कला

‘प्रजातन्त्रलाई विलम्ब गर्न सकिन्छ तर पराजित गर्न सकिन्न’

सही शब्द र समयमा गरिएका प्रस्तुति कति शक्तिशाली हुन्छन् भन्ने उदाहरण धेरै छन् । सन् २०१९ को सेप्टेम्बरमा विश्वका प्रमुख नेता सहभागी रहेको जलवायुसम्बन्धी एक सम्मेलनमा स्विडेनकी जलवायु कार्यकर्ता ग्रेटा थुनवर्गले वाहवाही पाइन् । विश्वका नेतालाई खोक्रा शब्दले आफ्नो सपना र बाल्यकाल चोरेको, जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणाली तहननहस भएको, धेरै जीव र वनस्पति आमरुपमा विलुप्त हुन लागेका बेला पैसा र आर्थिक वृद्धिमा मात्र विश्व केन्द्रित र सीमित रहेको चर्चा गर्दै उनले आक्रोशित मुद्रामा भनेकी थिइन्, ‘कसरी यस्तो हिम्मत गरेको (हाउ डेयर यु) ।’ त्यही भाषणले उनलाई विश्वभरि लोकप्रिय बनायो ।

झन्डै साढे २ वर्षअघिको थुनवर्गको जस्तै प्रस्तुति बुधबार अमेरिकामा नयाँ राष्ट्रपतिको शपथग्रहण कार्यक्रममा देखियो । त्यसो त धेरै हिसाबले यसपटकको शपथग्रहण यसअघिको भन्दा फरक थियो । यस्तो समारोहमा निवर्तमान राष्ट्रपति सहभागी हुने परम्परा डोनाल्ड ट्रम्पले तोडे । जनवरी ६ मा अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकले मच्चाएको वितण्डाजस्तै हिंसात्मक गतिविधि हुन सक्ने सम्भावनाले यसअघिका समारोहमा सहभागी हुने आमजनसमुदाय सो कार्यक्रममा उपस्थित हुन सकेनन् । त्यसो हुँदाहुँदै पनि लोकप्रिय गायक लेडी गागा, जेनिफर लोपेच, गार्थ ब्रुक्सका रोचक प्रस्तुति समारोहका आकर्षण रहे । सबैभन्दा बढी चर्चामा समारोहमा पढिएको एक कविता रह्यो । अनि एकाएक लोकप्रियताको शिखरमा पुगिन् कविता वाचन गर्ने २२ वर्षीया कवि अमान्दा गोरम्यान । 

उनको प्रभावशाली कवितावाचन र समय सान्दर्भिक हरफहरू प्रत्यक्ष वाचन गर्दा मात्र होइन, कार्यक्रम सकिएपछि विश्वव्यापी रुपमा लोकप्रिय भए । उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । शपथग्रहण कार्यक्रमका लागि कविता लेख्दै गर्दा उनलाई ६ जनाको मृत्युको जिम्मेवार रहेको जनवरी ६ तारिखको अमेरिकी ससद् भवनको हिंसाले प्रभाव पारेको छ । लसएन्जलसमा जन्मेकी र हार्वड ग्राजुएट गोरम्यानले सन् २०१५ मा ‘द वन फर हुम फुड इज नट इनफ’ भन्ने किताब प्रकाशित गरेकी छन् । 

उनी यो वर्ष पिक्चर बुक प्रकाशन गर्ने तयारीमा छन् । शपथग्रहण कार्यक्रममा जोडदार प्रस्तुतिपछि उनको सर्वत्र प्रशंसा भएको छ । अमेरिकी नायिका तथा टिभी कार्यक्रम प्रस्तोता ओपरा विन्फ्री, मिसेल ओबामालगायतले आआफनो ट्विटमार्फत उनको प्रशंसा गरेका छन् । पूर्व प्रथम महिला हिलारी क्लिन्टनले त आफ्नो ट्विटमा गोरम्यानले सन् २०३६ को राष्ट्रपति चुनावमा लड्ने बाचासमेत गरेको उल्लेख गरेकी छन् ।

गोरम्यानको ‘द हिल वी क्लाइम’ (हामी पहाड चढ्नेछौं) कविताको भावानुवाद यस्तो छ–

जब समय आउँछ, हामी आफैंलाई सोध्छौं, यो अन्तहीन अँध्यारोमा प्रकाश कहाँ फेला पर्ला ?  

हामीले भोगेको त्यो क्षति, एउटा सागर हामीले पार गर्नुछ ।  

हामीले पाशविक ओढारबाट बाहिरिने साहस गर्‍यौं ।

हामीले सिक्यौं, चुप लाग्नु भनेको सधैं शान्ति होइन ।  

अनि ‘न्याय’ का मूल्य र मापदण्ड सधैं न्यायपूर्ण हुँदैनन्

हामीले यो चाल नपाउँदै मिर्मिरे ओर्लिसकेको थियो  

जसरी होस् हामीले यो हासिल गर्‍यौं  

हामीले खिया लाग्दै गरेको र खण्डित नभएको देश देख्यौं,

तर त्यो अझै पूरा भएको छैन ।  

हामी देशका उत्तराधिकारीहरू र त्यस्तो समयमा आइपुगेका छौँ

दासत्वको कुनै कालखण्डबाट आएकी, एकल आमाद्वारा हुर्काइएकी एक अश्वेत वर्णकी छोरी राष्ट्रपति हुने सपना देख्न सक्छिन्, उनी स्वयं कसैका लागि कविता वाचन गर्दैछिन् ।

सही हो, हामी अझै परिष्कृत हुन बाँकी छ, नबिग्रने गरी

तर त्यसको अर्थ हामी पूर्ण एकता बनाउन यात्रामा छौं भन्ने होइन ।

हामी उद्देश्यसहितको एकता निर्माणमा लागेका छौं ।  

सबै संस्कृति, रङ, चरित्र र मानवीय परिस्थितिप्रति प्रतिबद्ध रहेको देश निर्माण गर्न, हामीले हामीबीचमा रहेका फरकलाई कर्के नजर होइन, हामी केका लागि भन्नेमा सोच्न आवश्यक छ ।  

प्राथमिकतामा राख्न भविष्य, रोक्नुपर्छ हामीबीचको विभाजन, किनारा लगाउनुपर्छ हाम्रा असहमति

एकअर्काका हात समाउन हामीले छाड्यौं शस्त्रअस्त्र

नोक्सान नहोस् कसैलाई र सद्भाव रहोस् सधैंलाई चाह्यौं हामीले  

केही नभए पनि विश्वले यो सत्य मानोस्  

हामी शोकमा रह्यौं र अघि बढ्यौं

हामी घाइते भयौं तर आशावादी रह्यौं  

हामी खुब थाक्यौं तर प्रयासरत रह्यौं  

ताकि हामी सधैं एकअर्कामा जोडिएर विजयी रहन सक्यौं ।

पराजय जान्न होइन, विभाजन रोक्न हामीले त्यसो गर्‍यौं ।

शास्त्रले भन्छ, हरेक मान्छे आफ्नै मौलिकताको नेभारा वृक्षमुनि र लहरामा बस्नुपर्छ र कसैसँग डराउनु पर्दैन  

आफ्नै समयको कसीमा बाँच्न छुराको धारको विजय चाहिन्न, हामीले निर्माण गरेका पुलहरूमा विजय विद्यमान छ

त्यही वाचा हामीले गर्नुछ, पहाड चढ्न तर हामीले हिम्मत गर्नुपर्छ ।

अमेरिकी हुनु नै विरासतमा पाएको गर्वको विषय होइन

हामीले विगतमा गएर त्यसलाई कसरी मर्मत गर्‍यौं भन्ने पनि हेर्नुपर्छ  

हामीले देशलाई साझेदारी गर्नेभन्दा तहसनहस गर्ने शक्ति देख्यौं

प्रजातन्त्रलाई विलम्ब गरेर देश बर्बाद गर्ने प्रयास देख्यौं  

झण्डै सफल हुन लागेको त्यो प्रयास देख्यौं  

तर समय–समयमा प्रजातन्त्रलाई विलम्ब गर्न सकिन्छ, स्थायी रुपमा पराजित गर्न सकिन्न  

यही सत्य र आस्थामा हामीले विश्वास गर्‍यौं ।

हाम्रा आँखाले भविष्य हेरेका छन् तर इतिहासले हामीलाई हेरेको छ

यो मुक्तिको समय हो  

तर यसको आरम्भमै हामी डरायौं  

हामी त्यस्तो त्रासदीका लागि तयार थिएनौं

तर त्यसभित्र नयाँ परिच्छेद लेख्ने शक्ति हामीले पायौं  

आशा र हाँसोको सञ्चार गर्ने शक्ति  

त्यसैले सोध्यौं हामीले, संकटमा हामी विजयी कसरी हुन सक्छौ ।

अनि अहिले प्रमाणित गर्‍यौं, संकटले हामीमाथि कसरी राज गर्न सक्छ ।

हामी विगतमा के भयो भनेर होइन, अब के हुनुपर्छ भन्नेमा छौँ  

एउटा चोट लागेको देश, दयालु तर साहसी, स्वतन्त्र र प्रचण्ड

हामीलाई धम्कीले फरक पार्दैन, किनभने हाम्रो निष्क्रियता तथा जड्ता आगामी पुस्ताका लागि बोझ हुन सक्छ ।

हाम्रो गल्ती उनका लागि भारी हुन सक्छ ।

तर एउटा कुरा निश्चित छ,

हामी शक्ति र दयाभावलाई मिलायौं भने र शक्तिलाई सही हिसाबले प्रयोग गर्‍यौ भने, प्रेम विरासत र परिवर्तन दुवै बन्छ, जुन हाम्रा सन्तानको जन्मसिद्ध अधिकार हो ।

त्यसैले आउनुस्, हामीले भोगेको विगतभन्दा राम्रो देश सन्ततिलाई दिऊँ

जहाँ मेरो बज्रजस्तो सुरक्षित छातीबाट आउने प्रत्येक श्वासप्रश्वासले घाइते होइन, अनौठो विश्वको अनुभूति गरोस्  

हामी पश्चिमका सुनौला पहाडबाट उठनेछौ ।

हाम्रा पुर्खाले क्रान्ति सुरु गरेको बेगिलो हावा चल्ने उत्तर–पूर्ववाट उदाउनेछौं ।

हामी मध्यपश्चिमका तालैतालका सहरबाट उदाउनेछौं ।

सूर्यले भतभती पोल्ने दक्षिणी क्षेत्रबाट उदाउनेछौं ।

हामी पुनर्निर्माण र मेलमिलाप गर्नेछौं, हामी निको हुनेछौं ।

देशका हरेक कुनाकाप्चाबाट, विविध र सुन्दर हाम्रा जनता जाग्नेछन, चाहे ती घाइते किन नहुन् ।

जब दिन सरु हुन्छ, हामी अँध्यारोबाट बाहिर निस्कनेछौं,ज्योतिको रुपमा र निडर भएर ।

स्वतन्त्र छाडिदिँदा नयाँ बिहानी फक्रिन्छ  

किनकी त्यहाँ प्रकाश हुन्छ ।

मात्र त्यो देख्न हामी बहादुर हुनुपर्छ ।

मात्र त्यसमा समाहित हुन हामी बहादुर हुनुपर्छ ।

प्रकाशित: १० माघ २०७७ ००:५० शनिबार

प्रजातन्त्र जलवायु कार्यकर्ता ग्रेटा थुनवर्ग