखि अफ्रिकासम्म र अमेरिकादेखि युरोपका विभिन्न देशसम्म नेपालीहरुले गरेको पौरख, सम्बन्धित देशका जनजीवन र संस्कृति यो पुस्तकमा अटेका छन्। कतै–कतै नेपालका प्रसंग पनि गाँसिएका छन्। साथै पुस्तकमा विदेशी प्रशासनिक निकायको व्यवस्था पनि फाट्ट फुट्ट पढ्न पाइन्छ। विभिन्न देशका भाषा कला संस्कृतिहरुलाई एउटै आवारणमा उतार्न खोज्नु कृतिको राम्रो पक्ष हो। यद्यपी यस पुस्तकले विदेशी स्थानको वर्णन गरेको छ। राम्रो कुरा देख्न र भोग्न त विदेश नै पुग्नुपर्दो रहेछ भन्ने भाव पुस्तक पढेपछि उब्जिन्छ। बन्द कोठामा बसेर पुस्तक पढ्दा भ्रमण गरेझै अनुभव दिलाउनु पुस्तकको अर्को विषेशता हो। पुस्तकमा छोटा छोटा अनुच्छेद, कौतूहल जगाउने शीर्षकहरू र भाषाको सुशीलता छ। डा. भूसालद्धारा लिखित यो दोस्रो साहित्यिक कृति हो। यसअघि उनको कविता संग्रह ‘पहाड उचाल्ने परेलाहरु’ प्रकाशन भइसकेको छ।

कृतिको नामः कोको पहाडमा भोको यात्री

लेखकः भीष्मकुमार भूसाल

मुल्यः ३५०

पेज संख्याः २१०

प्रकाशकः हुमा भूसाल/सरिता वेल्वासे

प्रकाशित: १ फाल्गुन २०७७ ११:५८ शनिबार

कोको पहाडमा भोको यात्री पुस्तक चर्चा भीष्मकुमार भूसाल