कला

प्रेम

कविता

प्रेम नै जून हो प्रेम नै घाम हो  

प्रेम नै कृष्ण हो प्रेम नै राम हो  

प्रेम नै लुम्बिनी प्रेम नै बुद्ध हो  

प्रेम गान्धी हुने फूल हो शुद्ध हो  

 

प्रेमको वागमा गाउने गीत हो  

प्रेमको धाममा लाउने प्रीत हो  

प्राण हो जिन्दगी प्रेम नै सास हो  

आश हो प्रेम नै प्रेम विश्वास हो  

 

प्रेमको रागमा गीत नौलो हुने  

प्रेमले चित्तमा प्रीत हो ल्याउने  

यो समाधान हो  कष्टको पीरको  

हो सुधा प्रेम नै वेदना नीरको  

 

प्रेम नै छन्द हो काव्यको भावना  

प्रेम नै सिर्जना प्रेम नै साधना  

प्रेम नै   शारदा प्रेम नै वन्दना  

प्रेम पूजा न हो भक्ति हो अर्चना  

 

प्रेम रारा भयो प्रेम फेवा भयो  

प्रेम सारा भयो प्रेम मेवा भयो  

प्रेमको लोकमा प्रेम नै देश हो  

राजधानी यही प्रेम नै भेष हो  

 

प्रेम शिक्षा हुने प्रेम दीक्षा हुने  

प्रेम नै देवको सर्व इक्षा हुने  

प्रेम नै रूप हो प्रेम नै सार  हो  

प्रेम आकाश हो प्रेम संसार हो।

प्रकाशित: १० माघ २०७७ ०५:१८ शनिबार

अक्षर