कला

बेवारिसे लास

लघुकथा

एकाबिहानै शहरको व्यस्त चोकमा अपरिचित वा बेवारिसे जे भने पनि हुने खालेको लास भेटियो  । देख्ने र भेट्ने परपर हुँदै भन्दै थिए– कोभिडले मरेको होला । छेउमा जानु हुन्न,  सर्न सक्छ । एकजनालाई सर्यो भने परिवारलाई मात्र होइन भेटेजति सबैलाई सल्किन सक्छ। 

–  विचरा कसको लास होला त्यो ! देख्नेमध्ये गोपेशले भेटेजतिलाई भन्दै गयो।

एकैछिनमा प्रहरी आई लासको पहिचान गर्न देख्नेहरूलाई सोधखोज गर्यो । सबैले थाहा छैन भने । स्वाव सङ्कन र पोष्टमार्टमका  लागि  प्रहरीले मुचुल्का उठाई लिएर गयो ।

लासमा कोरोना नेगेटिभ देखियो । पोष्टमार्टमको रिपोर्टमा आमाशयमा अन्नको चिन्ह समेत देखिएन । लामो समयसम्म खान नपाएकाले हृदयगति बन्द भई मृत्यु भएको लेखिएको थियो।

लासको थोत्रो सर्टको खल्तीमा भेटिएको कागजको चिर्कटोमा लेखिएको थियो – दैनिक ज्यालादारीमा काम गरेर परिवार पालिरहेको थिएँ । तर, लामो बन्दाबन्दीमा काम नपाएर परिवारलाई भोकले तड्पिएको पीडा हेर्न नसक्ने म भाग्यमानी नेपाली ।

त्यो देख्ने सबैले  ठूलाले बेलाबेलामा  मेरो पालामा कोही भोकले मर्ने छैनन् भन्ने गरेको कुरा सम्झे ।

प्रकाशित: १० माघ २०७७ ०६:४१ शनिबार

अक्षर