कला

गुरुङको रोधीं

संस्कृति

बहिनीको दया छ भने

रोदीघर दाइ नाच्यो नभने

नारायणगोपाल र मीरा राणाको स्वर रहेको यस गीतका रचनाकार हुन्, चेतन कार्की। चलचित्र ‘परिवर्तन’मा समावेश यस गीतका शब्दले रोधींलाई माया, पिरती गाँस्ने र नाचगान गर्ने थलोका रूपमा परिभाषित गरेको छ। त्यसो त चेतन कार्कीको रचना रहेको यस गीतमा मात्र होइन, रोधींलाई जोडेर रचना गरिएका अन्य साहित्यिक सिर्जनामा पनि रोधींलाई मनोरञ्जनस्थलकै विम्ब मानेको पाइन्छ। हामीले रोधीं टाइप गरेर गुगल गर्‍यौँ भने पनि सयौँ तस्बिर भेटिन्छन् तर ती सबै नाचगान र लोकदोहारी गीत गायनसँग जोडिएको पाइन्छ।  

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत शब्दकोशमा रोधींलाई यसरी परिभाषित गरिएको छ, ‘विशेषतः गुरुङ जातिमा प्रचलित, राति निश्चित ठाउँमा ठिटा–ठिटीहरू भेला भएर गीत गाउने, ख्यालठट्टा गर्ने मनोरञ्जक कार्यक्रम।’ नेपाली बृहत शब्दकोशमा उल्लिखित यही परिभाषामा आधारित रहेर सहज बुझाइका लागि कतिपयले रोधींलाई ‘नाइट क्लब’ पनि भन्ने गरेका छन्। र, यस तुलनालाई पछिल्लो समय थप मलजल गरेको छ, काठमाडौं लगायत केही सहरी क्षेत्रमा नामको पछाडि ‘रोधींघर’ जोडेर सञ्चालनमा रहेका दोहोरी रेस्टुरेन्टहरूले।

रोदी कि रोधीं

रोधींलाई कहीँ रोदी त कहीँ रोधी लेखेको पाइन्छ। माथि उल्लिखित गीत र अन्यत्र पनि रोदीघर वा रोधींघर लेखेको भेटिन्छ। रोदी, रोधी वा रोधीं कुन शुद्ध हो त ? लमजुङमा रोधीं बस्दै हुर्केका र लोकगीत÷संगीतमा गहिरो अध्ययन गरेका वरिष्ठ लोकगायक कृष्ण गुरुङ भन्छन्, ‘बोलीचालीमा रोदी भनिए पनि शुद्ध शब्द चाहिँ रोधीं हो।’ गुरुङका अनुसार गुरुङ भाषामा ‘धीं’को अर्थ घर हुन्छ र रोधीं ‘घर’सँग जोडिएको शब्द हो।

रोधींसम्बन्धी गहन अध्ययन गर्नुका साथै करिब तीन दशकअघि रोधीं परिवार काठमाडौंले प्रकाशन गरेको त्रैमासिक पत्रिका ‘रोधीं सांस्कृतिक साहित्य’को पहिलो अंकमा अनुसन्धनात्मक लेख समेत छपाएका उनले ‘रोधीं’लाई विकृत रूपमा परिभाषित गरिएको र शब्द तथा त्यसको अर्थमा समेत तोडमोड गरिएको भन्दै चिन्ता व्यक्त गरे। रोधीं गुरुङ सांस्कृतिक परम्परासँग जोडिएको विशुद्ध सांस्कृतिक शब्द हो। विशिष्ट अर्थ रहेका सांस्कृतिक शब्द तोडमोड गरिँदा त्यो अर्थहीन बन्न पुग्छ। रोधींमा पहिल्यै ‘घर’ आइसकेको छ। त्यसैले रोधींघर भनियो भने त्यो ‘क्यापटोपी’ भनेजस्तो हुन जान्छ।

रोधीं शब्दको उत्पत्ति

रोधीं दुई फरक शब्द गुरुङ भाषाको शब्द ‘रो’ र ‘धीं’को समास भएर बनेको शब्द हो। रोधीं शब्दको उत्पत्तिबारे दुई फरक भनाइ पाइन्छ। पहिलो सिकारी युगसँग जोडिएको छ भने, दोस्रो पशुपालन युगसँग। ‘धीं’ भनेको घर हो। यसमा कुनै फरक मत छैन। ‘रो’को अर्थबारे भने केही फरक मत रहेका छन्। एकथरी अध्येताले ‘रो’ भनेको ‘सुत्नु’ हो भनेका छन् भने अर्कोथरीले ‘रो’लाई ‘बुन्नु’सँग जोडेका छन्।

‘रो’लाई ‘सुत्नु’ भन्ने अर्थसँग जोडेकाहरूले भनेका छन्, ‘सिकारी युगमा उमेर पुगेका जवानहरू सिकार खेल्न जान्थे। अस्थायी बसोबास गरेका स्थानको छेउछाउका घरमा जंगली जनावरले आक्रमण गर्ने डर हुन्थ्यो। त्यसैले घरमा रहेका वृद्धवृद्धा, बालबालिका तथा महिलाहरू बस्तीको बीचमा रहेको ठूलो घरमा सुत्थे। त्यसरी सबैजना भेला भएर सुत्ने घर नै अन्ततः रोधींका रूपमा विकसित भएको हो।’  

‘रो’लाई ‘बुन्नु’ भनेर अथ्र्याएका अध्येताले भने गुरुङ जातिको मुख्य पेसा भेडापालन रहेको र रोधींमा ‘राडीपाखी’को काम गरिने उल्लेख गरेका छन्।

रोधीं परम्पराबारे अध्ययन गर्नुका साथै कलम पनि चलाएका चन्द्रलाल गुरुङले ‘रोधीं सांस्कृतिक साहित्य’कै दोस्रो अंकमा लेखेका छन्, ‘गुरुङ भाषामा ‘रू’ले बुन्ने वा तुन्ने भन्ने अर्थ राख्छ। राडीपाखी नै बुन्ने काम त घरभित्र हुँदैन। त्यसको तान लामो हुन्छ तर ऊन कात्ने, बख्खु बुन्नेजस्ता काम चाहिँ घरभित्र पनि हुन सक्छ। त्यसैले ‘रू’बाट ‘रो’हुँदै र ऊन चलन गर्ने घर भन्ने बुझाउन रोधीं भनिएको हुन सक्छ।’ रोधींमा सुत्नेभन्दा पनि गीत गाउँदै र ऊनचलन गर्दै कसरी रात कटाउने भन्ने होडबाजी चल्ने भएकाले ‘सुत्ने घर’ भन्ने अर्थ नमिल्दो रहेको उनको तर्क छ।  

के हुन्छ रोधींमा ?

रोधीं गुरुङ जातिमा प्रचलित एक विशिष्ट सांस्कृतिक परम्परा हो। ऊनचलन गर्ने काम निकै पट्यारलाग्दो हुन्छ। कृषि युगमा आएपछि रोधींमा मकै छोड्याउने, भटमास केलाउने जस्ता काम पनि हुन थाले। यस्ता काम पनि पट्यारलाग्दो नै हुन्छ। त्यसैले रोधींमा रात कटाउने उपाय खोज्न र सोच्न थालियो। सोही क्रममा रोधींमा नाचगान सुरु भएको चन्द्रलाल गुरुङले उल्लेख गरेका छन्। त्योभन्दा पनि रोधीं गुरुङ युवायुवतीलाई सामाजिकीकरणमा अभ्यस्त गराउने मूल थलो रहेको उनको भनाइ छ।

युवा र युवतीको रोधीं अलग–अलग हुन्छ। रोधींअन्तर्गत आबद्ध युवा वा युवतीको समूहलाई ‘रोप्स्यो’ भनिन्छ र रोप्स्योको प्रमुख व्यक्तिको नामबाट रोधीं समूहको नाम राख्ने चलन हुन्छ। त्यस्तै, टोलको नामबाट पनि रोधीं समूहको नाम राख्ने गरेको पाइन्छ। रोप्स्योमा प्रायः उमेर मिल्नेहरू आबद्ध हुन्छन्। त्यसैले अलि उमेर ढल्केकाहरूको, जवान युवायुवतीको र अलि कम उमेर भएकाहरूको गरेर अलग–अलग रोप्स्यो समूह वा रोधीं हुने गरेको पनि गुरुङले उल्लेख गरेका छन्।

युवतीहरूले स्थापना गरेको रोधींमा युवाहरूले डम्फु र मादल ल्याएर उपहार दिएपछि बल्ल ‘रोधीं’ले पूर्णता पाउँछ। त्यस क्रममा ‘धीँम्ए रीँम्ए, थीँम्ए म्हम्ए’ गर्नुपर्छ। केटाहरूका लागि केटीहरू गर्ने धीँम्ए रीँम्ए र केटीहरूका लागि केटाहरू गर्ने थीँम्ए म्हम्ए हुन्छ। केटीहरूको रोधींमा जाँदा केटाहरूले वा केटाहरूको रोधींमा जाँदा केटीहरूले विभिन्न कोसेली लैजानुपर्छ। रोप्स्यो समूहका नाइके, गाउँका गन्यमान्य बोलाएर धीँम्ए रीँम्ए, थीँम्ए म्हम्ए गरिन्छ। त्यसपछि एकआपसमा बलियो सम्बन्ध रहेको रोधीं भनेर साइनो गाँस्ने काम हुन्छ।

रोधींमा बुन्ने, तुन्ने ऊनचलनको कामसँगै मकै छोड्याउने जस्ता काम हुन्छ नै, सँगसँगै भोलि कसको मेलामा जाने भन्ने सल्लाह पनि हुन्छ। त्यस्तै, हाटबजार जाने सल्लाह रोधींमै गरिन्छ। कुनै परिवारमा परिवारका सदस्य थोरै छन् वा काम गर्ने उमेर पुगेकाहरू घरमा नभएका कारण समयमा काम भ्याउन पाएका छैनन् भने उक्त परिवारलाई थाहा नदिई काम फत्ते गरिदिने सरसल्लाह पनि रोधींमै हुन्छ।

सामाजिकीकरण र रोधीं

चर्चित नेपाली सांगीतिक ब्यान्ड ‘नेपथ्य’का अमृत गुरुङले करिब अढाई दशकअघि भिडियो मेकिङसम्बन्धी तालिम लिएका थिए। त्यस क्रममा उनले उत्तरी लमजुङ र कास्कीमा प्रचलित एक परम्परालाई समेटेर वृत्तचित्र बनाए। जनैपूर्णिमाका दिन विवाह गर्ने उमेर हुन लागेका युवतीहरू लमजुङ हिमालको काखमा अवस्थित दूधपोखरीमा नुहाउन जाने परम्परा छ। अमृतले ‘दूधपोखरीको यात्रा’ वृत्तचित्रमा यही विषय उठान गरेका छन् भने त्यसमा रोधींको कस्तो भूमिका हुन्छ भन्ने पनि देखाइएको छ।

जनैपूर्णिमामा दूधपोखरीमा नुहाएर मुस्ताङको जोमसोम, मुक्तिनाथ हुँदै गाउँ फर्कने उनीहरू माघे संक्रान्तिमा पोखराको ढुंगेसाँघुमा लाग्ने मेलामा सहभागी हुन्छन्। युवतीहरू दूधपोखरी र ढुंगेसाँघु मेला दुवैमा सहभागी हुँदा त्यसको नेतृत्व रोधींको नेतृत्वकर्ता र केही अभिभावकले गर्छन्। उनीहरूलाई गाउँमा फर्किंदा भव्य रूपमा स्वागत गरिन्छ। यससँगै उनीहरूलाई ‘देश–परदेश पुगेर आइसक्यौ, अब विवाहका लागि योग्य भयौ’ भनेर घोषणा गरिन्छ।

रोधींको नेतृत्व प्रायः उमेरमा जेठो, पाको र सुझबुझ भएकाले गर्छन्। रोधींको नेतृत्व गर्नेलाई झीब भनिन्छ। रोधींका नेतृत्वकर्ता प्रायः आफ्नो रोप्स्यो समूहलाई कसरी अरूको भन्दा राम्रो बनाउने भन्नेमै केन्द्रित हुने गर्छन्। आवश्यकता अनुसार रोप्स्यो समूहका सदस्यलाई जिम्मेवारी पनि बाँडफाँड गरिएको हुन्छ। कुनै चाडपर्व वा शुभ, अशुभ कार्यमा पनि रोप्स्यो समूह वा रोधींका सदस्य खट्छन्। पर्म लगाउन वा मेलापातमा सघाउन जाँदा गरिब परिवारकहाँ गएको छ भने आफ्नै घरको खाएर काम गरिदिने गर्छन्। रोधीं समूहलाई धनीमानीले पैसा दिएर पनि काममा लगाउन सक्छन्। त्यसरी प्राप्त भएको रकम जम्मा गरेर आवश्यकता अनुसार सामूहिक काममा खर्च गर्ने गरिन्छ।  

गीत–संगीतको मुहान

गण्डकी क्षेत्र लोकगीत–संगीतको उर्वर क्षेत्र हो। वरिष्ठ लोकगायक कृष्ण गुरुङका अनुसार गण्डक क्षेत्रमा सुनिमाया, नानिलो, तेर्सो, ठाडो, झ्याउरे, सालैजो, कौरा, झोरालगायत दर्जनौँ लोकभाकाको गीत गाइन्छ। त्यस्तै, सोरठी, कृष्ण चरित्र, घाँटुजस्ता विशेष भाका पनि प्रचलनमा छन्। यी सबैजसो गीतका भाका रोधींकै उपज हुन्। चन्द्रलाल गुरुङका अनुसार केटा समूहले डम्फु र मादल उपहार दिएपछि मात्र केटी समूहको रोधींले पूर्णता पाउँछ। यसले पनि गीत–संगीत र रोधींको सम्बन्धलाई स्पष्ट पारेको छ।

अहिले लोकलयमा आधारित गीत सबैभन्दा बढी लोकप्रिय छ। त्यसमा पनि दोहोरी गीत गायनको छुट्टै स्थान छ र दोहोरी गीत गायनमा गण्डकी क्षेत्रकै गायक–गायिकाको स्थान अगाडि छ। अहिले परम्परागत रोधींको रूप देख्न नपाइए पनि लोकदोहोरी गीत गायन र त्यसको लोकप्रियतामा रोधींको प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका छ भन्दा कसैको दुईमत नहोला। कृष्ण गुरुङ भन्छन्, ‘अहिले गुरुङ गाउँहरूमा रोधींको परम्परागत रूप त देख्न पाइँदैन, तर रोधींमा गाइने गीत–संगीतलाई विभिन्न शुभ–अशुभ कार्यमा निरन्तरता दिइँदै आएको पाइन्छ। शुभकार्यमा रमाइलो गर्न र दुःखका क्षणमा दुःख बिर्साउन गाउने गरिन्छ।’  

दोहोरी रेस्टुरेन्टको व्यापारमा ब्रान्ड

माओवादी सशस्त्र विद्रोहले उग्र रूप लिँदै गर्दा गाउँका मानिस सहर पस्ने क्रम पनि बढ्दै गयो। गाउँका मानिस सहर पस्न थालेसँगै सहरी क्षेत्रमा दोहोरी रेस्टुरेन्ट खुल्ने क्रम बढ्न थाले। २०५४ मा काठमाडौंको सुन्धारामा मुक्तसिंह गुरुङले ‘पुकार दोहोरी रेस्टुरेन्ट’ खोले। शर्मिला गुरुङ, बद्री पंगेनीलगायत त्यहीँ गाउँथे। ०५८ सालमा ठमेल सरस्वती क्याम्पसअगाडि पूर्वडिएसपी गञ्जसिंह गुरुङले दोभान दोहोरी साँझ सञ्चालनमा ल्याए। ०५९ को मध्यतिर रोधीं परिवारका संस्थापक सचिव एवं गुरुङ चलचित्रका निर्देशक/नायक प्रितम गुरुङको समूहले महाराजगन्ज चक्रपथमा रोधीं दोहोरी साँझ नामक रेस्टुरेन्ट खोल्यो। यसरी सहरमा एकपछि अर्को दोहोरी रेस्टुरेन्ट खुल्दै जाने क्रममा तिनले रोधीं शब्द पनि जोड्न थाले। करिब डेड दशकअगाडि खुलेको ललितपुर रोधीं क्लब, फेवा रोधीं क्लब लगायत अहिले काठमाडौं उपत्यकाभित्र दुई दर्जनभन्दा बढी दोहोरी रेस्टुरेन्टको नाममा रोधीं शब्द जोडिएको छ।

रोधीं भन्नेबित्तिकै गण्डक क्षेत्र र लोकदोहोरी गीत जोडिन्छ। तमू (गुरुङ) कलाकार संघका अध्यक्ष राजु गुरुङ भन्छन्, ‘लोकदोहोरी भन्नेबित्तिकै गण्डक क्षेत्र भन्ने बुझिन्छ र अधिकांश लोकदोहोरी कलाकार गण्डकी र धौलागिरि क्षेत्रकै छन्।’ तर, गुरुङ जातिको मौलिक सांस्कृतिक परम्परा रोधींलाई दोहोरी रेस्टुरेन्टसँग जोडेकामा भने उनलाई पटक्कै चित्त बुझेको छैन। उनले भने, ‘दोहोरी रेस्टुरेन्टसँग जोड्दा हाम्रो विशिष्ट मौलिक सांस्कृतिक केन्द्र ‘रोधीं’को अपव्याख्या भएको मेरो बुझाइ छ।’ यसले गर्दा रोधींलाई नाइट क्लबसँग तुलना गरिएको हुन सक्ने भन्दै उनले रोधींको महत्व र गरिमा बुझिदिन आग्रह समेत गरे।

प्रकाशित: २४ माघ २०७७ ०५:३१ शनिबार

गुरुङको रोधीं संस्कृति