कला

विश्राम लागेको हजार वर्षअघिको सम्यक्

संस्कृति

हजार वर्ष पुरानो इतिहास बोकेको सम्यक् पर्वलाई समयले साथ नदिएपछि उपत्यकाका बौद्ध देवदेवीहरूको काठमाडौं नगरयात्रामा विश्राम लागेको छ। प्रत्येक १२ वर्षमा एकपटक माघे संक्रान्तिका दिन हनुमानढोका राजदरबार परिसरदेखि स्वयम्भू भुइखेलसम्म बौद्ध देवदेवीको पंक्तिबद्ध पैदलयात्रा र सम्मेलन हुने गथ्र्यो। मार्चपास र देव सम्मेलन हुन छाडेको १८ वर्ष पुगेको छ। 

 

भारतले वि.सं. २०७१ सालमा नाकाबन्दी गरेपश्चात् उत्पन्न असहज परिस्थितिले सम्यक् पर्व रोकिन पुगेको हो। नाकाबन्दीपछि २०७२ मा गएको भूकम्प र त्यसलगत्तै बर्सेनि सम्यक् गुठीका थकालीहरू एकपछि अर्को गरी निधनले पनि सम्यक् पर्व रोकिन पुगेको थियो। यो वर्ष पनि विश्वव्यापी फैलिरहेको कोरोना भाइरसका कारण सम्यक् पर्व सञ्चालन नहुने भएपछि सम्यक्का लागि आधा दशकअघि नै चिरिच्याँट्ट पारिएका मानव आकृतिका दिपंकर बुद्धहरू मठ–मन्दिर र बहालबहिलभित्रै सीमित बन्न पुगेको छ।

हारती माताको प्रमुख आतिथ्यमा महिला सम्यक् आयोजना गरिन्छ। यस दिन शाक्य वज्राचार्य महिलालाई मात्र भोजन प्रसाद ग्रहण गराउने परम्परा छ। यसरी लैंगिक विभेदरहित सम्यक्मा देवदेवी र गुरु पुरोहितलाई वितरण गरिएको भोजन प्रसादलाई अत्यन्त पवित्र मानिन्छ।  

क्याम्ब्रिज विश्वविद्यालयमा सुरक्षित रहेको नेपाल संवत् १३५ को राजा भोजदेव, रुद्रदेव र लक्ष्मीकामदेवको शासनकालमा लेखिएको अष्टसहश्रिका प्रज्ञापारमिता ग्रन्थमा पहिलोपटक सम्यक्को चर्चा गरिएको पाइन्छ। यस आधारमा एक हजार वर्षअघिदेखि मनाइँदै आएको यो पर्व जनस्तरबाट समेत मनाउन सकिने व्यवस्था छ। सम्यक्का लागि ९९ मुरी, ९९ पाथी, ९९ मुठी चामलको भुजा पकाई सात रोपनी खेतमा रोपिएको मुलाको तरकारी लगायत विभिन्न थरीको दाल एवं मिठाई राखी देवदेवी एवं गुरूपुरोहितलाई सामूहिक भोजन गराइन्छ। राजा वा राष्ट्रप्रमुखको समुपस्थितिमा स्वयम्भूलाई प्रमुख अतिथि बनाई आयोजना गरिने यो पर्वमा हारतीमाता, महामञ्जुश्री, विजयश्वरी, बसुन्धरा, श्रीघः, नमोबुद्ध, खड्गयोगिनी, वज्रयोगिनी, गुह्यश्वरी, सेतो मत्स्येन्द्रनाथ, आदिनाथ, नाला करुणामय लगायत सयभन्दा बढी देवदेवीको उपस्थिति रहन्छ। ठूलो संख्यामा बौद्ध देवदेवीको उपस्थिति रहने यस पर्वमा अन्नका देवता रातो मत्स्येन्द्रनाथको भने उपस्थिति रहन्न। पर्वको अवसरमा भोजन प्रसाद असरल्ल हुने गरी फालिने भएकाले उक्त देवता सहभागी हुँदैनन्।

प्रत्येक १२ वर्षको एकपटक मनाइने सम्यक्बाहेक जनस्तरबाट कुनै पनि समयमा सम्यक् मनाउन सकिने प्रावधान पनि यस पर्वमा रहेको छ। जनस्तरबाट मनाइने सम्यक्लाई न्याः सम्यक् अर्थात्् ऐच्छिक सम्यक् भनिन्छ। जनस्तरबाट सम्यक् मनाउने परम्पराको थालनी पाँच सय वर्ष अघिदेखि नै प्रारम्भ भएको देखिन्छ। यससँग सम्बन्धित पाँच सय वर्ष यताका धेरै अभिलेख सुरक्षित छ। स्थानीय स्तरबाट पहिलोपटक ने. सं. ६२९ मा उजोनेराजपाल, शुओपाल, पुंशुओपाल र कमलराजपालले सम्यक् आयोजना गरेको इतिहास छ। 

अहंता त्याग गरी देश, धर्म र जगत हितका लागि सम्यक् आयोजना गरेपछि देवत्व प्राप्त गरेको संकेतस्वरूप आयोजकले आफ्नै नाममा दीपंकर बुद्धको मूर्ति समेत स्थापना गर्नुपर्ने विधान छ। यसरी स्थापित दीपंकर बुद्धलाई प्रत्येक सम्यक् पर्वमा सहभागी गराउने गरिन्छ। यसरी जनस्तरबाट सम्यक्को आयोजना गरी आफ्नै नाममा दीपंकर बुद्ध स्थापना गर्नेमा वटुका तुयूजु र इतुंबहालका गुडोचन्द्र आजु हुन्। इतुंबहालका गुडोचन्द्रले सम्यक्लाई व्यवस्थित बनाउने कार्य गरेका थिए। उनले ने.सं. ७१४ मा सम्यक्का लागि आवश्यक सामग्रीको प्रबन्ध गरी इतुंबहाल क्षेत्रको सम्यक् परम्परा अघि बढाएका थिए। जनस्तरबाट पछिल्लोपटक वि.सं. २०५८ सालमा काठमाडौं पकनाजोलकी रामकुमारी मानन्धरले ऐच्छिक सम्यक् आयोजना गरेका थिए। ऐच्छिक रूपमा सम्यक् आयोजना गरिँदा बौद्ध देवदेवीलाई भेटी चढाउनुका साथै बौद्ध गृहस्थ भिक्षु एवं बौद्ध पण्डितलाई पञ्चदान गर्नुपर्ने प्रावधान छ।

सम्यक् गुठीका नाइके रविबहादुर शाक्य सम्यक् मनाउन नपाउँदा बौद्ध समाजबीच न्यास्रो लागेको बताउँछन्। कहिले नाकाबन्दी, कहिले दैवीप्रकोप र कहिले गुठीका अगुवाको निधनले रोकिन पुगेको सम्यक्लाई यस वर्ष पनि साथ नदिएपछि बौद्धदेव सम्मेलनका लागि उत्सुकहरूबीच पनि नैराश्यता फैलिएको उनको भनाइ छ। उनी भन्छन्, ‘यो पर्व सम्यक् गुठीले आयोजना गर्ने हो। तर ठूलो संख्यामा विभिन्न जातजातिका नेवारको अनिवार्य उपस्थिति र सहयोग चाहिने भएकाले उहाँहरू सम्यक् मनाउन नसकिएकामा दुःखित छन्।’

प्रत्येक १२ वर्षको एकपटक माघे संक्रान्तिका दिन इतुंबहाल, वटु र लगनबहालका शाक्यहरूको सम्यक् गुठीले संयुक्त रूपमा आयोजना गरिने सम्यक् उपत्यकाको सबैभन्दा आकर्षक पर्वको रूपमा लिइन्छ। उपत्यकाका मठ–मन्दिर, बहाल र बहिलमा पुजिने मानवाकृत दीपंकर बुद्धका साथै गोरखाबाट मनकामना, नुवाकोटबाट नुवाकोट भैरवी लगायत देवदेवी लामबद्ध भई नगरको विभिन्न स्थानमा पैदलयात्रा गर्ने गर्छन्। बीच सडकमा नृत्य गर्दै अघि बढ्ने उक्त दृश्यप्रति मोहित भई भक्तजनहरू देवदेवीको यात्राको रमिते बनी सडकका दुई किनारमा घन्टौँसम्म उभिएर समय व्यतीत गर्न तयार हुन्छन्। त्यसमाथि देव सम्मेलनको रूपमा स्वयम्भू भुइखेलमा पंक्तिबद्ध भई उभिरहेको दृश्य हेर्न सिंगो उपत्यका उर्लिने गर्छ। यसरी उर्लिने समूहलाई नियन्त्रण गर्न निकै कठिन समेत बन्ने गर्छ।  

रोगव्याधि र दुःख पीडाबाट मुक्ति, शारीरिक असक्षम हुनबाट रक्षा र तिनीहरूको शुभ, आयु, आरोग्यको कामना गरी मनाइने सम्यक् पर्वले लैंगिक रूपमा पनि समानताको सिद्धान्तलाई अंगीकार गरेको पाइन्छ। उपस्थित सम्पूर्णमा धन, सन्तान, सिद्धि, अन्न अन्नादि परिपूर्णताको कामना र विश्वशान्तिको कामना गर्दै यो पर्व मनाइन्छ। बौद्ध देवदेवीका पूजाका साथै शाक्य र वज्राचार्यलाई भोजन र पञ्चदान गरिने सम्यक्को पहिलो दिन भगवान स्वयम्भूलाई प्रमुख अतिथि बनाइन्छ। अर्को दिन हारती माताको प्रमुख आतिथ्यमा महिला सम्यक् आयोजना गरिन्छ। यस दिन शाक्य वज्राचार्य महिलालाई मात्र भोजन प्रसाद ग्रहण गराउने परम्परा छ। यसरी लैंगिक विभेदरहित सम्यक्मा देवदेवी र गुरु पुरोहितलाई वितरण गरिएको भोजन प्रसादलाई अत्यन्त पवित्र मानिन्छ। प्रसाद सर्वसाधारणलाई पनि बाँड्ने गरिन्छ। पूजा परम्परापछि भुइँमा खसेको रहलपहल भोजनलाई तिब्बती बौद्ध धर्मावलम्बीले साङ्ग्ये मामैडोकी झिनलाव अर्थात् बुद्धको प्रसाद भनी संकलन गरी बाँड्न लैजाने गरिन्छ।

हनुमानढोका दरबार परिसरमा जम्मा भई दुई दिनसम्म मनाइने यो पर्वमा राष्ट्राध्यक्षको उपस्थिति अनिवार्य रहेको छ। सम्यक् आयोजना गर्नुभन्दा एक वर्षअगावै सम्यक् गुठीका तर्फबाट राष्ट्रप्रमुख समक्ष पारम्परिक रूपमा १० वटा सुपारी, एकमोहर र चार पैसा र फलफूल राखी ग्वय्दां अर्थात् निमन्त्रणा दिएपछि औपचारिक रूपमा सम्यक्को दिनगन्ती सुरु हुन्छ।  

काठमाडौंमा अन्तिमपटक वि.सं. २०६० सालमा सम्यक् पर्व मनाइएको थियो। विभिन्न कालखण्डमा पटकपटक रोकिन गएको सम्यक् पर्व श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले काठमाडौं विजय अभियानका क्रममा पनि रोकिन पुगेको थियो। इतुंबहाल, वटु र लगनका शाक्यहरूले पृथक् पृथक् रूपमा प्रत्येक चार वर्षको एकपटक मनाइँदै आएको सम्यक्मा एक्कासि विश्राम लागेपछि राजा रिसाएर सम्यक् गुठीका अगुवाहरूलाई कारबाही समेत गरेका थिए। राजाले सम्यक् गुठी इतुंबहालका धनसिद्धि, वटुका सूर्यकर वन्दे र लगनका धोजेछुलिलाई १६० रूपैयाँ जरिवाना गरी १२ वर्षको एकपटक पर्व सञ्चालन गर्ने प्रबन्ध मिलाएका थिए। 

सम्यक्लाई धार्मिक महत्वका साथै राष्ट्रप्रमुखलाई जनस्तरबाट राज्याभिषेक गर्ने पर्वका रूपमा समेत लिइन्छ। २००७ सालमा आयोजना गर्नुपर्ने सम्यक् तत्कालीन राजा श्री ५ त्रिभुवन भारतमा शरण लिन गएका कारण स्थगित गरिएको थियो। तत्कालीन श्री ३ मोहन शमशेरले ज्ञानेन्द्रलाई गद्दी आरोहण गरे पनि जनस्तरबाट अभिषेक गराउने उद्देश्यले सम्यक् गराउन दबाब दिएका थिए। राणाहरूको दबाबका बाबजुद सम्यक् गुठीका गुठियारले विभिन्न बहाना बनाई राजा त्रिभुवन स्वदेश फिर्तीपछि मात्र उक्त पर्व आयोजना गरेका थिए।

प्रमुख रूपमा तीनवटा बहालका शाक्यहरूले आयोजना गर्ने यस पर्वमा यसपटकको अवरोध कोरोना भाइरसका साथै राष्ट्रप्रमुख महिला भएकाले पनि पर्व सञ्चालनमा प्राविधिक समस्या रहेको भन्ने छ। शाक्यहरूले आयोजना गर्ने सम्यक्मा ठूलो संख्यामा विभिन्न जातिको उपस्थिति अनिवार्य छ। वज्राचार्यहरूले पूजापाठ, असनका तुलाधरले भोजनका लागि ज्यःनालप्ते वा कमलको पात चढाएपछि त्यसमा नरदेवीका तुलाधरहरूले भोजन प्रसाद वितरण गर्ने गरिन्छ। यसरी भोजन प्रसाद वितरणपछि इतुंबहालका शाक्यहरूले मुलाको तरकारी, केलटोलका कंसाकारहरूले १२ थरी दाल,  

थाय्मदुका सिलाकारहरूले मिठाई, इतुंबहाल र झोछेँका बनियाहरूले सख्खरको सर्वत, वटुका शाक्यहरूले भोजनका लागि दूध वितरण गर्ने गर्छन्। सम्यक्का लागि आवश्यक मञ्चका लागि स्थापित, यज्ञशाला र चुलो निर्माणका लागि डकर्मी र चित्रकारिताका लागि चित्रकारहरूको सहभागिता रहने यस पर्वमा प्रजापतिहरूले माटोको भाँडा प्रबन्ध गरिदिने गर्छन्। यसरी सम्यक्को प्रबन्ध भएपछि उक्त पर्वका लागि आवश्यक काठपात एवं दाउरा लगायत दरबारको तर्फबाट प्रबन्ध गरिदिने गरिन्छ। सम्यक्मा सहयोगी भूमिका निर्वाह गर्दै आएको एक जातीय समूहका प्रतिनिधिका अनुसार सम्यक्को पहिलो दिन राजा वा राष्ट्रप्रमुखको उपस्थिति चाहिन्छ। तर, यसपटक महिला राष्ट्रप्रमुख भएका कारण सांस्कृतिक रूपमा पुरुषको प्रतिनिधित्व गर्न नसकिने भएकाले केही खड्किएको छ भन्ने जनाउ दिएको छ। ती प्रतिनिधिले पुरुष सम्यक् र महिला सम्यक् भनी अलग अलग व्यवस्था छ। त्यसमाथि वि.सं. २०३६ सालमा आयोजित सम्यक्मा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्यको पनि उपस्थिति हुँदा निकै विवाद भएको थियो। वि.सं. २०४८, २०५८ र २०६० सालमा आयोजित सम्यक्मा राजाको मात्र सहभागिता रहेको थियो।

प्रकाशित: २५ पुस २०७७ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App