कला

एकैछिन

कविता

कमाउने भूत हुँदा सवार

छ जिन्दगीमा जहिल्यै हतार  

भएर आनन्दित हाँस्न बोल्न

पाइन्न कैल्येै मनपेट खोल्न  

 

हो चाहिने केकति छैन थाह

आशा नदी भै मनको प्रवाह

मरीचिकाको लहरो समाई

बग्दैछ ऐश्वर्य समेट्नलाई

 

बाँचेर पीडामय वर्तमान  

साँचेर भावी सुखको बिहान  

तृष्णा भकुन्डो कति खेलिराख्नु  

सधैँ झमेला किन झेलिराख्नु  

 

छ वैभवी चाह अथाह कस्तो  

जे पाइयो लाग्छ कमै छ जस्तो  

सम्पन्नतामा पनि तिर्सना झन्

दुरन्त यी भौतिक कामना छन्  

 

सन्तोष आफ्नै मनमा नखोजी

नटुंगिने सञ्चय मार्ग रोजी

दुखाउने हो किन व्यर्थ माथ

बसौँ न एकैछिन साथसाथ ।

प्रकाशित: २ माघ २०७७ ०७:५८ शुक्रबार

अक्षर