कला

हत्तार

कथा

– हेलो ।

– सर ,  कहाँ आइपुग्नु भयो । कार्यक्रम शुरु हुन लाग्यो ।  

– हँ  कति बज्यो ?

– सर, साढे दस भैसक्यो । चाँडो आउनुस है । शुरु हुन लाग्यो ।

बद्री छाँगाबाट खसेझै भयो । भित्ताको घडी ८ बजेमा आएर निदाएछ । हत्तारहत्तार उठ्यो । बाथरुममा को पसेका रैछन् । निक्लीने अत्तोपत्तो थिएन । किचेनमै मुख धुन लाथ्यो । भरी पानीको मग लड्यो । “हत्तारको बेला लत्तार” पानी सोहोर्नुको दास्ती भयो । हत्तार लुगा लगाएर निक्लिन ला’थे । ढोकामा अल्झेर सर्टको टाँक खुस्क्यो । अर्को सर्ट लगाएर भरयाङमा सर्टको टाँक लगाउँदै झर्दै थिए ।

– के हो  बद्री भाइ भाडा तिर्ने बेला भएन ? अस्तिको महिनाको पनि बाँकी नै छ ।  

– ए हुन्छ दाइ । भरे नभए भोलिसम्ममा दिन्छु ।

– कहिले भेटिने होइन । भेट्दा भरे भोलि भनेर भाग्छौ । भोलिचाहिँ  जसरी पनि दिनु ।

“लगनको बेला हगन” यी घरबेटीलाई पनि ।  मनमनै भुनभुनिदै हत्तार मोटरसाइकल निकालेर हिड्न ला’थे । कालो बिरालोले बाटो काट्यो ।  एकछिन मोटरसाइकल पुच्छदै बस्यो । एकदुई जना हिँडेपछि बद्रि बाटो लाग्यो । चोक पुग्ने बेला पो थाहा पायो हेल्मेट बिर्सेछन् । हत्तार आएर हेल्मेट निकाल्यो । टिभि खुलै रहेछ । बन्द गरेर दौडियो ।  

– हेलो म आइहालें।

हत्तारमा दौडिदैथे । टेकु पुगेसी बाइक पम्चार भायो । “थुइक्क खप्पर । यस्लाई पनि आजै पड्किनुपर्ने ।  बद्रि रीसले त्रिभङ्ग भयो । यता उता हेरयो । छेउको वर्कसप बन्द रैछ ।  

– दाइ, यहाँ नजिक वर्कसप कहाँ छ ?

– ऊ त्यो भोटेबाहाल जाने गल्लीमा ।

वर्कसपमा केटो बाइक वासिङ गर्दै थियो ।

– भाइ, पम्चर बनाइदेउ न ।

– हुन्छ ।  

मोबाइलमा  हेरयो ५ मिसकल रैछ । साढे एघार भैसकेछ ।  

– भाइ, छिटो गर न ।

– एकछिन पर्खिनु न । यो सकेर गर्दिन्छु ।  

– मलाई ढिलो भयो के ।

– मैले के गरूँ त दाइ । तपाई भन्दा अगाडिको काम गर्दैछु । यो सकेर गर्दिन्छु भनेकै छु ।

एता उता हेरयो पर्खिनुको विकल्प थिएन । आधा घण्टा जति पर्खेर पम्चर बनाएपछि हत्तार– हत्तार दौडियो ।  

कालीमाटीको पुलछेउमा पानीको गाडीले बाइकलाई ठोक्काएछन् । जाममा परयो । घडी हेर्दै हुटहुटी हुदै “हैन कस्तोचाहिँ दिनमा कुन असतीको अनुहार हेरेर हिँडिएछ आज ।” भुनभुनायो ।

नेपालीहरुको कार्यक्रम प्रायः  ढिलो नै सुरु हुने गरेको सम्झेर अलि ढुक्क भयो । जसोतसो पुगिएला । मन बुझायो । यताउता हेरयो । उपाय खोज्यो । उपाया केही नास्ती । खटपट –खटपट गर्दै जाममा बस्यो । बाइकबाट लडेकालाई एम्बुलेन्समा लगे । बाइक र पानीका गाडीलाई साइड लगाएपछि करीब ४५ मिनेटपछि जाम खुल्यो । बद्रिको खुशीको सीमा रहेन । हत्तार– हत्तार दौडिदैथ्यो । बल्खु चोकमा ह्रङ्ग साइडबाट घुसेको भन्दै ट्राफिक पुलिसले समात्यो । ट्राफिक पुलिस बाइकको चाबी लिएर बिचमा गएर गाडी पास गर्दै बस्यो । बाइक साइड लगाएर बद्रि ट्राफिक पुलिसको नजिक गएर भन्यो ।

– सर, चाबी दिनुस् न । मलाई हत्तार छ ।  

– ए हो , यो काठमाडौमा तपाईलाई मात्र हत्तार रैछ है !

– मैले त्यस्तो भनेको हैन हजुर । मलाई अलि हत्तार थियो र भनेको ।

ट्राफिक पुलिसले बद्रिको कुरा सुनेको नसुनेझै आफ्नै काममै व्यस्त रह्यो । बद्रिका मनमा पहाडले किचिरहेको थियो । घडी हेरयो । एक बज्न लागिसकेको थियो । ती घडीका सुईहलाई रोकिदिऊँ जस्तो । त्यो ट्राफिक पुलिसलाई पिटपाट पारेर चाबी लिएर हुँइकिउँ जस्तो । खै केके सोच्दै बद्रि हुटहुटी हुँदैथे । लामो स्वास लियो । अलि सम्हालिएर पुनः ट्राफिक पुलिसको छेउमा गएर भन्यो – सर ।

– तपाइँ एकछिन चुप लागेर बस्नुस् । कि बाइक पठाइदिउँ बग्गीखाना । 

वकीटकी कान नजिक लाग्यो । बद्रीको मनमा झस्का पस्यो । मोराले साँच्चै बाइकै लगिदिने पो हो कि ? “स्यालले साँढेका अण्डा पर्खेझैं”  चुपचाप ट्राफिक पुलिसको मुड पर्खिनुको विकल्प थिएन । निकैबेरपछि ट्राफिक पुलिसले जरिवानाको चिट काटेर बाइकको चाबी दि

बद्रिको अनुहारमा खुसीका छालहरू उरालिए । हत्तार –हत्तार टियुतिर दौडियो । टियु गेट हुँदै उकालो लाग्यो । नेपाल बै.क छेउतिर पुगेपछि बाइक रोकियो । पेट्रोल सकिएछ । रीसको आगोले टाउको फुट्लाजस्तो भयो।

 “तेसिमा खटारा ।” बद्रिले दुई लात्ती दिएर बाइक लडायो । खुट्टा फलाममा परेछ । दुखेर तीन परान भयो । झन्डै मुत नखुस्केको ।  

“रीस खा आफू” के गर्नु जति रीस देखाए पनि अरू के गर्न सक्थ्यो र ।  बिचारा बद्रि  ओरालो बाटोमा डोहोरयाउँदै पेट्रल पम्ममा पुग्यो । पेट्रोल हालेर दौडिनै ला’थे ।  

– ओ दाइ !

– हजुर ।

– पैसा दिनु पर्दैन !

– हँ ए हे  सरी म त हत्तारले बिर्सेछु ।

पर्स खोल्यो । पचास रुपैया मात्रै रहेछ । मनमनै चूर भो आफैसँग । कस्तो बिपद । सबै कुरो आजै हुनुपर्ने ।  

– ल भाइ ।

– के भो ?

– पैसा पो रैनछ त ।  

– पहिले हेर्नु पर्दैन । पेट्रोल हालिसकेपछि पैसा छैन भन्छ । कस्ताकस्ता मान्छे आउँछन् । दिमाग खराब ।

– कसो गरुम ?

– पैसा ल्याउनुुुस् न के कसो गरुम भनेको ?  हाल्ने बेला हेर्नु पर्दैन ।  अहिले ल्याङ्गल्याङ्ग गर्ने ।

– यता नजिकमा एटिम कहाँ छ भाइ ?

– ऊ त्यो उकालोमा छ ।  

– म गएर आउँछु है ।  

– आउनु भएन भने के गर्ने ? बाइक छोडेर गएर आउनु त्यहीं त हो ।  

– हत्तेरी भाइ ।  

– के हत्तेरी नि,  तपाइँ सधैं आउने मान्छे भए पो विश्वास गर्नु नि । चिन्नु न जान्नुको मान्छे । भरे आउनुभएन भने । लल  लाइसेन्स छोडेर जानुुस् । – कस्तो – कस्तो मान्छे आउँछ दिमाग खराब । पेट्रोल हाल्छ । पैसा छैन भन्छ ।

लाइसेन्स छोडेर एटिएमबाट गएर पैसा लिएर आयो ।  हत्तार –हत्तार टियुको घडीघर अगाडि पुग्यो । बद्रिको  बल्ल आनन्दको स्वास आयो । कुनै महान युद्द जितेजस्तो ।  किताब पसलहरु क्रस गर्दै गर्दा के बिर्से के बिर्से जस्तो हुँदै थ्यो । लाइबेरी झर्ने बाटोको अपोजिटबाट उकालो लाग्दा पो झल्याँस्स भयो । आजको प्रेजेनटेशनको प्रिण्ट त घरमै भुलेछन् । फर्केर फोटोकपी पसलमा पेन ड्राइभबाट प्रिण्ट गर्न दियो ।  

– दाइ, यो प्रिन्ट गर्दिनु त हत्तार छ ।

– ल एकैछिन है ।  उहाँको प्रिन्ट हुँदै छ ।  

बद्रि मनमनैमा हत्तार लगाउँदै खटपटखटपट गर्दै बस्यो  ।  

– दाइ सकिएन?

– सक्किहाल्यो ।  

“साह्रै पिसाबले च्यापेको बेला ट्वाइलेट पर्खिनुको पीडा” जस्तो । सकियो अब सकियो ।  

अझै सकिएन दाइ ?

– अब सकियो । खोइ ल्याउनुुस् । कुन हो प्रिन्ट गर्ने ।  

– उ त्यो ।

करीब ५ मिनेटपछि पालो आयो । प्रिन्ट गरेर हत्तार दैडियो “हनुमानले घाम डुब्नु अगाडि सञ्जिवनी ल्याउनुपर्ने” चटारोजस्तो ।   क्लासमा पुग्ने बेला पो याद भयो । पेनड्राइभ त फोटोकपी पसलमै बिर्सेछन् । प्रेजेन्टेसनको  सलाइड पेन ड्राइभमै थ्यो । रीसको पारो पनि उम्लेर अब त अधिकतम विन्दुमा पग्लिसकेको थियो ।

“दुनियाँको बेकामे मान्छे” आफैलाई सराप्दै मनमनै मुरमुरिँदै फेरि फोटोकपी पसल पुग्यो । पेन ड्राइभ लिएर “बाघका पञ्जाबाट ज्यान बचाउन भागेको हरिणझैं  तुफान वेगमा दौडियो । अनौठो म्याराथुनमा बद्रीले  सवा दुईतिर ऐतिहासिक जीत हासिल गरेका थे । हत्तार– हत्तार ११७ नं रुममा पस्यो । चिटचिट आएको पसिना सुकाउनअघि प्रिन्ट गरेको कागजले हम्किदै अलि पछाडि खाली ठाउँमा गएर बस्यो ।

कार्यक्रम भर्खर सुरु हुन लागेको देखेर बद्रीको मनमा  उमंग छायो । एकछिन त बद्रीलाई दिल खोलेर नाचूँनाचूँझैं लागेको थ्यो । मनमनै सोच्यो – साला नेपाली हुनुको फाइदा यै त हो । कहिल्यै ढिलो भइँदैन।

त्यो जीतको आनन्द । त्यो हर्षोल्समा कत कता रङ हराएको जस्तो । खै के  खै के नपुगेको जस्तो । बद्रिले विस्तारै माहोल निहाल्दै गयो । जब उसले पेपर प्रेजेण्ट गर्ने मानवशास्त्रको लेक्चर प्रोग्राम सकिएर कुनै राजनैतिक भातृ संगठनको कार्यक्रम शुरु हुन लागेको थाहा पायो । बद्रिका खुशीका कोपिलाहरू फक्रिन नपाउँदै सर्वस्व लुटिएर झरे ।

प्रकाशित: २५ माघ २०७७ ०४:५४ आइतबार

अक्षर