कला

पृथ्वीनारायणलाई किन सम्झने ?

दृष्टिकोण

पृथ्वीनारायण शाह गोरखाका राजा नरभूपाल शाहका जेठा छोराको रूपमा वि.सं. १७७९ पौष २७ गते जन्मे। पृथ्वीनारायण शाहलाई लक्षित गरेर अहिले पनि प्रत्येक वर्ष पौष २७ गते पृथ्वीजयन्ती मनाइन्छ। यस प्रसंगमा हामीले विचार गर्नुपर्ने कुरा के छ भने, यति लामो काल (झन्डै तीन सय वर्ष)सम्म पृथ्वीनारायणलाई के कारणले सम्झनुपर्‍यो भनी प्रश्न उठ्न सक्छ।  

पृथ्वीनारायण शाह जुनबेला राजा भए, वि.सं. १७९९ चैत्र २५ गते, त्यसबेला अहिलेको हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ५२ वटाभन्दा बढी राज्य अस्तित्वमा थिए। गण्डकी प्रश्रवण क्षेत्रमा २४ वटा राज्य, कर्णाली प्रश्रवण क्षेत्रमा २२ वटा राज्य (कुनै बेला २४ पनि पुगे, कुनै बेला २२ पनि पुगे। २२ र २४ गरी ४६ राज्य भयो) थिए। त्यसबेला एउटा राज्यले अर्को राज्यलाई आक्रमण गरेर हारजित भइरहने हुँदा यो संख्यामा घटी वा बढी भइरहन्थ्यो। काठमाडौं खाल्डोमा भएका तीनवटा (काठमाडौं, पाटन र भक्तपुर) मल्ल राज्य, पूर्वतिर भएका तीनवटा सेन राज्य (मकवानपुर, चौदण्डी र विजयपुर) गरेर ५२ वटाभन्दा बढी राज्यको समूहको रूपमा नेपाल रहेको थियो।  

हामीहरूमध्ये कतिलाई पछिल्लो इतिहासप्रतिको चाख कम रहेकाले कतिको मनमा के छ भने पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेपछि मात्रै नेपाल ठूलो भएको हो, त्यसअघि यस्तै टुक्रिएकै अवस्थामा यो भूगोल थियो भन्ने धारणा पनि छ। एउटा त हाम्रो खोजी नभएको, अर्को पछिल्लो कालमा खोजी भएता पनि जानेर वा नजानेर अनुसन्धानलाई वास्ता नगरिएकाले विभिन्न धारणाको प्रचार भइरहेका छन्। हामीहरूको प्राचीन इतिहास पल्टाउने हो भने, प्रागैतिहासिक कुरा नगरौँ, पुरातात्विक प्रमाणहरूले आउने कुराहरू अहिले नगरौँ, अभिलेखको आधारमा भन्न सकिने पहिलो प्रामाणिक काल लिच्छविकालकै हामीले अनुगमन गर्ने हो भने, यस कालका करिब २५० वटाजति अभिलेख पाइएका छन्। ती अभिलेखहरू, संस्कृत वाङ्मयका विभिन्न ग्रन्थहरू, चिनियाँ यात्रुहरू, राजदूतहरूको वर्णन इत्यादिका आधारमा हामी के भन्न सक्छौँ भने त्यस बेला नेपाल झन्डै झन्डै अहिलेकै जत्रो थियो। यसको अर्थ अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको, उत्तर हिमालदेखि दक्षिण तराईसम्मको भनी ठ्याक्कै भन्न खोजिएको होइन। कहीँ बढी थियो होला, कहीँ घटी थियो होला, झन्डै झन्डै क्षेत्रफलको दृष्टिकोणले यत्रै थियो।  

लिच्छविकालका अभिलेख पूर्वमा दुम्जासम्म र पश्चिममा गोरखासम्म पाइएका छन्। चिनियाँ यात्रीहरूले जुन बयान गरेका छन्, त्यसमा उनीहरूले नापलाई ‘ली’ भनेका छन्, हामीले कोश, माइल भनेजस्तै। उनीहरूले चार हजार ली भनेका छन्। त्यो नापको हिसाब गर्दा नेपालको क्षेत्रफल झन्डैझन्डै अहिलेकै जत्रो देखिन्छ। राजा मानदेवको वि.सं. ५२२ मा प्रस्ट उपस्थिति छ, उनले वि.सं. ५६२ सम्म राज्य गरे। उनका बाबु धर्मदेवको अकस्मात मृत्यु भयो र उनी सानै उमेरमा राजा भए। त्यसैले पूर्व र पश्चिमका सामन्तहरूले उनलाई हेपेर राज्य टुक्राउने कोसिस गर्दा उनले आफ्ना मामाको सहायताले हात्ती, घोडा इत्यादि सहितको सेनाले गण्डकीपारिका मल्ल सामन्तलाई आफ्नो वशमा ल्याएको वर्णन छ। यसले नेपाल राज्य गण्डकी पारिसम्म त्यसबेलादेखि नै थियो भन्ने प्रस्ट हुन्छ। लिच्छविकालपछि नेपालको त्यो अवस्था रहेन। राज्य टुक्रने क्रम सुरु भयो। त्यस अवस्थामा काठमाडौं खाल्डोमा केन्द्र भएको राज्यको पश्चिम एक नम्बर नुवाकोटसम्म मात्र अधिकार रह्यो।  

विक्रमको १२औँ शताब्दीमा नागराजले सिञ्जा राज्य स्थापना गरे। त्यो राज्य क्रमशः बलियो हुँदै गयो। त्यसले पूर्वपट्टि गोरखासम्म आफ्नो अधिन जमायो, कहिलेकाहीँ त्रिशुली नदी तरेर नुवाकोटको बाटो हुँदै नेपाल खाल्डोसम्म आक्रमण गर्न, यहाँबाट कर उठाएर जान पनि समर्थ भयो। दक्षिणमा तराई लुम्बिनीसम्म उसले आफ्नो अधिकार जमाउन सक्यो, कहिलेकाहीँ वर्तमान चिनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर प्रदेशसम्म पनि उसको अधिकार पुग्यो। कहिलेकाहीँ अहिलेको भारतको उत्तराखण्ड राज्यको कुमाउ गढवालसम्म उसको अधिकार पुगेको वर्णन पाइन्छ।  

नेपालको दक्षिणपूर्व भेग सिम्रौनगढमा नान्यदेवले खडा गरेको राज्य थियो। त्यसले तराईका धेरै भागमा आफ्नो अधिकार जमायो। पछि क्रमशः राज्य टुक्रने क्रम बढ्दै गयो र विक्रमको १८औँ शताब्दीमा पुग्दा यस भेगमा ५२ वटाभन्दा बढी राज्य खडा हुन आए। त्यसमध्ये गोरखा राज्य जुन हो, गण्डकी प्रश्रवण क्षेत्रमा रहेकाले यो चौबिसे राज्यअन्तर्गत पर्दथ्यो। वि.सं. १६१६ मा लमजुङका राजा यशोब्रह्म शाहका छोरा द्रव्य शाहले गोरखा राज्य स्थापना गरे। गोरखा सबैभन्दा कान्छो र धनजनको पनि केही कमी भएको राज्य भए पनि यसमा ‘ठीक मानिसलाई ठीक ठाउँमा राख्नुपर्छ’ भन्ने एउटा वैशिष्ट्य देखिन्थ्यो।  

राजा द्रव्य शाह, उनका छोरा पूर्ण शाह र नाति राम शाहको परिश्रमले गोरखा राज्यले आकार लिएको थियो। त्यसपछिका राजाहरू डम्बर शाह, रुद्र शाह, पृथ्वीपति शाह, नरभूपाल शाहले यो राज्यलाई थाम्न र पूर्वतिर बढ्नका लागि पनि कोसिस गरे। यस्तै अवस्थामा पृथ्वीनारायण शाहको जन्म भयो। पृथ्वीनारायणका बाबु नरभूपाल विजिगीषु प्रवृत्तिका थिए। उनले काठमाडौंको मल्ल राज्य अन्तर्गतको नुवाकोट र यता तनहुँको राज्य पनि जित्ने कोसिस गरे। दुवैमा असफल भएपछि उनीमा अलिकति नैराश्य आयो। पृथ्वीनारायण शाहले १६ वर्षकै उमेरदेखि राजकाज गर्न सुरु गरेको देखिन्छ। पृथ्वीनारायणभन्दा अगाडि पनि नेपाललाई एकीकरण गर्नुपर्छ भन्ने भाव नउठेको होइन। 

नेपाल खाल्डो र त्यस वरपर क्षेत्रका राजा यक्ष मल्ल, पाल्पाका राजा मुकुन्द सेनले एकीकरण थालेका थिए। उनीहरूमा र पृथ्वीनारायणमा फरक के भने, पृथ्वीनारायणले राज्य भनेको बाँड्ने कुरा होइन, यो एकात्मकता हुनुपर्छ भन्नेमा जोड दिए। तर उनीहरूले ‘राज्य भनेको राजाको सम्पत्ति हो, यसलाई बाँड्नुपर्छ’ भन्ने भावना लिए। राज्य बढेपछि पृथ्वीनारायणका भाइहरूले पनि मागेका थिए तर पृथ्वीनारायणले राज्य बाँड्न मानेनन्। उनीमा भाइहरूको महत्व असाध्यै माथिल्लो स्तरको थियो। उनले आफू बित्नुभन्दा अगाडि (वि.सं. १८३१ मा) नुवाकोटमा आफ्ना भाइभारदारलाई राखेर दिएको उपदेशमा ‘हामी तीन खोपीका गरी पाँच पाण्डुवाको अवतार भयाको थियो’ भनेका छन्। त्यस्ता भाइहरूलाई पनि उनले राज्य बाँडेनन्। यसरी पृथ्वीनारायणमा सुरुदेखि नै एकीकरणको भावना देखिन्छ। पछि पछि नेपालको सिमाना बढ्दै किल्ला–काँगडासम्म पुग्यो।  

सबै जातजातिसँग सल्लाह लिएर, सबैलाई यथोचित महत्व दिएर पृथ्वीनारायण अगाडि बढेका थिए। हामी पृथ्वीनारायणसँग जोडिएका बिसे नगर्चीसँगै अन्य जातजातिको कथा पनि पढ्छौँ। पृथ्वीनारायणले नुवाकोट जाँदा बिसे नगर्चीलाई सँगै लगेका थिए। यो कुरा जगदम्बा प्रकाशनबाट प्रकाशित नयराज पन्त, देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तको पुस्तक ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’मा उल्लेख छ। अरू राजाले विजय गरेको क्षेत्रलाई दबाउने, शोषण गर्ने गर्थे भने पृथ्वीनारायणले विजय गरेको क्षेत्रलाई अझ संरक्षण गर्थे। यसरी पृथ्वीनारायणले एकीकरण अभियानमा सफलता हासिल गरे। आज हामी नेपाली भएर बाँच्न पाएका छौँ।

प्रकाशित: २५ पुस २०७७ ०३:०२ शनिबार

दृष्टिकोण पृथ्वीनारायणलाई किन सम्झने ?