किशन पौडेल
१) सुख
ऊ अभावसँग लडिरहेको थियो ।
ऊ रोगसँग लडिरहेको थियो
ऊ ऋणसँग लडिरहेको थियो
एक दिन तिन जनाको भेट भयो ।
अभावले रोग सँग भन्यो– तिमी त सप्रन्न छौँ । सारा सुख तिम्रो पोल्टाभित्र होलान् है !
रोगले अभावलाई भन्यो– तिमी यति धेरै तन्दुरुस्त छौँ । सुन्दर निरोगी शरीर छ । तिमीजस्तो सुखी मान्छे यो संसारमा को होलान् र !
ऋणको भार बोक्नेले दुवैको कुरा सुनिरहेको थियो र आफ्नै पीडा ओकल्न थाल्यो – बरु जस्तोसुकै रोग र अभाव सहेर पनि यो ऋणको बोझिलो भारी बिसाएर शान्तिको सास फेर्न पाए कति सुख हुन्थ्यो होला !
२) तथास्तु
भगवान्ले जिज्ञासापूर्वक सोध्नुभयो – के छ भक्त तपाईँको हालखबर ? धेरै दिन भयो मन्दिर पनि आउनुभएन ।
– प्रभु , म अलि व्यस्त थिएँ । हजुरको कृपाले मलाई ठूलो टेन्डर हात परयो ।
भगवान् खुसी हुँदै ल बधाई छ । कस्तो टेन्डर हात पार्नुभयो ! भगवान्ले जिज्ञासापूर्वक सोध्नुभो ।
– प्रभु, हजुरकै सेवा गर्नी मौका पाएँ । पोहोर मैले हजुरको कम्पाउन्डमा लगाएको पर्खाल भत्किएछ । फेरि लगाउने टेन्डर मलाई नै परेछ प्रभु ।
– प्रत्येक वर्ष यस्तै अवसर प्राप्त होस्, तथास्तु !
३) कू
– यो कू भनेको के हो बाबा ! छोराको जिज्ञासाले म केहीबेर सोचमग्न भएँ ।
– कू भनेको कुमार्ग हो बाबू !
– अनि यो कुमार्ग भनेको चाहिँ के हो नि ?
– कुमार्ग भनेको अरूलाई कुभलो गरेर गलत बाटो हिँड्नु हो बाबू ।
बाटोमा अश्लील नाराहरू लगाउँदै दौडिरहेको जुलुसतर्फ औंला देखाउँदै छोराले सोध्यो – बाबा यिनीहरू सबै कुमार्गबाट दौडिरहेका हुन् ।
छोराको गम्भीर प्रश्नले मेरो मथिङगल हल्लियो । बाटो गलत थियो वा सही थियो म निरुत्तर थिएँ ।
प्रकाशित: २५ पुस २०७७ ०५:३२ शनिबार