कला

कालिञ्चोक यात्रा

अक्षर

दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षदेखि कालिञ्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको छ। समुद्री सतहभन्दा तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ।

कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती तीर्थ नै हो। कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिञ्चोक भगवतीको मन्दिर छ। त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो। यो ठाउँमा लेक लाग्ने भएकाले यात्रुहरूले पहिले नै तयारी भएर जानुपर्छ। किंवदन्ती अनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ। मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान रहेको पुजारीहरूले बताए।  

‘यस क्षेत्रमा भेडागोठ रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडा जम्मा भएर बस्ने र ढुंगा चाट्ने क्रममा जलकुण्ड देखिएको जनविश्वास छ।  

‘यस क्षेत्रमा भेडागोठ रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडा जम्मा भएर बस्ने र ढुंगा चाट्ने क्रममा जलकुण्ड देखिएको जनविश्वास छ,’ मन्दिरमा भेटिएका एक पुजारीले भने, ‘कालिञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, निरोगी हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने विश्वास छ। हरेक वर्ष जाडो याममा विशेष गरी नेपाल र भारतबाट भक्तजन आउनुहुन्छ।’

कसरी जाने ?

काठमाडौंबाट कालिञ्चोक पुग्न गाडीमा करिब पाँच घण्टा लाग्छ। त्यसपछि केबलकार चढेर पाँच मिनेटमै मन्दिर पुगिन्छ। सोही दिन दर्शन गरेर फर्कन पनि सकिन्छ। अहिले केबलकारको भाडा पाँच सय रूपैयाँ छ, विदेशीले भने एक हजार रूपैयाँ तिर्नुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक र अपांगतालाई २५ प्रतिशत छुटको व्यवस्था छ।

कालिञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, निरोगी हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने विश्वास छ। हरेक वर्ष जाडो याममा विशेष गरी नेपाल र भारतबाट भक्तजन आउनुहुन्छ।’

दोलखाको चरिकोट बजारको उत्तरपूर्व १८ किलोमिटर सडक पार गरेपछि कुरी बजार पुगिन्छ। काठमाडौंदेखि कालिञ्चोक भगवतीको दर्शन गर्न भक्तजनहरू कुरीबाट केबलकार नचढी सहजै भगवतीको मन्दिरसम्म पुग्ने भएकाले पनि यात्रा छोटो र सहज छ। यति मात्र होइन, त्यहाँ पुग्ने पर्यटकले विश्वकै प्रसिद्ध हिमालहरू गौरीशंकर, दोर्जे–लाक्पा, लाङटाङ, लिरुङ लगायतको मनमोहक दृश्य क्यामेरामा सजिलै कैद गर्न सक्छन्।  

कुरीमा रहेकोे सुनपाती होटेलका सञ्चालक हरि ओलीका अनुसार, हाइकिङ गरी मन्दिर जानेहरूले कुरी बजारबाट करिब डेढ घन्टाको पैदल उकालो चढेपछि मन्दिर पुग्न सकिने बताउँछन्। सरकारले आन्तरिक मात्र होइन, विदेशी पर्यटकका लागि राम्रो भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने हो भने नेपालको उत्कृष्ट पर्यटकीय क्षेत्र कालिञ्चोक बन्न सक्ने उनको भनाइ छ। मन्दिरको दक्षिण भागमा रहेको सयवटा पहाडलाई शैलेश्वर भनिएको छ।  

‘कालिञ्चोक भगवतीको आँगनमा पुगेर पूर्वदेखि पश्चिमसम्म विश्वका प्रसिद्ध हिमाल देख्दा स्वर्गमा आएजस्तो लाग्यो,’ भारतीय पर्यटक भारती सिंहले भनिन्, ‘म त पहिलोपटक आएकी हुँ। माताले मनोकामना पूरा गर्नुभएको छ। यहाँबाट प्रस्ट देखिने गौरीशंकर हिमालको मनोरम दृश्यले निकै आनन्द दियो। संसार भुलेँ मैले।’  

कालिञ्चोक भगवती दर्शन गर्न भक्तजन बाह्रै महिना आउन सक्छन्। होटल व्यवसायी ओलीका अनुसार, पुसदेखि फागुनसम्म हिमपात हुने महिना हो। यही महिना सबैभन्दा उत्तम महिना हो, कालिञ्चोक आउने। चैत, वैशाख र जेठमा भने आफ्नै महत्व छ। यतिबेला हरियाली हुन्छ, लालीगुराँस लगायत फूल फुल्छन्। असार, साउन र भदौमा अलि गर्मी हुने भएकाले याक, चौँरी चरण गरिरहेको देख्दा क्यामेरामा कैद गर्न जो–कोही पनि आतुर हुन्छन्। यसैगरी असोज, कात्तिक र मंसिर चाडबाडको महिना हो। वातावरण खुलेको हुन्छ। यहाँ आउने सबैले प्राकृतिक सौन्दर्यतालाई नजिकबाट नियालेर रमाइलो मान्छन्। विशेषगरी जनै पूर्णिमाका दिन ठूलो मेला लाग्ने यस क्षेत्रमा बडा दशैंमा देवीको दर्शन गर्न निकै भीड हुन्छ। यति बेला पदमचाल, सुनपाती जस्ता अति महत्वपूर्ण जडिबुटी पनि पाउन सकिन्छ।

कालिञ्चोक प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय स्थल भए पनि यस क्षेत्रमा भौतिक सेवा–सुविधाको व्यवस्थापन गर्न नसक्दा विदेशी पर्यटक आउन नसकेको यहाँका पर्यटन व्यवसायीको गुनासो छ। याक सुकुटी र चिजका लागि समेत प्रसिद्ध यस क्षेत्रमा कुल ५५ होटल सञ्चालित छन्। गर्मी मौसममा ठिकै भए पनि सिजनको समय पुसदेखि फागुनमा निकै कष्ट हुने भएकाले पर्यटकहरूले दुःख मान्ने गरेको सुनापाती होटलका सञ्चालक हरि ओलीको अनुभव छ। ‘जाडो मौैसममा हिउँ पर्ने र धाराका पानी सबै जम्ने भएकाले धारामा पानी आउँदैन। जसका कारण यहाँ आउने पर्यटक सबै कुराले खुसी भए पनि बस्ने होटलकै स्तर अलि कमजोर भएको भन्दै दुःख मान्छन्,’ उनी भन्छन्, ‘होटलहरूको स्तरवृद्धि गरी प्रचारप्रसार गर्न सके स्वर्गरूपी विशेषताले भरिएको कालिञ्चोक विश्वको उत्कृष्ट पर्यटकीय क्षेत्र बन्छ।

प्रकाशित: १० माघ २०७७ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App