कला

साहुजी

कविता

मेरो काठमाडौ  

व्यापारीको गुडिया बनिरहेछ

र मेरो गाँउको शिक्षक

गुडिया खेलाउने  

केटाकेटीहरूको साहुजी बनिरहेछ

 

त्यतिखेर दुनो  

घोप्टिएको लफङ्गो

अभागीहरूको भाग खोस्दै

बाटैभरि जाँड उभ्छ  

र भन्छ म मास्टर

हुँ या जँड्याहा  

दुनियाँको आँखाको छारो शिक्षक

अन्तत व्यापारी नै सावित हुन्छ

र शिक्षामा दुई नम्बरी थपेर

राज्यको ढाड भाँचिरहेको हुन्छ

 

कसैले थाहा पाउँदैन

रातारात ऊ यसरी कमाल बन्छ

मालामाल हुन्छ

दण्ड दिने निकाय प्रमाणको सेतु भेट्दैन

चुप लागेर नागरिक चुस्दै निदाइरहन्छ  

निमुखाहरूमाथि किर्ना बनेर

 

जब बादलहरूले बताससित

पौंठे जोरी खेल्छ  

तब मात्र बर्साद खस्छ

सायद भविष्यको चिन्ता हुनेले राज्यको  

सत्ताको यस्तो उद्दण्डता सहन हुँदैन

र विकृतिविरुद्ध अर्को महामुद्दा हाल्नुपर्छ

त्यसपछि किर्नामुक्त चेतहरू उम्रने छ

र हाम्रो शिक्षाको मुहानहरू सङ्लिएर

स्वच्छ बन्ने छ 

 

यही परिवेश नजन्मुन्जेल तिमी नफर्क

काठमाडौ चुनौतीको पहाडलाई

बाँकी कदममा छोडेर  

पञ्छाउनै पर्छ विगत र भविष्यको  बिच

वर्तमानलाई टेकेर ।

प्रकाशित: १७ माघ २०७७ १०:५० शनिबार

अक्षर