कला

आगोपानी दुवै बन्न मैले पनि सिकेकी छु

गजल

गंगा दाहाल न्यौपाने  

 

कहिलेकाहीँ पानी बन्छु पिउँला, नसम्झिनु,

सधैंभरि  आगो बनी, जिउँला नसम्झिनु।

 

आगो पानी दुवै बन्न मैले पनि सिकेकी छु,

ईश्वरभन्दा अघि आफ्नो, नाम लिउँला नसम्झिनु।

 

सम्बन्धलाई जोगाई राख्न कति त्याग गर्न सक्छु,

बहिरो हुनु बाध्यता हो, यै नाम दिउँला नसम्झिनु।

 

शब्दहरूको मर्यादालाई जोगाउनु काम सम्झेँ ,

यसै  लाटो बनेकी हुँ  ओठ सिउँला  नसम्झिनु।

 

मनैबाट सही गलत छुट्याउन सक्छु अझै,

पटकपटक जिउनलाई आँसु पिउँला  नसम्झिनु ।

प्रकाशित: १२ माघ २०७७ ०९:५४ सोमबार

अक्षर