कला

माफ गर्नुहोस् महाशय

मुक्तक

                 १)

  गन्ध छ वरिपरि यहाँ सुगन्धको कुरा नगर अर्थहीन हुन्छ,

  तुवाँलोले ढाक्यो आकाश न्यानोको भ्रम नछर अर्थहीन हुन्छ ।

  स्वाभिमान बेच्यौ र आगो लगायौ घरमा अरू कसैको इशारामा,

  बाटाभरि छन् बल्छी बिनायोजना जघाँर नतर अर्थहीन हुन्छ।

                 २)

    पुरस्कार दिऊँ तिमी ग्रहण गर्न जान्दैनौ,

   दण्ड दिऊँ अभिमानी छौ मान्दै मान्दैनौ ।

   के दिदा चित्त बुझ्छ बरु लगेर जाऊ प्रिय,

   आशा मर्यो तिमीबाट तिम्रो रथ तान्दैनौं।

             ३)

   वाक् स्वतन्त्रतामा प्रतिबन्ध लोकतन्त्रको गुण ठान्दैछन् मुसोलिनी,

   संविधान, ऐन र कानुन थोत्रो कागजको खोस्टो मान्दैछन् मुसोलिनी ।

   अलाप्दैछन् अग्रगमन अझै सबै लाज पचिसकेको रहेछ यिनको,

   ध्वस्त पार्न सबै उपलब्धि काँचो खिचडीमा दाल झान्दैछन् मुसोलिनी।

                ४) 

       माफ गर्नुहोस् महाशय म भक्षकको दास हुन सक्दिन,

       फुलबुट्टे तर अर्थहीन हजुरको खेलौना तास हुन सक्दिन ।

       देखियो चाल ढंग, हेरियो रंगिला नाच र बुझियो राष्ट्रियता,

       फेल बनाएर देश म आडम्बरी परीक्षामा पास हुन सक्दिन।

         ५) 

   हरेश नखाऊ रामविलास कुहिरो पक्कै फाट्छ,

   मेघ गर्जन थालिसक्यो गगन सफा भएरै छाड्छ ।

   मिर्मिरे तारा झरिसके विहानीको वकल्पै छैन,

   ढुक्क होऊ प्रकाशले चाँडै बराबर उज्यालो बाँड्छ ।

प्रकाशित: २५ माघ २०७७ ०७:०१ आइतबार

अक्षर