कला

नेपाली कलामा प्रेमभाव

कलाकारको कलामाथि प्रेम जागेन भने सम्भवतः कला नै अपुुरो हुन्छ। कला पूरा हुन नसक्नुले उनलाई पीडाबोध भइरहेको हुन्छ। राम्रो–नराम्रो आफ्नो सिर्जनालाई जतनसँग राख्नु त्यसै पनि मायाको द्योतक हो। भनेजस्तो प्रतिफल नदेखिएपछि ऊ र क्यानभासको एक–अर्कालाई माया गर्ने क्रम बनिरहेकै हुन्छ। एउटा उदाहरण हेरौँ, अमूर्त–कला बनाइरहेका कलाकार जब क्यानभासको अथाह चित्रपटमा रङ बगाइरहेको हुन्छ, रङहरूसँग खेलिरहेको हुन्छ, सकिएजस्तो देखिने उनका चित्र सकिएको हुँदैन। अवलोकन गरिरहेका मान्छे उदेक मानेर भाग्न खोज्छन्। कलाकार भने मस्त भएर तन्मयका साथ लागिपरिरहेकै हुन्छ। उसका तुलिकाघात फरक–फरक रङ बोकेर कुद्दै र उफ्रँदै गरिरहेका हुन्छन्। तुलिका नाचेकोजस्तो देखिन्छ। अनन्त सागरमा डुबुल्की मार्दा किनारा नै नभेटेझैँ गरी, अनन्त रूपमा दोडेको दौड्यै, कुदेको कुद्यैजस्ता देखिँदादेखिँदै स्खलित भएर एउटा बिन्दुमा पुग्छ। तत्पश्चात कलाको अन्त हुन्छ। वा, कलाको जन्म हुन्छ। त्यति नै बेला कलाकारमा चरमोत्कर्षको आनन्दानुभूति हुन्छ। उल्लास र उमंग हुन्छ। ऊ आनन्दविभोर भएर विश्व नै जितेजस्तो हुन्छ। सम्भवतः यो उसको कलामाथिको अथाह प्रेमभाव हो। 

सिन्धुघाँटी सभ्यतामा युगल जोडीका देवीदेवता पाइएका छैनन्। त्यतिवेलाको लोककलामा पनि यस्ता कला पाइँदैन। दक्षिण एसियाको कलाको विकासको मूलस्रोत नै सिन्धुघाँटीको सभ्यता मानिन्छ। यसर्थ पनि सम्भवतः दक्षिण एसियाको कलाका स्कुल क्याम्पसमा सिन्धुघाँटीको सभ्यतालाई अध्ययन गर्नैपर्ने विषयवस्तुको रूपमा राखिएको पाइन्छ।

सन् ४० को दशकको उत्तरकालमा अमूर्त अभिव्यञ्जनावादी केमा विश्वास गर्थे भने कला कहिले पनि पूरा हुँदैन। मात्र कहिलेकाहीँ कलाकारले थकाइ मार्छ। अस्थायी रूपमा कला सकिएजस्तो हुन्छ। सकियो भनेर छाडेको चित्रकला केही महिनापछि, वर्षपछि पुनः यसैमा तुलिकाघात कुद्न सक्छन्। अनि पुनः नयाँ संयोजन, नयाँ मोटिभका साथ नयाँ स्वरूपमा जन्मन सक्छन्। सधैँ आफैँसँग राखेर मनपरेको वेला खेलिरहनपर्ने, अझभनौँ माया गरिरहन मनपर्ने, छोड्न मन नलाग्ने कला सिर्जनाको यो अनौठो लाग्ने प्रक्रियाभित्रै पनि यथेष्ट माया लुकेको हुन्छ। अमूर्त अभिव्यञ्जनाका प्रयोक्ता ज्याक्सन पोलक यसरी नै रङलाई माया गरी खेलिरहन्थे। उनलाई तुलिका चाहिँदैनथ्यो। ठूला–ठूला क्यानभासमाथि आफू उभिएर क्यानभासमाथि यता र उता डुल्दै ठूला–ठूला डब्बाबाट रङ खन्याउँदै जान्थे। खन्याउँदा खन्याउँदै कहिले क्यानभासमाथि खेलेजस्तो गरी रङ पोखाउँथे। जब मनले सकियो भन्छ, अनि उनको कलाको सिर्जन–प्रक्रियाको यही नै अन्त हुन्थ्यो। उनी एक्सन पेन्टरको नामले चर्चित पनि भए। यो उनको कलामाथिको अर्कै प्रकारको माया थियो।  

युगल–जोडीमा मात्र स्पष्ट मायाभाव देखेका सामान्य भावकलाई यो कला सिर्जनाको प्रक्रियालाई महसुस गर्न गाह्रो हुँदो हो। तथापि भावक पनि कलालाई अवलोकन गरिरहँदा एक प्रकारको कलामाथि प्रेमभाव दर्शाइरहेको हुन्छ। घन्टौँसम्म कलाको अगाडि उभिइरहनु, एकटकले कलामाथि अड्किरहनु पनि दर्शकको कलामाथिको पे्रमभाव नै हो। पेरिसमा रहेको लुभ्रे कला म्युजियममा कडा सुरक्षाका साथ रहेको भिन्चीको ‘मोनालिसा’माथि दर्शक आशक्त थिए। केही घटनाले यसको चरितार्थ गर्छ। यसबारे किसिम–किसिमका कहावत सार्वजनिक भएका छन्। बुलेट प्रुफ ग्लासभित्र लुकेर बसेको मोनालिसालाई कसैले छोइदिन्छन् कि भनेर अगाडि निश्चित सीमासम्म बार राखिएको छ। तर, यसै चित्रवरिपरि दर्शकको ठूलो भीड हुन्छ। मोनालिसाको चित्रअगाडि भावक मन्त्रमुग्ध भएर टोलाएर बस्छन्। घन्टौँसम्म त्यो एउटा सामान्य महिलाको व्यक्तिचित्रलाई हेरेर बसिरहन्छन्। सामान्य एउटा महिला चित्रमा परिणत भइसकेपछि अचानक भावकमा माया उम्रनु, आफैँ पनि मान्छेभन्दा निर्जीव चित्रमा उनको माया बस्नु हो। अनि, आफैँसँग राख्नलाई लाखौँ डलरमा किनेर ठूला–ठूला म्युजियमको वातानुकूल कोठामा सजाएर राख्नु आफैँमा पनि कलाप्रति गहिरो माया देखाएकै हो। वा, महँगोमा किनेर आफ्नै कोठाभित्र राखेर सदैव आँखा पर्ने ठाउँमा राखिराख्नु पनि चित्रमाथिको प्रेमभाव नै हो।  

एउटा हावामा उड्दै आएको कथा के छ भने, उनी पागल थिए भन्छन्। यसो भन्दा पनि मूलतः उनको मानालिसा माथिको प्यार अनन्त सागरजस्तो थियो होला। उनी हरेक दिन लुभ्रे म्युजियममा जान्थे रे। मोनालिसाको अगाडि घन्टौँ बसिरहन्थे। आँखा झिमिक्क नगरी एकटक लगाएर मात्र हेरिरहन्थे। सम्भवतः कसैलाई वास्ता नै नगरी रस स्वादन गरिरहन्थे होला। म्युजियम बन्द भएपछि उनलाई बाहिर निकालिन्थ्यो। चुपचाप बाहिरको मूलढोकाको छेउकै सिँढीमै सुत्थे। कठ्याङ्ग्रिएर बाहिर सुते पनि भोलि म्युजियम खोल्नेबित्तिकै पुनः मोनालिसाको अगाडि पुगेर टोलाउन पुगिहाल्थे। यो उनको कस्तोखाले अटूट माया थियो, मानोलिसा माथि ! अझै लेखाजोखा हुन सकेको छैन रे।  

नेपाली परम्परागत कला पौभा वा थाङ्का आठ–दश वर्ष लगाएर पनि सकिएको हुँदैन। जीवनको आधा समय बिताएका हुन्छन् कलाकारले, मात्र एउटा चित्र तयार गर्न। मोटा लेन्स लगाएका कलाकार अति सूक्ष्म तुलिकालाई दिनभरि, रातभरि खेलाएर अति लोभलाग्दा देवी–देवताका आकृति बनाउँछन्। झिमिक्कै आँखा नबिसाएर निरन्तर ध्यान गरेजस्तो गरी नितान्त शान्त कोठामा सकेसम्म एक्लै बसेर अर्थात् एकान्तमा बनिरहेको उनको चित्र उनको मायाले गर्दा नै अनुपम बनेको हुन्छ। राम्ररी फुर्सद नभएर रोकिँदैै बनाउँदै गरेर भने पनि त्यो कलामा उनको सामीप्यता भइरहन्छ। सम्भवतः यो उनको न्यानो पे्रम हो, उनैको कलामाथि।

प्रेमको अर्थ  

प्रेमको अर्थ सामान्य हिसाबले माया गर्नु हो। अनुराग, प्यार–प्रीति, मनपरेको वस्तु वा सधैँ आफैँसित मात्र भइरहोस् भन्ने वा आफ्नै साथमा मात्र रहिरहोस् भन्ने मनोवृत्ति हो। प्रेमी, प्रियसीजस्ता अनेकौँ नाम र उपनामले यसको व्याख्या भएको देखिएको छ। अझ खुलस्त भएर भन्नुपर्दा, कला बनाउने भनेको रङ र क्यानभाससँग पे्रम गर्नु पनि हो। घन्टौँ, दिनभरि वा महिनौँसम्म ध्यानमग्न भएर कला बनाइराख्नु यसप्रति पे्रम नभएर के हो त ? पे्रमको अर्थ धेरै ठाउँमा अलग–अलग हुने गर्छ। प्रेमको भाव मात्र सेक्ससँग गाँसेर आउँदैन। सेक्सको भाव भने एक अलग्ग प्रकारले कलामा देखापरेको छ। कलाप्रति गरिने प्रेम र प्रेमभाव देखाउन गरिएको कला सम्भवतः अलग–अलग हो। कलाकारले विषय छान्दा पनि कलामा प्रेमभाव रहे वा नरहेको कुरा हेर्न सकिन्छ। सामान्यतः युगल–जोडी, भाव, अभिञ्जना, निश्चित आसन आदि–इत्यादिबाट पे्रमभावको उद्घोष हुन्छ होला। पछि यसैको उत्कर्षको बिन्दुको रूपमा यौनक्रीडाका रूपमा पनि कल्पना गरिन्छ होला। कलामा न्युड स्टडी नयाँ होइन, हरेक कलाकारले अभ्यास गरेको बखतमा यस्ता हरेक क्षेत्रलाई आत्मसात गरेरै जानुपर्छ, तथापि यता पछिल्लोकालमा आएर खास अर्थका साथमा नारी या पुरुषका गुप्तांगलाई केन्द्रबिन्दुमा राखेर पनि एक अलग अभिव्यक्ति हुन थालेको छ।  

भौतिक रूपमा देखापरेको प्रेमभाव  

नेपाली कलामा भौतिक रूपमै मूर्ति या चित्रमा देखापरेको पे्रमभाव भने मूलतः धार्मिककला र लोककलामा देखापरेको छ। पछि गएर समसामयिक कलामा पनि यसैको प्रतिविम्बका रूपमा देखापरेको छ। ब्रामिनिकल धर्म र यसैको आधारमा बनेका मूर्ति आधिकारिक रूपमा पाइएका छैनन्। चित्रकलाको सन्दर्भको कुरा त आधिकारिक रूपमा निकै पछि देखापरेको हो। इसापूर्व मौर्यकाल वा यसपछि देखापरेको कुषाणकालमै पनि यस प्रकारका प्रेमभावका सन्दर्भ देखापर्दैन। यसो हुँदा यसबखत यस्ता प्रेमका सन्दर्भ देखापरेको थियो वा थिएन, यकिनसाथ भन्न सकिन्न। किनकि सिन्धुघाँटी सभ्यतामा युगल जोडीका देवीदेवता पाइएका छैनन्। त्यतिवेलाको लोककलामा पनि यस्ता कला पाइँदैन। दक्षिण एसियाको कलाको विकासको मूलस्रोत नै सिन्धुघाँटीको सभ्यता मानिन्छ। यसर्थ पनि सम्भवतः दक्षिण एसियाको कलाका स्कुल क्याम्पसमा सिन्धुघाँटीको सभ्यतालाई अध्ययन गर्नैपर्ने विषयवस्तुको रूपमा राखिएको पाइन्छ।  

विशेष गरेर भारतमा गुप्तकालमा जब हिन्दू धर्मको पुनरोत्थान भयो। भक्तिभावका अवधारणालाई द्रूत गतिमा बढाउने काम भयो। भक्तिभाव भनेको आफैँ पनि भगवान्प्रति प्रेम हो। हिन्दू धर्मको मूलमन्त्र नै सबैले सबैलाई प्रेम गर्नु भन्ने देखिन्छ। यसर्थ पनि भक्तिमार्गको सहजताका लागि अनेक देवी–देवताका मूर्ति बनेका देखिन्छन्। हिन्दु धर्ममै पनि शाक्त धर्मभन्दा शैव र वैष्णव धर्मको बोलबाला धेरै थियो। यसअघि बौद्ध धर्ममा पनि बुद्ध र बोधिसत्वका सन्दर्भ बढी आएका देखिन्छन्। नारी मूर्तिहरू पछि देखापरेका हुन्। हुन त सिन्धुघाँटीमा प्राप्त मूर्तिलाई देवीको रूपमा पनि परिकल्पना गरिएको छ। तथापि यसलाई धर्मसँग दाँजेर हेर्न नसकिएको र नारीको मूर्ति मात्र देखिन आउँदा लोककलाको रूपमा पनि यसलाई व्याख्या गरिएको छ। यस बखत पनि नारीको मूर्तिचाहिँ बन्दो रहेछ भन्ने देखिन्छ। यी देवता पनि एक्लाएक्लै बनेका देखिन्छन्। अझ अर्को सन्दर्भ भने यस बखत बनेका यस्ता देवताका मूर्ति सादगी, सरल, सौम्य, कोमल रूपमा चित्रित भएको देखिन्छ। कामुक यौनजन्य कला यस बखत देखिँदैन। यसो हुँदा मूलतः देवीहरूलाई देवता नजिक राखेर प्रेमभावको सम्प्रेषण भएको नदेखिनु नौलो कुरा भएन।  

सुरुको कालदेखि नै नेपाली कला भारतीय कलाको गहिरो प्रभावमा विकसित भएको छ। विद्वान्ले नेपाली प्राचीन कला र भारतीय कलाको तुलनात्मक रूपमा धेरै अध्ययन गरेका छन्। अनि, हाम्रो छिमेकी मुलुक पनि भएका कारण हाम्रा कलाको कुरा गर्दा भारतको कुरा उठाउनु सान्दर्भिक नै देखिन्छ। नेपालकै सन्दर्भमा लिच्छवि वंशका इसाको पाँचौँ शताब्दीका राजा मानदेव प्रथमबाट मात्र नेपालको आधिकारिक इतिहास सुरु भएकाले हामी आधिकारिक रूपमा यहीँबाट कलाका कुरा पनि भन्ने गर्छौं। यसभन्दा अगाडिको किरातकालका कला किंवदन्तीका आधारमा व्याख्या भएको छ। लिच्छविकालमा पाइएका कलाको विशेषताभन्दा फरक देखापरेको र यी कला कुषाणकालका कलासँग मेल खाँदा विद्वान्ले यस बखतका कलालाई किरातकालीन भनेर ठहर गरेका थिए। यस बखत पाइएका मूर्तिकलामा पनि युगल जोडी मूर्ति पाइएका छैनन्। अझ यौन क्रीडारत मूर्ति त कुरै भएन। लिच्छवि राजाहरू मूलतः वैष्णव वा शैव धर्मलाई मानेर अगाडि बढेको देखिन्छ। यसअघिका किराती राजा भने शैवधर्म वा पशुलाई आराध्यदेव मान्ने गर्दथे। पशुलाई मान्ने क्रमबाटै पशुपतिको उद्भव भएकाले किरातीहरू शैव धर्म मान्दथे भन्ने देखिन्छ। पछिल्लो कालमा आएर लिच्छवि राजाले वैष्णव धर्म बढी माने पनि पशुपति सबैको महत्वपूर्ण देवताको रूपमा चर्चामा आएको देखिन्छ। यसपछि भने देवताका युगल जोडी देखिन थालेको हो। यहाँनेर हरेकजसो राजाले युगलको रूपमा देवीहरूलाई राखेका छन्, वा अलग अलग रूपमा पनि देवीको चित्र वा मूर्ति बनाएका छन्, तर शाक्त धर्मलाई मात्र मानेर अगाडि बढेको देखिँदैन।  

मूलतः हरेक देवताको मूल शक्तिको रूपमा देखापरेर देवीहरूको प्रादुर्भाव भएको छ। महादेवले संहार गर्ने सन्दर्भमा देवीको उत्पत्ति गरेर अहंकारी राक्षसलाई विनाश गरेका छन्। महादेवबाटै सिर्जित अति उग्र रूपमा महाकालीको उत्पत्ति भएको देखिएको छ।  

महिषासुर भन्ने राक्षसलाई मारेको सन्दर्भ छ। यसै विषयमा धेरै चित्र वा मूर्ति पनि बन्ने गरेको छ। युगल जोडीकै रूपमा भने यसपछि विशेष गरेर हिन्दु धर्ममा गौरी–शंकर, उमा–महेश्वर, शिव–पार्वतीदेखि वैष्णव धर्ममा राधाकृष्ण, रामसीता आदि प्रचुर मात्रामा देखिन आएको थियो। शेषनागमाथि मस्त रूपमा सुतिरहेका विष्णु भगवान्का गोडानजिक लक्ष्मीलाई विराजमान गराइनु आदि देखिन्छ। स्वभावतः यसैको आधारमा यस्ता मूर्ति र चित्र प्रशस्तै बनेका छन्, जहाँ प्रेमभावको आभास स्पष्ट रूपमा देखापर्छ। यी चित्रमा यौनक्रीडारत उत्तेजित मूर्ति वा चित्र देखिँदैन। यस्ता वैदिक देवीदेवता शान्त र सालिन युगल जोडीका रूपमा देखिन्छन्। निश्चल प्रेमभाव देखिन्छ।  

विशेष गरेर वैदिक कला र तान्त्रिक कलामा अलग अलग रूपमा मूर्तिमा प्रेमभावको सन्दर्भ देखापर्‍यो। पछि आठौँ शताब्दीतिर बौद्ध धर्ममा वज्रयानको प्रवेशपछि बनेका अधिकांश मूर्ति वा चित्रमा प्रेमको सन्दर्भ अझ गहिरिएर देखापर्‍यो। मूलतः वज्रयानका धर्म पण्डितले निर्देशन गरे अनुसार बन्न गएको मूर्तिमा प्रेमभावका साथसाथै यौनका कुरा अझ विशेष गरेर प्रवेश गरेको देखिएको छ। नारीको अपरिहार्य उपस्थितिको बोध हुन गएपछि शक्तिशाली देवीहरू प्रादुर्भाव हुने अझ बढी रूपमा देखिन्छ। समाजमा नारीको अस्तित्व र सेक्सलाई शक्तिको मूल आधारका रूपमा परिकल्पना गरिएको छ। यसर्थ यो धर्मका दर्शन र क्रियाकलापमा पनि फरक ढंगबाट परिमार्जन भएर आयो। यसैले वज्रयानमा तन्त्रकलाको विकास भयो। पछि हिन्दुधर्ममा पनि यो तन्त्रकलालाई विशेष ध्यान दिँदा यस्ता सेक्सका देवी–देवताका जोडीका चित्र खुबै बनेको देखिएको छ। समाजको सोच–व्यवहार परिवर्तन हुँदै गएपछि धर्म र कलाको स्वरूप पनि यसैअनुसार पहिलेभन्दा फरक ढंगबाट परिवर्तन हुँदै गए। भगवान्लाई गरिनुपर्ने भक्तिभाव, पूजाआजा र धार्मिक विधि–विधानमा परिमार्जन हुँदै आए। विशेषगरी भक्तिमार्गलाई आवश्यक हुने देवीदेवताका चित्र वा मूर्ति पनि त्यसैअनुसार भएको देखिन्छ। यौनक्रीडाको आवश्यकता र यसैमा शक्तिको सन्दर्भ देखापर्दै गएपछि यसैअनुसार चित्र वा मूर्ति बन्न गएको देखिन्छ। स्वभावतः आलिंगनमा आबद्ध देवीदेवताका जोडी देखिनु नौलो भएन। आलिंगनका साथसाथै यौनक्रीडाका विभिन्न आसन, प्रेमभावका आसन र अभिव्यञ्जना जताततै कलामा देखापरेको हो।

लोककलामा सामाजिक क्रियाकलापका साथसाथै धार्मिक अवयव पनि चित्रित गरिएका हुन्छन्। मानवको दिनचर्यासँग गाँसिन आएको यौनक्रीडा अनिवार्य क्रियाकलापका रूपमा गाँसिन आएको छ, मैथिली लोककलामा यसका लागि कोहवरको विशेष परिकल्पना गरिएको छ। यसमा नवदम्पतीको प्रेमभाव चीरकालसँग भइरहोस् भन्ने चाहना राखिएको हुन्छ। यसको साथै पूर्ण पे्रमभावका साथ सहवासको परिकल्पना भएको हुँदा शयनकक्षको वरिपरि यसै प्रकारका चित्र टाँगेर राख्ने प्रचलन छ। व्यवहार र स्वभावमा एकआपसबीच प्रतिकूल अवस्थाको सिर्जना नहोस् भन्न पनि अनुकूल वातावरण बनाउने चेष्टा रहेको हुन्छ। यस्तो वातावरण बनाउन लोककलाको भूमिका हुन्छ, जसमा सुहागरातमा रमाइला विभिन्न कार्यक्रम गर्ने अभ्यास भएको देखिन्छ। आममान्छेको युगल जोडीलाई यसरी देवीदेवतासँग जोड्ने परम्पराले गर्दा यस्ता चित्र चीरकालसम्म मात्र रहेनन्, अमर भएको देखिएको छ। अहिलेका मैथिली चित्रमा सेक्सलाई यसरी देखाउनुभन्दा बलात्कारको सवाललाई सामाजिक मुद्दाका रूपमा उठाउँदै बन्ने गरेको छ। यो अलिकति अर्कै सन्दर्भ हो, तैपनि दुवैतिर सेक्सकै कुरा छ।  

पश्चिमी कलाको शैलीले नेपालमा प्रवेश गरेपछि तेस्रो आयामिक चित्र बढी बनेको देखिन्छ। यही शैलीमा बनेका युगल जोडीका चित्र बनाउने प्रचलन नेपालको कला इतिहासमा पूर्वआधुनिक कालमा निकै मात्रामा देखापरेको थियो। यस बेलाका यस्ता चित्र नेपाली विषय र पश्चिमी कला पद्धतिमा बनेको देखिन्छ। यसै अनुसार विकास भएको हुँदा यसले एक अलग्ग शैलीको आयाम खडा गरेको देखिन्छ। आकारमूलक यस्ता कला कलाकारले भर्खरभर्खर आफ्ना मनका भावलाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुपर्दा बनाउने गर्थे। यसअघिका यथार्थवादी चित्र वा वस्तुवादी मूर्तिको दबदबा रहेका वेला यस्ता चित्र पनि एक प्रकारले नौलो नै लाग्थ्यो। यसअघि स्वच्छन्दवादी, शास्त्रीय वा नवशास्त्रीयता कलाको शैलीमा बन्ने गरेको थियो। पछि यो प्रचलन त्यति मात्रामा देखिएन। कलाकार माया–प्रेमभन्दा पनि प्राविधिक कुराले बढी मात्रामा थिचिएका कला निर्माण गर्न थाले। यसपछिका दिनमा आधुनिक कला, यसमा पनि अमूर्तकला शैलीको बढी दबदबा रह्यो। यस बेलाका कलालाई पूर्णतः पश्चिमी कलाको गहिरो प्रभाव मात्र होइन, कतिले त नक्कल समेत भन्ने गरेको पाइयो।  

हुन त यसै बेला पनि आधुनिक कलाको शुभारम्भका बेला एउटा बलियो स्तम्भ मानिएका चित्रकार उत्तम नेपालीले सम्भवतः पहिलोपल्ट नेपाली कलामा रहेको युगल सेक्सको सन्दर्भ कलामा उठाएका थिए। यही विषयलाई लिएर उनले टुँडालमा रहेको काष्ठकलालाई मूल पात्रको रूपमा लिएका थिए। सन् १९६९ मा ‘टुँडाल एट्राक्स मी’ नामक उनको चित्रकला शृंखलामा अर्ध अमूर्त शैलीमा सेक्सलाई पुनव्र्याख्याका साथ प्रस्तुत गरेका थिए। यौनबिना हामी सम्भव थियौँ ? सत्य–सौन्दर्यका लागि कलाकार यौनचित्र बनाउँछन्, नग्नता नै अश्लील सत्यता हो जस्ता दरिलो विचारका साथ यौनजन्य विविध खालका चित्र उनले बनाएका थिए। यस्ता कलाको एउटा कला चित्रमालाको रूपमा एकल प्रदर्शनी नै गरेका थिए। यो चित्रकला प्रदर्शनी धेरै कुराले चर्चित बनेको थियो। यस्तो विषयमा यसअघि कसैले पनि यसरी एकल कला प्रदर्शनी गरेका थिएनन्। यसरी चित्रमालाको अवधारणा आएको थिएन, कसैबाट प्रयोग भएको पनि थिएन। यस्ता विषय अरू कसैले लिएका थिएनन्। अर्को महत्वपूर्ण कुरा, यौनक्रीडामा मस्त रहेको नेपालको मौलिक परम्परागत कलालाई पुनव्र्याख्या उनैका समकालीन कलाकारले गर्न भ्याएका थिएनन्।  

पछिल्लोकालमा युवा कलाकार अमूर्त शैलीबाट हटेर आकृतिमूलक काममा बढी आकर्षित भएका छन्। यो अहिले आएर अन्तर्राष्ट्रिय लहर पनि हो। नितान्त भावनामा डुबुल्की मारेर मायाको प्रसंगलाई उठाउन खोजेका छन्। यसैलाई विषय बनाएर दुई–चारवटा काम अरूले पनि गरेका छन्, तर नितान्त यसैमा लागेर युगल जोडीको सिरिज नै बनाएर अगाडि बढिरहेको कलाकारको रूपमा सबैभन्दा अगाडि कलाकार सविता डंगोल देखापरेकी छन्। मूलतः उनी सशक्त रूपमा देखापरेकी युवा भिजुअल कलाकार हुन्। उनको पर्फमेन्स कलामा पनि राम्रो दख्खल छ। धेरै यस्ता कला अन्तर्राष्ट्रिय रूपमै उनले गरिसकेकी छन्। नेपाली पर्फमेन्स कलाको सन्दर्भ उठाउँदा थोरै कलाकारमध्ये उनको नाम पनि जोडिन आउँछ। उनी सन् २०१६ देखि नै ‘कपल सिरिज’मा काम गर्दै आएकी छन्। सामूहिक कला प्रदर्शनी र उनको एकल कला प्रदर्शनी पनि यसै विषयलाई लिएर भइसकेको छ। सवितालाई काइँयो मनपर्ने मोटिफ हो। कपालमा परेको लट्टालाई सरक्क मिलाउने सन्दर्भमा उनी काइँयोको प्रयोग गर्छिन्। 

लट्टा खुलेपछि सलक्क देखिने केशजस्तै जीवनमा घटित हुने यस्तै समस्यालाई काइँयोले समाधान गर्न सके परिवारबीच एक–अर्कामा मायामोह स्वतः बनेर आउँछ। मायाको सन्दर्भमा उनको सोच परिवार सबैसँगको माया, श्रीमान्सँगको माया, यहाँसम्म कि कोभिड महामारीका वेला प्रकृतिसँगको मायाको सन्दर्भ पनि एकै प्रकारले व्याख्या गर्छिन्। मूलतः प्रकृतिलाई माया नगरेरै कोभिड–१९ को भयावह भोग्नुप¥यो भन्ने सन्दर्भ पनि उनी निकाल्छिन्। सबैसँगको प्रेम गर्ने सन्दर्भमा संस्कृति, सम्पदा सबैसँग पे्रम गर्नुपर्छ। समझदारी र विश्वासको आधारमै जीवन सुखी हुन्छ भन्ने उनको बुझाइ छ। उनी विशेष गरेर मठ–मन्दिरको स–साना प्याटर्न लिएर डेकोरेटिभ संयोजनमा चित्र बनाउन रुचाउँछिन्। बिस्तारै ध्यान लगाएर काम गर्न रुचाउँछिन्। डुबेर काम गर्दा एक प्रकारले ध्यान गरेजस्तो पनि हुन्छ। उनलाई ठूलाठूला काम सक्न चार महिनासम्म लाग्छ।  

समग्रमा प्रेमभाव मात्र जोडीमा निहित हुँदैन, यो सर्वव्यापी छ। अझ पे्रमभावको वातावरण सबैतिर व्याप्त भयो भने समाज, राष्ट्र नै सुखी र खुसी हुन्छ।  

(लेखक कलाकार र कला समीक्षक हुन्।) 

प्रकाशित: १ फाल्गुन २०७७ ०४:४५ शनिबार

नेपाली कलामा प्रेमभाव