सन्तेले टोपीभित्र हात घुसाएर टाउको मुसार्दै खुइय सुस्केरा हाल्यो । सँगसँगै सानो आवाजमा हारको शब्द छोड्यो – अब के गर्ने होला ?
पेटभित्र भोकले जुलुस मच्च्याउँदै थियो। धर्तीमा प्रवेश गरेको पन्ध्र दिनमै छोराले माटोमुनि पुरिनुपर्यो । श्रीमती र मेरो ताल पनि त्यही त होला।
राहतमा थापेको चामलले हिजोसम्म खोले फत्काएर सुत्केरीको जसोतसो ज्यान अड्यायो। अर्कोचोटि राहतको लाइनमा बसेको मात्र थियो । कसैले पोल लगाइदिए– यसले पहिले नै राहत थापिसकेको थियो।
उसकै अगाडि दुईतिनचोटि राहत थाप्नेहरू पनि निर्धक्कसँग राहत थाप्दै जाँदै गरेको उसले देखेको थियो ।तर, मुख उसले खोलेन । लाइनबाटै अपशब्द र गाली खाँदै निकालियो ऊ।
कतैबाट केही पाइएला भन्ने आश मरेसँगै बाँच्ने आशाको त्यान्द्रो पनि छिन्न लाग्यो । सधैँ त काम नगरी अगाडि ज्याला माग्न नदिने उसको इमानदारीले पर्खाल नाघ्यो – जे पर्ला छिमेकका घरतिर लम्क्यो।
लाज र संकोचलाई पर राखेर उसले मुख फोर्यो – लु न हजुर, लकडाउनले काम ठप्प भइगो। केही दया गर्नोस् न, । गारो पो भो मलाई त।
– खुलेपछि काम गर्दिने वाचा गर्यो ।
– हन, उता राहत बाँड्दै छन् । तँ यता किन घरघर पसेको । जाजा उता जा । छैन केही उपायसुपाय यस्ता बेलाँ। उसले नमिठो वचन पायो।
अर्को घर छिर्यो ऊ ।
– हन काँ यस्तो बेलाँ घरघर छिरेको सन्ते !
– सर्छ भनेर परपरै लखेटियो । अर्काकोमा गयो , अर्काकोमा गयो । चारपाँच घर जति पस्ने जमर्को गर्यो । केही उपाय नलागेपछि शून्य हात आफ्नो झुपडी फर्कियो।
बिहान भयो । निकैबेरसम्म सन्तेको घरमा चालचुल देखिएन । त्यसपछि छिमेकीले नियाल्ने कोसिस गरे । जोईपोइ एउटै डोरीमा पासो लागेका थिए । हल्लाखल्ला गर्दै पुलिसलाई खबर गरियो । रमितेहरूको धुइरो लाग्यो ।
त्यसबेला तिनै छिमेकीहरू उसको गुनगान गाउँदै थिए –कठै सन्तेको परिवार , सारै इमानदार थिए । दुवै वचनको पक्का थिए । कामअगाडि कहिल्यै ज्याला माग्दैनथे । काममा कहिल्यैै ठगठाग गर्न पनि जानेनन् ।
प्रकाशित: १७ माघ २०७७ ०९:५१ शनिबार