उनी केके सोच्दै भान्सातर्फ लागिन्। श्रीमानका लागि कफी सासू , ससुराका लागि तातो पानी उमालिन्। राइस कुकरमा खाना जोडिन्। आफू र छोराछोरीका लागि चिया बनाइन्। कुकरको दालमा सिठ्ठी लाग्दै थियो । त्यतिबेलासम्म उनले तरकारी केलाएर ठिक पारिन् पकाउन । त्यसपछि बच्चाहरूका लागि टिफिन तयार पार्दै थिइन् । उता कोठाबाट श्रीमानको आवाज आयो – तारा, मेरो चश्मा कहाँ राखिदियौ भन्या ? कति खोजिसके भेटिन।
छोरा आँखा मिच्दै उठेर आयो र भन्यो– मामु, म आज स्कुल जान्न के ? होमवर्क गरेको छैन।
छोरीले हातमा काइँयो बोकेर आई र भनी– ममी, कपाल कोरेर बाटिदिनु न्। ढिला हुन्छ स्कुल जान।
– तारा, मेरो कपडामा आइरन लगाइदेऊ न। म बाथरूममा छु।
भान्साबाट छोराछोरी कराउन लागे–मामु, हामीलाई खाना पस्किदिनु न। स्कुल बस आउन लाग्यो।
– बुहारी दुई कप चिया ल्याइदेऊ न । पल्ला घरको छिमेकी दाइ बुबालाई भेट्न आउनु भा छ।
– तारा, बाइकको चाबी माथि कोठामा छुटेछ ल्याइदेऊ न।
श्रीमानको अनुरोध पूरा गरेपछि बिहानको सबै काम सकियो । अब उनी एकछिन फुर्सदिली भइन् । उनले सोचिन् – अब म यो समयमा लेख्छु। त्यतिकैमा मोबाइलमा फोनको घन्टी बज्यो ।
– तारा, भोलि म एक हप्ताका लागि अफिसको कामले बाहिर जानुपर्ने भयो। मेरो न्यानो कपडाहरू प्याक गरिदेऊ है।
काम सक्दा दुई बज्यो। उनी कोठामा पसिन् र कापी – कलम लिएर एकछिन लेख्न बसिन्। त्यतिकैमा सासू आमा भित्र कोठामा पस्दै भन्नुभयो– बुहारी, आज देवकीको छोराको पास्नी भोज छ । निमन्त्रणा –कार्ड छोडेका छन्। तिमी जाऊ है।
बेलुका फर्केर घरको काम सक्दा राति अबेर भैसकेको थियो। गलेर शरीर र मन दुवै शिथिल भएका थिए। उनले म्यासेज गरिन्– सरी सम्पादकज्यू, मैले आज पनि हजुरले भनेको कविता तयार पार्न सकिनँ । म भान्से कवि न परे।
प्रकाशित: १५ माघ २०७७ ०८:०५ बिहीबार