कला

कालीनदी लिम्पियाधुराबाट बग्ने ऐतिहासिक प्रमाण

सन् १९०७ मा दस्तावेज प्रकाशित हुँदासम्म आफ्ना नियन्त्रित वर्णनहरूद्वारा काली लिम्पियाधुरा अथवा लान्क्प्या लेकबाट निक्लने यथार्थलाई अंग्रेज सरकारले दबाएको झन्डै एक शताब्दी भइसकेको थियो। साथसाथ इस्ट इन्डिया कम्पनी सरकार र बेलायत सरकारद्वारा प्रकाशित कतिपय महत्वपूर्ण नक्साहरूमा लिम्पियाधुराबाटै काली निक्लने देखाइँदै आएको थियो।

सैद्धान्तिक भौतिक आधारमा अल्बर्ट आइन्स्टाइन सबैभन्दा उच्च वैज्ञानिक मानिन्छन्। त्यस्तै, भारतको अंग्रेज शासित अवधिको सर्भे अफ इन्डियाको दुई–चार महान सर्भेयर जनरलहरूको नाम लिँदा १९११ देखि १९०९ सम्म सो पदमा रहेका सर सिड्नी जेराल्ड ब्युरार्डको नाम आउँछ। सर ब्युरार्डको १०–१२ उपलब्धिको सूची बनाउँदा त्यसमा सन् १९०७ मा उनीद्वारा सह–आलेखित ‘अ स्केच अफ द जियोग्राफी एन्ड जियोलोजी अफ द हिमालय माउन्टेन्ज एन्ड टिबेट’ अथवा ‘हिमालय पर्वत र तिब्बतको भूगोल र भूगर्भको आलेख’ शीर्षकको दस्तावेज पनि पर्छ। दस्तावेजमा सय वर्षको अवधि (१८०७ देखि १९०७ सम्म) मा हिमालय र तिब्बतको ‘भूगोल र भूगर्भ’मा सर्भे अफ इन्डियाले गरेको अध्ययनसँगै खोजको विश्लेषण र मूल्यांकन छ।

दस्तावेजको भूमिकामा लेखिएको छ, ‘सन् १८०७ मा बंगालको सर्भेयर जनरलद्वारा एक सर्भे टोली गंगाको उद्गम स्थल पत्ता लगाउन पठाइयो। पूर्ण भौगोलिक उद्देश्यका लागि हिमालयमा पठाइएको यो पहिलो खोज यात्रा थियो। भौगोलिक र भूगर्भीयसम्बन्धी जानकारी निरन्तर संकलित भइरहेको एक सय वर्ष अहिले नाघेको छ। यो सय वर्षको अवधिमा हामी विस्तारमा एक यस्तो अवस्थामा पुगेका छौँ, जसमा अवर्गीकृत विस्तृत वर्णनको भूलभुलैयामा हाम्रो बाटो हराउने खतरा छ। त्यस कारण हाम्रो वर्तमान अवस्थाको समीक्षा पुनरावलोकन गर्ने, हाम्रो विविध पर्यवेक्षणलाई समायोजन गर्ने र हामीले कतिसम्म प्रगति गरेका छौँ, भविष्यमा अगाडि बढ्दा कुन दिशा अनुकूल देखिन्छ, ती हेर्नु वाञ्छनीय छ।

वर्तमान दस्तावेजको थालनी मे १९०६ मा ‘सर्भे अफ इन्डिया’ले ‘बोर्ड अफ साइन्टिफिक अड्भाइस’को सभामा प्रस्ताव प्रस्तुत गरेबाट भयो। प्रस्ताव यस प्रकार थियो, ‘हिमालय र तिब्बतमा यात्रुको संख्या बढिरहेको छ र यी क्षेत्रको भूगोलमा सर्वसाधारणको व्यापक रुचि छ। त्यसकारण वर्तमान अवस्थाको भौगोलिक स्थितिको सारांश संग्रह गरिएको दस्तावेज तयार गर्ने प्रस्तावित गरिएको छ।’

प्रस्तावलाई भारत सरकारले स्वीकृत गरेको थियो भने भौगोलिक र भूगर्भीय दुवै विषय क्षेत्र समेटिनुपर्ने निर्देशन साथ सर सिड्नी ब्युरार्ड र हेनरी हबर्ट हाइडेनलाई कार्य सुम्पिएको थियो। त्यस समय ब्युरार्ड सर्भे अफ इन्डियाको ‘ट्रिगोनोमेट्रिकल सर्भे अफ इन्डिया’ (भारतको त्रिकोणमितीय सर्वेक्षण) शाखाको सुपरिन्टेन्डेन्ट (सर्वेक्षक) र हाइडेन सर्भे अफ इन्डियाको ‘जियोलोजिकल सर्भे अफ इन्डिया’ (भारतको भूगर्भीय सर्वेक्षण) शाखाको सुपरिन्टेन्डेन्ट थिए। भारत सरकारको निर्देशनद्वारा प्रकाशित दस्तावेज चार खण्डमा बाँडिएको थियो। हरेक खण्ड अलग–अलग प्रकाशन भएको थियो। खण्ड एक भूगर्भशास्त्रमाथि भएकाले त्यसको आद्योपान्त हाइडेनले लेखेका थिए। त्यस्तै, खण्ड १ (शीर्षक : एसियाको उच्च पर्वत शिखर)मा समावेश भूगर्भसम्बन्धी दुई पृष्ठ छोडी अरू बाँकी सबै ब्युरार्डले लेखेका थिए।  

खण्ड २ र ३ मा (शीर्षक क्रमशः ‘एसियाको मुख्य पर्वत शृंखला’ र ‘हिमालय र तिब्बतका नदीहरू’) पनि भूगर्भसम्बन्धी केही पृष्ठबाहेक अरू सम्पूर्ण ब्युरार्डद्वारा लेखिएको थियो। भारतको ‘प्लम्ब लाइन’ (साहुल सूत्र) मा हिमालयले गर्ने असरबारे ब्युरार्डको तात्विक अवधारणासम्बन्धी पहिलो वैज्ञानिक आलेख सन् १९०१ मा प्रकाशित भएको थियो। यही विषयको अनुसन्धानमा लामो समयदेखि लागेका ब्युरार्ड हिमालय पर्वतहरू र नदीहरूका विविध एवं जटिल भौगोलिक पक्षका प्रखर ज्ञाता थिए।

दक्षिणी तिब्बतको तीन शृंखला हुन्– लद्दाख, कैलाश र जस्कर। शृंखलाहरूको वर्गीकरणमा ‘२५००० फिटभन्दा माथि उच्च भएका धेरै शिखर भएका शृंखलालाई पहिलो परिमाण कोटिको शृंखला’ हुन्, जसमा नेपालको विस्तृत हिमालय र काराकोरम पर्छन्। जस्कर शृंखला ‘तेस्रो परिमाण कोटिको शृंखलामा पर्छ’ र यस शृंखलामा ‘१९००० देखि २१००० फिटसम्मका धेरै शिखर’ छन्। त्यही शृंखलाबाट ‘काली, अलखनन्दा, भागिरथी र स्पिति’ नदीहरू निक्लन्छन्। भनेपछि कालीको जन्मको गाथा सुरु हुँदोरहेछ जस्कर शृंखलाबाट, (ब्युरार्ड, खण्ड २, पृष्ठ ७१–७२)।

जस्कर शृंखलाको भौगोलिक संरचनाबारे दस्तावेजमा यस प्रकार विवरण दिइएको छ।

मानसरोवर तालको पूर्वको हिमाल र तिब्बत पर्वतीय प्रणालीबीचको सीमा शृंखला लद्दाख शृंखलाको पूर्वी विस्तार हो। जब कि मानसरोवरको पश्चिमतिरको हिमाल र तिब्बतबीचको सीमा शृंखला जस्कर हो, लद्दाख शृंखला होइन। विस्तृत हिमाली शृंखलाले उत्तरतिर दुई शाखा बाँडेको तथ्य उत्तर दिशातिर एक मात्र दुई शाखाको कारणले यस्तो जटिल भएको हो। जस्कर शृंखला नामले जानिएको यो विभाजनले पश्चिमी तिब्बतको सुरुदेखि अन्तसम्म विस्तृत हिमालय शृंखलालाई लद्दाख शृंखलाबाट छुट्ट्याउँछ।

थप, ‘नम्पा नजिक हिमाली शृंखलाबाट जस्कर शृंखला दुई शाखामा बाँडिएको जस्तो देखिन्छ। तर दुई शाखामा बाँडिएको ठाउँ ठीक कहाँ छ, त्यो थाहा हुन सकेको छैन, (ब्युरार्ड, खण्ड २, पृष्ठ ९१)।  

त्यस्तै, जस्कर शृंखला विस्तृत हिमाली शृंखला र तिब्बत बीचको पानी ढलो रहेको वर्णन दस्तावेजमा गरिएको छ।

मानसरोवर र विस्तृत हिमाली शृंखलाको बीच ठाउँ ओगटेको जल निकास प्रणाली जटिल छ। गंगा र काली कुमाउमा विस्तृत हिमाली शृंखलाको उत्तरी ढलानहरूबाट निक्लने गर्छन्। तिब्बतमा तिनीहरूका जलाधारहरूको सीमा जस्कर शृंखलाले बनाउँछ, (ब्युरार्ड, खण्ड २, पृष्ठ १२५)।

जस्कर शृंखलाले एकापट्टि रहेका सतलज र कर्णालीका जलाधारलाई अर्कोपट्टिको गंगा र कालीबाट छुट्ट्याउँछ। सतलज र कर्णालीले जस्कर र लद्दाख शृंखलाबीच घाँटीबाट निकास पाउँछन्। गंगा र कालीले जंस्कर र विस्तृत हिमाली शृंखलाहरूबीचको घाँटीबाट निकास पाउँछन्। गंगा र काली जस्कर पछाडिबाट नभई विस्तृत हिमाली शृंखलाको पछाडिबाट निक्लन्छन्। सतलज र कर्णाली जस्कर शृंखला पछाडिबाट निक्लन्छन्, उनीहरूको जलाधार गंगा र कालीको जलाधार पछाडि जोडिन्छ।

जस्कर शृंखला कुमाउ हिमालय र तिब्बत बीचको पानी ढलो भएका कारण त्यसलाई धेरै संख्यामा नाम चलेका भञ्ज्याङहरूले काटेका छन्। लिपुलेक (१६,७५० फिट) माथिल्लो कर्णाली जलाधार क्षेत्रको दक्षिणमा छ, जस्कर र विस्तृत हिमाली शृंखला जोडिने स्थान निकट छ। मङहाङ, लान्क्प्या र धर्म (दार्मा अथवा नियोधुरा) भञ्ज्याङहरू १८००० फिट जति (उचाइका) छन्। उन्टा धुरा १७,५०० फिटभन्दा अलिकति कम यी भञ्ज्याङ कालीको पानी ढलो बाहिर तिब्बत पुग्ने बाटो हुन्, (ब्युरार्ड, खण्ड २, पृष्ठ ९२)।  

ब्युरार्डले दस्तावेजमा लिम्पियाधुरालाई एक स्थानमा ‘लान्क्प्या’ भनेका छन्, अर्को स्थानमा ‘लान्क्प्या लेक’। ‘लान्क्प्या’ नाम हेनरी स्ट्राचेद्वारा सन् १८४८ मा लिखित लेखमा भेटिन्छ। त्यस उपरान्त कुमाउको सरकारी रिपोर्टहरूमा ‘लान्क्प्याधुरा’ लेखेको पनि पाइन्छ।

सन् १९०७ मा दस्तावेज प्रकाशित हुँदासम्म आफ्ना नियन्त्रित वर्णनहरूद्वारा काली लिम्पियाधुरा अथवा लान्क्प्या लेकबाट निक्लने यथार्थलाई अंग्रेज सरकारले दबाएको झन्डै एक शताब्दी भइसकेको थियो। साथसाथ इस्ट इन्डिया कम्पनी सरकार र बेलायत सरकारद्वारा प्रकाशित कतिपय महत्वपूर्ण नक्साहरूमा लिम्पियाधुराबाटै काली निक्लने देखाइँदै आएको थियो। त्यस्तै, सुगौली सन्धि अनुसार कालीनदी सीमा भएकाले बेलायतबाट प्रकाशित कतिपय गैरसरकारी नक्साहरूमा काली निक्लने स्थानबाटै नेपालको सुदूरपश्चिमी सीमा कोरिँदा फसाद परेको थियो। आखिर केही नलागी सत्य लुकाउन १८४८ मा हेनरी स्ट्राचीको माध्यमद्वारा लिम्पियाधुराबाट बग्ने काली नदी नभई कुति याङ्दी नामको भिन्न नदी भएको र लिपुलेक भञ्ज्याङबाट आउने नदी काली नदी भएको सरासर झुट बाहिर ल्याइएको थियो। त्यस्तै, अर्कोतिर भने अंग्रेज सरकारले कालापानी फोहोराबाट काली निक्लने भनी सन् १८१७ देखि आफूले बुनेको झूटलाई पनि निरन्तरता दिइरहेथ्यो।

तर, काली नदी लिम्पियाधुराबाट निक्लने अकाट्य सत्यलाई पुष्टि गर्दै दस्तावेजले ती सब झूटलाई एकैपटक काटी दिएको देखिन्छ।

काली अथवा शारदा विस्तृत हिमाली शृंखलापछाडि लान्क्प्या लेक भञ्ज्याङ निकटबाट निक्लन्छ, त्यसको समानान्तर ३० मिलसम्म बगेपछि मोडिएर त्यसलाई छेड्छ। विस्तृत शृंखलाबाट जोडसँग निकास बनाउन सुरु गर्दा कालीको तल (पिँध)को उचाइ १०,००० फिट छ (ब्युरार्ड, खण्ड ३, पृष्ठ १४१)।

कालीका माथिल्लो सहायक नदीहरूले जस्कर शृंखलाको पूर्वी भाग साथसाथ आफूहरूका लागि कुँदेका सतहहरूको समानान्तरताले जस्कर शृंखलाको सतह आरम्भमा लहरेदार भएको सम्भावना बताउँछ। धर्म (दार्मा), लिसार र काली आफैँ जस्कर शृंखलाबाट निक्लन्छन्, जसको शिर भागको लामो समानान्तर घाँटीमा पाँच मिलको अन्तरालमा बहन्छन्। तिनीहरूको मार्गहरू शृंखलाको दिशातिर झुकेका छन्, मानौँ कि उनीहरू मुख्य जस्कर मोडमाथि छड्के दिशामा एकमाथि अर्को बसेका घाँटीहरूका साना तह हुन्, (ब्युरार्ड, खण्ड २, पृष्ठ ९१)।  

माथि उल्लिखित यी वर्णनहरू दर्शाउने दुई चित्रहरू दस्तावेजमा सम्मिलित छन्। लिम्पियाधुराबाट निक्लेको ‘कालीले निकास गर्ने हिमाली क्षेत्र’ देखाउने एक चित्र। त्यस्तै, ‘हिमाली र हिमालपारि प्रमुख पर्वत शृंखलाहरूको पथ’ देखाउने अर्को चित्र।  

(नोट : हिमालयका नदीहरूलाई वर्गीकरण गर्दा ब्युरार्डले काली नदीलाई कुमाउ हिमालयअन्तर्गत राखेका छन्। कालीको अधिकांश सहायक नदीहरू कुमाउ तिरबाट आउने कारणले कालीलाई कुमाउ हिमालय अन्तर्गत राखिएको हो। साथसाथ लिपुलेक भञ्ज्याङलाई कुमाउ हिमालय अन्तर्गत ब्युरार्डले राखेको देखिएको छ। कालीले निकास गर्ने क्षेत्रमा लिपुलेक पर्ने हुनाले कुमाउ हिमालय अन्तर्गत राखिएको हो।)

सन् १८३३ मा नयाँ खोजहरू थपेर र पहिलो संस्करणमा भएका त्रुटिलाई सच्याइएको दस्तावेजको दोस्रो संस्करण प्रकाशित भयो। यसको पनि प्रमुख लेखक ब्युरार्ड नै थिए। हाइडेनको धेरैअगाडि देहावसान भइसकेको थियो। यसमा काली लिम्पियाधुरा अथवा लान्क्प्या लेकबाट निक्लने सत्य यथावत थियो।

(अवन्तिका रेग्मीको शीघ्र प्रकाशित हुने पुस्तकमा आधारित।)

प्रकाशित: २५ पुस २०७७ ०५:३८ शनिबार

कालीनदी लिम्पियाधुरा ऐतिहासिक प्रमाण