कला

सपना

कथा

मेरो मोबाइल करायो ।

– हेलो रामकृष्ण हो । मीठो नारी आवाज थियो ।  

मैले औपचारिकतावश नै भने – हुँ, अनि मैले हजुरलाई चिनिनँ ।

–तिमी अब के चिन्थ्यौ त ? उनको जवाफ थियो ।  

मलाई तिमी भनेर सम्बोधन गर्ने को होला यो आइमाई ? म छक्क परेँ । र फेरि शिष्टाचारवश नै सोधेँ– खोई चिन्नै सकिनँ ।

–म पोखराबाट उर्मिला । हामी विराटनगरका विए पढ्दाका साथी ।

–ए उर्मी ?, कता हौ तिमी ?

हामी गफिन थाल्यौं । सन्चो –विसन्चो । तर, ऊ पहिलेजस्तो खुल्दिन । हाँस्दिन । किन सुस्त भई यो केटी ?

मैले भनेको थिएँ– म कामको सिलसिलामा भोलि नै पोखरा आउँदै छु । भेटौं न, हुन्न।

यसरी उर्मिलासँग अचम्मले भेट भयो पोखरामा । रेस्टुरेन्टमा पसेर कफी खायौँ । समयले कुट्दा –कुट्दा ऊ निकै उदाश देखिन्थी ।  

उसलाई मैले सोधेथेँ– उर्मी के छ हौ तिम्रो हालखबर ?

उसले उदाश हुँदै जवाफ फर्काएकी थिई– किन सोध्छौ रामकृष्ण ? अहिले सोध्नुको के अर्थ ? बेलामा सोधेको भए हुन्थ्यो । सोधेनौ । मैले सोद्धा त चुपचाप हिँड्यौ ।

मैले भनेथेँ – त्यो त बित्यो उर्मी । हाम्रा ज्ञानले वा अज्ञानले त्यो बित्यो । अहिलेको सुनाउन।  

–सुनेर के गर्छौ ?

–तिम्रो प्रगति सुन्न पाए, मलाई आनन्द लाग्छ ।

–सुन, परार जेठानी बितिन् । जेठाजुले आफूभन्दा २५ वर्ष कान्छी भित्र्याए । मेरो लोग्ने चाहर्छ । हाकाहाकी चाहर्छ र मलाई नै अर्कासँग सल्किस् भन्छ । भन त के म अर्कासँग हाकाहाकी सल्किन हुन्छ । तिमी के भन्छौ ? तिम्रो कन्साइनले के भन्छ ?  

उसले फेरि भनी– सगोलको हकहिस्सामा आफ्नो हक खोजेँ । म मनोवैज्ञानिक प्रताडनामा छु । छ केही यो प्रताडनासँग जुध्ने उपाय ?

म चुप लागेँ । अनि कुरालाई अन्ते मोड्न उर्मीलाई सोधेँ– राधाको के छ नि हालचाल ?

उर्मीले बताई – राधाले छोरीछोरी पाई भनेर ऊ परिवारबाट अपहेलित छे । उसका श्रीमान् राधालाई भन्छन् अरे – तिमीले छोरीछोरी पाए पनि मैले अर्को बिहे गरिनँ । गनिमत ठान न । यो पनि त प्रताडना नै त होला । के छोरी पाउन राधा दोषी हो र ? बिनादोषको मानसिक यातना किन राधालाई।

मलाई जानुकाको पनि हालचाल जान्नु थियो ।  

मैले फेरि उर्मीलाई सोधेँ – केही दिन पहिला जानुकालाई भेटेको थिएँ । अलि मोटाइछे हगि ।  

मेरो कुरा सुनेर उर्मीले भनी –जानुकाको पनि बेहाल छ, बिचरा । उसले मलाई अस्ति भनेकी थिई –उर्मी, मैले पढेकी पनि छु । जागिरे पनि छु । तर, खोई मेरो मनोवैज्ञानिक मुक्ति ? खोई मेरो स्वः ? खोई म कहाँ छु ? मेरो लोग्ने अन्त मन पराएर हिँड्न स्वतन्त्र छ । ऊ अन्त भोग्छ । समाजले कुरा काट्दैन । वा काटे पनि दण्ड गर्दैन वा देखे पनि हेर्दैन । र म श्रीमानले जस्तै अर्को मन पराउन पाउँछु ? के म अर्कोसँग रल्लिन पाउँछु ? के म भोग्न पाउँछु ?

०००००

म पनि मनभित्र एउटा पीडा पालेर बसेको छु । म कसैलाई भन्दिनँ । पटक्क भन्दिनँ । भन्दै भन्दिनँ । बरु भन्छु – आह, झन् मजा । न हरहर न कचकच, बस हरफनमौला वा मान्नुस् मस्तमौलाना ।

तर पनि मान्छेले थाहा पाइहाल्छन् । कस्तो हो कुन्नि यो मान्छेको जात ? जब्बर । जासुस । जानिफकार । र भन्छन् । भनिरहन्छन्– रामकृष्णे, बिचरा रामकृष्णे ! स्वास्नीलाई विदेश पठाएर एकलै बस्छ, यो बुढेसकालमा ।

कुरा जम्माजम्मी यत्ति हो । खासमा यो कुनै कुरै होइन । कोही बगालमा बस्छन् । कोही एकल वा दोकल वा तेकल । नियति छ भने, होला । यो बगाल, एकल, दोकल वा तेकल हुनु पनि नियति होला । हो, पक्कापक्की नियति होला । नियति हो भने म कसरी जितूँ त्यसलाई । प्रारब्ध हो भने म कसरी नियन्त्रित गरूँ परिवेशलाई ?

०००००

सायद मध्यरात भएकै हुनुपर्छ । चकमन्न सुनसान देखिन्छ बाहिर । घरिघरि कुकुरहरू भुकेका आवाजहरू आउँछन् र घरि मोटर घ्यार्र गर्छ । फेरि हराउँछ । बिलाउँछ । कम्प्युटरमा युट्युबले गीत बजाइरहेको छ, मेरो मनमाफिकका । र म त्यही युट्युबका गीतका सौन्दर्यभित्र हराउँछु । मन्त्रमुग्ध हुन्छु । झ्यालबाट पर एउटा टुक्रा आकाश देखिन्छ । म त्यो टुक्रालाई एकटकले हेरिरहन्छु । मलाई आभाष हुन्छ, त्यो टुक्रापारि पनि संसार छ । र त्यो संसारमा मेरो पनि संसार छ । मेरो दायित्व छ । दुईटा संसार जोडेर हेरयो भने के दोकल भइन्न र ?

र पनि उर्मीको सम्झना ताजा भएर आउँछ । उसको असाध्य माया लागेर आउँछ । कठैबरा उर्मी । कति हाँस्थी कलेजमा । खोई उसको हाँसो ।

०००००

एकाएक फेरि उर्मीको फोन आयो । ऊ भोलि काठमाडौँ आउँदै छे । म पनि एक्लै बसेको छु । मन त्यसैत्यसै हराउन थाल्छ । खोई कस्तो रहेछ यो सम्बन्ध पनि ! उर्मी आउँदै छे । ऊसँग बेस्सरी हाँसौँला । रमाऔँला । उसलाई पनि हँसाऔँला । मीठामीठा किस्सा हालौँला । मिठा खानेकुरा खाउँला ।

उर्मी पहिलेदेखि नै मासु खान्न । उसको व्यक्तिगत जीवन हो । उसको इच्छा हो । अधिकार हो अनि मलाई भने यो मासु नखाने मान्छेलाई खुवाउन भने असाध्य समस्या लाग्छ । मासु खानेलाई भए पो एउटा मासु पकायो पुगिहाल्छ । तैपनि मेरी उर्मी आउँदै छे । ममा ऊर्जा थपिएको छ । काजु हालेर हलुवा पकाएँ । हलुवामा अलिकति बदाम र किसमिस पनि हालेँ । चिनीको चास्नी हालेँ । बजारभरि खोजेर रोज्जा, मालभोग र केरा किनेर ल्याएँ । खरभुजा ताछेर फ्रिजमा हालेँ । कटहरको तरकारी पकाएँ । चाखेँ । अलि नुन पुगेन छ । मलाई थाहा छ । उर्मीलाई अलि चखिलो मन पर्छ । अनि नुन थपेँ । फेरि ऊ कम्तीकी छे र ? गुलियो मन पर्दैन भनिदिन्छे । फेरि बजारबाट टिपटपको समोसा किनेर ल्याएँ । उसले २ बजे आइपुग्छु भनेकी थिई । म उसलाई लिन ठ्याक्कै २ बजे बसपार्क  पुगेँ तर बस आएन । ६ बजेसम्म पनि आएन । साढे छ बजे उर्मीको फोन आयो– मुग्लिनमा बाटो बिग्रेर जाम । आज निकै ढिलो भयो । म साथीको घरतिर लागेँ । तिमीसँग भोलि भेटूँला ।

०००००

घर आएर डङ्रङ्ङ पल्टिएँ । नरमाइलो लाग्यो । आखिर उर्मीको गल्ती त होइन नि । तर, मन त्यसैत्यसै उडिरहेको छ ।  

अनि ममा एउटा बिठ्याइँ सोच आउँछ । मैले न भोगेको पनि के जीवन ? र म पछाडि फर्केर हेर्छु जीवनलाई । उफ, कहिल्यै केही भोगिन छु जीवन । कठैबरा मेरो जीवन ।  

बाल्यकालमा आदर्शले डोरयाइएँ छु । ठूला मान्छेको मुख लाग्न हुन्न । ठूला मान्छे बोलेको ठाउँमा जान हुन्न । अराएको लुरुलुरु गर्नुपर्छ । यो काम गर्नुपर्छ । त्यो काम गर्नुपर्छ । यो गर्न हुन्न । त्यो गर्न हुन्न । खोई किन हो कुन्नि साथीहरू मलाई लाटो भन्थे । साथीहरू आँप चोर्थे । म डिलमा बसेर हेथेँ । म एकदम डोर्याइएको थिएँ । नाथिएको थिएँ र मलाई लाग्थ्यो त्यो नाथिनु र डोरयाइनु नै जीवन हो । सकली हो । असली हो । गुणकारी हो । अहिले सोच्दै छु, के त्यो सक्कली हो ?

बैँस आएछ क्यार । भर्खर बिहे गरेर ल्याएकी छिमेकी भाउजूले जिस्क्याएको मीठो लाग्थ्यो । ती भाउजूले त मेरो अनुहार नै रातो पारिदिन्थिन् ।  

कक्षामा भएका केटी साथीले जानेर, नजानेर, वा झुक्किएर समाएको हातले कस्तो मीठो काउकुती लाग्थ्यो । त्यही बेला मलाई असाध्य राम्री लाग्ने विल्किस बानोसँग भेट्न मन लागेको थियो । अहँ हुन्न । कति माया गर्थेँ म । मैले मनपराएको देखेर साथीभाइ भन्थे– मुसलमान हो ऊ ।  चुरौटे हो ऊ । अहिले म सोचिरहेको पो रहेँछु ।  हिन्दू र मुसलमानको पर्खाल के होला ? किन होला ?

मैले भाउजूले जिस्क्याएको  मीठो पनि चाल नपाएको अभिनय गरेँ । खैरियत त्यसैमा थियो । विल्किस बानोले समाएको हात पनि मैले चाल पाएर पनि चाल पाइनँ । ऊसँग भेट्न मन लागेको कुरो पनि मैले थाहा पाइनँ । किनकि म सकली बन्ने उपक्रममा थिएँ । र सार के हो भने मैले त्यो जीवन भोगिनँ ।  देखेँ परबाट र अनुभूत गरेँ दूरबाट ।  

कलेजमा पढ्नु थियो । पढ्नुबाहेक केही थिएन । किनकि पढेरै ठूलो मान्छे भइन्थ्यो । सायद पढ्नुबाहेक अरू कुनै संसार नै थिएन । त्यैपनि राधाले मन पराइन् । उर्मिलाले मन पराइन् । जानकीले मन पराइन् । नोटकपी साटेर मन पराए । मन साटेर मन पराए । दिल छामेर मन पराए । मैले पनि मनमनै मन पराएँ । भित्रभित्रै मन पराएँ । तरङ्गमा रातभर सुतिएन होला । ओल्लो कोल्टो, पल्लो कोल्टो । दायाँबायाँ । यताउता । तर, त्यो छालजस्तो आयो । पर पुग्यो । फेरि आएन । सायद त्यो समुद्र थिएन क्यार । खहरे थियो होला । खहरेको खेती । जो चुक्यो त्यो गयो । खहरेको भेलजस्तै जीवन गयो । नभोगी गयो । सकली हुने खोलाको छेवैबाट खहरे बगेर गयो । म शुष्क– शुष्क तडपिरहेँ । मेरो बाली लागेन र पनि म भन्दै थिएँ । र पनि म सोच्दै थिएँ, म सकली हुँ ।  

कलेजपछि जीवन अजङ्गको पहाडमुनि पसारो परेको थियो । न अब उर्मिला थिई । न राधा । न जानकी । न कोही । एउटा निर्माही समस्या थियो अगाडि । बाँच्नु थियो । नबाँची हुन्नथ्यो  र प्रमाणपत्रका हातले लेखेका प्रतिलिपिहरू शहरभरि छरिएका थिए । ती मृततुल्य थिए । ती कोही बोल्दैनथे । सबका सब बेकामे थिए । वाहियात थिए । रद्दीका टोकरी थिए । ती त्यस्ता मन्त्रजस्ता सूत्र थिए, जो कण्ठाग्र त आउँथ्यो तर अर्थ थाहा थिएन । यसबेला मलाई लागेको थियो, अहो, केही पो पढिएन छ त । न टाइप । न भाषा । न शिल्प । न व्यवहार । न तरीका । सबै खतम । फेरि मेलैदेखि सबै सिक्नुपर्यो । सबै जान्नु पर्यो । यसबेला लाग्दथ्यो, यो पीडामा राधाका, वा उर्मिला वा जानकीका मिठा मुस्कानको मलम भए कस्तो हुन्थ्यो होला । हरफनमौला तालले उनीहरूसँग हाँस्न पाए कस्तो हुन्थ्यो होला । उफ, कस्तो हुन्थ्यो होला ?

सायद म बुढिएँ होला । आमाले भन्नुभएथ्यो–बाबु रामकृष्ण, बिहे गर।

मैले बिहे गरेँ । म बत्तीस वर्षको थिएँ । मेरा उच्छवासहरू दाम्रिएका थिए । मेरा चेतहरू दायित्वले दाबिएका थिए । खान नपाएको जस्तो च्याँसे थिएँ । अनुहारभरि खोपिल्टा थिए । अलमस्त दारीहरू थिए । जुँघा कहिल्यै उठ्न नसक्ने गरी घोप्टिएका थिए । कपाल पनि खुइलिन थालेको थियो । श्रीमती आइन् । अनि त जीवन बाँच्न सजिलो भयो । उनी अचेल मलाई भन्छिन्– आई लभ यु ।

म पनि भन्छु– आइ लभ यु ।

तर पनि मलाई लाग्छ, त्यो हामीले भन्नै पर्छ । नत्र उत्पात हुन्छ । समाजले हेला गर्न थाल्छ । हामीले एक अर्कालाई राम्ररी चिन्दा नचिन्दा छोरी पाइसकेका थियौँ । जति छोरीको अनुहार हेर्यो उति माया र दायित्व एकैसाथ झुल्किन्थ्यो ।  

समयले आखिर मेसो जुरायो । सबैको जुराएको छ । सबै केही न केही मेसो गरेरै बसेका छन् । हिजो जो समयसँग रमाए, उनीहरूले पनि  कुनै न कुनै मेसो पाएकै छन् । मैले मात्र के जितेँ त जिन्दगीसँग सकलीको आवरणबाट । बरु मैले गुमाएँ । बालरहरहरू दबाएँ । बैँसका उच्छवासहरू निमिट्यान्न पारेँ । अहिले जब  जोडी अङ्कमाल गरेर हिँड्छन् ।  मलाई लाग्छ, थुइक्क मेरो बाल्यकाल, मेरो बैँस । मलाई त ती शिवपार्वतीजस्तै लाग्छ अहिले पनि । ती  अङ्कमाल गरिएका पल्लव जोडीलाई देखेर एक हुल अधबैंसे मान्छे भन्छन्– घोर कली लाग्यो । के देख्नु पर्यो यिनै आँखाले ।

र ती अधबैँसेहरू रेलिङ समाएर बसेका बाध्य र विवश युवतीलाई भन्दै छन् –जाने हो ?

र म खत्र्याक्क परेको छु । मान्छेका खोलहरू । मान्छे भनेको के हो ? ती उच्छवासमा रमेकाको तिनीहरूलाई के रिस ? बाध्यताको फाइदा उठाउने तिनीहरूको के सुनियत ?

०००००

उर्मीले फोन गरी– हेलो रामकृष्ण, अहिले नै यसैबेला तिमी कोटेश्वर आऊ न।

म कुदेर पुगेँ । मलाई लागिरहेको थियो । सँगै बसौँला । रेस्टुरेन्टमा जाउँला । कफी खाउँला । रमाऔँला । मिले घरै लिएर आउँला ।  

उसले भनी–अपर्झट काम पर्यो । तुरुन्तै पोखरा फिर्नुपर्यो । ३ बजेको टिकट छ ।

म खङ्रङ्ग भएँ । ऊसँग उसको साथी र साथीको श्रीमान् पनि थिए । केही बोल्ने कुरा थिएन । केही भन्ने कुरा थिएन ।  

ऊ हिँडी । म फेरि घर आएको छु । आँखाभरि आँसु भएछन् । उसका लागि भनेर पकाएका खानेकुरा त्यसै असरल्ल थिए । अनि मनले भन्यो–अरे यार, रामकृष्णे, अहिलेसम्म खोजेको के पाएको छस् र अभागी र अहिले नपाएकोमा दुःखी बन्छस् ।

 मर्स्याङ्दी र त्रिशुलीको चिसो हावाको झोका लिएर आएकी थिई उर्मी । हाँस्न पाउने जोहो गरेर आएकी थिई । ऊ आउनु मेरा लागि सुन्दर सपना थियो । गर्मीको चिसो थियो । सुन्दर थियो । सौम्य थियो । मेरो एक्लै हुनुको राप कम भएको थियो । तर, ऊ गई । म सपनाबाट झल्याँस्स भएको छु । ऊ उर्मी हो । उसको आफ्नै संसार छ । म किन सपना धेर देख्छु । आफैँलाई आश्चर्य लाग्छ । तर पनि अहिले उर्मी खोलाको किनारै किनार गइरहेकी होली । खोलाको चिसो हावाले उसको गोरो अनुहारमा स्पर्श गर्दा उसले आफ्नो पीडा भुलेकी होली । 

र म फेरि मनमनै भन्दैछु – उर्मी, यति धेरै माया नगर है । उर्मी, प्लिज उर्मी, जीवनमा कहिल्यै नरुनु है । आखिर जीवन यस्तै त हो नि । पीडा त आउँछ, जान्छ । सपना त जीवनमा केके देखियो होला नि । सबै सपना कहाँ पुरा हुन्छन् र उर्मी ?

प्रकाशित: १५ माघ २०७७ ११:०३ बिहीबार

अक्षर