कला

पत्र

लघुकथा

सन्तुराम आफ्नो वैभवमा गौरव गर्थे । हुन पनि हो उनको यथेष्ट धनसम्पत्ति थियो । सरकारी अधिकृतमा जागिर खाएका सन्तुरामको बिसौ बिघा जग्गा थियो । छोराहरूलाई लहरै  एकएकवटा घर बनाइदिएका थिए ।

सन्तुरामको श्रीमती अचानक विरामी भइन् । अस्पताल लैजान नपाउँदै उनको निधन भयो । काजकिरिया उम्काए । यो ठूलो चोट भुल्न सन्तुरामलाई समय लाग्यो । तैपनि छोराबुहारी नातिनातिना छन् भन्दै चित्त बुझाए ।

एकदिन आफू बसेको घरको छोराबुहारी बिचमा भाँडभैलो भयो । उनले छोराबुहारीलाई गाली गरे । झगडा साम्य भयो । भोलिपल्ट बिहान बुहारी उठेर माइत गइन् । तर, उनी धेरै समयसम्म घर आइनन् ।

एकदिन सन्तुरामले छोरासँग कारण बुझें । छोराले भन्यो– तपाईलाई वृद्धाश्रम पठाउने रे ।

सन्तुराममा ठूलो चड्कन लाग्यो ।

– अनि तेरो विचार ।

– मेरो भविष्य डाँवाडोल भयो । म के भनौं खैं !

सन्तुरामले अरू तीन छोरासँग कुरा राखे । फेरि हाम्रो घरमा पनि भाँडभैलो मच्याउने विचार छ भन्दै छोराहरू उचालिए । छोराहरूको यो रूखो बचनले सन्तुराम मर्माहत भए । उनी आफै वृद्धाश्रम गए । बूढा वृद्धाश्रम गएको कुरा थाहा पाएर बुहारी घर आइन् ।

सन्तुरामले आँसु पिउँदै जीवन गुजारे ।छोराहरू कहिलेकाही जग्गा पास गरिदेऊ भन्न पुग्थे । तर, सन्तुरामले पछि भन्दै टारिरहे । 

केही समयपछि सन्तुरामको निधन भयो । काजकिरिया उम्क्यो । पैंतालीस दिनको काम सकेपछि छोराहरूले जग्गा पास गर्ने सल्लाह गरे  । 

एकदिन सन्तरामको छोराहरूको घर अगाडि तीनओटा कार आएर रोकियो । छोराहरू को रहेछ भन्दै आए । कारबाट चारपाँच जना मान्छे निस्केर छोराहरूलाई चिठी दिँदै भने– ल बाबाको मृत्यु अगाडिको पत्र ।

छोराहरूले पत्र पढ्न थाले ।

म जाने बेलामा  तिमीहरू सबै मेरा लागि कुनै उपयोगी भएनौ । यो सबै मैले जोडेको सम्पत्ति हो । मजस्तै धेरै आमाबाबुहरू बेसहारा रहेछन् । त्यसैले मजस्तै आमाबाबुलाई सहयोगी होस् भनेर घरजग्गा वृद्धाश्रम बनाउन पास गरिदिए । पुर्खौली सम्पत्ति पहाडमा छ ।  तिमीहरू उहीँ गएर बस्नु।

प्रकाशित: १९ माघ २०७७ ०४:४२ सोमबार

अक्षर