कला

लाँकुरी भञ्ज्याङ र शृङ्गी ऋषि

नियात्रा

 

 

उपत्यकाका वरिपरि पहरेदार जस्ता बनेर बसेका डाँडापाखा हेर्ने रहर र उत्सुकता त पहिल्यैदेखि थियो तर जाने संयोग जुरेको थिएन, भनौँ चाँजो मिलेको थिएन । यदाकदा पदयात्रामा जाने चर्चा चल्थ्यो पनि । धेरै चर्चा, परिचर्चा, राय सल्लाहपछि महिनामा एक दिन उपत्यका वरिपरिका विशेष स्थानहरूमा घुम्न जाने निधो भयो ।

पहिलोपटक ०७३ मंसिर तीन गते शुक्रवार लाँकुरी भञ्ज्याङ जाने सल्लाह भएअनुसार हामीलाई लगनखेल बसपार्क पुग्नुपथ्र्यो । त्यसैले पनि बसाइ एकैतिर भएका हामी मित्र शीतल गिरी र म घरबाट हिड्यौं । बसाइ त जसध्वजजीको पनि नजिकै थियो तर कामको प्रकृतिले हिँडाइमा फरक पारयो । यदाकदा यस्तो हुन्छ, पर्छ, जसरी अहिले परयो ।

घरबाट हिँडेको त पौने आठ पनि नहुँदै हो तर बसपार्क पुग्दा घडीले पौने नौभन्दा बढी बजाइसकेको थियो । कोसिस गरिरहे पनि जसध्वजजीसँग फोन सम्पर्क हुन सकेको थिएन । सम्पर्क भएपछि उहाँलाई लामाटारमै भेट हुने खबर गरेर हामी (डा.भक्त राई, जय छाङ्छा, प्रवीण पुमा राई, डिल्लीरमण सुवेदी, शीतल गिरी र म समेत) ६ जना लामाटार जाने बस चढ्यौं ।  

बसमा कमै यात्री थिए । जो थिए तिनका आआफ्नै ताल थिए, आफ्नै गफ, गुनासा थिए । कोही बजारबाट फर्कँदै, कोही काम विशेषले त्यतै जाँदै थिए । लगनखेलदेखि ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु हुँदै लामाटार पुग्दासम्म हाम्रा पनि आफ्नै ताल, गफ थिए । खास गरी कोको आउने सम्भावना छ ? सम्पर्क कोकोसँग भयो ? आदिआदि । पहिलो पदयात्रा भएकाले कति जना जाने निश्चित भएको थिएन । छुटेका वा पछि परेकालाई लामाटार आउने सल्लाह दिन फोन सम्पर्क भैरहे पनि आज सात जनाकै मात्र यात्रा हुने लगभग निधोजस्तै थियो । 

लामाटार बसपार्कमा ओर्लिँदा–ओर्लिँदै जसध्वजजी भेटिनुभयो । केहीबेर चियापान गर्ने निहुँमा अरूको बाटो हेरे पनि समय भएपछि खानेकुरा, पानी आदिको थप व्यवस्था गरी बाटो लाग्यौं । बाटामै यो यात्रालाई हरेक महिनाको पहिलो शुक्रबारै निश्चित गर्ने र स्रष्टा पदयात्रा २०७३” नाम दिने निधो गरिएको थियो ।

गन्तव्य लाँकुरी भञ्ज्याङ नै भनिए पनि त्यसको सेरोफेरोका बारेमा हामीमध्येका कसैलाई पनि खासै जानकारी थिएन । म त झन् त्यो ठाउँसित सबैभन्दा अपरिचित जस्तो थिएँ । वास्तवमै म यसरी घुम्ने अवसर सबैभन्दा कम पाउनेमध्येकै पो थिएँ कि ? त्यसैले पनि यतिबेला सबैभन्दा रहर मलाई नै भएको हुन सक्छ । तर, रहर त अरूका पनि थिए, देखिए ।

यात्रा त भयो, हामी निश्चित ठाउँमा पनि पुग्यौँ तर बाटामा विशेष कुरा केही देखिए जस्तो लागेन । त्यहाँ पुगेपछि पनि केही विशेष कुरा भए जस्तो लागेको थिएन । उही घर, बस्ती र धुलैधुलोले भरिएका घुमाउरा बाटाहरू, तलमाथि जंगल मात्र ।  

कतै मोटरकै बाटो र कतै त्यसलाई छोडेर छोटो पैदल बाटो गर्दै हामी तेर्सो तेर्सिइरह्यौँ, उकालो उक्लिइरह्यौँ । बाटाभरि धुलै धुलो, कतै कतै ढुंगा र गग्रेटो पनि । गाडीहरू आइजाइ गर्दा धुलोले ढाक्ने हुनाले टाढै तर्किनु, रोकिनुपर्ने । तलमाथि, वरपरका वनजंगल हेर्दै बीचमा, कतै पानी, खाजाको लागि अडिँदै सजिलै जस्तो गरी भञ्ज्याङ पुगियो । बाटामा असजिलोको खासै अनुभव गर्नुपरेन ।  

एकातिर भ्यू टावर, जंगल र अर्कातिर केही घर, वनभोज स्थल, केही खाली जस्ता लाग्ने डाँडापाखाका बीचमा अवस्थित लाँकुरी भञ्ज्याङ आफैमा हराइरहेको थियो । साँच्चै भन्ने हो भने त चुपचाप जस्तो, शान्त जस्तो थियो ।  

लाँकुरी भञ्ज्याङ  मनमा धेरै कुरा खेलाउँदै आएको ठाउँ !  धेरै कुरा हेर्ने रहर बोकेको अवस्था ! मेरो मनमा त कल्पनाको ठूलै तस्बीर कोरिएको थियो। तर, त्यहाँ त्यस्तो केही देखिन । प्रारम्भमा त खासै केही होला जस्तो पनि लागेन । एकछिन त अरू साथीहरू पनि छक्क परेजस्तै लाग्यो । यता हेरयो उता हेरयो केही देखिन्न ।  

“यही हो लाँकुरी भञ्ज्याङ ?”— मैले हाम्रै टोलीका साथीहरूका बीचबाट जिज्ञासा राखेँ । जिज्ञासा मेरो मुखबाट निस्के पनि त्यो जिज्ञासा अरूको पनि थियो । सबैको मनको थियो शायद । त्यसको उत्तर सुन्ने उत्सुकता पनि सबैमा थियो । जिज्ञासा जसको भए पनि पाइने उत्तर त उसकै मात्र हुन्छ भन्ने हुँदैन, थिएन पनि ।  

“हो”,— भञ्ज्याङमै उभिएका मध्येको एक जना अधवैशे जस्तो लाग्ने व्यक्तिले भन्यो ।

“कहाँबाट आउनुभयो होला कुन्नि ?” एक जना युवकले हामीतिर नजर लाउँदै जिज्ञासा राख्यो ।  

“हामी अहिले यतै काठमाण्डुतिरबाटै”, हाम्रो तर्फबाट भक्तजीले संक्षिप्त उत्तर दिनुभयो ।

“ए, ल त्यसो भए, हेर्ने कुरा के छ र यहाँ ?” उसका नजरमा मैले यस्तै केही पढेँ ।

“यहाँ त्यस्तो विशेष कुरा केही होला जस्तो त छैन” मेरो मनमा यस्तो सोच आयो र अलिकति निराशा पनि छायो । वास्तवमै मलाई त्यहाँ त्यस्तो हेर्ने, देख्ने र नयाँ कुरो केही भए जस्तो लागेन । केही मान्छे, केही घर, ससाना पसलहरू । यस्तो वा यो भन्दा राम्रा दृश्य त मैले पहिल्यै देखेका तीनलाँकुरी, लाँकुरी भञ्ज्याङ “पाल्पा” मै पनि थिए । यहाँ त त्यो भन्दा फरक चाहियो नि ? मनमा अलिकति खुल्दुली र धेरै निराशा लागे जस्तो पनि भयो— बाटो छलेर यसो उभिएर यताउताको दृश्य हेर्न थाल्यौँ ।

हेर्दै जाँदा भञ्ज्याङको पूर्वीपाखा अलिमाथि केही मानिसहरू झुरुप्प देखिए । केही अलि ठूला भवन पनि । सोध्दा थाहा लाग्यो, पिकनिक स्पट रहेछ ।

हामीले यात्रा गरेको सडक सोझै अझै दक्षिणतिरै सोझियो । सडकको के कुरा भयो र जता पनि सोझिन सक्छ । जसरी पनि बाङ्गिन, घुम्न, फैलिन र साँघुरिन सक्छ । हाम्रो त आफ्नो गन्तव्य थियो । त्यहाँ पुग्नु थियो । पुगिसकेका पनि थियौं।  

– के गर्ने अब ? यात्रा त सिद्धिएछ ! मैले खुलदुली पोखेँ ।

मनमा अलमल थियो । पसल अगाडि चारैतिर नजर दौडियो । पसल बाहिर एकदमै राम्रा, ताजा मूला र केही सागपात देखिए । ताजा, राम्रा लागेर मूल्य सोध्ने रहर जाग्यो । त्यहाँबाट बोकेर आउन सजिलो थिएन तर पनि रहर हो, सोध्न भने छोडिएन । वास्तवमा मलाई राजधानीले जे देखे पनि मूल्य सोध्न मन लाग्ने बनाइदिएको छ । त्यसैले होला, सोधिहालेँ ।

मूल्य उस्तै लाग्यो, फरक जस्तो लागेन ।  

हामी केहीबेर पानी र चियासिया खानेतिर अल्मलियौँ । एक किसिमले लक्ष्य भेटाइसकेका थियौँ । मेरो मन भने आजको यात्रा बेकार जस्तो लागेकोले रमाइरहेको थिएन । म त बालउत्सुकता बोकेको मान्छे । केके न हेर्न पाइएला भन्ने सोचेको थिएँ, केही देखिएन ।  

–आजको यात्रा यत्तिकै त भएन ? मनले भन्यो ।

सोधखोज गर्दै जाँदा पो थाहा भयो त । भञ्ज्याङभन्दा केही पर शृङ्गी ऋषिको गुफा र अलिमाथि एउटा टावर रहेछ । त्यही भए पनि हेर्ने कि भन्ने भाव जाग्यो ।

कान्लामाथि एउटा शौचालय, दायाँ पाखा अलिकति खाली ठाउँ रहेछ । उभिएर अलि तलको र वनभोज स्थलतिरको दृश्य हेरयौंं । गुफाको कुराले अलिकति उत्सुकता जाग्यो, मन अलिकति रमायो, तर सबै साथीमा त्यस्तो उत्साह देखिन्नथ्यो । जाने, नजाने कुरामा पनि दोधारकै स्थिति थियो । जाने बाटो र गुफाको बारेमा सामान्य जानकारी लिएर केहीले जाने सुर कसेपछि बल्ल सबैको मनस्थिति बन्यो । जाने निधो भयो । मैले नै अलि बढी बल गरेँ कि ?

अगाडि सानो बोर्डमा लेखिएको “शृङ्गी ऋषि गुफा जाने बाटो” को संकेत र सुनेको कुरालाई आधार बनाएर लाग्यौं जङ्गलको बाटो गुफा भएतिर ।

“उपत्यकामा शृङ्गी ऋषिको गुफा ?” मनमा कुरा खेल्न, प्रश्न उब्जन थाले । यी कुन शृङ्गी ? त्रेता युगका राजा दशरथका जुवाइँ, द्वापर युगका परीक्षितलाई श्राप दिने वा कलिका ? यहाँ कहाँबाट आए ? जस्ता अनौठा सोच उब्जे, तर न उत्तर प्राप्तिको सम्भावना थियो न अपेक्षा ।

तेस्रो, अलिअलि ओह्रालो गोरेटो हुँदै अघि बढ्दै थियौँ । बाटाको छेउमा माटो उधिनिएका, झारहरू उखेलिएका, खाल्डाहरू देखिए । यो केही उत्सुकताको विषय थियो । के च्याउ खनिएको हुनसक्छ ? अहँ, होइन । तर्कवितर्क भयो र एउटै निष्कर्ष निस्क्यो – बँदेलले खाना खोज्न खोस्रिएको ।

“बँदेल ?” मनमा उत्सुकता र केही भय जाग्यो । बाक्लो जंगल, भिरालो ठाउँ, साँघुरो गोरेटो । साँच्चै बँदेल आए ! तर त्यो भय मनमै रह्यो, बाहिर आएन । डराएको मनले अरूको मन जाँच्ने कोसिस पनि गरिन ।  

४,५ मिनेट जति हिंडेपछि बाटो अलि बढी ओह्रालियो । तुलसी दिवसको कविताको सम्झना भयो –

–हिंड्दै हिंड्नेले, हिंडेको बाटो नै ओर्लिएपछि,  

उक्लनेको पनि केही लाग्दो रहेनछ ।

जंगल, भिरालो, गोरेटो बाटो सुस्तसुस्त हिंड्दै थियौँ । दाउरा खोज्दै गरेका दुइटी युवती देखिए । यस्तो जंगलमा दुई जना मात्र ! कति नडराएका ? मनमा अर्काे उत्सुकता जाग्यो । ‘के यिनलाई बाघ, भालु वा बँदेल आदिसँग डर लाग्दैन ? के यो जंगल त्यत्ति डराउनुपर्ने छैन ?’

–डर लाग्दैन दिदी ? भक्त राईको प्रश्न थियो ।  

जय छाङ्छाले थपे – गुफा भनेको कता बहिनी ?

“ऊ गुफा त्यही त हो नि ।” तिनीहरूले एउटा जस्ता पाताको छाप्रोतिर  संकेत गरे । त्यहाँ गुफाको पो चर्चा थियो । संकेतमा पनि गुफा जाने बाटो पो भनेको थियो त । यो छाप्रो कसरी ? कतै जिस्क्याएका त होइनन् ? मनमा शंका उब्जियो, तैपनि ओरालो झर्दै गयौं । अलि चिसो, सेपिलो जमिन मात्र, ठूलो पानीको मूल देखिएन । ससाना मूल भने देखिए । हामी टिनको छाप्रालाई आधार बनाएरै झरयौं ।

हामीले सोचेको, खोजेको गुफा त्यही रहेछ । गुफाबाट अलिअलि पानी निस्कँदै थियो । बाहिरैबाट हेरेर फोटो लिँदालिँदै भित्र पनि हेरौं भन्ने भयो । यसो हेरेर भित्र पस्यौँ, उभिएर एकाध फोटो लियौं र उकालो लाग्यौँ । फोटोमा पनि खासै केही देखिएन । खासै हेर्ने कुरा भए जस्तो पनि लागेन तर पनि खोजेको कुरो गुफा भेटिएको खुशी थियो ।  

मनमा कुरा खेल्न थाले । रामायणकालीन ऋषि शृङ्गीको नाम यो गुफासँग कसरी जोडियो ? के साँच्चै तिनै शृङ्गीको यस गुफासँग सम्बन्ध छ ? रामायणका अनुसार विभाण्डकपुत्र ऋष्यशृङ्ग दशरथका जुवाइँ थिए, शान्ताका पति । पुत्रेष्ठि यज्ञका जानकार भएकाले पुत्र प्राप्तिका लागि वशिष्ठको सल्लाहमा यिनैलाई बोलाएर दशरथको पुत्रेष्ठि यज्ञ गरिएको थियो र राम लक्ष्मण जन्मिएका थिए ।  

हुन्छन् पुत्र अवश्य जल्दि महाराज् ? एक यज्ञ ऐह्ले ग¥या ।।      

शान्ताका पति ऋष्यशृङ्ग ऋषि छन् ती डाक्नु ऐह्ले प¥या ।।५२।।

ऋष्यैशृङ्ग वशिष्ठ दुई ऋषिले होम गर्न लाग्या जसै ।  

पायस्को थलिया लिईकन तहाँ आया ति अग्नी तसै ।।५३।।  

रामायण बालकाण्ड पृ.१४  

“सृंगी रिसिहि वशिष्ठ बोलावा पुत्रकाम सुभ जग्य करावा”

“तुलसीकृत रामचरितमानस” बालकाण्ड पृ.१०८०

त्यस्तै श्रीमद्भागवतमा राजा परीक्षितले पानी खान माग्दा ध्यानमग्न ऋषि शमिक नबोलेको झोकमा राजाले उनको घाँटीमा मरेको सर्प राखिदिएको कुरा थाहा पाएर उनका छोरा शृङ्गीले सातौं दिनमा तक्षकको टोकाइबाटै मृत्यु हुने श्राप दिएको प्रसंग आउँछ । यस्ता प्रसंगमा आएका नाम हुन् शृङगी । यी दुई फरक व्यक्ति हुन्, तर कतिपय ठाउँमा श्रृङ्गी र ऋष्यश्रृङ्गलाई एउटै बनाइएको छ ।

मनमा कुरा खेल्न थाल्छ । सिंगो एउटा युग मात्र नभएर दुईदुई युगसम्म नाम आएका यस्ता ऋषिहरूको आयुका विषयमा । तिनको त्यो क्षमताका, ज्ञानका विषयमा । रामायण कालका ऋषि महाभारत कालसम्म, अझ कलिकालसम्म ? अर्थात् त्रेतादेखि कलिसम्म, किनकि परीक्षितको समयमै कलिको प्रारम्भ भएको कुरा महाभारतमा पाइन्छ । त्यतिबेलाका यज्ञद्वारा सन्तान उत्पन्न गराउने क्षमता र यज्ञबारे जानकारी भएका ऋषि ।

फर्केर अलिमाथि चउर जस्तो, बाटाकै छेउको सानोसम्म ठाउँमा आयौँ । ती युवतीहरू पनि दाउराको भारी बिसाएर त्यहीँ विश्राम गर्दे गरेका भेटिए । तिनले बिसाएका दाउराका भारी देख्दा सबैलाई अचम्म लाग्यो । ठाउँ पनि रमाइलै लागेकाले केहीछिन विश्राम गर्ने सोच बन्यो । सबै बस्यौँ र खानपिन गर्न थाल्यौँ । पुमा र भक्त राईले गफ निकाले । ती स्थानीय युवतीहरू पनि गफमा मिसिए । केही फोटो लियौँ । सोधपुछ, गफगाफ र खानपिन सिध्यायौँ ।

गफ गर्दागर्दै त्यो भारीको कुरो आयो । कुरै कुरामा त्यो भारी बोकेर हिंड्ने कोसिस पनि भयो । भक्त राई र पुमा त उठेर भारी बोक्न कसिए । अचम्म ? ती महिलाले सजिलै बोकेर ल्याएको ती भारी त तिनलाई जनकपुरको शिव धनुजस्तै पो भयो त । उचाल्नै मुस्किल । हामी, ‘लहै’, ‘लहै’ भन्दै हेरेर बसिरह्यौँ । केहीबेर रमाइलो पनि भयो । आँट हुनेले भारी उचाल्न धेरै प्रयास गरे तर एकदमै धाधौै भयो । धेरै प्रयासपछि पुमाले बल्लबल्ल उचालेर दुईचार पाइला चलाए मात्र तर अरूले समातेर बिसाउनुपरयो ।  

त्यत्रो भारी तिनले कसरी उचालेर ल्याए ? कसरी घर पु¥याउलान् ? उत्सुकता बनिरह्यो । हिड्ने बेलामा हामीले देख्यौँ ती बहिनीहरूले कति सजिलै बोके त्यो भारी र सरासर हामीसँगै भञ्ज्याङसम्म आए ।

हामी फर्किएर भञ्ज्याङमा आइपुग्दा टावर हेर्न जाने, नजाने कुराको दोधारमै थियौँ । केही साथीहरूमा अब नभुलौं । उकालो नजाऔं भन्ने थियो, हामी केहीमा भने अलिकति माथिको टावर नहेरी के जाने ? माथिबाट यताउताको रमाइलो दृश्य देख्न पाइन्छ भन्ने थियो । त्यसको सम्भावना र गुफाले जगाएको उत्सुकता थियो । त्यसैले जाने निधो गरेर उकालो लाग्यौँ । 

दायाँबायाँ जंगल, बीचमा अलि डोल परेको भूभागबाट बाटो रहेछ । सुस्तसुस्त उकालो लाग्यौँ । वनकै बाटो भए पनि अलि माथिल्लो भाग भएकाले अलि उज्यालो थियो ।

बीचबाट ससानो गोरेटो, यताउता रूखैरूख थिए । हामी अलि माथि पुग्यौँ । पश्चिमतिर लाग्ने एउटा गोरेटो थियो र अझ माथि जाने एउटा गोरेटो । हामी माथितिर लाग्यौं । केही मान्छे बोलेको आवाज सुनियो र टावरको संकेत पनि देखा परयो । हामी त्यतै लाग्यौँ ।

सिमेन्ट, छडले बनेको सानो, एकतले, गोलाकार त्यो टावरसम्म पुग्यौँ । उत्तरतिर उपत्यका, दक्षिण, पश्चिमतिरका बस्ती, डाँडाकाँडा रमाइलो दृश्य देखियो । एकछिन त्यहाँ बसेर समय विचार गरी साहित्यिक कार्यक्रम सञ्चालनको तयारी ग¥यो ।

पदयात्रा पहिलो थियो । खासै सोच बनेको पनि थिएन तर पनि निश्चित ठाउँमा पुगेर एउटा सानै भए पनि रचनावाचन गर्ने, यात्राकै विषयमा केही सिर्जना गर्ने भन्ने सोच त थियो नै । त्यसैले त्यही टावरको छतमा रिङ्गै बस्यौँ ।

हाम्रो टोलीबाहेक घुम्न आएका अन्य यात्रीहरूलाई समेत बस्न अनुरोध गरेर रचना वाचन कार्यक्रम गरयौं । भक्त राईद्वारा सञ्चालित सो कार्यक्रममा रचना वाचन, सामान्य यात्रा र वाचन गरिएका रचनाबारे टिप्पणी भयो । हामी सात जनाबाहेक तराईतिरबाट घुम्न आएका केही युवाहरू पनि त्यसमा सम्मिलित भए । तिनले केही गीत गाएर कार्यक्रमलाई रोचक बनाए ।

करीब साढे चार बजेको थियो । अनि त घरतिर फर्कने हतार भैहाल्यो । त्यसैले त्यहाँबाट सरासर बाटो लाग्यौँ । फेरि उही धुलो खाँदै लामाटार झरयौं र बस चढेर घरतिर लाग्यौं ।

प्रकाशित: १२ माघ २०७७ १०:५० सोमबार

अक्षर