कला

प्रताडित मन

लघुकथा

त्यस्तै साठी वर्षको हाराहारीमा दोस्रो बिहे गरे दानबहादुरले।  पाँच वर्षअघि क्यान्सरले उनकी श्रीमतीको मृत्यु भएको थियो। छोराछोरी सबै जना हुर्केर विदेशतिर उडिसकेका थिए। एक्लो जीवन जेनतेन घिसार्दै थिए। 

दोस्रो बिहे गर्ने कुनै रहर थिएन उनको। तर, आफन्तको दबाब उनले धेरै समय झेल्न सकेनन्। अन्तत उनी  बिहेका लागि राजी भएका थिए। उनी त बिहेका लागि चाहन्थे कोही विधवा या डिभोर्सी महिला, तर अविवाहित कन्या केटीहरू नै पाइए ।

बिहे पछि मान्छेहरूले खालखालका कुरा गर्न थालेका थिए। धेरै जसोले त यस्तो पिण्ड खाने उमेरको बुढाले के छोरी उमेरकी केटी बिहे गरेको होला है  भनेर खिसीटिउरी पनि गरे। सम्पत्तिको धाक देखाएर तरुनी केटी बिहे गरेको भनेर बेइज्जत पनि गरे। युटुबरले पनि भिडियोका लागि केही खुराक पाए। तैपनि उनले यस्ता सबै कुराहरू बेवास्ता गर्दै गए।

समय बित्यो। केही समयमा उनकी कान्छी पत्नीबाट छोरा पनि जन्मियो। सबैले दानबहादुर र उनकी कान्छी पत्नीलाई बधाई पनि दिए। उनका आफन्तहरू पनि खुसी थिए। तर उनी मात्र एक जना दुखी थिए। कारण उनले दश वर्षअघि नै परिवार नियोजन गरिसकेका थिए।

प्रकाशित: २५ माघ २०७७ ०५:४० आइतबार

अक्षर