कला

मधु

कथा

सुरेश मेरो छिमेकी थियो । मधु उस्की स्वास्नी । म कथा लेख्थें र कथा समूहमा कथा साझा गरिआएको थिएँ । कथा समूहमा सदस्य बनेर कथा साझा गरेको चार वर्ष भैसकेको थियो । मधु फुर्सद निकालेर मेरोमा  कथा सुन्न आउने गर्थी । पाँच छ महिना भैसकेको थियो मधुलाई एउटा पुरानो मोबाइल दिएको थिएँ र वाइफाई पनि जोडी दिएको थिएँ । मधुलाई वाइफाई जोडी दिनुमा सुरेशसंग मेरो छिमेकीको मजबुत साइनो थियो । सुरेश मधुको पोई थियो । ऊ सानो घुम्तीमा हरियो ताजा तिहुन तरकारी बेच्थ्यो । कहिलेकाहीँ ऊ मेरामा तरकारी लिएर आउँथ्यो र मधुलाई कथा लेख्न सिकाइदिनुस् है मास्टर साबू भन्थ्यो ।

मधु सुरेशलाई खाना ख्वाएर घुम्ती पसलमा पठाउँथी र झटपट धन्ना सकेर मेरामा वाइफाई चलाउन आउँथी । मधु नियमित भैसकेकी थिई । हिजोआज ऊ कथा लेख्न सिक्दै थिई। 

– मधु, अब तँ आफैं समूहमा सदस्य बनेर कथा साझा गर्न सक्ने भइस् । मैले उसलाई भनेको थिएँ ।

मेरा कुरा सुनेर मधु मुसुक्क हाँस्दै समुहमा सदस्य बन्न अघि सरी । मैले केही समुहहरू जोडी दिएर उसलाई भने – यसरी आफ्ना कथा साझा गर ।

भोलिपल्टको कुरा हो । मधु आफ्नो पोई लिएर आई । उसले लेखेर तैयार पारेको कथा पढेर सुनाई । आफ्नै घर परिवेश कथानक राखेर कथा लेखिछ । उसको वाचन कण्ठ पनि सुमधुर सुनिन्थ्यो । 

मधुले लेखेको कथा समूहमा साझा गर्न लगाएँ । उसले आफ्नो कथा कथा समूहमा साझा गरी । स्वतन्त्र समुहमा साझा गरेको कथा उस्को आफ्नै पृष्टमा देखियो । मधु खुसी हुँदै सुरेशलाई देखाई।   त्यहाँ दुईवटा लाइक थिए  र एउटा मन्तव्य यस्तो थियो – कथा समूहका तर्फबाट मधुलाई कथा समूहमा स्वागत छ ।

उसले समूहलाई प्रत्युत्तर दिई  – धन्यवाद ।

केहीबेरपछि अर्को समुहले पनि मधुको कथा समुहमा साझा गरेको सूचना संकेत टङ गरेर बज्यो । त्यस समुहले मन्तव्यमा लेखेको रहेछ – मधुको पहिलो कथामा मधुको लेखन कला धेरै राम्रो देखिएको छ । कथा लेखनमा मधुको निरन्तरता कामना गरिन्छ ।

भोलिपल्ट सुरेशको घुम्तीमा खबर पत्रिकावाला खबर कागज बेच्दै आयो । पत्रिकावाला आउनुको कारण थियो उस्को पत्रिकामा मधुको फोटो र कथा छापिएको थियो । त्यो देखेर मधु र सुरेशले आफुहरूको सफलतामा खुसीका आँसु बगाए । 

केही दिन पछि एउटा समुहले कथावाचन प्रतियोगिताको सूचना सार्वजनिक गर्यो । सूचनासंग कार्यक्रममा भाग लिनक निमन्त्रणा– पत्र पनि संगै जोडिएको थियो । त्यसकारन मधु र सुरेश फेरि मेरामा आए । 

कार्यक्रममा मधुलाई उपस्थित गराउने सल्लाह भयो । सुरेशले मधुलाई जाने आउने भाडा दिने भयो।

मेरा आफ्ना कथा कहिल्यै छापिएका थिएनन । मेरा कथा वाचेको पनि मलाई थाहा थिएन । तर मधु सिकारु कथाकारको कथा पत्रिकामा छापियो । उस्का कथा समुहमा वाचिए पनि । यो मेरा लागि आश्चर्यकै विषय बनिरहेको थियो । यस्तै सोचेर कार्यक्रममा जाने निश्चय गरें ।

काठमाडौंको चित्रेहल बाहिर निकै चहलपहल थियो । लहरै चारपाँचवटा टेवल सजाएर राखिएका थिए । स्वागतमा  कार्यकर्ताहरू अतिथिसंग कुरा गर्दै थिए । कोही नाम दर्ता गराउँदै थिए । वार्षिकोत्सवमा आउनु हुने सबै कथाकारलाई स्वागत छ । भित्रबाट माइकिङ भैरहेको आवाज चित्रेहल चिरेर बाहिर निस्किरहेको थियो । 

हामी नाम दर्ता केन्द्रमा गएर खबर लियौं । चित्रेहल भित्र प्रवेश र लघुकथा वाचनका लागि एउटै शुल्क रहेछ । आफूले हिसाप भित्रको मात्र पैसा बोकेको थियो । मधुसंग भाडा र चिया खर्चभन्दा बढी पैसा थिएन । मलाई मेरा आफ्ना कथा वाचन होला भन्ने विश्वास पनि थिएन । मधुलाई बाहिर बसाएर आफू चित्रेहल प्रवेश गर्न उचित ठानिन । मधुसंग प्रवेश शुल्क तिर्ने पैसा थिएन र आफूसँग पनि एउटा प्रवेश पत्रको शुल्कभन्दा बढी पैसा नहुनाले मधुलाई भनें–  मधु, तेरो नाम दर्ता गर्दा लाग्ने एघार सय रुपियाँ म तिरिदिन्छु । तँ चित्रेहलको कार्यक्रममा सहभागी बन । कार्यक्रम नसकुन्जेल म कहीँ जान्न । कथा वाचन गर र प्रतियोगिता जीत । वाचनमा जितेर उपहार लिएर आउलिस् नि ।

मधुको दर्ता शुल्क एघार सय तिरेर मधुका हातमा चित्रेहल प्रवेशको प्रवेश पत्र राखिदिदैँ मैले उसलाई भनें ।

सानो घुम्तीमा बसेर तरकारी बेच्ने सुरेशकी स्वास्नी मधु । थोरै पढेकी तर सिप र जाँगर भएकी ऊ आज काठमाडौंको चित्रेहलमा भेला भएका देशविदेशका भद्रभलाद्मीहरूको भिडभित्र पसेकी छ । सबै वरिष्ट र विशिष्टको उपस्थितिले भरिएको छ चित्रेहलको भित्री गृह ।  न गर्मी छ न जाडो छ त्यहाँ । एकदमै रमाइलो छ वातावरण । रंगविरंगका बत्ती बलेका छन्। मधुर झंकार बिच उद्घोषकको घोषणा सुनिदै छ ।  

– सुइजरल्याण्ड बाट आएका धनाढ्य गर्जमानको कृपाले आज हाम्रो समुहले चित्रेहलमा यो भव्य कार्यक्रम राख्न सफल भयो । उहाँलाई फूलमाला, दोसल्ला र ढाका टोपीले स्वागत गरौं ।

चित्रेहलका साहुलाई गर्जमानले एक लाख रुपियाँ तिरेर समुहको यो कार्यक्रम बसेको कुरा उद्घोषणाबाट बुझ्न सकिन्थ्यो ।  

त्यसपछि पत्रिकाका सम्पादकले माइक समातेर श्रेष्ठ कथाकार नारी हस्ताक्षर ुमधुु भन्दै मधुलाई मञ्चमा डाके । सम्पादकका मुखबाट मधु नाम आउँदा मधु सपना देखे जस्तो गरेर दंग परी । यतिका धनीमानी भद्र भलाद्मीको संगत उसले कहिल्यै गरेकी थिइन । ऊ आफुले आफुलाई सम्हाली र भुइँमा  खुट्टा टेकेर उभ्भिइ । मधुलाई विश्वास नै हुन सकेको थिएन मधु माष्टरका आशिर्वाद र कृपाले काठमाण्डौको चित्रेहलमा भद्रभलाद्मीको भीड भित्र छ र ऊ आज त्यहाँ सम्मानित हुँदै छ । सपनाबाट ब्युँझे जसरी ऊ मञ्चतिर अघि बढी । मञ्चमा सम्पादकले मधुलाई फूलमालाले स्वागत गरे र  बर्को ओढाई दिए । चित्रेहल गड्डड थपडीले गुञ्जायमान भयो । सम्पादकले आफ्नो हातको माइक मधुलाई दिए ।

मधुले माइक समातेर भनी  यो सम्मानको श्रेय चित्रेहलको बाहिर बसिरहनुभएका मेरा गुरु माष्टर साहबलाई दिन चाहन्छु । उहाँ गुरु मात्र होइन उहाँ त हामी जस्ता गरीब दुखीका लागि दाता हुनुहुन्छ । उहाँ गर्जमानज्युजस्तै दाता हुनुहुन्छ ।

मधुको यस्तो कुरा सुनेर सबै मुखामुख गर्न लागे । सँगै बसेका कथाकार मित्रजनहरूमा साउती चल्न थाल्यो । 

कसैले भने– पात्र दुई थरीका हुन्छन । प्रथम थरीका  सुपात्र । दोस्रो थरीका कुपात्र । मधु कुपात्र रहिछ । गर्जमानको लाख रुपियाँ मधुले पानीमा बगाई दिइ । यस्ती कुपात्र आइमाईलाई निमन्त्रणा गर्नु हुन्थेन ।

कसैले  साउती गरे  – माष्टर साहबलाई चित्रेहल भित्र बोलाउनुपर्छ । नत्र उनको अपमान गरेको हुन्छ ।

केही समय चित्रेहल माइकशून्य भयो । त्यो समयसम्ममा मधु मञ्चको आसनमा विराजमान भैसकेकी थिई । मधु त्यसबेला बाहिर बसिरहेका माष्टर साहबलाई चित्रेहल भित्र पस्न अनुमति दिइयोस्  भनेर आयोजक समुहलाई भन्न नसक्ने भैसकेकी थिई । 

माष्टर साहब बाहिर बसेर चित्रेहल भित्रको माइकको आवाज सुनिरहेका थिए । माइकबाट सुनिएको चित्रेहलको उद्घोषणामा मधुको नाम उद्घोष हुँदा उनी खुसीका मुद्रामा देखिन्थिए । उनको छाती आत्मगौरवको अनुभूतिले फुल्यो। ूप्रवेश शुल्क एघार सय तिर्नाले नै मधु मञ्चमा आसिन भई

माष्टर साहबको आधा उमेर बितिसकेको थियो । उनी अविवाहित छन । एक्लो जीवनको पीडा उनले भोगेका छन् । सुरेश उनको छिमेकी एउटा युवा थियो । आफ्नो जीवनको अनुभवले उनले सुरेशको बिहे गराइदिएका थिए । हुन पनि उनीहरूको जोडीलाई माष्टर साहबको आशीर्वाद थियो । उनिहरू खुसीको जीवन जीउन चाहन्थिए । तर यस विषयमा एउटा कुराले माष्टर साहब दुखित देखिन्थिए । उनीहरूले सन्तान जन्माउन सकेका थिएनन । माष्टर साहबलाई यो कुराले पिर परि रहेको थियो । 

मधुप्रतिको जिम्मेवारी पूर्ण भइसकेको थियो उनको । अब सुरेशसंग यति कुरा भन्न चाहन्थिए – सन्तान भएन भने मान्छेले कुपुत्र भन्छन् । डाक्टरको परामर्श लिएर बाउ बन सुरेश । सन्तान जन्मा ।

यतिकैमा चित्रेहल भित्रबाट मधुको वाचन माइकबाट प्रवाहित भयो । थपडीको गड्डडसंगै ऊ कथा वाचन गरिरहेकी थिइ । केहीबेर पछि चित्रेहलको कार्यक्रममा मधुले प्रतियोगिता जिति । मधु प्रथम भइ । फेरि उसलाई सम्पादकले फूलको माला लगाई दिए र पुरस्कार  पाँच हजारको बिटो उसका हातमा राखिदिए । सम्पादकले मधुसंग मञ्चमा संगै उभिएर केहि फोटाहरू पनि खिँचे ।

चित्रेहलको कार्यक्रम सकियो । माष्टर साहब र मधु घर फिरे । काठमाण्डौ बाट लाहान आइपुग्न उनिहरूलाई पुरै एक रात लाग्यो । यात्राको रात्रीसेवा बसमा मधु माष्टर साहबको कुममा टाउको टसाएर भुसुक्क निदाइ । माष्टर साहबलाई मधु आफुसंग टाँसिएर निदाएको मन परेको थिएन । 

मधु त्यहीँ सपना देख्न थाली चित्रेहलको । चित्रेहलमा सम्पादकले मधुलाई अँगालो  हाले । घरि उस्का कपाल सुमसुम्याएको देख्छे । कहिले ऊ तरकारी पसले सुरेशकी स्वास्नी चित्रेहल प्रवेश गरेकै दिन पत्रिका सम्पादककी प्यारी हुन पुगेकी छ । यसरी सपनामा मधु सम्पादकका जति जति नजिकिन्छे उति – उति मास्टर साहेबलाई ठेल्दै गरेकी थिई  । उस्को टाउको मास्टर साहेबका तिघ्रातिर नुहिन थाल्यो । केहीबेरपछि मधुका हात मास्टर शरीरमा पुगे । मधुको यस्तो अवस्थाले मास्टर साहेब झनै लज्जित भए र उनले मधुलाई जगाउने प्रयत्न गरे ।

–मधु , मधु  सोझो भएर बस । माष्टरको मधु मधु बोलीले मधु जागी । मस्तसंग सपना देखिरहेकी मधु जागेर भ्रमित भई मधुले सपनामा देखेका सम्पादक कतै माष्टर साहब नै त थिएनन ॽ

सुरेश – माष्टर साब , तपाईंले मधुका लागि यति धेरै सहयोग गर्नुभयो । तर, मैले तपाईंलाई कुनै सहयोग गर्न सकिन । माष्टर साहब,  मलाई तपाईंको ऋण लाग्यो ।

माष्टर साहब–  त्यस्तो सहयोग के गर्न सकें र सुरेश मैले ॽ

सुरेश – यी हेर्नुस आजको पत्रिकाले मधुको फोटो मुख्य पृष्टमा छापे छ ।

उत्तरमा माष्टर साहबले सुरेशलाई त्यहि कुरा भने– सुरेश ,  मधु कथाकार भई  । काठमाण्डुको कार्यक्रममा सफलता ल्याई । प्रथम पुरस्कार नगद पाँच हजार समाती । तँँ मधुको लोग्ने होस् । तर सुरेश, तँ बाउ बन्न सकिनस् ।  सुरेश तँ डाक्टर काँ जा र बाउ बन ।

माष्टर साहबका कुराले सुरेशलाई छातीमा बज्रपात परे जस्तो लाग्यो । माष्टर साहबका मुखबाट यस्ता कुरा सुरेशले कहिल्यै सुनेको थिएन । माष्टर साहबको कुरा उसले बुझ्न सकेन । माष्टर साहबले पढीसकेको उस्को पत्रिका पट्याएर बोक्यो र त्यहाँ बाट ऊ उठ्यो ।  माष्टर साहबले उसलाई फेरि त्यही  कुरा दोहोर्याए  – सुरेश, मधुलाई लिएर डाक्टर काँ जा र बाउ बन ।

सुरेशको मनमा फेरि झस्का पस्यो । के ऊ छोराछोरीको बाउ बन्न सक्दैन त ।  उसले सोच्यो,  मास्टर साहेबको  परामर्श ठीक लाग्यो उसलाई । मास्टर साहेबलाई छाडेर ऊ एक्लो हुन्छ ।   मास्टर साहेबबिना ऊ बाँच्नु व्यर्थ हुन्छ । मास्टर साहेबसंगको परामर्श शिरोधार्य गर्ने संकल्प लिएर सुरेश घर पुग्यो । 

घरमा पुगेर मधुलाई सबै कुरा सुनायो । मधुले औपचारिकता मात्र निभार्इ । साधारण डाक्टर देखाएर सामान्य ओखती आफूले  खाई र सामान्य लोग्नेलाई ख्वाई । 

मधु मास्टर साहेबले तिरेको प्रवेश शुल्कको पैसा फिर्ता गरिदिने भइ र सुरेशलाई लिएर मास्टर साहेबको का घरमा गई । सुरेशले उनीहरू दुवै जना डाक्टर कहाँ गएको र दुवैले ओखती खाएको कुरा बतायो ।

डाक्टरको परामर्श र उनीहरूले  खाएको ओखती सम्बन्धमा मधु चुप लागेर बसी। ऊ आफ्नो सुर जे थियो त्यता लागी । कथा लेखेर ऊ पुरस्कृत भएकोमा मधुले मास्टर साहेबको  सद्गुण गाई र एघार सयको दुना पैसा   मास्टर साहेबलाई फिर्ता दिई ।

मास्टर साहेब मधु मैले तँलाई सहयोग गरेको । तेरो उपकार गरेको थिएँ । त्यस्तो पैसा मलाई फिर्ता दिनु पर्दैन । बरु तेरा कथाहरूको एउटा संगालो निकाल । यसमाथि  पाँच हजार थपिदिएँ । मास्टर साहेबले थपेर दिएको पैसा समात्दै मधुले हिसाप जोडी । सम्पादकले चियाखान दिएको एक हजार । उस्को आफ्नो चानचुने, सुरेशको खल्ती र  मास्टर साहेबको मिलाएर दश हजार पुरयाएर मास्टर साहेबलाई लिएर कथा छाप्न जाने भई ।

मास्टर साहेबले मधुको कथा संकलनको भुमिका लेखिदिएर पुस्तकको नाम राखिदिए – बाँझी आइमाई।

प्रकाशित: १० माघ २०७७ ०९:२८ शनिबार

अक्षर