दिनेश क्षेत्री
१)
छिमेक घरका पशुपन्छी ल्यायौ,
सफा घर थियो मइलो बनायौ ।
थिए मिलीजुली घरमै बसेका,
अनेक किसिमै झगडा गरायौ ।
२)
कमल मखमली उनीकन राखियो,
गणपति भनियो पुजीकन राखियो ।
मुटु रगत चुसे जुकासरि जो थिए,
उडुस सदनमा चुनीकन राखियो ।
३)
धर्मतिर मन लाऊ कर्मतिर तन लाऊ,
कार्य कुनै नबिगारी इज्जतमान कमाऊ ।
जन्म भयो यही हाम्रो मृत्यु हुने यहीं धर्ती ,
राष्ट्र रुने नगराऊ लाग्दछ पाप डराऊ।
४)
पानीमाथि नलेख अक्षरहरू लेखेर लेखिन्न रे ,
भन्दा सत्य कुरा घमन्ड छ भने सम्झाई सम्झिन्न रे ।
मुर्दा भैकन संविधान अहिले जल्दैछ लौ हेर त्यो,
ओली नीति अगाडि बढ्दछ भने रोकेर रोकिन्न रे ।
५)
हलोको अनौं जुवाको सोइलो छुटिसकेपछि,
हलो र जुवा जोडिने नाडा चुँडिसकेपछि ।
हली मात्र बाँकी रहन्छ यत्ति बुझ्नुहोस् हजुर,
भञ्ज्याङमा खले गराको गोरु फुकिसकेपछि ।
प्रकाशित: २६ पुस २०७७ ०४:११ आइतबार