कला

चाँगुनारायणको जात्रा

मिला पुन्ही अर्थात् पौष शुक्ल पूर्णिमाका दिन चाँगुनारायणको जात्रा गरिन्छ। धार्मिक र सांस्कृतिक रूपमा अत्यन्तै महत्वले भरिएको चाँगुनारायणलाई हिन्दू र बौद्धले उत्तिकै मान्दै आइरहेका छन्। हिन्दु र बौद्धको बीचमा समन्वय गरिरहेका चाँगुनारायणलाई हिन्दुले दोला शिखर स्वामी र गरुड नारायणका रूपमा अनि बौद्धले हरिहर वाहन लोकेश्वरका रूपमा मान्दै आएका छन्। वैष्णवले चाँगुनारायणलाई अत्यन्तै मान्ने गर्छन्।  

काठमाडौं उपत्यकाका चाँगुनारायण, इचंगु, शेष र विशंखुनारायण चार नारायणका अत्यन्तै महत्व छ। यी चार नारायणमध्ये काठमाडौंको उत्तरपूर्व दिशामा रहेको चाँगुनारायणको मन्दिर प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल हो। काठमाडौंबाट १३ किलोमिटर टाढा रहेको यो मन्दिर करिब ५००० फिट उचाइमा अवस्थित छ। दोलागिरी पर्वतमा पाँचौँ शताब्दीमा लिच्छविकालीन राजा मानदेवले बनाएको यो चाँगुनारायणको मन्दिरलाई प्राचीन काष्ठकला, धातुकला र प्रस्तरकलाको उच्कृष्ट नमुना नै हो भन्न सकिन्छ। पेगोडा शैलीमा बनाइराखेको चाँगुनारायणको मन्दिर परिसरमा भएका विभिन्न मूर्ति र शिलालेखले प्राचीन समयको कला–संस्कृतिलाई उजागर गरिरहेको देखिन्छ। यो मन्दिरको ढोकाअगाडि भव्य गरुडको मूर्तिका साथै एक जोडी सिंहको मूर्ति पनि छ। यो मन्दिरभित्र रहेको प्रस्तर मूर्तिमा गरुडमाथि विराजमान भइरहेका नारायण भगवान्का चार हातले शंख, चक्र, गदा र पद्म समाएका छन्। चाँगुनारायण मन्दिरको बायाँतर्फ छिन्नमस्ता देवी र मन्दिरअगाडि कुनामा किलेश्वर महादेवको मूर्ति पनि छ। हिमवतखण्ड नेपाल महात्म्यमा मनमती नदीमा स्नान गरेर दोलागिरी पर्वतमा रहेका चाँगुनारायण भगवान्लाई पूजा गर्ने मानिसलाई परलोकमा बैकुण्ठ वास हुने कुरा उल्लेख गरिएको छ।

हरेक वर्ष हरिशयनी र हरिबोधिनी एकादशी, भाद्र कृष्ण अष्टमी र कुष्माण्ड नवमीका दिन चाँगुनारायणमा ठूलो मेला लाग्छ। हरेक वर्ष श्रावण शुक्लपक्ष द्वादशी र मिला पुन्हीका दिन चाँगुनारायणको खटजात्रा गरेर हनुमान ढोकामा ल्याइन्छ। 

हिमवतखण्डमा उल्लेख गरिए अनुसार, एकपटक मुर नामक दैत्यले देवतालाई हराइरहेको थियो। त्यो मुर दैत्यलाई देवताहरूले जित्न नसकेर हैरान भइरहे। देवतासँग युद्ध गरेर देवतालाई हराएर देवताकै आसनमा त्यो मुर दैत्य बस्न पुगेछ। देवताहरू भने मुर दैत्यलाई देखेर डराउँदै भाग्दै जानुपर्ने अवस्था आएकाले त्यो मुर दैत्यलाई मार्ने उद्देश्यले भगवान् नारायणले दोलागिरी पर्वतमा पशुपति महादेवको तपस्या गरी बसे। यसरी नारायणले आँखा चिम्लेर तपस्या गरिरहेको देखेर त्यो मुर दैत्यले ‘यही मौका हो नारायण भगवान्लाई मार्ने’ भन्दै आक्रमण गर्न आयो। नारायणले पनि मायाजाल गरेर आफ्नो शरीरमा शिर नभएको रूप देखाइदिए। मुर दैत्यले पनि आफू विजयी भएको घोषणा गर्दै उक्त दोलागिरी पर्वत सिंगै हल्लाइदियो। मुर दैत्यले यस्तो गरेको देखेर तुरुन्तै महादेवले किलेश्वर रूपमा आई दोलागिरी पर्वतलाई स्थिर गरिदिन्छन्। पर्वत स्थिर भएलगत्तै नारायण भगवान्को शिर नभएको शरीरबाट छिन्नमस्ता देवी प्रकट भइन्। अनि उही छिन्नमस्ता देवीले खड्ग प्रहार गरी मुर दैत्यलाई वध गरिदिइन्। त्यही समयमा चाँगुनारायण मन्दिरका बायाँ छिन्नमस्ता देवी सिद्ध भइन्। त्यस्तै, मन्दिरको अगाडि कुनामा किलेश्वर महादेव पनि सिद्ध भए। अनि नारायण भगवान् पनि आफ्नो वास्तविक रूपमा शंख, चक्र, गदा र पद्म समाएर गरुडमा विराजमान भइरहेको मूर्तिमा सिद्ध भएका हुन्।  

हरेक वर्ष हरिशयनी र हरिबोधिनी एकादशी, भाद्र कृष्ण अष्टमी र कुष्माण्ड नवमीका दिन चाँगुनारायणमा ठूलो मेला लाग्छ। हरेक वर्ष श्रावण शुक्लपक्ष द्वादशी र मिला पुन्हीका दिन चाँगुनारायणको खटजात्रा गरेर हनुमान ढोकामा ल्याइन्छ।  

भागवत पुराणका अनुसार अम्बरीष राजाले दिनहुँ चाँगुनारायणको दर्शन गरेर मात्र भोजन ग्रहण गर्दथे। एकपटक खोलामा बाढी आएकाले राजाले खोला तर्न नसकेर चाँगुनारायणको दर्शन गर्न जान पाएनन्। अनि राजा त्यो दिन दिनभर भोकै बसेकाले प्रजाहरूले पनि भोकै सुत्नुपर्‍यो। देशभरि नै यसरी सबै मानिस भोकै बस्नुपर्ने अवस्था आएपछि नारायणले राजाको सपनामा आएर ‘अबदेखि मेरो दर्शन गर्न चाँगुसम्म आउनुपर्दैन, वर्षमा एकपटक मैले नै दर्शन दिन आउँछु’ भनेकाले यो दिन नारायण, लक्ष्मी र सरस्वतीको प्रतीकको रूपमा तीनवटा चाँदीको कलश खटमा राखी चाँगुदेखि जात्रा गरेर हनुमानढोकामा ल्याउने चलन रहेको हो। यसरी जात्रा गरेर ल्याएका देवतालाई हनुमानढोकामा स्वागत गर्ने क्रममा सिंह ढोकामा कुमारी अघिल्तिर राखेर पूजा गरेर भित्र्याइन्छ। जनै पूर्णिमाको चार दिनअघि यसरी देवता ल्याइने भएकाले क्वाँटी बनाई खान क्वाँटी भिजाउन सूचना दिन आएका देवताका रूपमा लिएर उनलाई क्वाँटी देवता पनि भन्ने गरिन्छ।  

त्यस्तै, मिलापुन्हीका दिन चाँगुनारायण, लक्ष्मी देवी र सरस्वतीका प्रतीक चाँदीका तीन कलश खटमा राखी जात्रा गरेर हनुमानढोकामा ल्याइन्छ। चाँगुदेखि देवताका खट बोकेर जात्रा गरेर ल्याउँदा नक्सालको चारढुंगे त्यस्तै भेडासिं र इन्द्रचोक आदि दोबाटो चौबाटोमा पुग्दा स्थानीयबासीले जम्मा पारी राखेका पुराना काम नलाग्ने चर्किसकेका माटाका भाँडा माथिसम्म फालेर फुटाउँदै देवताको खटलाई बाटो छेक्ने चलन छ। चाँगुनारायणको अघिल्तिर यसरी पुराना माटोका भाँडा फुटालेर देखाउँदा अपशकुन भयो भनी नारायण भगवान् काठमाडौंमैं बस्छन् भन्ने पुरानो भनाइ पाइन्छ। चाँगुनारायणको खट रानीपोखरीमा पुग्नेबित्तिकै राज प्रतिनिधिको प्रतीक खड्ग र गुरुजुको पल्टनले स्वागत गरेर जात्रा गर्दै हनुमानढोकाको सिंह ढोकामा पुर्‍याउँछन् भने कुमारीलाई पनि ल्याइन्छ। अनि मूलचोकमा भित्र्याएर चाँगुनारायण र कुमारलाई पनि पूजा गरिन्छ। उक्त पूजा गरेको जल विष्णुमती नदीमा लगेर बगाइन्छ।  

हरेक वर्ष मातातीर्थ चतुर्दशीदेखि अक्षय तृतीयासम्म पाँच दिन चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको जात्रा गरिन्छ। मातातीर्थ औँसीका दिन मुख्य जात्रा मनाइन्छ। वैशाख कृष्णपक्ष त्रयोदशीका दिन नाइके खलकले चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरव देवताको खटजात्रा भव्य रूपमा मनाउन नाय्खिं बाजा बजाई झ्याली पिट्दै नगर परिक्रमा गर्छन्।  

मातातीर्थ औंसीका दिन मुख्य जात्रा मनाउने क्रममा चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरव (कालभैरव) को खटजात्रा गरेर इकुटोलमा पुर्‍याउँछन्। त्यहाँ देवतालाई विधिपूर्वक पूजा गरिसकेपछि चाँगुनारायण र किलेश्वर महादेवको खटजात्रा भव्य रूपमा गरिन्छ। विभिन्न गुठीका गुठियारले धिमे, नाय्खिं, दाफा र विभिन्न बाजा बजाउँदै जात्रा गर्दै बलम्बु टोलमा देवतालाई राख्न ल्याउँछन्। भैरवलाई बलि दिएर पूजा गरिन्छ भने चाँगुनारायण र किलेश्वर महादेवलाई भने नैवेद्य मात्र चढाएर पूजा गरिन्छ।

वैशाख शुक्लपक्ष प्रतिपदाका दिन भट्टवारीबाट मतयाः गर्ने भन्दै बत्ती झलमल पारिन्छ भने राजारानीको प्रतीकको रूपमा देवतालाई विभिन्न किसिमका गहनाले सिँगारेर बाजा बजाउँदै नगर परिक्रमा गराइन्छ। राति देवताका खट बाकेर बाजा बजाउँदै रातभर जात्रा गरिन्छ। बलि दिएर देवताका पूजा गर्छन्। वैशाख शुक्ल द्वितीयाका दिन कान्ति भैरवलाई नगर परिक्रमा गराएर डाँछी, ब्रह्मटोल, भद्रवासदेखि साँखुसम्म लगेर जात्रा गरिन्छ। यसरी जात्रा गर्दा चाँगुनारायण र किलेश्वर महादेवको खट भुइँमा बिसाउनु हुँदैन भनी बोकी राख्नुपर्छ।  

अक्षय तृतीयाका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरवका खट लहरै चाँगुमा बिसाई राख्छन्। यहाँ बिहानैदेखि दिनभरि नै हुलका हुल भक्तजन देवताको पूजा गर्न आउँछन्। साँझ तीनवटै खटमा झल्लर फुलेका माला र पताः चढाएर सिँगारेर खटजात्रा गर्छन्। जात्रा गर्न सकेपछि देवतालाई देवघरमा स्वागत गरी भित्र्याएर जात्रा सकिन्छ।  

स्वयम्भू महापुराणका अनुसार, परापूर्वकालमा चाँगु र काठमाडौंको बीचमा ऐतिहासिक र पौराणिक सम्बन्ध रहेको रहेछ। त्यस समयमै श्री किलेश्वर महादेवलाई समन्तभद्र बोधिसत्वको प्रतीकका रूपमा अनि नैरात्मा गुह्येश्वरीको प्रतीकका रूपमा कान्ति भैरवलाई लिई जात्रा चलाइएको रहेछ। त्यसैले चाँगुनारायणको जात्रालाई मौलिक जात्राका रूपमा लिइएको हो। बौद्ध र हिन्दुको बीचमा यसरी समन्वय भएको देखिन्छ।

प्रकाशित: २४ माघ २०७७ ०५:३८ शनिबार

संस्कृति चाँगुनारायणको जात्रा