कला

सानो संसार र होचा मान्छेहरू

बालएकांकी

 पात्रहरू  

–(१) उमेश (८ बर्से बालक),  

(२) धनप्रसाद (८० बर्से वृद्ध),  

(३) सन्तोष (३७ बर्से प्रधानाध्यापक)

(घरको दलानमा नाति उमेश र हजुरबुबा धनप्रसाद बसेका छन् । धनप्रसाद केही सकसमा परेका देखिन्छन् ।)

उमेश – (धनप्रसादको मुख हेर्दै) हजुर बुबा, यत्ति ठुलो संसार कसरी सानो भयो ?

धनप्रसाद – (झस्कँदै र मनमनै) अब नातिले सताउने परयो । कसले यसलाई के भन्दियो कुन्नि ? मैले पुष्टि नगरी हुन्न । फेरि चित्तबुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन बा !  

उमेश – हजुरबुबा, किन चुप रहनुभएको ? भन्नूस् न हामी कसरी होचा मान्छे भयौं ?  

धनप्रसाद – (छक्क पर्दै) हँ बाबु ! सानो र होचो कुरा कसले गरयो ?

उमेश – के सानो संसारका हामी होचा मान्छे हौँ भन्ने कुरा नै गलत छ र ?  

धनप्रसाद – (अलमलिँदै मनमनै) केही बोलौँ त प्रश्नमाथि प्रश्नको खात लाग्छ । चित्तबुझ्दो जवाफ नभए इज्जत नै लिलाममा पार्छ । हाम्रो हजुरबुबालाई यो पनि आउँदैन त्यो पनि आउँदैन, भुस्कोल हुनुहुन्छ भनेर चारैतिर झ्याली पिट्न थाल्छ । त्यस्तै मौका परे मेरैसामु मलाई पनि भुस्कोल हजुरबुबा भनेर नाउँ राख्न बेर लगाउँदैन । यसका हरेक प्रश्नको जवाफ दिन मसँग ज्ञान पनि त हुनुपरयो नि ।

उमेश – (अझ ठुलो स्वरले) होइन हजुरबुबा, नबोली बस्नुहुन्छ । म समस्यामा परेको छु । मैले कसबाट सहयोग पाउने ?

धनप्रसाद – (केही सहज हुँदै) ठिकै छ । सानाको बुद्धिले काम नगरे ठुलाको भर पर्नुपर्छ ।

उमेश – (अलिक सहज हुँदै) त्यही त भनेको । मेरा हरेक प्रश्नको जबाफ हजुरबाट पाइरहेको थिएँ। तर, आज आनाकानी गरिरहनुभएको छ । कारण त हजुरसँग नै छ ।

धनप्रसाद – ठिक छ । कारण पनि मसँग नै रहोस् । म तिमीलाई पछि भन्ने छु । अहिले भने गृहकार्य बनाउन थाल त ।

उमेश – समस्यामा जेलिएर बस्नुपरेपछि कसरी बनाउने ? समाधान नपाई गृहकार्य कहाँ बन्छ र ?  

धनप्रसाद – भरे साँझमा म नाति बाबुलाई सबै कुरा बताउने छु । अहिले भने मलाई छाडिदेऊ ।

उमेश – कि हजुरलाई नै आउँदैन ?

धनप्रसाद – (सकस मान्दै) आउँछ आउँछ । सबथोक आउँछ । समय आएपछि तिमीलाई भन्ने छु । निर्धक्क भएर जाऊ र अरू काम गर ।  

उमेश – असल काम र कुरा गर्न साइत जुराउनु पर्दैन भन्नुभएको होइन हजुरले ?

धनप्रसाद – (‘सानो संसार र होचा मान्छे’ दिमागमा यही कुरा घुमाउँदै) जेजे भने पनि अहिले भने मैले अरू नै काम गर्नु छ । म तिमीसँग कुराकानी गरेर भुल्न सक्दिनँ । जाऊ बाबु ! जाऊ । (धनप्रसाद आफू जोगिन खोज्छन् । नातिले बेइज्जत पार्देला कि भन्ने त्रास मनमा राखेको प्रस्ट आभास मिल्छ । उमेश अर्कै कोठातिर लाग्छ । त्यसै बेला प्रधानाध्यापक सन्तोषको प्रवेश हुन्छ ।)

धनप्रसाद – (हात जोड्दै) ओहो ! हेड सर पो पाल्नुभएछ । नमस्कार है हेड सर ।

सन्तोष – (नमस्कार फर्काउँदै) शनिबारको दिन भएकाले गाउँघर घुमफिर गरूँ कि भनेर बाहिरिएको हुँ । गाउँघरमा त निकै परिवर्तन देखा परेछ !

धनप्रसाद – (बस्ने स्थान देखाउँदै) हजुर । बसौँ यत्तैतिर । फुर्सदमा घुमफिर गर्नुपर्छ । सर्वप्रथम आफ्नै बारेमा थाहा हुनुपर्छ अनि मात्र अरूको बारेमा जान्न सकिन्छ । तुलना गरेर आफ्नो स्तर निर्धारण गर्न सकिन्छ । हजुर पाल्नुभएकोमा धेरै खुसी लाग्यो ।

सन्तोष – हजुर, ठिक भन्नुभयो । उमेशको चालचुल देख्दिनँ नि ? कता छन् उनी ?

धनप्रसाद – खै, कोठातिर होला । मौका मिल्यो कि नानाभाँतीका अड्को थापेर हैरान पार्छ । कसले के भन्यो कुन्नि ?

सन्तोष – त्यो त राम्रो बानी हो । उमेरले पनि गर्छ । बच्चाहरू जिज्ञासु हुनु राम्रो गुन हो ।

धनप्रसाद – तर मलाई त आपतै पारयो यसले । यसको मन ठुलाबडाको जस्तो छ ।

सन्तोष – बच्चाहरू त्यस्तै हुन् । उनीहरूले सोधेका प्रश्नको जवाफचाहिँ सही दिनुपर्छ । हामी जे भन्छौं,  उनीहरूमा त्यही छाप पर्छ बरु उमेशले के कस्ता प्रश्न राखे, त्यो सुनौं न !

धनप्रसाद – यो संसार कसरी सानो भयो अनि हामी मान्छे कसरी होचा भयौं ? उसको यस प्रश्नको जवाफ मैले दिनुपर्ने रे । प्रश्न त बुढापाकाले सोध्ने जस्तो छ र जवाफ पनि गम्भीर हुनुपर्छ । आफ्नो दिमागमा प्रस्ट जवाफ नभई उत्तर दिन खोजियो र बिचबिचमा आउने उसका छड्के प्रश्नको जवाफ दिन सकिएन भने आपत्मा पार्छ ।

सन्तोष – (हाँस्दै) ल, कुरा दुबैका मनासिव छन् । नातिलाई हजुर बुबाको डर हजुर बुबालाई नातिको डर । डरैडरले गर्दा समस्या समस्यैमा रहेको प्रस्ट छ । उमेशका कुरा ठिक हुन् । ठुलो संसार सानो भयो तर हामी भने होचाको होचै छाँै ।

धनप्रसाद – (जिज्ञासु हुँदैै) कसरी हेडसर ?

सन्तोष – पहिले उमेशलाई बोलाऔँ अनि छलफल गरौँला । हुन्न ?

उमेश – (हात जोड्दै प्रवेश गर्छ ।) नमस्कार सर ।

सन्तोष – तिमी त नबोलाईकनै आइपुग्यौ । कहाँ थियौ ?

उमेश – गृहकार्य बनाउँदै थिएँ अध्ययन कोठामा । हजुर आउनुभएको सुइँको पाएर आएको ।

धनप्रसाद – लौ बस । मनमा जेजे छन् सबै प्रश्न सरसँगै राख । आज मेरो सुन्ने पालो ।

सन्तोष – लौ सुन उमेश । विज्ञान, प्रविधि, सञ्चार, यातायात आदिले एक ठाउँको सूचना अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । एक ठाउँको मान्छे अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । वर्षौैँवर्ष लगाएर तय गर्नुपर्ने यात्रा घण्टामा परिणत भएको छ । लन्डनमा घटिरहेका घटना हामी आफ्नो कोठामा तत्काल हेर्न सक्छौँ । कतारमा लेखिएको कुरा कास्कीमा बसेर तत्काल पढ्न सक्छौँ । पेरिसमा बोलेको कुरा तत्काल ग्रहण गरी जबाफ फर्काउन सक्छौँ । खै संसार कहाँ ठुलो छ र ? संसार त कोठामा कैद भइसक्यो ।

उमेश – (छक्क पर्दै) हो त नि, अमेरिकामा पेन्टागनहरू ध्वस्त भएको कुरा हामीले कोठामै देख्यौँ । जापानमा भएको साथीसँग च्याटिङ गर्छु । बेलायतमा रहनुभएका बुबासँग कुराकानी गर्छु ।

धनप्रसाद – (खुसी हुँदै) अब भने घँैटोमा घाम लागेछ मेरो नातिको ।

उमेश – (शिर निहुरयाउँदै) हजुर तर मान्छे कसरी होचाको होचै भए ? त्यो पनि बुझ्न चाहन्छु ।

सन्तोष – संसारलाई सानो त मान्छेले बनायो तर आफू भने होचाको होचै रह्यो । मान्छे ठुलो हुनुपथ्र्यो सकेन । यही त दुर्भाग्य हो हाम्रो । यस दुर्भाग्यबारे जान्न चाहन्छौ होइन ?

उमेश – हजुर सर ।

सन्तोष – ठिक छ सुन । आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भावना, क्षुद्रता, अहङ्कार, ईष्र्या, पापाचार, दुराचार, अनाचार, कामेच्छा, मात्सर्य, दुष्टता जस्ता कुभावना आए । त्यसैले आजका मान्छेमा मानवता नै हरायो । आजका हामी ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्बरी भयौं । स्वावलम्बी र स्वनिर्भर संस्कृतिका कुरा भुसुक्कै बिर्सियौं। लुच्चा, लफङ्गा, स्वार्थी, कामचोर, दलाल, भ्रष्टाचारी, द्रव्य पिपासु मात्र भयौं। त्यसैले हामी अग्ला हुन सकेनौं।

धनप्रसाद – हामीले अग्लो मान्छे बन्न सगरमाथाजस्तै ठुलो छाती पार्नुपर्छ । संसारलाई दिने काममा सक्रिय हुनुपर्छ । लिने काममा मात्र लिप्त हुनु हुन्न । विज्ञान, प्रविधि, सञ्चार, यातायात आदिले ल्याएको प्रगतिलाई व्यक्तिगत स्वार्थको तराजुमा तौलनु हुन्न । संसारको उन्नतिमा लगाउनुपर्छ । त्यसो भएमा मात्र हामी अग्लिन सक्छौं ।

उमेश – (खुसी हुँदै) म्याडम लक्ष्मी रिजालले निबन्ध लेख्न दिनुभएकाले मैले जिज्ञासा राखेको थिएँ । अब मलाई धेरै जानकारी भयो । म निबन्ध लेख्न गएँ ।

सन्तोष – जाऊजाऊ । पढ्ने मान्छेले धेरैबेर अन्यत्र अलमलिनु हुन्न घुमफिर गर्नु हुन्न । अब यतिचाहिँ बुझ कि मान्छेले संसारमा चमत्कार ल्यायो तर आफूमा भिœयाउन सकेन । (नमस्कार गर्दै उमेश त्यहाँबाट जान्छ ।)

धनप्रसाद – हेडसर ! हजुरले मेरो सङ्कट हरण गर्नुभयो । हामीले पनि नेपालमा परिवर्तन ल्यायौँ तर आफूमा परिवर्तन ल्याउन भुसुक्कै भुलेछौँ । अब नास्ता खान भान्सातिर लागौँ ।

सन्तोष – हामी सुखका भोका छौँ । दुःख गर्न सक्नेले सुख भेट्छ । दुःखको नाम नजानेकाले सुखको अनुभूति गर्न सक्दैन । कुरा त्यस्तै हुन् ।

धनप्रसाद – कुरा त मनासिव हो हेड सर । अब भने उतै गएर कुरा गरौँ । हुन्न ?

सन्तोष – हुन्छ हुन्छ त जाऔँ । (दुवै जना निस्कन्छन् ।) (पर्दा बिस्तारै खस्छ ।)

प्रकाशित: ११ माघ २०७७ ०८:३७ आइतबार

जुनकिरी