कला

बाँचिरहन्छ, कोलम्बस यात्राको हंस

 चन्द्र रानाहँछा

 

शब्दहरुसँग खेल्ने विशेष कला जोसँग हुन्छ, उ, असल कवि हुन्छ । र, उसले खेलाउने शब्दहरुको सिष्ट सम्मिलनबाट विशष्टि कविता बन्छ ।

...लाग्थ्यो,

त्यो सानो कोठा

भित्तामा झुण्डिएको पुरानो तस्वीर

दुःखको कोट झुण्ड्याउने चोके मात्र छाडेँ

तर कोठाको सानो झ्यालबाट देखिने  

विशाल संसार छाडेर आएछु ।

(एक निर्वासित कविको वकपत्र)

 कविको विशिष्टता भनेको कविताको सानो झ्यालबाट पाठकहरूलाई ज्ञान, विचार र दृष्टिकोणको विशाल आकाश देखाउनु हो । प्रस्तुत कवितांश कवि देवेन्द्र खेरेसकृत दोस्रो कविताकृति ‘कोलम्बस यात्रा’मा समावेश छ । यस कवितांशमा कविले आफू निर्वासित हुँदा आफ्नो घरको कोठा, कोठाभित्रको चोके र कोठाको झ्याल मात्र छोड्नुपरेको नलेखेर जब उनले सानो झ्यालबाट बाहिर देखिने विशाल संसार छोडी आउनुपरेको ‘विस्मात’ लेखे, यहीँ ‘विस्मात’ हो उनको कविताको शिर । आम मानिसले याद नगरेका सत्यहरूलाई विवेकसम्मत पत्ता लगाउँछ कविले र नै ऊ सर्वत्र पुज्य हुन्छ । कविता लेख्ने कार्य भनेको कुनै गम्भीर चिज विशेषको बौद्धिक खोजी हो । आध्यात्मिक अनुुसन्धानको फेरो समातेर रहस्यहरूको नजिक, अझ नजिक पुग्नु हो । यस मानेमा कवि सदा विचारको यात्रामा हुन्छ । देवेन्द्र खेरेस यतिबेला त्यही यात्रामा छन्, जसलाई उनले ‘कोलम्बस यात्रा’ नामाङ्कन गरेका छन् । 

मेरो हो–

देशका बाटा र भीर, पहराहरूमा

खसेको छायाँ

देशका खोला, खहरेहरूमा

कुलकुल बगिरहेका आँसु

बाढी, पहिरोमा पुरिएका 

रगताम्य पाइला

देशको माटोले  

बिर्संदै गएको अनुहार

यो पराई भूमिमा

पसीनाले लेखिएको आलो नाम

मेरो हो

हो, मेरो हो ।

कवि खेरेस विचारका यात्री, प्रेमका यात्री, सपनाका यात्री, सङ्घर्षका यात्री, जो आफूलाई बाटो बनाएर आफैँलाई खोज्दै कहाँसम्म पुगेनन् होला ? आफ्ना अनन्त यात्रामा उनी कतिपटक आफैँसँग बिरानिए होलान् ? कतिपटक आफैँसँग नजिकिए होलान् ? कतिपटक आफैँसँग झुक्किए अथवा तर्सिए होलान् ? कतिपटक आफैँलाई छाम्दै आफ्नै मायामा भक्कानिए होलान् ? सायद उनले आफैँसँग बिरानिँदाको विक्षिप्त समय–किनारमा उभिएर उमारे होलान् मस्तिकमा यति संवेदनायुक्त कविता ?

...खोज्दाखोज्दै नभेटेर

बिथोलिनुभयो भने

आत्मामा हत्केला राखेर

सुस्ताउनुहोस् घुम्तीमा

आफूलाई सम्हाल्न सक्नु हुनेछ

सुख आफैँमा घुम्ती हो

अब तपाईंको प्राप्ति यहीँ कतै छ ।

(घुम्ती)

कविता आफैंमा सुन्दर रहस्य हो । यसभित्र छिर्नलाई उत्तिकै सुन्दर चेतना चाहिन्छ । उता, इटालियन क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा गरेका खोजी–यात्रा आफैँमा रहस्मय थियो । यता कवि खेरेसको कविता–यात्रा रहस्मय लाग्छ मलाई । शान्त तलाउजस्तो खेरेसको कवि हृदयमा चूपचाप तरङ्गिएका प्रत्येक कविताको रूप गाउँले बालकको जस्तै निर्दोष र स्निग्ध लाग्छ । जसले मौनतामा बोलिरहेको हुन्छ मानिसहरूसँग । मौनताको भाषा गहिरो हुन्छ । त्यो गहिरोभित्र अझ गहिरा अर्थहरू हुन्छन् । खेरेसका मौन भाषामा बोल्ने कति कविताहरूले आफू नहल्लीकन पाठक हृदयहरूमा हलचल पैदा गर्ने सामर्थ्य राखेका छन् ।  

...अब

त्यो समुद्रको  

नीलो सौन्दर्य नटिपेसम्म

पटक्कै थाहा हुने छैन

समुद्रको हृदय

(जीवनको फैलावट)

शब्दहरुको नेपथ्यमा छलिएका ‘ध्वनी–सम्मोहन’ले कवितालाई उज्यालो बनाउँछ । गतिशील बनाउँछ र जीवन्त राख्छ ।  

कवितालाई विचार बोक्ने कल्पनाको जहाज पनि भन्न सकिन्छ । जसलाई सही दिशा दिँदै सही ठाउँमा अवतरण गराउने खुबी यदि कविसँग भएन भने त्यो डुब्छ । तर, कवि खेरेसले आफ्ना जहाजलाई संयमित तवरले सही अवतरण गराएका छन् । ‘मुन्दुमी सभ्यता’बाट उठेका कवि हुन् देवेन्द्र खेरेस, जसले आफ्नो पहिलो कविता कृति ‘रुङ्रीको बयान र नदी किनारा’मा आफ्नो देशसित आफ्नै परिचय मागेका थिए । आफ्नो देशको माटोमा आफ्नै आत्मसम्मानको रुङ्री (हंश) खोजेका थिए । त्यो खोजीमा मुन्दुमी सौन्दर्य र सुगन्ध थियो । कविलाई देशले उनको परिचय दियो कि दिएन, उनले आफ्नो माटोमा आफ्नै आत्मसम्मानको हंश भेटे या भेटेनन्, सोधेको छैन मैले । तर, उनको त्यो व्यग्र खोजीको सुस्पष्ट तस्वीर मेरो मस्तिस्कमा यतिखेरसम्म उत्तिकै ओजस्वी छ । ‘कोलम्बस यात्रा’ उनको दोस्रो कृति हो । यस कृतिमा चोखो विषयगत विविधता छ । वर्तमान समय, समाज र मनोचिन्तनाको चित्रण छ । हरेक कवितालाई पाठकहरुले आफ्नो बौद्धिक गच्छेनुरुप ग्रहण गर्ने हो । यस अर्थमा कविताले पाठकहरुमा पार्ने प्रभावमा समानता नहुन सक्छ । ‘कोलम्बस यात्रा’ भित्रका कविताहरुमा अर्थ नदिने शब्द या अनावश्यक विम्बहरुको प्रयोग गरेका छैनन् कविले । थोरैमा धेरै भन्नु साथै भन्ने कुराहरुलाई छलेर (कलात्मक ढङ्गले) भन्नुको कर्तव्य निभाएका यी कविताहरु तीनचोटीसम्म दोहो¥याएर आफूले पढेको कवि श्रवण मुकारुङ बताउँछन् । नभन्दै प्राञ्जल भाषा शैलीमा लेखिएका यी गम्भीर कविताहरुको हंश (सातो) स्वयम् कविको अन्त्यपछि पनि बाँचिरहने विश्वास छ मेरो ।  

...आज

कोलम्बस अक्सफोर्ड प्रेसका फाइलहरुमा

रमिता हेरिबस्छ

र क्रमबेलको शासन सम्झेर

म इतिहास भुल्न खोजिरहेछु ।  

(समय र विपरीत एलियनहरु)

आजको विश्व राजनीति, दृष्टिकोण या चेतनालाई पक्रेर लेखिएका खेरेसका कविताको अन्तर्यचाहिँ जीवनवाद अर्थात् जीवनदर्शन नै हो भन्ने लाग्छ मलाई । अर्को कुरा, राजनीतिभन्दा जीवनवादलाई केन्द्रमा राखेर लेखिएका कविताको आयू निसन्देह लामो हुन्छ । यति हुँदाहुँदै पनि यथार्थतः कविता ऐनामा देखिएको आकृतिजस्तै हो, देखिन्छ तर छाम्दा भेटिँदैन र नभेटिने कुराको मूल्य–मोह यो संसारमा मानिस रहेसम्म रहिरहन्छ । 

हामीकहाँ कुनै कविमाथि बोल्दा या उनका रचनाहरुमा छिर्दा विद्वान्हरुले ‘फलाना देशका फलना कविले यसो भने’ अर्थात् ‘तिलना विद्वान्ले उसो भने’ भन्दै ती विदेशी कवि÷विद्वान्हरुभन्दा एक स्टेपमाथि आफूलाई राखेर सुरु गर्ने रुढ परम्परा जो छ, वाहियात लाग्छ मलाई । किनभने उनीहरुको भनाइसित हाम्रो जीवन, रचना, समाज, समय, राजनीतिक धरातल र मनोवैज्ञानिक सम्बन्ध के सधैँ जोडिरहन्छ त ? नेपाली विद्वान्हरुलाई यो यक्ष प्रश्न राख्दै बरु भन्छु म कि ‘उनीहरुले यसो भने’ भनिएका ठाउँमा हाम्रा ‘यी कविले यस्तो लेखे र यो लेखनले हाम्रो सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा कस्तो अर्थ राख्छ’ भनेर कोड गर्दा हामीलाई कुनै घाटा हुँदैन । किनभने हाम्रा कविहरुले भनेका या लखेका हर कुराहरुको प्रत्यक्ष सम्बन्धचाहिँ हाम्रै मूल्य मान्यताहरुसित जोडिन्छ । यही मूल्य बोकेका कविताहरु यस सङ्ग्रहमा सङ्ग्रहित छन् । जो, यस समयका प्रतिनिधि आवाजहरु हुन् । जसको साक्षी छ कवितासङ्ग्रह ‘कोलम्बस यात्रा’ । 

कवि देवेन्द्र खेरेसलाई हार्दिक बधाई ।

प्रकाशित: १४ माघ २०७७ ०७:०८ बुधबार

अक्षर