कला

नाटक

कथा

 

 

मण्डला थिएटरमा नाटक हेर्दै थिएँ । नाटकका पर्दा झल्याकझुलुक गरिरहेका थिए । चेपबाट आउने रङ्गीन प्रकाशले म रोमाञ्चित भइरहेको थिएँ । कलाकार आफ्नो सिप कौशल देखाइरहेका थिए । सम्भवत म नाटकको प्लटमा डुबेको थिएँ । त्यो नाटकमा मान्छे– मान्छे बिचका सम्बन्धहरूलाई देखाइएको थियो । महिला पात्रको डायलग सुन्दै थिएँ । उनी नाटकको पोइलाई भन्दै थिइन् – के म तिम्रो खरिद गरिएकी माल हुँ ?’

नाटकको पोइ उनलाई पिट्दै थियो । सायद ऊ आफ्नो पुरुषसत्ता स्थापना गर्न चाहन्थ्यो होला । ऊ संस्कृति देखाउँदै थियो होला । धर्म देखाउँदै थियो होला । चालचलन सिकाउँदै थियो होला । भाषाभेषको औजार प्रयोग गर्दै थियो होला । बाह्र हाते सारीभित्रको स्वतन्त्रताको वकालत गर्दै थियो होला । सायद ऊ यस्तैयस्तै तिकडम लगाएर कब्जा गर्न खोज्थ्यो होला । उनी चुटाइ खाँदै थिइन्  र झन् चर्को स्वरले कराउँदै थिइन्–‘गुहारगुहार, ए संसारका मान्छेहरू हो, म स्वतन्त्र हुन चाहन्छु । मलाई स्वतन्त्रता प्यारो छ । मलाई निजी सम्पत्ति नबनाइयोस् । म स्वतन्त्रता चाहन्छु । समान दायित्व चाहन्छु । समान अवसर चाहन्छु । म फुर्र उड्न चाहन्छु । म संसार हेर्न चाहन्छु । म संसार फेर्न चाहन्छु । म समान संसार चाहन्छु । तिम्रा सिर्कनाले म रोकिन्न । एक रोकिन्न । दुई रोकिन्न । तीन रोकिन्न । ए कोही छौ साँच्चिकै मान्छे ? गुहार – गुहार ।’

पर्दा खस्छ । नाटक सकिन्छ । त्यहाँ गुहार सुन्ने कोही मान्छे थिएनन् । गुहार – गुहार भनेका स्वरहरू भने म्यूजिक मिसिएर हलभरि तरङ्गित भइरहेका थिए।

नाटक घरको प्वालबाट आइरहेको गुलावी बत्तीमा एउटी महिलालाई देखिरहेको थिएँ । नाटकभरि म घरीघरी उसैलाई हेरिरहेको थिएँ । नाटक पनि हेर्थें । ऊ असाध्य राम्री लाग्यो मलाई । हरियो फिका रङगको सारी । इम्ब्रोइडरी गरिएको ब्लाउज र अति चलाख देखिने आँखाबाट म मोहित भएको थिएँ । ब्वाइज – कट कपाल काटेकी । हेर्दै आधुनिक देखिने । अहो मेरी श्रीमतीभन्दा ऊ धेरै राम्री । हुन त मैले मेरी श्रीमती राम्री भनेर बिहे गरेकै होइन । अधिकृत जागिर छ भनेर बिहे गरेको थिएँ । यतिबेला मलाई नराम्रीको पोइ भएकोमा पीडा छ । मैले उसलाई हेरेर कल्पना गरेँ कि ऊ मेरी श्रीमती भएकी भए क्या दमदार मजा हुन्थ्यो । सबैका आँखा मेरै श्रीमतीकातिर हुन्थे । अहिले त मेरी श्रीमती उही उपसचिव भन्नु मात्र हो । म एकटकले उसैलाई हेरिरहेको थिएँ । ऊ पनि मलाई नै हेरिरहेकी थिई ।

श्रीमतीले भनिन्– के हेरिस्सिएको ट्वाल्ल, हिँडिस्यो ।

म हिँडेँ । ऊ त्यो दर्शकदीर्घाको ताँतमा पर देखिई । बाटामा उभिरहेको स्यान्त्रोमा चढी र ओझेल भई ।  

 

                                           –                           –                             –                     –  

 

म श्रीमतीसँगै  नाटक हेरेर घर फर्कँदै थिएँ । उदास थिएँ । मनमा लागिरहेथ्यो – मैले त्यो महिला पात्रको गुहार सुन्नु पर्दैन । अर्कोतर्फ म उही महिलालाई सोचिरहेको थिएँ – को होली ?

मलाई उदास देखेर श्रीमतीले गाडीमै सोधिन्– होइन, हजुरलाई आज के भयो ?

‘ठिकै छु त । तिमीलाई त्यस्तो लागेको मात्र हो । यो धुवाँधुलो देख्दिनौ ?’ मैले ढाँटे । कुरा अलमल्याएँ ।

घर पुगेका छौँ । म सोफामा पल्टिएँ । उनी लुगा फेर्न भन्दै कोठातिर पसिन् । माथिदेखि तलसम्म छोपिने म्याक्सी लगाएर आइन् र मलाई हाफ प्यान्ट र भेस्ट दिँदै भनिन्– यी लुगा फेरिस्यो।

उनी पनि सोफामा बसिन् र म्याक्सीलाई घुँडासम्म तानेर हल्लाइन् । उनका व्याक्स गरिएका सेता पिँडुला देखिए । गुम्सिएको पसिनाको हरक नाकैछेउबाट गयो । उनले भनिन्– हेरिस्यो न हजुर, यो काठमाडौंमा पनि कस्तो गर्मी भ’को।

मैले त्यही बैठक कोठामा प्यान्ट खोलेँ । सोफामै फ्यात्त फालेँ र हाफप्यान्ट लगाएँ । उनले सोफामा फालिएको मेरो लुगा उठाइन् र कोठामा लगेर थन्क्याइन् । म सोफामै बसिरहेको थिएँ । उनले भान्साबाटै कराइन्–  हजुर, भनिस्यो त, मिल्क टी खाने कि ग्रिन टी ?’

म  बेपर्वाह सोचिरहेको छु – के म र मेरी श्रीमती समान छौ ?  के हामी समान स्वतन्त्र छौं ? उनले र मैले पढेकोे विषय समान हो । उनको र मेरो जागिर समान हो । यी छोराछोरीहरू हाम्रा समान कर्मले जन्मिएका हुन् । समान उच्छवासले हुर्किएका हुन् । तर, म फरक देखिरहेको छु । म गर्मी भयो भनेर हाफप्यान्ट लगाउँछु । उनी म्याक्सी लगाउँछिन् । म फर्मलमा सजिलो सुट लगाउँछु । उनी बाह्र हाते बेर्छिन् । म उनलाई तिमी भन्छु । उनी मलाई हजुर भन्छिन् । म रातबिरात जहाँ गए पनि स्वतन्त्र छु । उनी जान सक्तिनन् । जुन बेला म बाहिरी स्वतन्त्रताको उपयोग गरिरहको हुन्छु ।  उनी घरभित्र दायित्व निर्वाह गरिरहेकी हुन्छिन् । उनका नाक– कान छेडिएका छन् । समाजले उनको मुख थुनेको हुन्छ ।

मैले श्रीमतीलाई भनेँ– सुन त, अब तिमी पनि मलाई ‘तिमी’ भन । तिमी पनि हाफप्यान्ट लगाऊ । अफिस जाँदा सर्टप्यान्ट वा सुट लगाऊ । ’

उनले भनिन्– आज कस्तो बेगलकाँटे कुरा गरिसिएको हजुरले ।  आज हेरेको नाटकको प्रभाव परेको होला । हजुर कुरा बुझिस्यो न, त्यो नाटक हो । रियल लाइफ होइन ।

मलाई कहिलेकाहीँ  आफ्नै श्रीमती देखेर हाँस उठ्छ । कस्ती ट्रेडिस्नल होली । मोडरनिटी किन नपचेको होला । पूर्ण स्वतन्त्रता किन न खोजेको होला ? कति धेरै सम्झौैता गरेकी होली जीवनसँग । परिवारसँग । समाजसँग । संस्कारसँग । कुसंस्कारसँग । अन्धविश्वाससँग । परिवेशसँग र  चलनसँग । मलाई त यो अचम्म लाग्छ – उनी किन यस्ती !

उनीसँग त यौनबारे खुलेर गफ गर्न पनि पाइन्न । यसो कुरा सुरु गर्यो भने उनी मलाई भन्छिन्– हजुरलाई कति छिल्लिन आउँछ हगि ?’

                           –                           –                               –                                     –  

– अफिसपछि केही सपिङ गर्नु पर्यो भनी महाराजगञ्जको भाटभटेनी सुपर मार्केटको कम्पाउन्डभित्र गाडी पार्किङ गर्दै थिएँ । पार्किङ गरेर एक जना महिलालाई गाडीबाट निस्कँदै गरेको पछाडिबाट देखेँ । सर्लक्क परेको पिठ्यूँ देखेर हेरिरहूँ जस्तो लाग्यो । उसका अगाडिको भाग झन् कस्तो होला भनी खुलदुली लाग्यो । ऊ मपट्टि  फर्की । सुन्दर अहो कति सुन्दर । पहिलो नजर उसका छोपिएका छातीमा पर्यो । तत्क्षण नै मैले उसको अनुहार हेरेँ । अहो, ऊ त उही मण्डला थिएटरमा देखिएकी सुन्दरी रहिछे ।  

म परिचय गर्न आतुर थिएँ । मैले हतारहतार कुरा अघि बढाएँ– मैले हजुरलाई कहीँ देखेजस्तो लाग्यो । चिनेकोजस्तो लाग्यो ।’

उसले प्रत्युत्तर फर्काई–  ‘खोई ?, एए मन्डला थिएटरमा नाटक हेर्दा देख्नुभएको हो ।  हजुर मलाई हेरिरहनुभएको थियो । म पनि हेरिरहेकी थिएँ । बाइद वे म शिवानी राणा, अर्थ मन्त्रालयमा उपसचिव छु ।’

अब परिचय दिने पालो मेरो थियो । तर, म मनमनै सोच्दै थिएँ – उपसचिव पनि राम्रा हुँदा रहेछन् त । मेरी श्रीमतीचाहिँ किन नराम्री ?’

म टोलाएको देखेर उसले फेरि प्रश्न गरी–  ‘अनि हजुर ?’

म आत्तिएँ । तर पनि भनेँ – ‘म कृषि मन्त्रालयमा सहसचिव छु, म दिनेश मरहठा !’

                                     –                                         –                                   –                                                –  

हामीले काठमाडौँका सबैजसो नाम चलेका रेस्टुरेन्टमा सँगै चिया खाएका छौं । कफी खाएका छौं । लन्च गरेका छौं । डिनर गरेका छौं । र हामी कुरा मिल्ने असल मित्र बनेछौं । हामी बिच फोन बाक्लो हुन थालेको छ । कुरा बाक्लिन थालेका छन् । हामी बिचको सम्बन्ध बिस्तारै हजुरबाट तपाईँ र तिमीमा झरिसकेको छ ।

म उसलाई ओपेन हर्टेड पाउँछु । त्यसैले ऊसँग बोल्न कुनै आइतबार पर्खनु पर्दैन । कुनै रिस्क छैन । कुनै संकोच छैन । हामी जीवन दर्शनका सबै खाले विषयवस्तुमा खुलेर छलफल गर्छौँ । जीवनका बाहिरी पत्र मात्र होइन हामी यौनका भित्री पत्र पनि केलाउँछौं । मेरो यो सम्बन्ध थाहा पाएका साथीभाइ भन्छन्–  ‘राणाजी हो, सिध्याउली है ।’

म अचम्म मान्छु के सिध्याउने हो कुन्नि ? सिध्याउनु भनेको के हो कुन्नि ? के ऊसँग मेरो यौनसम्बन्ध भएमा म सिद्धिन्छु ? म किन सिद्धिनु ? म बुझ्छु साथीभाइका कुरा र बुझ्दिनँ पनि । बेपरवाह हरफनमौला तालमा दगुरेको हुन्छु । एकदिन शिवानीले भनी– ‘एउटा प्रश्न सोध्छु, उत्तर दिन्छौ दिनेश ?’

उसको प्रश्न मलाई खासमा केही लाग्दैनथ्यो । तर पनि भनेँ– ‘अरे यार, सोध न । तिमीले मलाई सोध्न के बाँकी छ र ? साइत हेरेर भूमिका बाँध्नुपर्छ त ?’

उसले भनी– ‘दिनेश यो लोग्ने मान्छेको जात शारीरिक रूपले बलियो पनि छ, बुद्धि पनि छ, आँट पनि छ, संसार हाँक्छु भन्छ । तर, जब एउटी आइमाई देख्छ ऊ किन स्वालात्त सकिन्छ ? । तिमी त लोग्ने मान्छे हौ, मलाई भन त ।’

म गुनिरहेको छु । के भनूँ शिवानीलाई ? हुन पनि हो मजस्तो सामाजिक करियर भएको मान्छे त स्वालत्त हुन्छु भने न भोक न भकारी भएकालाई त झन् के फरक पर्छ र ! चिया दोकानकी साहुनीलाई घेरेर दिनभरि बस्छ लोग्ने मान्छे ।  

उसले फेरि मलाई नै भनी – तिमीसँग जवाफ छैन हगि दिनेश !

मैले अत्तालिएर जवाफ दिएँथेँ– आइमाई आगाको ज्वाला हो । मैनबत्ती जति सारो भए पनि पग्लिहाल्छ नि ।’

‘यस्ता फिलोसोफिकल कुरा नगर न दिनेश, ठ्याक्कै भन न, तिमी मेरो के देखेर लोभिन्छौ र मेरो वरिपरि घुम्छौ ?’

‘हेर शिवानी, तिम्रो सबै कुरा राम्रा छन् । रूप । अन्दाज । सोच । अंग र कुल मिलाएर सेक्सी’

‘अनि तिम्री श्रीमतीमा के छैन र तिमी भड्किरहन्छौ । कुदिरहन्छौ । मृगमरीचिका ।’

‘तिमीसँग जस्तो केही छैन ।’

होइन, यो तिम्रो भ्रम हो । तिमी मलाई नंग्याएर हेर र घरमा गएर आफ्नी श्रीमतीलाई पनि नंग्याएर हेर । उस्तै पाउँछौ । उही अंग–प्रत्यंग । कि गोरो होला कि कालो होला ! कि अलि ठूलो होला कि सानो !  बाँकी उही डिजाइन ।

म सोचमग्न भएको छु । यो शिवानी यति राम्री छे । तर, उसको श्रीमान् बाहिर चाहारेर हिँड्छ भन्छे शिवानी । किन यो अर्काकी श्रीमती मनपर्ने होला लोग्ने मान्छेलाई । म सोच्दै थिएँ ।  

उसले भनी– हामीले चाह्यौ भने तिमी र म बिच शारीरिक सम्बन्ध हुन सक्छ कि सक्दैन ?’

अनि मैले भनथेँेँ– ‘यो यौन – सम्पर्कलाई समाजले ज्यादै जटिल बनाइदिएको छ । दुई विपरीत लिङ्गको आकर्षणबाट हुने प्राकृतिक क्रिया न हो यो ।’

‘तिमी जहिले पनि फिलोसोफिकल उत्तर दिन्छौ । दुवै अर्थ लाग्ने । प्रष्ट भन न, हुन्छ कि हुन्न ?’

म के भनूँ भनूँ भएँ । उसलाई भोग्न त मन छ नै । तैपनि फ्याट्ट भन्न त भएन । त्यसैले जोगिएर उत्तर दिएँः ‘विपरीत लिङ्गी साथी भन्नेबित्तिकै यौनसम्पर्क नै हुनुपर्छ र ?’

‘तिमी बडो कुटनीतिक उत्तर दिन्छौ । हामीले चाह्यौ भने हाम्रा बिच शारीरिक सम्पर्क किन हुन सक्तैन र ?, सक्छ’

मैले आशावादी नजरले उसलाई हेरेँ । उसले मेरो नजर पढी  र हाँस्दै भनी– ‘हेर हेर मुख मिठ्याएको । कस्तो गिद्धे दृष्टि तिमी लोग्ने मान्छेको ।’ 

मैले भनेँ– ‘ए शिवानी, यसलाई अति सामान्य लिए हुन्न ?’

उसले भनी– ‘हुन्छ, किन हुन्न ? तर यो यौन– सम्बन्ध भएपछि अरू सम्बन्ध के बाँकी रह्यो र ?, त्यो पर्तिर उच्छवास पस्कने सम्बन्ध केही रहन्छ र ?’

म अलमलमा परेँ । उसले म अलमलमा परेको कुरा बुझी र भनी– ‘ए दिनेश तिमी मुर्ख रहेछौ । गएर श्रीमतीलाई छाम । तिमीमा कुनै झट्का हुन्न । कुनै तरङ्ग हुन्न । किनकि तिमीले श्रीमतीको हेर्न बाँकी र छाम्न बाँकी केही छैन । गर्न बाँकी केही छैन । त्यसैले तिमीमा कुनै प्रकारको फिल हुन्न । तर, तिमी मलाई समात । अझ नजानिदो गरेर छोऊ, तिमीमा करेन्ट लाग्छ । अझ तिमीले कहिल्यै नछोएकी कुनै युवतीलाई छोयौ भने हत्केलाले नै करेन्ट दिन्छ ।’

शिवानीले भनिरही – ‘हो त्यसकारणले तिमी र मैले शारीरिक सम्पर्क गर्न हुन्न । यसको कारण हामी विवाहिता हुनु मात्र होइन । साथीत्व नै सकिन्छ । त्यसपछि तिमी  लोग्ने मान्छे  मात्रै रहन्छौ । र म स्वास्नी मान्छे । हामीमा उच्छवास कहाँ बाँकी रहन्छ र ? हामीमा आकर्षण कहाँ रहन्छ र ?’

                                –                                  –                            –                                   –

मैले घर पुगेर श्रीमतीलाई छामें । उसलाई सबैतिर छामें । अहँ, केही भएन । कुनै फिल भएन । झट्का पनि दिएन । उनले सुधी गाईजस्तै मलाई छाम्न दिइरहिन् । बरु तुरुन्त भनिन्– आज हजुरलाई बेला न कुबेला मुड चलेको छ कि क्या हो ? बेला त हुनु पर्यो नि हौ।’

धेरै दिन पहिले मेरी श्रीमतीले भनेको कुरा सम्झिरहेको छु – बिहे पहिला कुनै केटासँग झुक्किएर छोइयो भने आङ फुल्थ्यो । डर लाग्थ्यो । काउकुती लाग्थ्यो । अहिले हजुर पनि लोग्ने मान्छे नै हो । तर, हजुरको जहाँ छोए पनि आफ्नै अङ्ग छोएजस्तो लाग्छ किन होला ?’

म सोफामा पल्टिरहेको छु । यो सोफामा पल्टेपछि अनेकौँ तरङ्गहरू आउँछन् । अहिले पनि मण्डला थिएटरमा महिला पात्रले गुहारगुहार भनेको तरङ्ग आइरहेको छ । झल्को आइरहेको छ । कोही मान्छे गुहार सुन्ने थिएनन् । मैले सुने र बुझ पचाएँ । मान्छेले सुन्यो र तर्कियो । समाजले हेर्यो र नदेखेझैँ गर्यो । परिवेशले बुझ्यो र हाँस्यो । स्वतन्त्रता करायो र सुत्यो । मान्छे मान्छे बिचको चेतले ल्याइदिएको स्वतन्त्रताको र मानवीय सम्बन्धले बनाएको रेखाले अचेल त लाग्न थालेको छ । संसारका कोही पनि स्वतन्त्र छैनन् । हुन सक्तैनन् ।  

मलाई चिट्चिट् पसिना आएको रहेछ । श्रीमतीले कोठाभित्रबाट बोलाइन्–  

– चाँडै आउनू, नत्र म सुत्छु ।  

– आएँआएँ ।  म कोठामा जाँदै छु ।

कोठाभित्रै पुगेपछि उनले फेरि भनिन्– हजुर अस्तिनैको नाटक दमदार थियो हगि ?

म सोच्दै छु । हो त नि म पनि दमदार नाटक खेल्दै छु । जागिरको नाटक । पतिको नाटक । प्रेमीको नाटक । स्वतन्त्रताको नाटक । नाटकै नाटक ।  

कोठामा पुगेर लुगा खोल्दै छु ।  

श्रीमतीले भनिन्–  ए हजुर हामी पनि नाटक खेल्ने है !

प्रकाशित: २ माघ २०७७ ०९:२३ शुक्रबार

अक्षर