बहत्तर सालको भूकम्पले धेरैको ज्यान गयो । राजधानी आपासका जिल्लाहरूमा परम्मपरा शैलीमा बनाइएका सबै घर भत्किए। सिन्धुपाल्चोकको हेलम्बु पनि त्यसको चपेटामा पर्यो । घरघरमा लासैलास बिच्छियो । कतिको मलामी जानू अवस्था देखेर बित्यास लाग्दथ्यो । मिल तथा पानी घट्टहरू बन्द परे । गाउँमा अन्नपानी सकियो । कसरी किरिया गर्नु ? न घर थियो न बस्ने ठाउँ थियो । सबै गाउँलेहरअन्योलमा थिए ।
विश्वभरबाट उद्धारकर्मी खटिए । नर्बेले पनि आफ्नै उद्धारकर्मी खटाएको थियो । उद्धारकर्मीका प्रमुख जोन थिए । देख्दा हँसिला र विवेकी उनी उत्कृष्ट व्यक्तित्वको उदाहरण थिए । कतिका लास भेटिएको थिएन । परिवारको सदस्य जिउँदो छ कि भन्ने आशा धेरैमा थियो । उनले जताजता खन्न अनुरोध गर्थे उताउता लास भेटिन्थ्यो । गाउँलेलाई सास नभेटिए पनि लास भेटिँदा धेरै सान्त्वना मिल्यो । आफ्नो परम्पराअनुसार दाहसंस्कार र क्रिया गर्न पाए ।
धेरैबेरको उद्धारपछि उनी गाउँको फाँटमा गएर बसे । गाउँलेहरू मरेका पशु चौपायाहरू खाडल खनेर पुर्दैथे । उनलाई अचम्म लाग्यो । अनपढ नेपालीको त्यो बुध्दिमता र चर्तिकला सराहनीय ठाने । गाउँपालिकाको अध्यक्ष विशाल विष्ट आइपुगे । उनले जोनलाई आफ्नो टेन्टमा लगे । मोही पिलाए ।
दुई खामोको बिचमा लामो भाटा तेसार्उँदै विशालले सोधे– अस्थायी घर कस्तो लाग्यो जोन ? यसले दुई– तीन वर्ष हाम्रो परिवार धान्ला।
जोनलाई हाँस उठ्यो । केहीक्षण आफ्नो हाँसो रोक्न कठिन पर्यो । धेरै बेरपछि हाँसो रोकियो । हाँसो रोकिनासाथ विशालतिर इंगित गर्दै भने – यो घर त नेपालमा भनिदै आएको समाजवादजस्तै काल्पनिक भयो । आधार नबनाई कसरी घर स्थायी हुन्छ ! होस् गरेस् है जतिखेर पनि भत्किन सक्छ ।
प्रकाशित: १४ माघ २०७७ ०४:३७ बुधबार