कला

बाह्र बजे

कथा

– बाह्र, एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ ।  

बाटोमुनि काकाले देब्रे हात झड्कालेर घडीको पाङ्ग्रामा दाहिने हातले समातेर हेर्दै गनेर भने  

– हाउलु हेर त, नौ बजाङ्गनु आँटेछ को । हन को, हाउ मंगले स्कूल जादेनस को  हाउ भाइ पनि सँगै लैजा है ।

– हाउ बाटोमुनी माइला घडी ता साइकोफाइ जस्तो छ नि । हाउ अनि कसरी हाता पारिस को हाउ । लु पिरा तानेर बस है । ए कान्छी,  लु एक बटुको बनाइदे त बाटोमुनि माइलालाई ।  

–हाउ दाजु अनि जिन्दोकीमा कति लोभ गरिलानु को । हाउ त्यो देवीथाने थापासँग २ बालीको बारुले गोरु देर । तेस्को ६ बालीको सिंदुरे लेरआइङ हाउ दाजु । मोराले ससुरालीले देको साइको फाइ नै दिन्छु दाजु साटुङ्ग हौ भन्यो । हाउ अनि यसो सोचील्याइङ की । हाउ कुरा ता गजज्बको पो छ त । गोरुमा गोरु अनि साइको फाइ पनि  । हाउ साँच्चि को हो कि भनेको, साँच्चि हाउ दाजु क्षेत्रीको छोराले बोलेपछि बोल्यो भन्छ को । हाउ लु त लैजा भनेर बारुले दिइपठाइङ । घडी र सिन्दुरे लेरआइङ । हाहाहा थापा मोरा बाठो लाड्यो तीन बल्ड्याङ्ग, होकि दाजु ।

 

काका र बाउको गफ मंगलेले भात खाँदै भित्रैबाट सुन्यो र हत्तार काकाको साइको फाइ घडी हेर्न थालको भात बोकेर बाहिर आयो । काकाको छेउमा गएर मंगलेले साइको फाइ घडी हेर्दैथ्यो ।  

– हैन यो केटा भात बोकेर बाहिर के खोजी हिड्छको । भित्र जा ।

राम्रोसँग हेर्न पाकै थिएन । बाउले कराएर भित्र पठाए । भात खाइसकेर स्कूल जाने बेला काका गइहालेछन् । हत्तेरी १ साइकोफाइ घडी मज्जाले हेर्नै पाइएन । मंगलेले मनमनै भन्यो । 

– ओई मंगले कति बज्यो तेरो आलु घडीमा । 

ध्रुवेले सोध्यो । सबै गलल हाँस्यो । मंगले रातोपिरो हुँदै नाडी लुकायो । स्कुलमा एक्लै भएको बेला मंगलेले बल गरेर सम्झिन खोज्यो । टिलिकक् टल्कने पाङ्ग्राभित्र तीन ओटा सुई थिए ।  मंगलेले नाडीमा कलमले काकाको जस्तै घडी बनाकोथ्यो । घडी हेरेर एकछिन खुशी भयो । तर, उसको नाडीमा बनाएको घडी काकाको जस्तो चम्किलो र राम्रो थिएन । फेरि हेरयो  झन् नराम्रो लाग्यो । मंगलेले थुकले नाडीको घडी मेट्यो र सर्टका बाहुलाले छोपेको थियो । अलिअलि मेटिएको घडी ध्रुवेले देखिहालेछ । बेइज्जत गर्ने आलु घडी अनि काकालाई मान दिने साइको फाइभ ।

स्कूलबाट घर पुग्नेबित्तिकै  मंगले हत्तार बाटोमुनि काकाकोतिर दौड्यो । काका घरमा थिएनन् ।  

–काकी, काका कता जानुभो ?

– मास्ला गाउँतिर गए होलान् नि ।

– कति बेला आउनुहुन्छ ?

– हन, तेरो काकाको के टुङ्गो  ।  

मंगले निराश भएर फर्कियो ।

 

भोलि बिहान उठ्नेबित्तिकै पानीको ग्यालेन बोकेर बाटोमुनि काकाको घरतिर लाग्यो ।  

– काका ओ काका ।

– हाउ लाखे है, के भो को, मंगले  हैन को ।  हाउ अनि किन आइस् त बिहान नै ।

– त्यत्तिकै आको काका । भुन्टे कता गो ?

– हाउ खै कता छ हेर को आफै।

काका पेटीमा टोपी र साइको फाइ राखेर जुठेल्नुमा मुख धुँदै थिए । मंगले काकाको साइको फाइभको छेउमा गएर हेरयो । छुम्छुम लागेर छुनै के लागेको थियो ।  

– हाउ मंगले ।

मंगलेको सातो गयो । झन्डै मुत नै नखुस्केको । हत्तार सम्हालिँदै भन्यो

– हजुर काका ।

– हाउ तेरो बाउ के गर्दै छ को ?

– खै घरमै होला काका ?

टोपीले मुख पुछ्दै् काका साइको फाइभ टिपेर माथिल्ला घरतिर लागे । मंगले पँधेराबाट पानी लिएर आयो ।

 – लौ आयो आयो । पानी नपस्ने घडी सस्तोमा आयो । ए हजुर लु ओरजिनल घडी यता ।

शनिबारे बजारमा घडी व्यापारी पानीको बाटामा घडी डुबाएर कराउँदै थिए । मंगले छेउमा गएर खालखालका घडी हेर्दै दाम सोध्दै थियो ।  

–दाइ यस्को कति ?

– भाइ यो क्यू एण्ड क्यू ओरिजिनल पाँच सय पचास ।

– अर्को देखाउनु त।

– यो क्यासियो ओरिजिनल हजार पचास ।

– अर्को ।

– यो जि–सक ओरिजिनल बार सय पचास ।

– अर्को ।

– यो सिको फाइभ ओरिजिनल बत्तीस सय पचास ।

मंगलेले साइको फाइभ घडी एकतीस सयमा किन्यो र नाडीमा बाँधेर खुशीले नाचेको के थियो । चड्याम्म बिजुली चम्कियो । मंगले तर्सिएर जुरुक्क उठ्यो । सुरुमा हातको साइको फाइभ घडी छाम्यो । हात त बुच्चै । एकछिन वातावरण नियालेपछि पो थाहा भयो । सपनामा खुशीले नाच्दा खाटबाट झरेको रहेछ । मंगले उठेर सम्हालिदै सुत्यो अनि साइको फाइभ घडीको सपना देख्न बल गरयो । निद्रा पर्दै परेन । कति बेला फुस्स निदायो थाहै पाएन । धेरै दिनपछिसम्म पनि मंगलेले बल गरेर साइको फाइभवाला सपना जोड्न खोज्यो तर सपना कहिल्यै दोहोरिएन ।

बर्खाको धमाधम सुरु हुने बेला सिंदुरे थला  परयो । काकाले दिनहुँ तेल, डिम्बा र नुन खुवाए । काकीको कचकच सुरु भैसकेको थियो ।  

– यो अधबेस्रोसँग कुन दिनमा भेट भयो नि । हुँदाखाँदाको बहर गोरु साटेर मरयो । यो बुढो सिनो बर्खाको मुखमा थला बसिसक्यो । अरूले खेती थालिसके । यो अधबेस्रोचाहिँ यै सिनो घिचोस।

– हाउ नकराउ न को । हाउ अनि अन्नपानीको शरीर विरामी हुनु नि नपाङ्नु को । आबो निको हुँदै छ को । बेला पनि बितेको छैन । हाउ यो आइमाई कति कोहोलो गर्छ को । हाउ यस्तै हो भने हाउ मुग्लान पो भासिङ को नि बरु । सधैको कचकच ता सुन्नु पर्देना को नि बरु।

– हो । लु भुन्टेको बाउ विदेशै जाऊ बरु । माइतीतिर हारगुहार गरेर भा नि रिन खोज्छु बरु ।

– हाउ लु नकरा के सारो पुरान लाको । हाउ बरु एक बटुको बनाङ त । तल छेउघरेलाई मन्साङनु लाङनु परयो को ।

– लु आफै बनाएर खाऊ है । मचाहिँ बनाउँदिन । मान्छेले खेती थाल्यो ।  अधबेस्रोचाहिँ सिनो स्याहार्दै बस ।

काकाले छेउघरे ल्याएर सिंदुरे मन्साउनु लगायो । सुँगुरको बुच्चा  भाकाल गरयो ।

– लु भोलि बिहानतिरबाट घाँस पानी खान्छ हाउ दाजु । अलि डाहीले दुःख देको रैछ । मैले राम्रो पन्छाइदेको छु कि । यो अक्षताले शिर र पाउमा हान्नु कि अनि अलिकति खोलेमा मिसाएर दिनु है । भोलिदेखि उठ्छ । नभा फेरि  भोलि एकफेर पहेलो घाममा मन्साइदिङला हाउ दाजु।

नभन्दै भोलिपल्ट बिहान सिंदुरे उठ्यो । काकाको खुशीको सीमा नै रहेन । दिनमा सिंदुरेले खोले घाँस पनि खायो । बेलुका काकाले छेउघरेलाई बोलाएर फुल्दै गरेको पोथी बनाएर खुवायो । छेउघरेले फेरि एक ल्ट फुकेर नुनको सोझो गरयो।

पर्सिपल्ट अलिकति मेलो थाल्ने सुरले काकाले गोरु मेलोमा पुरयाए । मज्जाले शिर ठाडो गरेर हिडेको सिंदुरे हेरेर काकाको दिलखुश थियो । भात र घाँस लिएर आएकी काकीलाई काकाले देख्यौ कि त ।  सिंदुरे कस्तो छ  भन्ने भावले छेडछाड गरे । काकीले उस्स भन्ने भावमा ओँठ लेब्राइन् ।

– हनदिनभरि जोत्छौ कि?

– हाउ हैन को आधा दिनसम्म मात्रै । हन अनि सिंदुरे राम्रो तङग्रेको छैन को ।

काकीले दिउँसोलाई खाजा ढुङ्ग्रो भिजाइराख्दिइन् र फर्किइन् ।

काकाले बिस्तारै खेलाउँदै जोत्दै थिए । छेउमेलो हिँड्दा–हिँड्दैको  सिन्दूरे डिलमुनि लडिझरयो । काकाले हत्तार जुवा खोलिदिए । सिन्दूरे कान्लामुनि रयाल काढ्दै थियो । काकाको मुटुमा जोर परिसकेको थियो । बल गरेर सिन्दूरेलाई उठाउन खोज्यो । चुँ हल्लेन । भिम्सेनको बल पुकारेर काकाले सिन्दूरेलाई उठायो तर सिन्दूरे बर्लङ्गै लडिहाल्यो । असिनपसिन भएर अनेक जुक्ति लायो तर अहँ केही सिप लागेन ।

आलीमा बसेर सिन्दूरेलाई एकटक हेरिरहे । टोपी निकालेर पसिना पुछे । सिन्दूरे टुलुटुलु काकालाई हेरेर आँसु बगाइरहेको थियो । काकाले गालामा दुवै हातका तोक्लाङ लगाएर खुइयय गरयो । भड्क भुडुक्क गरेर सिन्दूरले उठ्न खोज्यो । तनक्कतनक्क जीउ तानेर सिन्दूरेले टाउको भुँइमा बिसायो । आँखा बन्द गरयो । पेटमा श्वासप्रश्वासको तलमाथि बन्द भयो । काकालाई  रिँगटा लाग्यो । हातखुट्टा काम्न थाले । काकाले घडी हेरे ।  

–घडीमा ठिक बाह्र बजेको थियो ।

प्रकाशित: १९ माघ २०७७ ०५:५३ सोमबार

अक्षर