कला

मन

लघुकथा

“यो गाग्री जत्रो भएको भए मभित्र पनि धेरै अटाउने थियो । थुक्क मेरो भाग्य । ” मनमा आइरहने यही विचारले थाल सधैं दुःखी देखिन्थ्यो।

“यो थालजस्तै फराकिलो हुन पाए पो । आफू त पेन्टे भुँडी निस्केको, हेर्दै घिनलाग्दो । छि , म त कति अभागी ।” गाग्रीकोे पीडा झन् गहिरो थियो।

सावित्राको  भान्साका यी दुई पित्तलका सामानहरू सधैं असन्तोषी र उदास देखिन्थे ।  उनी सबै भाँडालाई समान महत्व दिन्थिन् । सबैलाई उज्याला र चम्किला बनाई आफ्नो भान्साको रौनक बढाउन चाहन्थिन् । हरतरहले कोसिस गर्दा पनि ती दुईलाई चम्काउने उनको प्रयास विफल भयो । उनी दिक्क भइन् । अन्ततः निकै सोच– विचार गरेर उनी अर्को निष्कर्षमा पुगिन् । उनी गाग्री र थाल दुवैलाई लिएर बाँडाकोमा गइन् र ती दुवैलाई गालेर अर्को सामान बनाउन आग्रह गरिन् ।

बाँडाले सोध्यो – यिनलाई गालेर के बनाउने हजुर ?  भगवानको मूर्ति बनाइदिऊँ ?

उनले झट्टै आफ्नो निर्णय सुनाइन् – भगवानको मूर्ति होइन, यिनीहरू दुवैलाई गालेर एउटा कोपरा बनाइदेऊ ।”

प्रकाशित: १४ माघ २०७७ ०८:०५ बुधबार

अक्षर