कला

उपहार

कथा

राजु क्षत्री अपुरो

 

 केही निजी काम निप्ट्याउनका  लागि दुई हप्ते बिदा लिएर बसेको थिएँ । श्रीमती मामाको छोराको बिहेमा आफ्नो जिम्मेवारी वहन गर्न गएकी थिइन् ।  सोचें, आज दिनभर आराम गर्छु, बाँकी काम भोलिदेखि सुरु गरुँला । केहीबेर टिभीमा आएको एउटा कार्यक्रम हेर्दै थिएँ   भुसुक्क निदाउन पुगेछु ।निदाएर उठ्दा कार्यक्रम सकिएर बिज्ञापन आइसकेको रहेछ।  सोचेँ  आज पल्लो रुमको अवलोकन गरुँ पल्लो रुमको र्‍याकमा हिन्दी नेपाली अङ्ग्रेजीका थुप्रै  पुस्तकहरू थिए ।कति त मैले पढिसकेको पनि थिएँ भने कति पढ्न नभ्याएर त्यतिकै थन्किएका थिए।

एउटा सानो लाइब्रेरीजस्तो बनेको त्यो कोठाभित्र पस्दा कोठाको माहोल नै अलग थियो। मैले पढ्ने गरेका पुस्तकका अतिरिक्त थप अरू पुस्तकहरू पनि समावेश थिए । पुस्तकहरूका विधाहरू पनि छुट्याइएर राखिएको थियो। आख्यान एकातिर , काव्य , नाटक निबन्धका पुस्तकहरू पनि अलगअलग , साहित्यिक पत्रिकादेखि सत्य घटनामा आधारित रहेर लेखिएका कथाहरूको पनि सजाएर राखिएको थियो । मेरो गैरहाजिरीमा मेरो श्रीमती ती सबै पुस्तक अध्ययन गर्दी रहिछन्  भन्ने कुरा अनुमान लगाउन मलाई कुनै कठिन भएन ।

यी पुस्तकहरू मैले कतिपय आफ्नै पैसाले खरिद गरेका  केही उपहार पाएका  थिए भने केही साथीहरूसँग मागेर ल्याएको तर फिर्ता नगरिएका पनि थिए। सोचेँ , पढ्न नभ्याएको मध्य एउटा पुस्तक निकालेर आज त्यसैमा रमाउँ । अफिसको काम र व्यस्तताले बिहेपछिका यी ६ महिनामा मैले पुस्तकतिर आँखा लगाउन पाएको थिइनँ।

कुन पुस्तक निकालुँ त नि  भनेर अलमल्ल परिरहेकै अवस्थामा अकस्मात मैले एउटा नयाँ डायरी देखेँ । त्यो डायरी मेरो होइन भन्नेमा म पूर्ण विश्वस्त  थिएँ किनभने मैले आजसम्म अध्ययनबाहेक कुनै डायरी लेख्ने प्रयास गरेको थिइनँ  ।

हाम्रो कोठामा डायरी मेरो श्रीमतीबाहेक अरू कसको हुन सक्ला र भन्ने अनुमान लगाउँदै पाना पल्टाउन थालेँ । प्रायः शुद्ध र स्पष्टसग बुझिने गरी लेखिएका अक्षरहरू  पढ्न थालेँ ।

डायरीको पहिलो पाना

१, खै कहाँबाट सुरु गरूँ  आफ्ना वेदनाहरू,  खै कहाँ गएर पोखुँ  ती मेरा अतीतहरू भन्ने लाग्थ्यो।  अब मैले पोख्ने ठाउँ भेटेकी छु । त्यो ठाउँ हो यो बन्द कोठा अनि पोखिने अर्को ठाउँ हो यो कापीका पानाहरू । अब म आजैबाट सुरु गर्छु ती अतीतहरू ।

मेरो नाम सुनिता खत्री हो । म मावलीको छत्रछायामा हुर्किएँ । म जन्मिएको दुई वर्ष नबित्दै रुखबाट लडेर  बाबाको मृत्यु भएको रे।  मलाई यी कुरा होस छैन। हजुरआमाले भन्नुभएको कुरा हो । बाबाको मृत्युपछि  मेरी आमाले अर्को विवाह  गर्नु भएछ तर म मावलीमा आएको बेला विवाह गरेको मेरो अर्को बाउले भारत घुम्न जाने भन्दै उतै लगेर बेचिदिएछ। त्यसपछि मैले आजसम्म आमाको मुख देखेकी छैन। कहिलेकाहीं  आमा टुप्लुक्क अगाडि आएर मेरो छोरी भन्दै काखमा लिएर म्वाइँ  खानुहुन्छ कि भन्दै धेरै वर्ष बिताएँ । अहँ ,आमाको आउने छाँटकाँट कतै देखिएन । बेचिएकी भए पनि आफ्नो छोरीको मायाले कतै आइ पो पुग्नुहुन्छ कि  भनेर अझै पनि आशा मरेको छैन । एकपटक आमालाई भेट्न पाए अँगालो मारेर कति रुदिँ हूँ  म । खै, अब त यस्तो लाग्न लागिसक्यो । उहाँ यो संसार मै हुनुहुन्न होला ।भएको भए त मेरो खोजी गर्दै अवश्य आउनुहुन्थ्यो होला। मेरो आमालाई फकाइफुल्याइ लैजाने त्यो पुरुषको होला ! कहाँको होला ! तेरी आमा यो ठाउँमा छिन्  भनेर भनिदिए पनि उसले गरेको गल्ती माफ गरिदिने थिएँ । म अब मेरो जिन्दगीको पहिलो लक्ष्य त्यो पुरुषको हुनेछ ।

यी हरफ पढिसक्दा आमा नहुँदाको पीडा मैले नजिकबाट महसुस गरेँ  । पढ्दापढ्दै म आफ्नै अतितमा पुग्न थालेँ ।  

मेरी  आमा पनि त म सानै छँदा भिरमा घाँस काट्ने क्रममा खसेर मृत्यु भएको थियो। मेरो भाग्य बलियो थियो मैले आमा गुमाए पनि सौतनी आमाले आमा गुमाएको पीडा त्यति महसुस गर्न दिइनन् । तैपनि गाउँघरमा एउटा भनाइ छ – फुल फुल्यो पानीमा आमाजस्ती हुँदैन सानिमा । अरूको लाख आमाको काख । आखिर आफ्नो आमाजस्तो अर्को कहाँ हुन्छ र !

बाउआमा नभएर टुहुरी हुन पुगेकी र बचपनका उनको दुखदायी पीडा पढ्दा आँखा रसाउन पुगे छन् । अनि म अर्को पाना पल्टाउन थालेँ ।

२,

बाबाको मृत्यु र आमाको वेश्यालयमा बेचिएपछि मेरो लालनपालनको जिम्मा मामामाइजूले लिनुभयो।  हजुरआमाले आमा नभएको महसुस कहिल्यै पनि हुन दिनु भएन । माइजू भने अलि कडै हुनुहुन्थ्यो । कहिलेकाहीं  काममा ढिलाइ हुँदा या नभ्याउदाँ  घोचघाच गरेर बोल्ने  गर्नु हुन्थ्यो । आफ्नो कानले सुनेको बेला टुहुरी भान्जीलाई केही नभन है भनेर मामा हकार्नु हुन्थ्यो तर पनि माइजूको बानी उस्तै थियो।

स्कुल जानू आएर गृहकार्य गर्नु अनि माइजूलाई सघाउनु मेरा दिनचर्या नै थिए । म बाह्र पुग्दा हजुर आमापनि रोगले थला परेर सबैलाइ छाडेर जानू भयो । म कति दिनसम्म त राम्ररि खाना समेत खाईनँ  । म अब झन्  टुहुरी भएकी थिएँ । दिन बित्दै गए । उमेर अनुसार काम र जिम्मेवारी बढ्दै गयो। मैले १२ पास गरेँ । मामा अझै पढाउने हो भान्जिलाई भन्नु हुन्थ्यो। तर माइजू भन्नू हुन्थ्यो ( हाम्रो आफ्नै सन्तानलाई त कसरी पढाउने हो थाहा छैन यी त ।

हुन पनि हो, मामाको आर्थिक स्थिती पनि त्यति मजबुत थिएन। कलेज पढ्ने दाजु र बैनीलाई पढाउन हम्मेहम्मे परेको थियो। 

मलाइ माग्न आइरहेका थिए । पाए ठिकै छ नत्र टुहुरी हो आउने जाने ठाउँ छैन । श्रीमती पोइला गएका, मृत्युु भएका धेरै उमेर नकटेका पाए पनि दिए हुन्थ्यो भन्थे सल्लाहकारहरू ।

ए भगवान १ बरु केही नभएको बुङ्गो आए हाँसी खुशी जाने थिएँ  यो अधेड पुरुषलाई नपार है भनेर प्राथना गर्दथेँ । र एकदिन सरकारी जागीर खाएको ब्यक्तिले मलाई माग्न आएका छन्  अरे १केटि पनि मन पराका  छन्  अरे भन्ने सुनेर कमता खुशी भइनँ  म ।

आखिर भगवानले मेरो पुकार सुने । दुई दाजुभाइ भएका गाउँमा धेर थोर सम्पती भएका सरकारी जागीर खाएकाले मेरो सिउँदोमा सिन्दुर भरे ।

यति पढिसकेपछि एक कप चिया बनाएर खाएँ । आफ्नो आत्मकथालाई यति बान्की मिलाएर लेख्न सक्ने खुबिको मैले निकै प्रशंसा गरेँ । उनको कथा पढ्न म अझै हतारिरहेको थिएँ  । हतारमा चियाले जिब्रो डामेको पछि मात्र चाल पाएँ ।

३,

 

श्रीमान अफिस जानु हुन्थ्यो । गाउँमा मलाई दुख होला भनेर शहरमा ल्याएर राख्नुभएको थियो। उहाँ मलाई अगाडि पढ्ने भए कलेज भर्ना गरिदिन्छु भन्दै हुनुहुन्थ्यो तर पेटमा बच्चा भएको हुँदा मैले उहाँलाई इन्कार गरिदिएँ । उहाँले कुरा बुझ्नु भएछ । त्यसपछि यो बारे पुनः कर गर्नु भएन । उहाँ अफिस जानुहुन्थ्यो । म घरधन्दा सकेर अर्को रुममा छिर्थेँ । हामीलाई दुई रुम काफी थियो तर फ्ल्याटमा तीन रुम थिए।  त्योमध्ये त्यो रुम एउटा लाइब्रेरी जस्तै भएर बसेको थियो। सुरुसुरुमा त म अल्छी गर्थेँ । जब लत लाग्यो पुस्तक नसकी अर्को काम गर्दिनथेँ । उहाँले ल्याएका पुस्तक सबै सकिसकेकी थिएँ  । म पनि कहिलेकाही  युवामञ्च, गरिमा, हिमाल ,नेपाल , सत्यकथा मधूपर्क जस्ता पत्रिका पनि किनेर ल्याइरहन्थेँ  । अकस्मात एक दिन सत्यकथा पढ्दै थिएँ , मेरो कान खडा भए । त्यो कथामा आजभन्दा  १६ वर्षपूर्व निता खत्री लगायत  थुप्रै चेलीबेटी बेचेको आरोपमा  धनमान नाम गरेका  व्यक्ति जेल चलान  भनेर कथाकारले आफ्नै शैलीमा ढालेर  सत्यकथा छापेका रहेछन्  । उजुरी गर्ने मेरी आमा रहिछन्  । आमा हाम्रै मुलुक भित्रै हुनुहुन्छ भन्ने कथाले बताइरहेको थियो तर  सोच्दासोच्दै अनायसै म निराशको अनुहार लगाउन पुगेँ । मेरी आमा अब भेटिए पनि के अर्थ रह्यो र । फलानी त सुनिताकी आमा हो भनेर श्रीमानले थाहा पाउनु भएछ भने पनि ।  

तैपनि  म अलिकति खुशी थिएँ । कतै हिन्दीको पुस्तकमा पढेकी थिएँ – भगवान् के घर मे देर है अन्धेरे नहि है भनेर आज त्यो चरितार्थ भैरहेको थियो।

डायरीमा लेखिएका उनको आत्मवृतान्त पढिसकेपछि मैले एउटा निर्णय लिएँ  । केही जरुरी काम गर्नै पर्ने भएको थियो। भोलि दाजु शहर आउँदै  हुनुहुन्थ्यो । मालपोत कार्यालय गएर हामीले बाबाको नामको अचल सम्पती नाम सारी गर्नु थियो।  दाजुलाई रोजेको लिएर म छाडेको लिने पक्षमा थिएँ । बाबुआमा नहुँदा उनहिरूले अभिभावकीय भुमिकालाई म कसरी बिर्सन सक्थें  र।

मालपोतको काम सकाएर दाजुभाउजू  गाउँ फर्किनुभयो। कृषि पेशा अँगाल्नुभएका उहाँहरू मेरो डेरामा बस्न सक्ने अवस्था थिएन । त्यसपछि मैले मेरो श्रीमतीको इच्छा र आंकाक्षा पूरा गर्ने कम्मर कसेर लागेँ । म आफै कुशल टाइपिस्ट , अफिसमा टाइपिस्टकै जागीर । मेरो लागि कुनै नौलो कुरा भएन । समय मिलिन्जेल म आफ्नो कम्प्युटरमा बिताउथेँ । उनले लेखेका आत्मकथालाई टाइप गर्दै र सम्पादन गर्दै गएँ । आफूलाई चित्त नबुझेका काटेँ  केही थपेँ । नेपाली व्याकरण राम्रै दखल राख्ने हुँदा अर्कालाई गुहार गर्न जरूरी सम्झिइनँ  । एकजना चिनेका वरिष्ठ साहित्यकार मित्रबाट भूमिका लेखाएँ । अनि मबाट हुने काम सकाएर पुस्तककै काम गरिरहेका मेरा परिचित साथीलाई पेन ड्राइभमा राखेर बुझाएँ ।

उनको मामाको छोराको बिहामा म जसै उपस्थिति जनाउनु थियो। तोकिएको तिथिमितिमा बाइक लिएर उनको मावली पुगेँ । व्यस्त उनी म आएको देखेर मायालु पाराले हेरिन्  । नजिक आएर छोटो भलाकुसारीपछि म जन्तीको  साथ लागेँ  भने उनीहरु रत्यौलीको तयार गर्न कस्सिएका देखिन्थे।

भोलिपल्ट उनलाई लिएर म घर आएँ । उनलाई छाडेर म आफ्नो गन्तव्यमा लागेँ ।

म घर पुग्दा मेरो साथमा एउटा महिला पनि थिइन् । म आएको सङ्केत पाएर उनले ढोका खोलिन् ।  

मेरो साथमा आएको बूढी महिला देखेर उनी एकछिन त अक्क न बक्क परिन् । तर, आफ्नो अनुहार ती महिलासग धेरै मिल्दो देखेर सोधिन् – कतै उहाँ मेरी आमा त हुनुहुन्न !

मैले मुस्कुराउँदै हो भन्ने सङ्केतमा टाउको हल्लाएँ । उनका आँखा एकाएक रसाउन थाले। ती हर्षका आँसु थिए। आमालाई गर्लम्म अँगालो  हालेर भित्र लगिन्  । आमाछोरी धेरेबेर रोए।

भित्र पसेपछि मैले उनलाई उनको जन्मदिनको उपहारस्वरूप उनको तस्वीरसहित छापिएको पुस्तक दिँदै शुभकामना दिएँ  । म त्यही दिनको पर्खाईमा पनि थिएँ ।

आज एकसाथ दुइटा उपहार दिन पाएकोमा म  खुशी थिएँ । अझ  आकस्मिक खुशी पाउँदाको खुसीको सीमा नै थिएन। 

उनी मेरो अनुहारतिर मायालु पाराले हेर्दै थिइन् । म भने ती सत्यकथा लेख्ने लेखक जसले  आमालाई भेट गराउन सहज भूमिका निर्वाह गरेका थिए। उनीप्रति आभार व्यक्त गरिरहेको थिएँ ।

प्रकाशित: २५ पुस २०७७ ०८:०७ शनिबार

अक्षर