कला

बुलेट बाइक

वन्दना घिमिरे 

 

– आमा २ हजार  दिनुस् न ।

–  किन बाबू, किन चाहियो २ हजार ?

– स्पोर्ट जुत्ता  किन्न । अनि अरू एउटा कुरा पनि भन्नू छ।

– एउटा के आठदस वटै कुरा भने भइहाल्छ नि, म सुन्दिहाल्छु क्यारे।

–एउटा बुलेट बाइक चाहियो के ।

–किन चाहियो नि बुलेट बाइक ? त्यै घरमै भएकाले काम चलिरहेको छ त।

– ह्या झूर , त्यस्तो  थोत्रै बाइकले पनि काम चल्छ रे । डबल लोड तान्दै  तान्दैन । सिङ्गल हिँडेर काम चल्दैन।

– कसलाई  लोड गर्नु पर्यो र डबल लोड गर्नु, मलाई तानिहाल्छ।  

– बुबा आफै हाँकिहाल्नुहुन्छ।

– ह्या कस्तो कुरा नबुझ्ने  के, अहिलेको जमानामा पनि ।

– म साँच्चिकै  आउट डेटेड भएकै हुँ त ? के कुरा बुझिन।  घरमा एउटा बाइक हुँदाहुँदै अर्को  किन किन्ने  भनेको पो त। 

– लु आमा हजुर, यहाँ  कुर्सीमा  राम्रोसँग  बस्नुहोस र मेरो कुरो सुन्नुस । अहिले म २१ वर्षको भएँ । मलाई  राम्रो  बाइक, राम्रो  कपडा, जुत्ता  लगाएर हिँड्न दिए पो यसो राम्रा केटीहरूले पनि हेर्छन् । नत्र भोलिपर्सि ठूली आमाले जसरी सबै नातागोता आफन्तलाई  हजुर नमस्कार  मेरो छोराका लागि  केटी खोजिदिन पर्यो  भनेर हैरानी हजुरलाई नै हुनेछ ।

– भनेपछि  केटी खोज्न गार्हो नपरोस् । मलाई भनेर मेरा लागि बाइक किन्नुपर्ने । 

– तँलाई त चाहिएको होइन  रहेछ नि ।

–  दाजुहरूको जस्तो  मेरो हालत नहोस् भनेर बाइक  त  मलाई  चाहिएको नि  । सधैं केटीको  फोटो देखाएर यो हुन्छ, त्यो हुन्छ ? यत्तिको भइहाल्छ नि भनेको छ । कस्तो छ बानीबेहोरा केही थाह छैन । हेरिनसक्नु अनुहार र हाइट भएका सबैले  हेरेर छोडेका केटी फेला पर्लान्  भन्ने पो डर।

– ओहो भनेपछि  समस्या  त गम्भीरै पो रहेछ । म बुबासगँ कुरा गरौला नि त भरे अफिसबाट आउनुभएपछि।

– कुरा त गर्नु तर मैले भनेको सबै कुरा नसुनाउनु बुबालाई।   हजुरलाई पो सानैदेखि सबै कुरा भन्ने  बानी भएकोले भनेको। बुवालाई चाहिँ छोरोलाई किन्दिनुपर्ने  बुलेट बाइक भन्नू ल  ।

प्रकाशित: २६ पुस २०७७ ११:११ आइतबार

अक्षर