कला

दिलमाया

कथा

–एक गिलास पानी देऊ त नानी !

–पानी कि जाँड ?” उसले मतिर हेर्दै सोधी ।

–पानी नै देऊ न,” मैले रुमालले पसिना पुछ्र्दै भनेँ ।

उसले सेतो सिल्भरका लोटाभरि पानी ल्याएर दिई । मैले एकै सासमा लोटा रित्याएँ ।

त्यहाँ कोही जाँड पिइरहेका । कोही बिँडी तानिरहेका । कोही खाजा खाइरहेका । अलि पर्तिर गाईवस्तु चराउँदै केटाकेटीहरू खेलिरहेका र केही बूढापाका छेउमा लौरो राखेर रूखको फेदमा बात मारिरहेका ।

त्यस ठाउँलाई आहालडाँडा भन्छन् । वर्षा यामको पानी जम्मा गरी वस्तुभाउलाई ख्वाउन वा अन्य प्रयोजनका लागि त्यो डाँडामा एउटा ठूलो आहाल खनिएकाले धेरै पहिलेदेखि नै त्यस ठाउँलाई ‘आहालडाँडा’ भन्ने गरिएको हो । ती वरपीपल छहारीका छेउछाउमा कुनै बाँसको टाटीले र कुनै ढुङ्गामाटाले बनाएका चार–पाँच वटा पसल छन् । पहिले त एउटा पसल मात्र थियो । गोठमा गाईवस्तु, खोरमा थुप्रै खसीबाख्रा दिनभरि जङ्गल लखेटिन्थे । घाम डुब्न लागेपछि गोधूलिको रङ्गसँगै तिनीहरू कताकताबाट टन्न अघाएर आफैं गोठमा आउँथे र बेस्सरी उग्राउन थाल्थे ।

आलडाँडा सधैँजसो जुनसुकै समय अभ्यस्त ठाउँ हो । त्यहाँ कुनै बेला मान्छे टुट्दैनन् । चार–पाँच जोडी ठूलाठूला वरपीपलका रूख, ठाउँ–ठाउँमा काठका फलैँचा । दोहोरीलता बटुवारेहरू एकैछिन भए पनि शीतल लिऊन् भनेर धर्म लुट्ने उद्देश्यले वरपर र अन्त पनि  वरपीपलका रूखहरू रोपिएका छन् त्यहाँ । ती परपर फिंजारिएका वरपीपल पनि बटुवारेलाई शीतलता दिन निकै आतुर भएझैं देखिन्थे । सर्लङ्–सर्लङ् पातहरू हल्लाउँदै चिसो बतास छोड्थे । वर–पीपल चौतारीको केही मास्तिर बास बस्न आउने मान्छे पर्खिरहेका दुईटा पाटी ।

कोही टन्न भारी बोकेका, कोही झोला मात्र भिरेका दोहोरीलता बटुवारेहरूमध्ये कति त्यहाँ एकैछिन बिसाएर जान्थे । कति सरासर बाटो लाग्थे । बिसाउनेहरू कोही वरपीपलको शीतल छहारीमा थकान मात्र मेट्थे। कोही जाँड, पानी वा अन्य कुरा खान्थे । अलि तन्नेरी ठिटाहरू यसो जाँड वा पानी खाने निहुँमा त्यो युवतीसँग जिस्कन थाल्थे । कति त उसको झरिलो जोवान देखेर राल काढ्थे । युवती घरिघरि यसो उनीहरूतिर हेरेर थोरै मस्किदिने गर्थी । आखिर व्यापार हो । जसोतसो चलाउनै परयो । यी सब कुरा म त्यहाँ बसेर नियालिरहेको थिएँ ।

–अहा , कति रमाइलो र मनमोहक ठाउँ त्यो । पूर्वतिर रातमाटा, कोटगाउँ, बार्लाङ पश्चिमतिर बुइपा, बसेरी, जुरेथुम्का, खाम्तेल उत्तरतर्फ गैरी–चौतारा, खानीगाउँ, मेघे चौतारो दक्षिणतर्फ खामडाँडा, पोखरे, जामुने यी सबै ठाउँ देखिन्छन् त्यहाँबाट । पारि चारकिल्ला सिरानको त्यो लहरे पैँयुडाँडो पनि यतैतिर हेरेर ठिङ्ग उभिएको छ । त्यसैगरी आलडाँडाको पूर्वपट्टि ट्याम्के फेदी हुँदै साप्सु खोलो बग्दछ । पश्चिमपट्टि रुपाकोट फेदबाट झरेको दिखुवा खोला । आहालडाँडालाई माझमा पारेर पूर्व–पश्चिमतिरबाट बगेका ती दुईवटा नदी त्यहाँबाट अलि तल बीस–पच्चीस मिनेट जति ओरालो झरेपछि एकै ठाउँमा मिसिन्छ । जसलाई दोभान भनेर चिनिन्छ ।  

अधिकांश खोटाङेहरूको मधेश–पहाड गर्ने त्यो बाटो, पुस्तौपुस्तादेखि दुःखलाई ढाकरमा बोकेर पुर्खाहरूले हिँडेको त्यो चौतारो मलाई जत्तिकै सबैलाई प्रियकर छ । त्यो आलडाँडासँग हाम्रो भावनात्मक सम्बन्ध छ । मनको गहिराइमा त्यहाँको माटोको सुगन्ध छ र ती वरपीपलका शीतल छहारी प्रत्येकका हृदयमा स्मृति बिम्ब बनेर बाँचिरहेका छन् र बाँचिरहने छन् सधैँभरि।

आपूm हिँडेडुलेका ती वारिपारिका दृश्यहरू हेर्दै म मुग्ध बनिरहेको थिएँ । साप्सु खोला छेउका ती सपाट खेत, हावाको सुस्त चालमा सुसाइरहने ती सल्लाका रूखहरू, ती भीरपाखा र उकाली ओरालीहरू त्यत्तिका वर्षपछि हेरेर कहाँ अघाइसक्नु थिए र मेरा लागि।  

दिखुवा दोभानमा खाना खाएर उकालो चढेको म दिउँसोको तातो घाम र ठाडो उकालोले त्यहाँ आइपुग्न निकै हम्मेहम्मे परयो । घाम पारि जुरे थुम्कामा पुगिसकेका थिए । वारिपारि हेर्दैै र सोचाइमा मग्न हुँदै निकै समय बितिसकेछ । थाहै भएन ।

धेरै समयपछि विशेष कामले म आफ्नो जन्मथलो खोटाङ हिँडेको । पारि सेरा–कात्तिके हो मेरो गाउँ । लामिडाँडासम्म प्लेनको सुविधा त थियो तर त्यति अनुकूल थिएन । पछि त खानडाँडामा पनि एयरपोर्ट बन्यो । प्लेन उड्यो । सदरमुकाम हुँदै गाउँगाउँसम्म बाटो पुग्यो । तर, त्यतिखेरसम्म पूर्वको कालिकोटै भनेर चिनिन्थ्यो खोटाङ । त्यसैले मैले गाईघाट हुँदै खाँबु, अँधेरी, खयरबास, रसुवा, भँडारेघाट, दूधकोसी र साप्सुको गड्तीर हुँदै  त्यो आलडाँडा भएर हिँड्ने पैदल बाटो नै रोजेँ । जुन बाटोसँग विगतमा अनगिन्ती सम्झनाहरू जोडिएका थिए मेरा । गाईघाटबाट छिटो हिँड्नेलाई दुई दिन, मजस्ता ढिलो हिँड्नेलाई झन्डै तीन दिनै लाग्थ्यो घर पुग्न । गाईघाटबाट बाटो नखुल्दा बेल्टारबाट ढुङ्ग्रे, धाप्लाङटार र बेतालीको भीर हुँदै हिँड्ने गरिन्थ्यो ।  

मभन्दा अघि पुस्तौँदेखि बेल्टारबाट ढाकरमा नून बोकेर कोसीको किनार हुँदै हिँडेका पुर्खाहरूका पदचिन्हहरू अभैm छन् जस्तो लाग्छ । जवानीमा कतिचोटि मधेस ओहोर–दोहोर गर्दा मैले पनि कोसीको गड्तीर हुँदै यो बाटो धेरै हिँडे । अहिले त्यो बाटो नहिँडेको त करिब बीस–बाइस वर्ष भैसक्यो होला । त्यो बाटोसँग जोडिएको मेरो पुरानो अतीतलाई व्यँुझाउन अहिले एक्लै भए पनि मैले त्यो बाटो हिँड्ने सुर कसेँ ।

अघिल्लो दिन रेग्मीटारमा बास बसेर भोलिपल्ट त्यो बेला म आलडाँडा आइपुगेको । बटुवारेहरू आउँथेजान्थे । यो क्रम उसैगरी चलिरहेको थियो । म भने निकै समय भो त्यो पसलमा बसेको । त्यो युवतीलाई आफ्नो कामले कहिल्यै फुर्सद भएन । कतिखेर फुर्सदिली हुन्छे र म केही कुरा सोधौँ भनेर पर्खिरहेको तर मौका मिल्न सकेको थिएन । दिन निकै ढल्किसकेको थियो । म भने भावनाको उतार–चढावमा अल्मलिएर त्यो ठाउँ छोड्न सकिरहेको थिइनँ ।

युवती निकै व्यस्त देखिन्थी । त्यो चैतको हुर्हुरे दिन । कहाँकहाँबाट धापिएर आउनेहरूलाई केके कुरा टक्य्राउँदै ऊ हरसमय चलायमान हुन्थी ।  

–नानी, एक गिलास पानी देऊ न !

–बैनी, एक बटुको राम्रो जाँड छान न !

–के छ हौ बुइनी सञ्चै ?

यस्तै कुराहरूमा व्यस्त भएर उसलाई दिन बितेको पत्तै हुँदैनथ्यो ।  

अब भने दिन पूरैै ढल्किसक्यो । घाम राता भएर पारि जुरेथुम्काबाट ओर्लिसके । घाम निस्तेज भएर अस्ताए पनि मेरा भावनाका तरङ्गहरू भने झन्–झन् जवान भएर एउटा अलग्गै रुमानी यात्रामा आरोहण गरिरहेका थिए । घर पुग्ने समय पर्याप्त थियो । तर, त्यहाँ आइपुगेदेखि  तीन घण्टा जति बसेर पनि मैले त्यो ठाउँ छोड्न सकिनँ । किन सकिनँ म आफैंलाई थाहा छैन । बाहिरी संसारमा त्यो वन–वनेली, ती भीर–पहरा र पाखाहरू, वारिपारिका ती गाउँ–बस्तीहरू, त्यो वरपीपल छहारी, मान्छे बस्ने ती फलैँचा र पाटी, दोहोरीलता मान्छेका ताँतीहरू आआफ्नै दुनियाँमा मग्न थिए । म भने त्यो बाहिरी संसारबाट अलग्गै थिएँ । मीठो भनौँ कि नमीठो भनौँ चाहेर पनि भुल्न नसक्ने एउटा विगत जुन मेरो जीवनबाट कहिल्यै अभिन्न हुन सक्ने थिएन । त्यतैतिर यात्रा गर्दै थिएँ ।

–नानी आज यतै बस्न परो ठाउँ छ ? गलेर लखतरान भएकाले यहाँभन्दा अघि जान सकिनँ ।

– ठाउँ त छैन, सारै पर्नुभाको छ भने बस्नू न त ।

मैले त्यही सोचेको थिएँ । अब ढुक्क भएँ । उसलाई मैले निकै कुरा सोध्नु थियो । दिउँसोभरि मान्छेको भीडले ऊ व्यस्त थिई । म भने आन्तरिक दुनियाँमै मग्न थिएँ ।  

“के खानुहुन्छ ?” उसले सोधी ।  

–गलिएको छ । खाना त खानै परयो । यसो मासुको पनि व्यवस्था गर है !

–रक्सी पनि खानुहुन्छ कि ?

–अलिकति खानुपर्ला ।

म पाँडोको सिकुटीसँग हल्का पिउन लागेँ ।

“तिम्रो नाम के हो नानी ?” मैले सोधेँ ।  

“दिलमाया,” उसले बताई ।  

–अरू परिवार कोको छन् त ?

–कोही छैनन् ।

–आमा–बुबा ?

“छैनन्,” उसले नमीठो अनुहार पारी ।  

“त्यसो भए कसरी तिमी यहाँ बस्न थाल्यौ त ?” मैले पुनः प्रश्न गरेँ । उसले भन्न अप्ठ्यारो मानी ।  

“भन न नानी ! अप्ठ्यारो मान्नुपर्दैन,” मैले आग्रह गरेँ ।  

“म सानी हुँदा आमालाई ठूलो ज्वरोले टपक्कै लग्यो । बाको मैले पत्तो पाइनँ । आमा भन्नुहुन्थ्यो–तिमी गर्भमा छँदै बा परदेश जानुभएको, अभैm आउनुभएको छैन । कहिले आउनुहुन्छ त आमा, बा ? म सोध्थेँ । उहाँ एकदिन अवश्य आउनुहुन्छ भनेर मलाई आशा देखाउनुहुन्थ्यो । म बा आउने आशामा रमाउन थाल्थेँ ।” ऊ भन्दै थिई । म भने भित्रभित्रै द्रवित भइरहेको थिएँ ।

–आमा बितेपछि तिमी कोसँग बस्यौ त नानी ?

“बजु हुनुहुन्थ्यो, ऊ त्यै परको पसलमा । उहाँले नै मलाई हुर्काइबढाई गर्नुभयो । उहाँ बितेको पनि तीन–चार वर्ष भइसक्यो । पछि बजुले भन्दा थाहा पाएँ– तेरी आमाको बिहे कोहीसँग भएको होइन । बाटो हिँड्ने एकजना मान्छे प्रायः यहीँ बस्ने गथ्र्यो । आमालाई सारै मन पराउँथ्यो । तेरी आमा पनि उसलाई माया गर्थी । पछि त्यसैको गर्भ बसेछ आमाको पेटमा । त्यसपछि त्यो मान्छे कहिल्यै आएन ।”

“अब त मेरा को छन् र !” उसले पर्लक्क आँसु झारी र उता फर्केर मजेत्राले पुछी । मेरा पनि आँसु थामिन सक्ने अवस्थामा थिएनन् । मैनबत्तीझैं  मन पग्लिरहेको थियो तर उसका अगाडि आँसु झार्न मैले हुने थिएन । तसर्थ बलैले रोक्ने प्रयास गरिरहेको थिएँ ।  

“यहाँ कति मान्छे आउँछन् । कोही भलाद्मी हुन्छन् । कोही एक्लै देखेर मनपरी बोल्छन्, जिस्क्याउन थाल्छन् । अब त यहाँ बस्न पनि गारो भइसक्यो । के गर्नु बाँच्नलाई केही इलम गर्नै परयो । फेरि आमाले टेकेको यो माटो मलाई रत्तिभर छोड्ने मन छैन ।” ऊ भन्दै गई– “म एक्ली भएकाले कतिले यहाँ बास माग्छन् । छैन भनेर अनेक कुराले टार्छु । तर, तपाइँ निकै भलाद्मी लाग्यो । किन–किन मेरो बाउजस्तै लाग्यो । दिउँसोभरि त बोल्न पाइनँ । तपाइँ बस्नु भो जाती भो । आजसम्म मैले कसैकसामु नखोलेका यी कुराहरू कसरी–कसरी फुत्किए ? मलाई नै थाहा छैन ।”

उसले खाना पस्केर दिई ।  

“गफका सुरमा मीठो–नमीठो के कस्तो भयो, सन्तोक मानेर खानुहोला,” उसले भनी ।  

“मीठो छ । तिमी पनि खाऊ ।”

ऊ पनि खान बसी ।  

कुरा गर्दा र खाना खाँदा रात निकै गइसकेछ । त्यस्तै दश–साढे दश बजेको थियो होला । उसले मलाई ओछ्यान् लाइदिई– गुन्द्रीमाथि एउटा पुरानो राडी, एउटा भुसको सिरानी र एउटा बर्को ।  

“तपाइँ अब सुत्नुहोला । रात निकै बितेछ । ब्यान चाँडै उठ्नुपर्छ धन्दापात निकै छ । म पनि सुत्न हिडेँ ।” ऊ दैलो लाएर अन्तै जान तयार भई ।  

“मैले तिमीलाई दुःख दिएँ । तिमी यो राति कहाँ जान्छ्यौ ?” मैले जिज्ञासा राखेँ ।  

“तीँ पर एकजना छ्यामै हुनुहुन्छ । म सधैँ तीँ सुत्न जान्छु, एक्लै यहाँ डर लाग्छ । तपाईँ ढुक्क भएर सुत्नोस् ।”  

ऊ गई ।  

म राति निकैबेर निदाइनँ । विगतको एउटा तीतो यथार्थले मलाई घोचिरह्यो । दिलमायाका प्रत्येक शब्दले भावविह्वल बनाइरह्यो । बाँसका टाटीबाट छिरेको सिरसिर हावाले पनि यो भतभती पोलेको मनलाई शान्त पार्न सकेन।  

रातको बेला वरपीपलको त्यो सिरसिर बतास कुनै बेला मेरो लागि कति सुखद् थियो तर त्यसले मलाई आज कति धेरै दुःखी तुल्यायो।

अलिकति निदाएँ निदाइनँ पत्तो पाइनँ । एकैचोटि ‘कुखुरी काँ’ को आवाजले झसङ्ग भएँ । भालेको डाँकसँगै दिलमाया दैलो उघारेर भित्र पसी । टुकी सल्काई । आगो जोरेर चियाको कित्ली बसाई ।  

म पनि अब बाटो लाग्ने विचार गरेर जुरुक्क उठेँ र भनेँ– नानी , अब म जान्छु ।

“चिया खाएर जानुस्, अब कहिले फिर्नुहुन्छ ?” उसले अगेनातिर हेरेर सोधी ।  

“ठेगान छैन, कहिले फिर्छु, कताबाट फिर्छु, सायद लामीडाँडाबाट फिर्छु होला,” मैले भनेँ ।  

“पैसा कति भो नानी ?” सोधेँ ।

“पर्दैन पैसा,” उसले जवाफ फर्काई ।  

“किन पर्दैैन ? तिमी यसैगरी बट्वारेलाई खुवाएर सक्छ्यौ ?”

“त्यसो त होइन । तर, तपाईँसँग लिन मन लागेन ।”

मैले उसलाई हेरिरहेँ । उसले मतिर पुलुक्क हेरी र अन्तैतिर फर्की । यो कस्तो सम्बन्ध हो ? म सोचमग्न भएँ । आँखाबाट आँसु झर्न खोज्दै थिए । बलजफ्ती दबाएर राखेँ । पैसा जबर्जस्ती दिऊँ या छोडिदिऊँ भने पनि उसको आत्मसम्मानमा चोट पर्ला । म अप्ठेरोमा परेँ ।

यो कस्ती केटी हो ? यसको भद्रता र व्यवहारलाई मैले नाप्न सकिनँ । तल कञ्चन भएर बग्ने दिखुवा खोलाजस्तै निर्मल थिई ऊ ।  

उसकी आमा ठ्याक्कै यस्तै थिई ।  

–साँच्चै कति पवित्र र इमानी हुन्छन् हँ केही मान्छेहरू ?

यो बेइमानी दुनियाँमा त्यो महान्ताको छेउसम्म पनि म पुग्न सकिनँ ।  

दिलमाया मतिर हेरिरहेकी थिई । मैले उसको नजरमा आँखा जुधाउन सकिनँ ।  

–म अपराधी हूँ । अधर्मी हूँ ।” मलाई अपराधबोधले कताकता थिचेजस्तो लाग्यो ।  

सानो टेबलमाथि टुकी बलिरहेको थियो । बाहिरको रिमरिम उज्यालोले बिहानी डाक्दै थियो ।  

–म जान्छु नानी अब ।

“हुन्छ,” उसले मतिर मायालु नजरले हेरी ।  

मैले झोला र लौरो टिपेँ अनि गरौं मन लिएर बाटो लागेँ ।  

 माथि गैरी चौतारामुनिको डिलबाट फर्केर हेर्दा आलडाँडाका ती लहरै उभिएका वरपीपलजस्तै शान्त, सौम्य, अविचल र उदार दिल भएकी त्यो दिलकी धनी दिलमाया मैतिर हेरिरहेकी थिई ।

तल साप्सु खोलो उसैगरी बगिरहेको थियो ।

प्रकाशित: १८ माघ २०७७ ०५:१२ आइतबार

अक्षर