कला

वियस राईको ‘हिउँ माझी’

समीक्षा

आरम्भ

वियस राईद्वारा लिखित ‘हिउँमाझी’ कथा सङ्ग्रह अमेरिका आउने मेरा आफन्तको पोकोमा बोकिएर मेरा मित्र तथा भाइ श्रीराम राईको कोसेली बनेर मसमक्ष आइपुगेको छ । ‘पढिदेओस्’ भनेर पठाएपछि पढ्न थालेँ । मन पर्यो र मेरो धारणाको लेखौट यहाँहरू समक्ष पस्केको छु । यो मेरो नितान्त व्यक्तिगत नजरिया हो । त्यसकारण यो लेखौटभित्र ‘हिउँमाझी’ भित्रका शित पनि छन्, उष्णता पनि छन् । 

आधार

सामान्यतया नेपाली साहित्यवृत्तमा समालोचना गर्दा प्राध्यापकीय समालोचना शैली अपनाउने गरिन्छ । प्राध्यापकीय शैली भनेको कृतिकारको जीवनीलाई, उसको ओज तथा हैसियतलाई याने कि उसको योगदानलाई दृष्टिगाोचर गरी कृतिमाथि समालोचना गर्ने प्रवत्ति हो । यस्तो समालोचनात्मक प्रवृत्तिमा  विवरणात्मक शैली भेटिन्छन् । शास्त्रीय सूत्रलाई आधार बनाइन्छ । लेखक बाँचेको भौतिक तथा मनोवैज्ञानिक धरातलका कसीमा टिप्पणी गरिन्छ । समालोचना गरिन्छ । यसरी गरिएका टिप्पणी वा समालोचना भावुक हुन्छन् वा प्रभाववादी हुन्छन् । नेपालको सामाजिक, बौद्धिक तथा सांस्कृतिक पटमा यस्तो समालोचना प्रखर र गुणग्राह्य मानिन्छ । किनभने लेखक, प्रकाशक यस्तै सुखद भावुकता मात्र मन पराउने गर्छन् । तर, यस्तो समालोचनामा व्यक्तिगत आग्रह, कुण्ठा, प्रभाव तथा भावुकताले काम गर्छ । त्यसैले यस्ता आधारमा गरिने प्रभाववादी टिप्पणी पनि समालोचना होइन भन्ने तथ्य बिस्तारै स्थापित भएको छ । कृतिकारको वा कृतिको निन्दा वा भजन, कम्तिमा दुवै ग्राह्य छैनन् वर्तमान समालोचनामा ।  

कृतिमा विचार र भाषा दुवैको समान महत्त्वपूर्ण भूमिका हुनुपर्छ । कृतिकारको ओज गौण हुन्छ । त्यसकारण अहिलेको कृतिका विषयवस्तुमा जस्तै कृति समालोचनामा पनि जनताका ढुकढुकी बोल्नुपर्ने हुन्छ । वास्तविकता र यथार्थ खुराक पस्किनुपर्छ ।  अनि मात्र उत्तर आधुनिक कालको समालोचना हुन जान्छ । यो काम जटिल छ । अपजसे पनि छ । तर अहिलेको अवस्थामा मलाई सजिलो यसकारणले छ कि म कृतिकार वियस राईलाई कुनै हिसाबबाट पनि चिन्दिनँ । मैले भौतिक अभौतिक वा छापामा कहीँ कतै नदेखेको, नसुनेको र नभोगेको नाम हो । उनी मेरा गुटका पनि होइनन् । कृतिभित्र पनि कहीँ कतै कृतिकारको चिनारी वा स्वचिनारी छैन । यो समीक्षा दस्तुर लिएर लेखिएको पनि होइन । त्यसैले चाहेर पनि म कृतिकारको निन्दा वा भजन गाउन सक्दिनँ । कृतिसापेक्ष हुनु मेरो बाध्यता हो, यो कुरा भने बुझिदिनुस् है । 

अन्तर्य –

कथा सङ्ग्रह ‘हिउँमाझी’भित्र जम्मा तेह्र थान कथा छन् । ती कथाहरूले अब्बल कथानक पस्किएका छन् ।  

१.नाम्लो –  

कार्यपीठिका सोलू रहेको यो ‘नाम्लो’ कथामा मुख्य पात्र म याने तिखे दमाईँ र डेजी इडेन छन् ।

एउटा पथप्रदर्शकको जीवनीमा आधारित उतारचढाव तथा मनोदशा उजागर गरिएको छ । पथप्रदर्शनको विषयमा सुन्दर तरीकाले विषय प्रस्तुत गरिएको छ । 

२. टुङ्ना

कथाको मुख्य कार्यपीठिका धादिङ छ । मुख्य पात्र फुल्सानी र पासाङ छन् । दुवैको असफल प्रेमकथा छ । फुल्सानीलाई माओवादीले जबर्जस्ती लैजान्छन् । पासाङ परिवेशले पुलिसमा जागिर खान्छ । धेरै वर्षपछि पासाङ गाउँ फर्कन्छ, तर बाटैमा थाहा पाउँछ कि फुल्सानीलाई सेनाले त्यही ठाउँमा कुटी कुटी र बन्दुकका नालले घोचेर मारेका छन् । माओवादीले लैजाने बेलामा प्रेमको चिनोको रूपमा टुङ्ना पासाङ्लाई फुल्सानीले दिएकी हुन्छिन् । फुल्सानी मारिएको थाहा पाएर त्यो टुङ्ना पासाङले आफूलाई माया गर्ने हाकिमलाई दिएर कथा सकिन्छ । प्रेमको विसर्जन हुन्छ ।

३. चन्दा

यो  कथामाकार्यपीठिका सोलुखुम्बु रहेको छ । कृषि मजदुर गरिब छत्रे, विद्यालय सञ्चालक  समितिका अध्यक्ष मुक्तिनाथ, छत्रेका मालिक हर्कबोल राई पात्र छन् । गरिब कथित अछुत मानिएको छत्रेले कथित बाहुन मुक्तिनाथको घरमा पस्दा रुद्री गरेर चोख्याएको विभेदीय र सामन्तवादी सोचबाट कथा सुरु हुन्छ । तर मुक्तिनाथकै श्रीमतीलाई प्रशव –वेदना हुँदा छत्रेकै रगत हाल्नुपरेको यथार्थ पस्केर कथालाई राम्रो बनाउन प्रयास गरिएको छ । 

४. जिम्मा

मुख्य पात्र चञ्चलाका माध्यमबाट वर्तमान नेपाली समाजको राजनीतिक, समाजिक, नैतिक तथा सानो जात ठूलो जात भन्ने परम्परामाथि प्रहार गर्दै कथा लेखिएको छ । राजनीतिक नेताको चरित्रको रूपमा वडाध्यक्षलाई उभ्याइएको छ । वडाध्यक्षले चञ्चलालाई पेट बोकाएको छ । र जिम्मा अर्कै लठेप्रालाई लाउन खोजेको छ । प्रभावशालीले पेट बोकाउने र निम्छरोलाई जिम्मा लाइदिने नेपालको पुरानो पुरुषप्रधान न्यायप्रणाली माथि प्रहार गरिएको छ । 

५. हिजोको कुरा

‘हिजोको कुरा’ कथामा कर्ने उर्फ करण राई र बाले उर्फ बालकुमार मुख्य पात्र छन् । बाल्यकालदेखिका ती दुई साथीको क्षणिक रूपमा मनोमालिन्य भए पनि दुई मित्र कसै गरे पनि छुट्टिँदैनन् भन्ने सकारात्मक सन्देश बोकेर कथा आएको छ । 

६. माफ

सोलुखुम्बुलाई कार्यपीठिका बनाएको यो ‘माफ’ कथामा सौलच्छी, कवलसिङ, रूकमान लगायत धेरै पात्र छन् । यो कथामा संस्कृति, परम्परा, रीतिथिति, तथा सभ्यताको कुरा छ । र यसमाथि राजनीतिले राजनीति गरेर परम्परादेखि मानिआएको सांस्कृतिक विषयलाई पनि जातका आधारमा विभाजन गर्न खोज्ने नवप्रवृत्तिमाथि प्रहार गरिएको छ । सकारात्मक सन्देश कथाले प्रवाह गरेको छ । 

७. हिउँ माझी

कथामा सोलुखुम्बुको कार्यपीठिका छ। मुख्य पात्र मिङ्माले सगरमाथा पथप्रदर्शकको जिम्मा पाएको छ । यो कथामा सगरमाथा चढ्दाको रोमाञ्चक अनुभूति मात्र होइन, बाटोको जटिलता, कहरपूर्ण अवस्थाको ज्यादै मीठो चित्रण भएको छ । साथै शेर्पाले हिमालको माया गरेको, राष्ट्रियताको कुरा उठाएको प्रसङ्ग पनि घतलाग्दो तरीकाले आएका छन् कथामा । शेर्पा नभए स्वदेशी वा विदेशी कोही पनि हिमाल चढ्न नसकिने तथ्य प्रस्तुत छ । शेर्पाले बोकेर सगरमाथा पुरयाउने तर नाम विदेशीको रहन प्रवृत्तिमाथि मीठो दुखेसो पोखेको छ कथाले । 

८. नाकाबन्दी

मैता मूल पात्रा रहेको यो ‘नाकाबन्दी’ कथामा काठमाडौँ भक्तपुर कार्यपीठिका छ । कथामा मैताको लोग्ने मरेको छ । सत्यको परिवेशमा लेखएिको यो कथा निकै मार्मिक छ । नाकाबन्दीले पारेका असरबारे कथाको माध्यम मैताको जीवन केलाउँदै कथा अघि बढेको छ । नाकाबन्दीको हरेक कुनामा प्रवेश गरेको छ । पत्रकारको सकारात्मक धर्मलाई कथाले प्रयोजन बनाएको छ । कथा बनौटका हिसाबले पनि राम्रो छ । 

९. चम्पाको नाम

मूल पात्र चम्पा हुन् ।अरनिको राजमार्ग, तातोपानी तथा काठमाडौँ कार्यपीठिका भएको यो कथामा  

गरिबी, तथा विवशताको चित्र मार्मिक भएर आएको छ । कथाभित्र धर्म परिवर्तन गर्नुपर्ने कारणको सन्दर्भ उठाइएको छ । नागरिकतामा बाबुको नाम चाहिने परिपाटीप्रति कटाक्ष छ । समाजले दिएको नाम हो चम्पा, ईँटा भट्टमा यौन बजारले उसलाई दिएको नाम हो हाँडी, र धर्म परिवर्तन गरेपछि क्रिस्चियन धर्मले दिएको नाम हो हन्ना । त्रिकोणात्मक कहर बोकेको यो कथामा चम्पा पात्रको के हो ? भनेर प्रश्न गरिएको छ । विषयवस्तुका हिसाबमा पनि कथा अब्बल छ । 

१०.वसन्त भर्सेज बस्टिन

कार्यपीठिका काठमाडौँ भएको यो ‘वसन्त भर्सेज बस्टिन’ कथामा प्रमुख पात्र म र उगेन छन् । लागू पदार्थ सेवन गर्ने युवक ‘म’को कथावस्तुमा कथानक घुमेको छ । एउटा म्यूजिकमा लाग्न चाहने बोकेको म पात्रलाई जबर्जस्ती विज्ञान पढ्न लगाउने बाबुआमा तथा परिवेशका कारणले सिर्जित समस्यालाई अत्यन्तै राम्रोसँग उजागर गरिएको छ । मनोवैज्ञानिक द्वन्द्व छ । नेपालको शैक्षिक विसङ्गतिलाई मजाले उजागर गरिएको छ ।  

 

११.बयान

कार्यपीठिका अरनिको राजमार्ग रहेको छ । मुख्य पात्र म र बुद्धसिंह तामाङ छन् । एउटी विवश महिला, जो भारतमा बेचिएकी छे, यौन शोषणमा परेकी छे, अकल्पित, अनिच्छित गर्भको प्रतिफल छोरा बोकेर नेपाल फर्केकी छे । जाहिर छ विवश महिलाले एड्स बोकेकी छिन् । त्यो छोराले आमालाई जोगाउन, अस्पतालको पैसा तिर्न कुनै उपाय नदेखेपछि ऊ निराश, निरीह तथा ग्लानिमा पर्छ । तैपनि  पैसा खोज्छ । त्यति पैसा कहाँ पाउनु  र उसको बाध्यताबाट फायदा उठाएर तस्करले मन्दिरको त्रिशूल, मूर्ति तथा घण्टी चोरी गर्न लगाउँछन् । पुलिसले पक्रन्छ । यो एकदम कारुणिक कथा छ । विभत्स कारुणिकभन्दा झन् यथोचित होला । 

१२. सरुवा

काठमाडौँलाई कार्यपीठिका बनाएको ‘सरुवा’ कथामा इन्सपेक्टर विमल मूल पात्र छ । उसको नेतृत्वमा लागू औषध नियन्त्रणमा ठूलो उपलब्धि हात लागेको उपलक्ष्यमा बिमल आफूलाई विभूषित गरिएको सपना देख्दै थियो । तर, यथार्थमा उसलाई विभूषण होइन हुम्ला सरुवा गरिएको सरुवा पत्र पो थमाइन्छ । इमानदार प्रहरीको खैरियत छैन भन्ने सन्देश दिएको छ कथाले, जो सुन्दर छ । 

१३. जोखना

कार्यपीठिका सोलु भएको ‘जोखना’ कथामा धनसुवा र जसे राई मुख्य पात्र छन् । गरीबी, जीवन, अन्धविश्वास, परम्परा र कुरीतिमाथि प्रहार गरिएको छ । मुख्य पात्र जसे राईका बाबु क्याप्चुलाको मधेसमै मृत्यु भइसकेको सेलेना याने धामीले जोखाना हेरेर भनिदिएको भरमा गाउँले सबैले मिलेर किरिया नै गराइदिएको र पछि बाबु बसाइँ सराइ लिन गाउँ नै पुगेको गजब कथानक छ ।  

अब्बल –  

यो बुँदामा आइपुग्दा मैले कथा     सङ्ग्रहभित्र धेरै खजाना मिलाएर राखिएको छ भन्ने बुझेको छु । मलाई आफूलाई यो कथाभित्र मनपरेका कुराहरूलाई मैले खजानाको संज्ञा दिएको हुँ । मेरो नजरियाको खजाना अर्काका लागि किमति नहुन पनि सक्छ । हुन पनि सक्छ । 

पारम्परिक हिसाबबाट हेर्दा कथा लेखनका लागि नभई नहुने कथानक, पात्र, शैली, रूपविधान, थिम आदि हुन् । तर कुशल कथाकारले यी तत्त्वलाई मिसमास गरेर पनि आफ्नो विशिष्ट शिल्पका माध्यमले कथाको लेख्न सक्छ । यसो गरिने कर्मलाई नयाँ प्रयोग पनि भन्ने गरिन्छ । तर यो कथा सङ्ग्रहमा उनिएका तेह्र थान कथामा त्यस्तो नवीन प्रयोग छैन । परम्परागत शास्त्रीय मान्यताका आधारमाथि टेकेर कथा लेखिएको छ । त्यसैले बोधीय भएको छ ।

कथावस्तु – 

यो कथा सङ्ग्रहमा प्रयुक्त कथाहरूमा अग्र्यानिक तथा स्वाभाविक कथावस्तु पस्किएको देखिन्छ । कथावस्तुको नवीनताका हिसाबले निकै अब्बल भएको छ । कथानकमा कृत्रिमता छैन । प्रस्तुतिमा छलछाम छैन । जे हो, त्यो सोझै भनिएको छ । कथा सङ्ग्रहभित्र समेटिएको यो एउटा सबल पक्ष हो ।  

पात्रविधान –

यो कथा सङ्ग्रहको एकदम अब्बल पक्ष भनेको कथाको पात्रविधान पनि हो । पात्रहरू एकदम सहज, आवश्यक र कथाभूमिसँग तादात्म्य राख्ने खालका छन् । कथाले बयान गरेको कथानक परिवेशअनुसार सुहाउने नाम र काममा सुन्दर देखिएका छन् पात्रहरू । यो ज्यादै महत्त्वपूर्ण पक्ष हो । कथा लेखनको यो पक्ष निकै सुन्दर छ ।  

शैलीविधान –

कथाको शैलीविधान सरल, सललल बगेको छ । चटकी छैन ।  

रूपविधान – कथा पढिरहँदा हेरिने महत्त्वपूर्ण कुरा भनेको कथाको रूपविधान हो । रूपविधानको आशय

कथावस्तुको छनौट, पात्र परिचालन, कथाकारको मुड, चेत, अनुभव, दृष्टिकोण, प्रयोजन र कथा भन्ने शैली या प्रस्तुतिको समग्र विधान हो ।  । कथा कहाँबाट सुरु गर्ने र कसरी अन्त्य गर्ने भन्ने योजना हो । तानाबाना हो । त्यो तानभित्र मिहीन बुनाइ भयो भने कथा घागडान बन्न जान्छ ।रूपविधानले कथाकालीन संस्कृति, भूगोल, इतिहास, जनजीवन तथा समग्र समाजको चित्रण खोज्छ । कथा सँगसँगै यी कुरा जति सुललीत भएर लेखिन्छन् कथा त्यति स्तरीय र राम्रो हुन्छ । यो कथा सङ्ग्रहमा ती कुराहरू याथोचित ठाउँमा दर्बिलो भएर आएका छन् ।  

द्वन्द्वविधान –एकै विषयका दुई वा दुईभन्दा बढी मान्यताहरूका बिचमा द्वन्द्व गराउने र लेखकको आशय बोकेको मान्यतालाई स्थापित गर्ने कथनी कथा हो । ‘हिउँमाझी’ कथा सङ्ग्रहभित्र उठाइएका कथ्यगत मान्यतालाई द्वन्द्वका माध्यमबाट विश्लेषण गर्ने प्रयास छ, जो स्तुत्य छ । 

यसबाहेक अन्य धेरै पक्ष हुन्छन् कथाका । विषयवस्तुका, प्रयोजनका, बुनौटका, प्रस्तुतिका मात्र नभएर समाजले सुधारात्मक अग्रगम्यता पनि खोज्न सक्छ । किनकि नछापुञ्जेल कृतिका सामलभित्र कृतिकारको मात्र हकदावी हुन्छ भने प्रकाशनपछि पाठकले पनि उत्तिकै हकदावी गर्न सक्छन् । 

यी समग्र कुरामा यो कथासङ्ग्रह खरो उत्रेको छ । कथाकारले इमानदार र सहज अवतरण गरेका छन् । सामाजिक विसङ्गतिलाई मजाले उजागर गरेका छन् । त्यसैले कथातत्त्वका हिसाबमा पनि ठोसी हाल्नुपर्ने कुनै कारण छैन । त्यसमाथि पनि पढिरहँदा मलाई अत्यधिक मन परेका कथाहरू टुङ्गना, हिउँमाझी, नाकाबन्दी, चम्पाको नाम, वसन्त भर्सेज बस्टिन, बयान, जोखना आदि हुन् । 

भाषा –

कथा सङ्ग्रह ‘हिउँमाझी’भित्र मलाई सबैभन्दा मनपरेको विषय भनेको कथामा प्रयुक्त भाषा नै हो । भाषा एकदम सरल, बोधीय, ठेट, स्तरीय, स्वाभाविक र दर्बिलो छ । अझ विशेषराम्रो भाषिक पक्ष भनेको सम्वादमा प्रयोग भएको स्थानीय भाषिका वा कथ्य भाषा हो, जो निकै स्वाभाविक र यथार्थ छ । यसले जनजातिले बोल्ने नेपाली भाषाको यथार्थ रूपलाई अत्यधिक न्याय गरेको छ ।  

कथाको सम्वादमा जनजातिले बोल्ने स्थानीय नेपाली भाषालाई हाल्दा जनजातिले विरोध गरेको भुक्तभोगी म आफैँ हुँ । तर, यहाँ जनजाति बुझाउने थर भएका वियस राईले स्थानीय दुरुस्त भाषा प्रयोग गरेकाले मैले कथाकारलाई स्यालुट हान्नै पर्छ । मलाई पनि वियस राईलाई झैँ कथानकलाई यथार्थ तथा अग्र्यानिक बनाउन जुन पात्रको जस्तो सामाजिक  तथा भाषिक परिवेश छ, त्यसलाई जस्ताको त्यस्तै लेखिनुपर्छ भन्ने लाग्छ । यो भाषा प्रयोगको पक्ष मलाई अति नै मन परेको छ । यसैगरी पात्रले साधारणतया बोलिरहने शब्दलाई कथित सभ्य भाषाका अुनयायीहरूले लाज हुने वा अश्लील भन्ने परिपाटी नेपाली साहित्यमा देखिएको छ । यो स्वाङलाई कथाकारले चिरेका छन् । साधुवाद । अंग्रेजी साहित्य तथा हिन्दी साहित्यमा पनि सम्वादमा यदि अश्लील शब्द आवश्यक छ भने हालिएको पाउँछु म ।  

अर्थ–संस्कृति–राजनीतिक पक्षको उजागर– 

कथासङ्ग्रह ‘हिउँमाझी’ पढिरहँदा कथा मात्र पढेजस्तो लाग्दैन । कथामा प्रयुक्त कथानकले कार्यपीठिका क्षेत्रको अर्थव्यवस्था, सांस्कृतिक परम्परा, भूगोल, इतिहास, रीतिथिति, सभ्यता, चालचलन, राजनीतिका बारेमा कलात्मक प्रस्तुति गरेको छ । समाजमा रहेको अन्धविश्वास, विभेद, जातीय प्रथाको प्रभाव, आर्थिक अवस्थाले राजनीतिक अवस्थामा पारेको प्रभाव, राजनीतिक अवस्थाले समाज तथा आर्थिक अवस्थामा पारेको नकारात्मक प्रभाव पनि उल्लेख हुनु कथाको सौन्दर्य हो । कार्यपीठिकाको स्थानीय स्वादको बेजोड प्रस्तुति भएको छ । 

सकारात्मक सन्देश –

कथा सङ्ग्रहभित्र उनिएका कथाहरू पढ्दा कथाकारको उद्देश्य सकारात्मक देखिन्छ । प्रायः नकारात्मक धार मनपराउने नेपाली पाठक छन् । तर, कथाकारले पूर्ण कलाको प्रयोग गरेर सकारात्मक सन्देश दिएका छन् । जो ज्यादै प्रशंसनीय छ । 

अर्जी

कथा सङ्ग्रहभित्र प्रयुक्त कथाहरू पढ्दा सबै एकैखालका छैनन् । एकै स्तरका छैनन् । त्यो हुने कुरा पनि होइन । क्रिएटिभ राइटिङमा यस्तो कुरा सम्भव पनि छैन । तर पनि मेरा आफ्ना विचारमा कथाबाट यी तपसिलका कुराहरू घटाउन पाए हुन्थ्यो भन्ने त लागि हाल्दो रहेछ ।  

संस्मरणात्मक निबन्ध शैली – 

कथा सङ्ग्रह पढ्दै जाँदा पहिलो ‘नाम्लो’ कथाले दाँतैमा ढुङ्गा लगाएको थियो । कथा पूरै कथ्य भाषामा लेखिएको छ । वियसकै अरू  कथामा यस्तो छैन । यो कथामा पनि अन्य कथामा जस्तै सम्वादमा स्थानीय कथ्य भाषा अन्यत्र मानक भाषा हाल्न पाएको भए झन् राम्रो हुने थियो भन्ने लागेको थियो । यो कथा नभएर पथप्रदर्शकको जीवनी जस्तो लाग्ने रहेछ । कथाभित्र न प्रेम छ न विद्रोह छ, न सेवा छ न त्याग छ । खालि संस्मरण छ । प्रयोजनमा अलमलिएको छ कथा । कथा सङ्ग्रहभरि यो संस्मरणात्मक निबन्ध शैली भेटिन्छ, जसले कथाको रूप विधानमा नकारात्मक प्रभाव पारेका छन् । तादात्म्यको अभाव – 

प्रायः सबै कथाहरूमा दुई वा दुईभन्दा बढी कथानक भएकाले ती दुईमा तादात्म्य कमजोर छ । थिम राम्रो भए पनि कथानक कसिएको छैन । ‘बयान’ कथामा दुई असम्बन्धित कथाहरू छन् । कथाको प्रथम भागमा एउटा सच्चा पुलिस अफिसरको जीवनलाई चित्रण गरिएको छ भने अर्को भागमा भारतमा यौनबजारमा बेचिएकी र अनिच्छित गर्भको फल छोरा बोकेर नेपाल पसेकी निरीह, आमाको दर्दनाक कथा छ । दुवै कथालाई जोड्ने तादात्म्य छैन । आवश्यक पनि छैन । यो कथानकमा दुईवटा कथा लेखिन सक्थ्यो । ‘जोखना’ पनि धेरैवटा कथाहरूको बिटो भएको छ । त्यसो त वियस राईको कथा लेखनको विशेषता नै दुई वा दुईभन्दा बढी कथावस्तुलाई एउटै कथामा हाल्ने देखिन्छ । प्रायः हरेक कथामा दुई वा दुईभन्दा बढी कथा छन् । जसले गर्दा कथाको प्रयोजन यो वा त्यो भनेर छुट्टयाउन असजिलो हुन्छ । 

लामो –एकाध छोडेर कथाहरू लामालामा छन् । असाध्य लामा कथाहरू पढ्न चुस्त हुन्नन् । लामो हुनको मुख्य कारण धेरै कथावस्तुलाई व्यक्त गर्न खोज्नु र कथानक परिवेशलाई पटकपटक दोहोरयाइरहनु हो । ‘हिउँमाझी’ भित्र यो समस्या असाध्य धेरै छ ।

विद्रोहको अभाव –  कथाभित्र पात्रहरू रुञ्चे छन् । यद्यपि कथानकको मूल आशय समाज परिवर्तनको मुद्दा उठाउनु नै छ । अन्धविश्वास, अन्याय र बेथितिमाथि प्रहार गर्नु नै छ । तर, त्यो प्रहार सूक्ष्म, मधुरो तथा अपर्याप्त छन् । यसो भनिनुको तात्पर्य माक्र्सवादी चिन्तनका झैँ विद्रोह छैन भनिएको पनि होइन । साहित्यको सौन्दर्यशास्त्रकै आधारमा पनि शालीन र तगडा विद्रोह हाल्न सकिन्थ्यो । पात्रलाई अधिकारका लागि लड्ने अभिप्रेरणा दिन सकिन्थ्यो । यो अवसरलाई समुचित उपयोग गर्न सकिएको छैन

उपसंहार –  

अब म उपसंहारमा आइपुगेको छु । मैले माथि पनि भनिसकेको छु कि मेरो निष्कर्ष मेरो निजी धारणा र चेत हो । निजी बर्कत र चक्षु हो । पाठक भइरहनुको जेनिथ अधिकार र स्वतन्त्रताको ढाल प्रयोग गरेर निष्कर्ष तथा उपसंहारमा पुग्दैछु । त्यसैले माथि लेखिएका लेखौटलाई मेरो दुस्प्रयास ठानिदिनु भए पनि हुन्छ ।  

सारांशमा भन्नु पर्दा यो सङ्ग्रह नेपाली साहित्यको उम्दा कृति बन्न पुगेको छ । संस्मरणात्मक निबन्धले ज्यादै धेरै प्रभाव पारेको छ । यो पक्षलाई सुधार गर्न सके सुनमाथि सुगन्ध हुने कुरामा म विश्वस्त छु ।  

धेरै कथा प्रहरीसँग सम्बन्धित छन् । केही कथा हिमाल आरोहणसँग सम्बन्धित छन् । केही कथाले माओवादी द्वन्द्वलाई बडो मिहीन पाराले उजागर गरिएको छ । उदाहरण – ‘टुङ्गना’ । यसमा द्वन्द्वकालको पीडा व्यक्त भएको छ । हिमाली भेगको जनजीवन, द्वन्द्व, प्रेम, सेना, माओवादीको चौराहमा बसेर कथा लेखिएको छ । निकै सुन्दर छ । निकै राम्रो छ । अब्बल कथा । बुनोट र कथानक दुवै मिलेको कथा ‘वसन्त भर्सेज बस्टिन’ ज्यादै राम्रो कथा बनेको छ । अब्बल कथानक, प्रस्तुति र सन्देशका हिसाबमा निकै राम्रो छ । किताबको शीर्षक  ‘हिउँमाझी’ रहेको कथा निकै गर्विलो र दर्बिलो बनेको छ । एउटा छुट्टै प्रकारको स्वाद दिन्छ यो कथाले ।  

कथा सङ्ग्रहका कथाहरू पढ्दा कथ्यकलाको कारणले पाठकमा दीर्घकालीन प्रभाव छोड्ने पक्का छ । यो समाजमा पर्ने प्रभावबाट पाठक मन्त्रमुग्ध बन्छ । खासमा कथाको उत्कर्षको मेरुदण्ड नै कथाले पार्ने पाठकमाथिको प्रभावको घनत्व नै हो । यो स्तरीय साहित्यको मेरुदण्ड हो । यो पक्षमा यो सङ्ग्रह सफल छ । 

अन्त्यमा भन्छु, कथा सङ्ग्रहका माध्यमबाट कथाकार वियस राईको कथानक विशेषतालाई मेरो लिलिपुटियन अन्दाजमा चिनेँ । उनका साहित्यिक प्रवृत्तिमाथि लोभलाग्दो नजरले हेरेँ । भाषा खेलाइको चमत्कारलाई कलमका डिलमा बसेर हेरेँ । मन्त्रमुग्ध भएँ । संसारमा सबै असल मान्छेहरूलाई भेट्न त कहाँ सकिन्छ र ! नसिवीय अखाडापतिले अनुमति दियो भने, सकारात्मक कुरा, पृथ्वी गोल छ भन्छन्, सायद कुनै दिन भेटौँला है कथाकार वियस राई । अहिलेलाई बधाई तथा शुभकामना !

प्रकाशित: १८ माघ २०७७ ०६:४९ आइतबार

अक्षर