कला

शिशिर

कविता

उदास – उदास

निराश – निराश  

एउटा मौसम

ओर्लिएको छ

क्षितिज खोलेर

धराभरि

धरा छोपेर क्षितिजभरि

अलास्का उचालिएर

स्यूँभञ्ज्याङभरि

तुषार छरिन्छ यो मौसम

हिउँ जमेर हिमालभरि

बरफ कठाङ्ग्रिएर बरफमै

आरोही  

चल्न सक्दै पाइताला

म्याराथुन

स्थगित भएका छन् सर्वत्र

उदासउदास,  

निराशनिराश,  

एउटा मौसम ओर्लिएको छ

क्षितिज खोलेर धराभरि

कन्दरा कठाङ्ग्रिएका छन्

मान्छेझैँ

मान्छे लुकेका छन्

मुसा– बिरालाझैँ

नदी बहेको हो

वा सुतेको

थाहा छैन

निस्तब्ध

आवाजरहित

गतिगन्तव्यरहित

सुनसान

मध्यरातको  

चिर सन्नाटाझैँ

एउटा मौसम  

अघोषित  

विश्वसम्राट तानाशाहझैँ

शक्ति फिँजाएर  फैलिएको छ

मानौँ,

कुनै विद्रोहको आशंकामा

कर्फ्यु लागेको छ

शहरभरि

गाउँभरि

बाटा– दोबाटा

गौँडा गल्फा सर्वत्र

अग्ला लागेका छन्

तुषार आग्ला

किला ठड्याइएको छ

बरफ किला

बुट बजारेर

सैनिक परेठझैँ

हिमाल इशार्छ

हुस्सुको मुख खोलेर

कठाङ्ग्रिएका औलाहरू

दादा इदीअमिनझैँ

बिनाहलचल

तेर्सिएका छन् निशाना

जिउ जम्मै सद्दाम बनेको छ

फाँसीमा लड्कदै गरेको सद्दाम,

गोली चल्नु पर्दैन

सुनसान

गोलीभन्दा तीखो बनेको छ

र बिहान  

बारुदभन्दा तातो बनेर

जहर जहर

हरेक जीवनको

मृत्युघण्ट बनेको छ

निस्तब्ध सडकका पेटीहरू

बाटाका गल्लीहरू

हरेक पेटी

र गल्लीमा हुने

हल्लीखल्लीका मुख

बिनाआदेश

अघोषित कर्फ्यु लगाएर

उदासउदास,

निराशनिराश,

चिसोको हिट्लर  

सारेर अघिल्तिर

गोयवेल्स शासन

समाल्दै छ सर्वत्र

मानसरोवर जमाएर

ददुधकुण्ड जमाएर

गोसाईकुण्ड जमाएर

फेवा– रारा

तरङ्गरहित बनाएर

मृत्युको माछापुछ्रे

अग्लेको छ मौसम

अशक्तका कुरै नगरौँ

अभावग्रस्तका कुरै नगरौँ

रोगी

दीनदुखीका कुरै नगरौँ

लुतेलाङ्ग्रे

बुढापाकाका कुरै नगरौँ

सत्ताका सानमा

अहङ्कारका उन्माद उछल्ने

वा विश्व मेरै  

इशारामा चल्नुपर्छ भन्ने

कोशी टापुको राँगोजस्तै

ह्वाइट हाउसको ट्रम्प होस्

वा शीतल निवास

र बालुवाटारका

अघोषित छुपेरुस्तम्

जोडी– बिजोडीहरू हुन्

जम्मैका सामु

बिनासाइरन

उदासउदास,  

निराशनिराश,  

निस्तब्ध सुनसानमा

अव्यक्त

यमराजको सगरमाथा

अग्लेर

फैलिएको छ

यो मौसम शिशिर

कठाङ्ग्रिदै  

कम्पन छुट्दै

नङ्छिरी लगाउँदै

अरेबियन सागरको

जल जमाएर

गोसाईकुण्डको

आत्मभेदी उकालो

मृत्यु फैलिएको छ

यो मौसम शिशिर ।  

प्रकाशित: १५ माघ २०७७ १०:०३ बिहीबार

अक्षर