कला

चुप लाग

लघुकथा

असीको छेउछाउ पुगेका ती वृद्ध दम्पतीहरू आफ्नो जीवनका उत्तराद्र्धमा विदेश भ्रमणमा रमाइरहेका छन् । जेठा छोरा

बुहारीले जापान , माइला छोराबुहारीले बेलायत,  साइँलाकान्छाका परिवारले अमेरिका र कान्छी छोरीले अस्ट्रेलिया ।

माइली छोरी स्पेनको पालो गनिरहेकी छ्र।  सबैतिर पुग्न बुढाबुढीलाई भ्याईनभ्याई छ ।  ती  दम्पतीले सातसात  सन्तानलाई  हुर्काइ – बढाइ गर्न जीवनमा कम्ती दुखदर्द झेले  । दुखको एउटा सिंगो सुमेरु पर्वत पार गरेका तिनीहरूको जीवनमा बल्ल खुसी र सन्तोषको  सास फेर्ने मौका मिलेको छ। तथापि परिवार पूर्ण रूपमा विदेश भएकाले एकैचोटि सबै भेट्न निकै गारो भएको छ । छोराबुहारीलाई विदेश मोह  र बूढाबुढीलाई नेपाल नै प्यारो । जता गए पनि नेपालकै याद आउने ।

सबैका छोरा विदेश जान नपाएर कत्रो पीर । यता उहाँहरूलाई छोराबुहारी सबै विदेशिए , बुढेसकालमा कसले हेरचाह गर्छ भन्ने पीर  ।  मक्किदै गएको वृद्ध शरीर,  रोगले पेल्दै गरेको अवस्था  र  खुसी र दर्द एक सिक्काका दुई पाटा  छोराबुहारी र नातिनातिनीहरूले घेरिएर तिनीहरूकै स्यारसुसारमा बाँच्नुपर्ने आर्य परम्परा ।

चाडवाड आउँछ । सबैको घरमा खुसीयाली छाउँछ ।  एउटा नयाँ बहार आउँछ । सबैको घरमा  तर तिनको घरमा एउटा घोर शून्यता छाउँछ ।

कुनै छोराबुहारी आउँदैनन्  ।  फोनको घन्टी बज्छ ।  पालैपालो टेलिफोन आशीर्वादका लागि  ल्यापटप स्काइप्मा टिका सम्पन्न हुन्छ ।  हरेक छोरा–बुहारीको अनुकूल समयमा  बुढाबुढीको गला अवरुद्ध हुन्छ सम्झनामा ।  एउटा दशैं अमेरिकामा चार भाइ छोराबुहारी र एउटा जेठी छोरीपट्टिको ठूलो नातिसहित मिलाउने सौभाग्य मिल्दछ।

धेरै वर्षपछिको यो सौभाग्य बुढाबुढीको खुसी बनेर छल्किछ ।  भर्जिनिया, डिसी, डेलवार, सिकागो, इन्डियाना , बाल्टिमोर

सबै ठाउँमा भएका आफन्तहरूलाई भेट्दा दङ्ग हुन्छ मन । दिनभरि केटाकेटीसंग मात्र बस्नुपर्ने,  बाहिरहुँदि घुम्न नसकिने पट्ट्यारलाग्दो नै हुने  नातिनातिनाहरू नेपाली नबोल्ने ।

हजुरबुवा आमा अंग्रेजी बोल्न नजान्ने । कस्तो भाषिक समस्या । दुई पिँढी बीच  कस्तो ठूलो खाडल ।  भाषा, साहित्य र संस्कृतको प्रणेता हजुरबुवालाई मन दुख्ने विषय्र आफ्नै नातिनातिनासंग गफ गर्न नपाइने ।  केटाकेटीहरूलाई पनि यो भाषिक समस्याले हजुरबुवा आमाको अपनत्वमा कमी ल्याइरहेको छ ।   फलत केटाकेटीहरूको नजरमा बुढाबुढी टिपिकल नेपाली कहलिए ।   बोरिङ बूढाबुढी ठहरिए ।  दिनभरिको नातिनातिनाको चकचक र उफ्राइले थाकेका हजुरबुवाले एक दिन चञ्चले नातिलाई औलो ठड्याउँदै भनेछन् – चुप लाग काले केटो ।

हजुरबुवाको त्यो अप्रत्यासित रुद्र रूप  देखेर अचम्म लागेछ।   सबै आएर बेलुकीको खाना खान बसेपछि नातिले आफ्नो बाउपट्टि फर्केर औंला ठड्याउँदै भनेछ – चुप लाग काले केटो ।

नातिको यो नयाँ नेपाली शब्द ज्ञानले त्यो परिवारमा धेरै दिनसम्म हाँसो छुटाएछ ।

प्रकाशित: १९ माघ २०७७ ११:५४ सोमबार

अक्षर