कला

घडीचौर र तीन फिट अग्ला चेसका गोटीहरू

नियात्रा

फ्रान्समा बस्ने निर्धारित अवधि पनि सकियो । बिहानैदेखि इफेल टावरको चुचुरालाई बादलले छोप्यो । सिमसिम पानी परयो । मित्र निरञ्जनमानसिंह बस्नेतसँग बिदा भएर रेलवे स्टेशनतिर लाग्यौँ ।  

पेरिसबाट जेनेभासम्म रेलबाट जाने तय गरेका थियौँ । त्यसको लागि प्रतिव्यक्ति ७९ यूरोको दरले टिकट काटेका थियौँ अघिल्लो दिनमै ।

कङ्कर्ड टावरलाई दायाँ पारेर स्वाजालिजे हुँदै सेन नदीको किनारैकिनार गार द लियोँरेल स्टेशनमा उभिंँदा बिहान ७ बजेर ४७ मिनेट गएको थियो । राजदूतावासका तृतीय सचिव सागर फुँयाल र अर्का कर्मचारी गामिनी हाम्रो बिदाइको लागि रेल स्टेशनसम्म पुग्नुभएको थियो ।

रेलम प्रवेश गरयौं । रेल गुड्न अझ १७ मिनेट बाँकी थियो । पिसाबले सारै च्याप्यो । हुत्तिएर रेलभित्रको शौचालयमा जादै थिएँ । एकजना कर्मचारीले रोके । रेल नगुडी रेलभित्रको शौचालय प्रयोग गर्न नपाइने नियम बताए उनले । रेलबाहिर स्टेशनका शौचालयमा पिसाब गर्न यूरो ०.५० (झन्डै रु. ५०) तिर्नैपर्ने । पैसा जोगाऊँ भनेको फसादमा परियो । पछि ती कर्मचारी कता गए कुन्नि । एकजना चिनियामूलका महाशय पसे शौचालयमा । मैले पनि उनकै बाटो पहिल्याएँ र पीडा शान्त पारेँ ।

रेलभित्र आवाज आयो ‘मोजुमित्सु’ (नमस्कार) । रेल हिँड्यो । सेन नदी इफेल टावर र पेरिसलाई फेरि एकपटक नमस्कार गरेँ बिदाइको । रेल गुडेको २० मिनटपछि पेरिस शहरको क्षेत्र सकियो । हरिया फाँटहरू देखापर्न थाले । बादलका केस्राहरूबाट अलिअलि घाम छिर्दै थियो । स–साना मोडदार सतहमा भिरालो परेको जमीन, खेलौनाजस्ता चिटिक्क मिलेका घरले भरिभराउ गाउँहरू, गाउँभर सडकको पहुँचजस्ता दृश्यहरू झुल्कँदै–अस्ताउँदै गरिरहेथे । हरिया चौरहरूमा झुन्डका झुन्ड गाई, भेडा र घोडाहरू चर्दै थिए । मनमा एक किसिमको ऊर्जा पैदा भइरहेथ्यो, प्रकृतिसँग लुटपुटिन पाएको ऊर्जा, प्रकृतिको बहुरूप चाख्न पाएको ऊर्जा र त्यसबाट पैदा भइरहेथ्यो मनमा गमक्क परेको उमंगको बगैंचा ।

रेल कुदिरह्यो फ्रान्सका मैदानहरूमा । हाइकु लेख्दै थिएँ म, कविताको पृष्ठभूमि मिलाउँदै थिएँ मनमनै । मेरो छेउमै बस्नुभएका कर्णजी करकर कराइरहनुभएको थियो । कहिले उहाँ रोल्पामा बस्दा चुनाव गराएको कुरा निकाल्नुहुन्थ्यो, कहिले विवाह गर्नेबित्तिकै धनकुटा भ्रमण गरेको कुरा गर्नुहुन्थ्यो । म लेख्दै थिएँ होमा हो मिलाउँदै । हाम्रो नजिकै एक हूल तिब्बती मूलका अधबैँसैहरू थिए । उनीहरू हामीबाट कुनै हल्ला नहोस् भन्ने चाहन्थेँ । म कर्णजीलाई ‘चुप लाग्न’ संकेत गर्थे तर उहाँ मान्नुहुन्नथ्यो । हामी चार जनामा कहिलेकाहीँ जिस्कने र ख्यालठट्टा गर्ने काम चरम सीमामा पुग्थ्यो । ‘हल्ला नगर्नुस्’, तपाईंको हल्लाले उनीहरू रिसाइसके’ – मैले ती चिनियाहरूतर्फ सङ्केत गरेँ । ‘आफै हल्ला गरेर मलाई भन्ने ?’ – कर्णजीको ठट्टा झन् चक्र्यो । ‘बरु ऊ हेर्नुहोस् गधा चरिरहेका त्यहाँ’ – पर चौरमा चरिरहेका भेडाहरू देखाउँदै कर्णजी बोल्नुभयो । ‘बिहानैदेखि सँगै यात्रा गर्नेलाई छोडेर म किन बाहिरको गधा हेर्नतिर लागूँ !’  – मैले कर्णजीलाई इङ्गित गरेँ ।

अगाडि सिटमा बस्नुभएका जनार्दनजी र उद्धवजी पेट मिचीमिची हाँस्नुभयो । ‘त्यो त गधा होइन नि, कर्णजी भेडा हो’ –जनार्दनजीले बोल्नुभयो ।

‘भेडा त्यहाँ, गधा यहाँ होला नि त’ – उद्धवजी बोल्नुभयो कर्णजीलाई संकेत गर्दै । हाँसोको लहर फेरि फैल्यो ।

रेल फ्रान्सका मैदान छोडेर स्विटजरल्यान्डतर्फ अघि बढिरहेथ्यो । रेल अत्यधिक गतिमा दौडिरहेथ्यो । भोक लाग्यो । हामीसँगैको डिब्बामा रेस्टुरेन्ट थियो । खाना खाइयो । रेस्टुरेन्टमा कलम बिर्सेर शौचालयभित्र पसेछु म । नथलीनामकी फ्रान्सेली युवती शौचालयबाट म नफर्कुन्जेल कुरेर बसिरहेकी रहिछन् । बाहिर निस्कनेबित्तिकै कलम र आफ्नो परिचयसँगै दिइन् मलाई । मैले पनि आफ्नो परिचय दिएँ ।

‘नेपाल राम्रो कि फ्रान्स ?’ – उनले सोधिन् ।

दुवै राम्रा, प्रकृतिको उद्देश्य कसैलाई पनि नराम्रो बनाउने हुँदैन । मेरो जवाफमा सहमति जनाइन् – ‘तपाईंको भनाइमा साँच्चै सत्यता छ ।’

स्विट्जरल्यान्डनजिक पुग्दा प्रकृति अझ निखारिँदै र बढी रङ्गीन बन्दै थिइन् । हिउँले ढाकिएका थुम्क्याइला पहाड, पहाडको मुन्तिर स–साना ताल, तालसँगै नीला नदीहरू र रमाइला बस्तीहरूको संयोजनले सबैको मनमा फूल फुल्थ्यो । कतै बादलका दौडाइ भेट्टिन्थ्यो, कुहिरोले छोप्ने र छोड्ने गर्दथ्यो । सडकका छेउछेउमा  देखिने तालका लहरभैmँ मेरो मन पनि चलायमान थियो संंवेगात्मक भावना बोकेर ।

करीब तीन घण्टाको रेलयात्रापछि पेरिसबाट जेनेभा पुगियो । रेलस्टेशनमै स्वागत गर्न उभिनुभएको थियो सयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी नियोग जेनेभाका तृतीय सचिव दधिराम भण्डारीजी र स्थानीय कर्मचारी शिशिर अर्याल ।

रेलस्टेशनबाट तेर मिनटमा कारद्वारा नियोग पुगियो । नियोग–प्रमुख ज्ञानचन्द्र आचार्य, मिनिस्टर काउन्सेलर गोपाल थापा, वाणिज्य दूत नरेशचन्द्र पोखरेल र उपसचिव हिमाल थापा हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो । भेटघाट र भलाकुसारी भयो । कम उमेरमै नियोग–प्रमुखको पद सह्माल्नु भएका आचार्य स्पष्टवक्ता, दूरद्रष्टा र सबैसँग सकारात्मक व्यवहार गर्ने झल्को पाइयो, उहाँसँगको कुराकानीमा।

अपराह्न नियोगबाट बाहिरियौँ । स्विटजरल्यान्डको प्रसिद्ध शहर जेनेभा पहाडकी रानी बनेर बसिरहेथ्यो । वरिपरि होचाहोचा पहाडहरूलाई हिउँले टम्म ढाकेको थियो । ठाउँठाउँबाट हिमनदी बग्दै बस्तीहरू छिचोलिरहेथेँ । हिमालसँगै भिरालो सतहमा गुच्छाहरू लटरम्म लागेका फूलका बोटझैँ उभिएका थिए गाउँहरू ।

 एउटा उपत्यका जागरित हुँदै छ । उपत्यका बीच नीलो रङ्गको जेनेभा ताल हिमाललाई जिस्क्याइरहेको छ चलमल गरेर । तालको छेउमा एउटा फोहरा जलस्तम्भको रूपमा उभिइरहेछ । तालको वरिपरि जेनेभा शहर छ । बीचबीचमा बगैचाहरू छन्, जंगलहरू छन् । साँच्चै मनोमोहक छ जेनेभा । माछापुच्छ्रे अझ नजिक आएर ओर्लेको पोखराजस्तो लाग्छ जेनेभा, कतै तानसेनको वर्तुङ, प्रवास र रानी महलको वरिपरि रहेजस्तो लाग्छ, कतै इलामको चिया बगान नाघेर रवी हुदै राकेतिर जाँदा बाटोमा भेटिएको कुहिराको बस्ती जस्तो लाग्छ र कहिले लाग्छ – दार्जिलिङको जोरपोखरीबाट खर्साङ हुँदै चौरजस्तापार्क पुगेजस्तो । हाम्रो नेपालमा प्रकृतिले सबै कुरा दिएर पनि प्रकृतिको काखमा सजिलैसित पुग्ने संरचना बनाउन सकेका छैनौं । कस्तै दुर्गमलाई पनि सुगम बनाउन सकेका छैनौं र असफल भइरहेछौं प्रकृतिको स्वर्णिम शृङ्खलालाई विश्वसामु चिनाजानी गराउन ।

जेनेभा शहर घुम्न दधिराम भण्डारीजी र शिशिर अर्यालजीले साथ दिनुभयो । अन्तरराष्ट्रिय दूरसञ्चार संघ, शरणार्थीका लागि संयुक्त राष्ट संघको उच्चायुक्त कार्यालय, संयुक्त राष्ट्रसङ्घ, विश्वव्यापार सङ्घ  र युनिसेफका कार्यालयहरू हेर्दाहेर्दै जेनेभा तालको हत्केलामा पुगेको पत्तै भएन । शहरको माझमा एक्कासि देखापरयो जेनेभा ताल  । जेनेभा शहर आफैमा सुन्दर छ । अझ जेनेभा ताल र नजिकै उभिएका सयौं हिमशृङ्खलाहरूले सुन्दरताको बयान गर्न नै गाह्रो छ । तालको वरिपरि पार्क छन्, फूलबारी छन् । तालछेउका पार्कका सिटहरूमा युवा र युवतीहरू मुटु साटिरहेछन् । मिनेट– मिनेटमा प्रेमीप्रेमिकाहरू खुला रूपमा चुम्बनमा मस्त बनेका देखिन्छन् । माया लुकाएर होइन खुलेर गर्नुपर्दछ भन्ने मान्यता युरोप र अमेरिकाका अरू देशमा जस्तै जेनेभा ताल वरपरको परिवेशमा पनि प्रशस्त देखिन्छ । ताल वरिपरि होटल र रेस्टुरेन्ट छन् । ती दृश्यले म्यान्माको कान्दोजी लेक वरपरका दृश्यहरू सम्झनामा उदाए ।

जेनेभा तालको एकछेउमा घडीचौर छ । चौरमा रंगीबिरंगी प्यान्जी फूलहरू फुलिरहेछन् । फूलहरूमाथि घडीका ठूलाठूला सुईहरू समय सूचित गरिरहेछन् । स्वीटजरल्यान्ड घडीका लागि प्रसिद्ध शहर भएकाले ठाउँठाउँमा घडीको प्रदर्शनी देख्न पाइन्छ ।  

– जेनेभाको पुरानो शहर हेरौँ हुन्न हजुर ? – सुशीलजीको आग्रह ।  

‘हुन्छ’ – हामी सबैको सहमति।

नेपालको बुटवलजस्तै पहाडको फेदमा बसेको छ जेनेभाको पुरानो शहर । तर, बुटवलमा हिउँ छैन, विशाल शहर छैन र धेरै सडक छैनन् ।

जेनेभाको पुरानो शहरभित्र एउटा पार्क छ । चेसपार्क नामको सो पार्क फराकिलो र सुन्दर छ । हामी पार्कमा प्रवेश गर्दा परम्परागत रातो कपडा र कालो टोपी पहिरेका सैनिकको एक टुकडीले संगीतको धुन घन्काइरहेको थियो । पार्कको एउटा कुनामा झन्डै तीन फिट अग्ला चेसका गोटीहरू उचाल्दै केही मान्छेहरू उठीउठी चेस खेलिरहेका थिए । त्यतिखेर चेस खेल्ने एघार समूह थिए । तिनीहरूको जितहारमा उक्साउने र ताली पिट्ने रमितेहरू त अनगिन्ती नै । सँगै दुई युवा र युवतीहरू गोलाकार टिफिन बक्सजस्ता ठूलाठूला गोटीहरू खुट्टाले सार्दै जितहारको मजा लिइरहेका थिए ।

मैले सोधें – यो खेलको नाम के हो ?

दुवै युवा र युवतीहरू अंग्रेजी भाषा त्यति राम्रोसँग बुझ्दैनथे । पछि थाहा, भयो त्यस खेलको नाम ड्याम थियो ।  

रातको बार बज्न बार मिनट बाँकी थियो । कोठाको झ्यालबाट एकपटक हिमाल चियाएँ, जेनेभा शहर चियाएँ र लागेँ विछ्यौनातिर ।

प्रकाशित: १६ माघ २०७७ ०५:५० शुक्रबार

अक्षर