कला

एउटा भ्रम अनि हाम्रो यथार्थ

कविता

इतिहासको कालो रातभित्र  

निस्सासिरहेछ वर्तमान समय

तर, हामीलाई गर्व छ हाम्रो इतिहासमा  

हामीले इतिहासमा नहारेको त कहाँ हो र

तर कहाँ बुझाइयो र मौलिक इतिहास  

यथार्थलाई भत्काइयो  

तथ्यहरू बङ्गाइयो

र तयार गरियो एउटा ठेली

सबैलाई घोकाइयो हामी वीर गोर्खाको सन्तान  

इतिहासमा हार्नु परेन  

र त हाम्रो अहंकारको पहाड

चुलिएर सगरमाथाभन्दा उच्च भयो

छेकिदियो गतिशील पाइलाहरू  

अनि कसरी चुम्न सकिन्थ्यो र

प्रगतिको नयाँ आयामहरू  

 

इतिहासले हामीलाई दास नबनाएको कहाँ हो र

तर पनि भनियो हामीले कसैको गुलाम बन्नु परेन

अभिभावकहरू अरूको गुलाम बनेकाले

सन्तानको भविष्य कोर्न बिर्सिए

वर्तमानमा रमाउन आदत भएकाले

आउने दिनको सुन्दर रुपरेखा तयार गर्ने  

योजना नै आएन

एउटा पुस जाँदैमा जिन्दगीको जाडो सकिँदैन

यो कुरा बुझेको भए  

अहिले किन हुन्थ्यो र हाम्रो यो दुर्गति

के इतिहास एउटा गर्व मात्र थियो,शिक्षा थिएन

के हामीले लेख्नु पर्दैन र नयाँ इतिहास

वर्तमान युगप्रति हाम्रो कुनै उत्तरदायित्व छैन

यस्ता धेरै विषयहरू  

अन्नुत्तरित सवाल बनेर सैलुङ्ग पहाडझैँ

उभिएको छ हाम्रोसामु  

तर हामी

समयले दिएको अभिभारा बिर्सिएर  

पुर्खाहरूको विरासतको सिरानी हालेर  

निदाइरहेको छौँ चिरनिन्द्रामा  

र निदाइरहेछ हामीसँगै यो युग ।

प्रकाशित: १ फाल्गुन २०७७ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App