कला

आभूषण

लघुकथा

लक्ष्मी पोखरेल

मोबाइलको नोटिफिकेशन टिङ्ग बज्यो । महत्वपूर्ण समाचारहरूबाट वञ्चित नहोइयोस् भनेर विभिन्न सञ्चारगृह तथा छापाको एप हालेको थिएँ, त्यै जनाउ थियो त्यो । 

वरिष्ठ साहित्यकार मिथिला मालाश्री अस्पताल भर्ना भन्ने देख्नासाथ मेरा नौनाडी गल्न थाले । ओछ्यान् नछोडी मैले उहाँलाई  तत्काल फोन गरें । अरू नै कोही बोले । तिनैसँग अवस्था बुझें । मधुमेह छँदै थियो, कमलपित्तले पनि भेटेछ र निकै गाह्रो भएपछि घरमा डेरा गरी बसेकाले रातारात अस्पातल पुर्याएछन् । मिथिला दिदी र ममाझ नङ र मासुको  सम्बन्धको प्रभावले चलाएको हुटहुटीले गर्दा म ओछ्यान् त्यागी मुखै नधोईकन भेट्न पुगें । उहाँको  स्वास्थ्य अवस्था झनै बिग्रिएपछि सेवारत चिकित्सकले आफन्त डाक्न लगाए । अस्पातलको कुरा सुनेर दिदीकी सेविका मिठुले उहाँको छोरासँग बारम्बार सम्पर्क रहेकै र कार्य व्यस्तताले उनी आउन अझै दुईचार दिन लाग्ने बताइन् । त्यस्तो कुरा सुनेर सबै खासखुस गर्ने थाले । लम भने मिथिला दिदीको सम्पूर्णतामा हराउन थालें ।

मोफसलबाट राष्ट्रियस्तरभन्दा माथि खडा भएको साहित्यिक वृत्त, प्रसिद्धि र छवि ईर्ष्यालाग्दो थियो । तर,  व्यक्तिगत जीवन घटना, दुर्घटना  र त्रासदीहरूले गर्दा करुणालाग्दो थियो । अनाथ हुर्किएर पतिको सहारा त पाउनुभयो तर जँड्याहा लोग्ने दुई वर्षमै बिते । त्यो अवस्थामा पनि निरन्तर र विलक्षण साहित्य सृजनाले गौरवशाली राष्ट्रिय पुरस्कार पाउनुभयो, जसको थैली नै पनि गरौं थियो । त्यसरी एउटा छोराकी एकल अभिभावक भएर गरेको संघर्ष छोराले  चटक्कै बिर्सिएर घर छाडेको थियो र आमा– छोराको सम्बन्ध फोन कलमा खुम्चिएको थियो । रोगी शरीर र उमेरसँगको बह र दुखले गलाएको कुरा उहाँले मुखले नभने पनि म उहाँका आँखामा छर्लङ्ग देख्थेँ । कैयौं स्थापित र अनेकन् संघर्षरत साहित्यकार र कलाकारकी गुरु मिथिला दिदी अन्ततः जानुभयो । अस्पातलमा झुम्मिने तिनै भए । 

बेलुकीपख छोराबुहारी आएर शव बुझे । बुहारीले दिदीको सुनका बाला, हिराको फुली र कानका टपमा आँखा लगाइन् र त्यहीं सबैका सामुन्ने फुकालेर आफ्नो झोलमा हालिन् ।

छोराले मिठुतिर फर्केर सोध्यो, “गलाको सिक्रीचैं फुकाल्न भ्याइसकिस् खै ले । विचरा मिठु, लाज र अपमानले नाङ्गो भई र गलाको आफ्नै पो फुकालेर दिई । 

साहित्यको शक्ति, सामर्थ्य, दायित्व, प्रभाव र जवाफदेहीता  बुझेका कतिपय पश्चिमी समाजमा राष्ट्रले साहित्यकारलाई पुरयाउने भर, सेवा आदिको तुलना गर्दै हाम्रो राष्ट्रमा पुरस्कार र इनाम साहित्यकर्मीका लागि उत्प्रेरक होलान्, प्रचारबाजीका दाउ बन्लान् तर सच्चा कदर अवश्यै होइन भनेर आफ्नो साहित्यिक यात्राको सर्वाधिक ठूलो नगद राशि भएको पुरस्कार, तक्मा नलिने भनी  बसेकै बेला छोराकै दबाबमा छोरोको उच्च शिक्षाका लागि स्वीकार्नु भएको थियो ।

त्यही छोरा मृत आमाको शरीरको गहना खोज्दै गरेको देखियो । मैले भने समाज र देशले आभूषण गुमाएको देखें ।

प्रकाशित: २ माघ २०७७ ०६:०८ शुक्रबार

अक्षर