कालो चस्मा लगाएको। काँधमा झोला भिरेको। कम्मरको पाइन्ट खस्ला जस्तो भएको ।मुखभरि दर्फराएको घाउको पाप्रा केही सुकेको ,केही आलो,टाढाबाट हेर्दा कुनै मातेको मान्छे ढुन्मिनुदै हिडेको जस्तो देखिन्थ्यो । अलि नजिकैबाट मात्र उनलाई फलानो व्यक्ति हो भनेर चिनिन्थ्यो ।उनी थिए काठमान्डौको कुनै भिआइपी टोलका केही समय अगाडिसम्म कुनै उच्च तहका सरकारिया भिआइपी मिस्टर के अधिकारी ।
अहिले मिस्टर अधिकारी भूतपूर्व बन्न पुगेका छन् । त्यसैले अहिले उनीसङ्ग फुर्सद नै फुर्सद छ । फुर्सदको साथमा उनीसँग अहिले पैसा पनि प्रसस्त छ। पैसा र फुर्सदको संगमले अहिले उनले एउटा नया साथी बनाएका छन् । त्यो हो रक्सी ।रक्सी अहिले उनको प्राण प्रिय साथी भएको छ । त्यसैले उनी रक्सीवाज भएका छन् । काँधमा झुन्ड्याएको झोलामा उनी त्यही बोक्छन् ।
बाल्यकाल र यौवन अवस्था उनको जस्तो सुखमय सायद कमैको मात्र बितेको होला किनभने उनको जनम नै एक संभ्रान्त परिवारमा भएको थियो । उनको घर कम्पाउडको लेखाजोखा थिएन । धन – दौलत के कति कहाँ छ भन्ने हिसाबकिताब उनलाई थहा थिएन । चाकडीदार र नोकरचाकर प्रत्येक कामको लागि फरक थिए। पत्नी पनि उनले आफैजस्तो संभ्रान्त थिइन् । समयको क्रममा रामलक्ष्मण जस्ता दुई छोरा जन्मिए । उनलाई अफिस गए पनि त्यतिकै रमाईलो घर बसे पनि रमाइलै रमाइलो थियो । छोराहरू ठुला हुँदै गए । स्कुल जान थाले । स्कुलमै बस्न थाले बोडर्स भएर । स्वदेशको स्कुल नभएर विदेशको पनि नाम चलेको स्कुलमा भर्ना भए। उनीहरू वर्षको एकपटक मात्र लामो बिदामा घर आउने गरी स्कुल बस्न थाले । छोराहरू बिदेशको बोर्डिङ भर्ना भएपछि श्रीमतीलाई घरमा बस्न मन लागेन । श्रीमानसँग सल्ल्ह गरेर आफ्नै हैसियत मिल्ने परिवारले डाउनटाउनमा खोलेको कुनै नाम चलेको ट्राभेल और टुर कं प्रालीमा पैसा कमाउँन होइन समय कटनीका लागि काम गर्न थालिन् । बिहान उनी चिप्लो गाडीमा बसेर जान्थिन् । अनि बेलुका धेरैजसो ढिलो त्यही चिप्लो उनको आफ्नै गाडीमा घर फर्किन्थिन् ।विदेशमा अध्ययन गर्न पठाइएका छोराहरूलाई स्कुल सकिएपछि उच्च अध्ययनका लागि सात समुद्रपारि पठाइयो । श्रीमान् –श्रीमती आआफ्नो काममा व्यस्त थिए । उनीहरू बीच कुनै तनाव वा शिकायत थिएन ।
श्रीमान बिहान ठिक दस बजे ठूलो र चिप्लो गाडीमा बसेर अफिस जाने बेलामा गेटपालेले फुर्ती र अदपका साथ सलाम गर्दथ्यो । उनी पनि मुसुक्क हांँसेर जवाफ फर्काउँथे । समय बित्दै गयो । विदेशमा पढ्न बसेका छोराहरू ठुला र स्वावलम्बी मात्र भएनन् उनीहरू विदेशी नै भए । वयस्क भएपछि त्यहीँका केटीहरू बिहे गरेर त्यही नै बसोबास गरे ।
मिस्टर भिआइपीको रमाइलो र संतुलित समय तालिका विखण्डित भयो । भताभुङ्ग भयो । उमेरको हदले उनले अवकाश पाएपछि एक्ला भए । घरमा उनीसंग मुख बोलाउ गर्ने आफ्नो परिवार कोही भएन । नोकरहरुले तालिका अनुसार तयार पारेको खाना खान पनि उनलाई इच्छा हुँदैन थियो । श्रीमती बिहान जान्थन् । राति ढिलो फर्किनथिन् । उनको सधैं जसो पार्टी हुन्थ्यो ।
पहिले टिभी र सिनेमाका शोखन अहिले त्यसप्रति पनि उनको इच्छा मरेको छ । श्रीमती र छोराहरूसँग शनिबार पिकनिक , हाइकिङ गएको सम्झना आउँदा उनको मन पुलकित हुन्छ । तर, वर्तमानमा फर्केपछि एकैछिनमा भताभुङ्ग हुन्छ । उनको घाँटी सुकेर आउँछ । त्यसबेला उनको मनले एकांकी मेटन आफ्नो परिवारको चाहना गर्छ । अनि उनी आफूले बनाएको नया साथीसँग रमाउन थाल्छन् ।
व्यस्त हुँदा उनले आफ्नो बगैंचामा घुम्नेसम्म मौका पाएका थिएनन्। अहिले एकाबिहानैदेखि टोलका कुनाकाप्चाका रक्सी पसलहरू घुम्ने मौका पाएका छन् । कहिले कुनै कहिले कुनै टोलका व्यक्तिले उनलाई पिउन पाउने आसले साथ दिइरहेका हुन्छन् । पहिले त उनको अगाडि पर्ने हैसियत पुग्दैन थियो । अहिले पिउन पनि साथी बनेका छन् किनकि उनी अहिले भूपू भएका छन् । फुर्सदिला भएका छन् । रक्सीको कुलतले उनी सबै कुरा बिर्सदै छन् ।
छोराहरूको सम्झना पनि आउँदैन । श्रीमतीको वास्ता पनि छैन । उनलाई आफ्नो घर , नरम विछयौना, मिठा परिकार केहीको वास्ता छैन । पिउँदापिउँदै ढुममुनाएर कहिले सडक पेटीमा पछारिन्छन् । लुगाफाटा मैला र अनुहार फोहर भए पनि मतलब राख्दैनन् । उनका लागि पहिलेको जीवन जति रमाइलो र आनन्दी थियो अहिलेको पनि त्यत्तिकै आनन्दी र रमाइलो छ । पहिले उनीसँग पारिवारिक पूर्णताको सन्तुष्टि र आनन्द थियो अहिले रक्सीको मित्रताले दिएको सन्तुष्टि छ ।
प्रकाशित: २३ माघ २०७७ ०५:४९ शुक्रबार