टङ्कबहादुर आले मगर
एकादेशमा दिदी बहिनी माउलो जाँदै गर्दा घना जंगलको बीच बाटामै रात परेछ । नजिकमा कुनै गाउँ, गोठ, खर्क, केही थिएन । हिंस्रक जनवार, विषालु कीरा र मानवभक्षी मान्छेको डर । के गरी कहाँ रात काट्ने आतिन्छन् सोर वर्षे दिदी र दश वर्षको बहिनी ।
बाटोभन्दा अलिक परको ठूलो रूखको फेदमा बसेर रात काट्ने निर्णय गरे । कम्मरमा भिरेको हँसियाले सेउला काटेर छाप्रो बनाए । सुर्के थैलीबाट झुलो चक्मक र दर्सिङ ढुंगामा आगो पारेर बाले । वरपर रूखबाट खसेका थूरहरू बटुले ।
“बहिनी ! भोक लाग्यो ...।” दिदीले आशय दर्शायो ।
रूखमा जेलिएको बेलोको भेट्नु पहिलाएर तिस्कोलाले खन्न थाल्छे बहिनी । पोटिलो वन तरुल देखेर खुशी भई दिदी । भुइँमा खाल्टो खनेर आधा तरुल हालेर माटोले छोपिदिए । र त्योमाथि आगो बाले । केही तरुललाई हरिया पातले बाकुलो सापी, पानी लहराले बाँधेर आगोमा लगाइदिए । यसरी खाल्टो र पातले पोक्याको तरुलहरूलाई पल्टाईपल्टाई पकाएर खाए । तरुल पाक्ने समयभित्र थुप्रै लौरो, घोचो र झटारो ढुंगा र माटाका डल्लाहरू थुपारी बहिनीले ।
“यी सबै के गर्नु बहिनी ?” दिदी छक्क परी बहिनीको काम देखेर ।
“शून्य रातको यो शून्य जंगलमा हाम्रा शहरा भन्नु नै चेतना, जागाराम, आगो, ढुंगा, घोचा, लौरा र झटाराहरू हुन् ।”
“हामी निदाइहाल्छौँ, के गर्नु यी सबै?” दिदीले अज्ञानता दर्शाई – “लामो बाटाको हिँडाइ म त थाकेको छु । निद्रा लाग्दै छ ।”
“ हामी आज रातभरि जागै बस्नुपर्छ दिदी । नत्र हामीलाई खान्छ कीराहरूले ।” डराउँदै बहिनीले भनी ।
“तातो आगोको राप निन्द्रा लाग्यो ।” दिदी हाई काड्दै भन्छे ।
“दुःखको गफ गर्ने, मन नपरेको मान्छेको नराम्रो बानीको कुरा गरौँ । गफ सकिन लागे ख्यालठट्टा गरौं, हाँसौं र हँसाऔँ । त्यसपछि गाउँखाने कथा भनौँ । सुन्ने कथा भनौं । जब निन्द्राले बेसरी च्याप्छ तपाई केटा र म केटी भएर जुहारी खेलौं । नाचौं निन्द्रा, डर आफँै भाग्छन् ।”
दिदीले स्वीकारपूर्ण मन्टो हल्लाई मात्र । उनीहरूभन्दा अलिक पर एक हाँच बाँदर बास बसेका छन् । ती बाँदरहरूले केही नकारात्मक जनावर आए जानकारी दिन्छ भन्ने आशा पनि छ बहिनीलाई । चारै सुरमा आगो बालेर गफ गर्न थाले । आमाको दुःखको कुरा झिकेर रोए । बुबाको अत्याचारप्रति आक्रोश व्यक्त गरे । त्यो रोदन र आक्रोशको भावले डर र निदुलीलाई दुवै बहिनीबाट चुँडेर पर पुराएको थियो । घरी दिदी उङ्न थाल्छे ।
“दिदी, लु गाउँ खाने कथा भनेँ है ।” बहिनी हाँस्दै भन्छे –“बाहिर काली, भित्र गोरी के हो ?”
दिदीले भनी– कटुस ....।
जीतको तरंगले निन्द्रा भाग्यो दिदीको ।
यसरी कथा भन्नुमा बहिनीले पचहतर प्रतिशत जानीजानी हारी । फेरि पनि दिदी झकाउन थाल्छे ।
“दिदी अब गीत नार्ने है ।” भन्दै बहिनीले सुरु गरिहाली –
“त्यो पर हेरयो सुन गजुर – पानी परेको, सम्झना हात समाई खोली तरेको ।”
“बोलौ नँ माया, ए हजुर – पानी परेको सम्झना, हात समाई खोली तरेको ।”
दिदी अलिकति लाजमा डुबुल्की मार्दै भन्छे –
“दुखिया मनलाई के खोल्नु – पानी परेको, भरङ्गै मन पारयो माया बोलेको ।”
“यो ज्यानलाई छि चाहिँ नभन्नु – पानी परेको, भरङ्गै मन पारयो माया बोलेको ।”
बहिनी नाच्दै भन्छे –
फुलेको फूलमा भमरा – पानी परेको, सम्झना हात समाई खोली तरेको ।
दिदी मक्ख पर्दै –
“झन् बोल्यो झनै मन गहिरो – पानी परेको, भरङ्गै मन पारयो माया बोलेको ।”
यसरी दिदीबहिनीको सुरिलो स्वरले जंगल थर्काउँदै गाउँसम्म छुन पुग्यो । सुन्न सक्ने प्राणी सबैले सुने । कसैले गाउँमा तर्साको अनुमान लगाए ।
दिदीको गीति प्रश्नलाई भावनाको कुँडुलोमा उत्तरका मायालु शब्द खूबै बर्साई बहिनीले । दिदीले पनि साँच्चै नै प्रेमी भई प्रेमिकाको संसारभित्र बाँहाकाटे हान्दै निन्द्रा र त्रासको छेपाराहरूलाई तछारिरही । मायै मायाको भावनामा छल्कँदै झरेका छहराहरू ठप्प रोकिन्छ खुट्टा नभएको विषैले कीराको आगमनले गर्दा । तर, त्यो नकारात्मकलाई सोझो लौरीले ड्यामसा खेलाइदिएपछि फेरि सुरु भो उही प्रेममय छल्केका कोकिलकण्ठ । दुवै मन तरंगित हुँदै गर्दा फेरि धेरै खुट्टेले व्यवधान गरयो । त्यसलाई पनि समधान गर्छन् ।
पुनः उही मीठो स्वरै स्वरको गुञ्जन गुञ्ज्यो – शून्य जंगलको विरोधी भएर । समय लामै सुरतालमा बयली खेलिरहेकै थियो । थुप्रै खुशीहरूले छोएर गैसकेका थिए दिदीबहिनीका कोमल र सुन्दर ओष्ठहरूलाई । अर्काे प्रहरलाई थन्कोबन्को गर्दै गर्दा कर्कश आवाजसँगै चारखुट्टे कीरा आइपुग्यो । र उनीहरूमाथि आक्रमण गर्ने मौका हेर्दै थियो । चारैतिर दन्किरहेको आगोको कारण आक्रमण गर्ने आँट पुगेको थिएन त्यसको ।
धेरै डराउँछन् दिदीबहिनी । कीराले पछाडि फर्केर हेरेको मौका छोपी आगोको ठूलो मुढो चलाई बहिनीले । परिणाम झिल्काको झुँवालो देखेर कीरा उफ्रेर हामफाल्यो खोस्लीतिर । कीराले हामफालैतिरै तीन–चारोटा झरिला अगुल्ठा घुइक्याइपठाए । त्यसरी नै अन्य झटारोहरू पनि चारैतिर फ्याँके । अघिदेखि कराइरहेका बाँदरहरू अहिले झनै कराउँदै छन् । सायद कीरा बाँदर बसेको पाखातिर पुगेजस्तो छ ।
आगोमा अझै दाउरा थपे । त्रासले निन्द्रालाई केही क्षण भगाए पनि फेरि फर्कन नदिन त्यसरी नै गाउन थाले । अब रात टुगिनै लाग्दै गर्दा फेरि दुई खुट्टे प्राणी आइपुग्यो दिदीबहिनीको परिस्थितिलाई अझै छिर्के लाउन । धपाउन सकेनन् त्यसलाई । निरीह भए दुई खुट्टेको अगाडि । एकोहोरो भन्दै छ दुई खुट्टे, “दिदी खाऊँ कि बहिनी खाऊँ, भित्रयाँस खाऊँ कि फलमासु खाऊँ ।”
बहिनी भने गम्दै छे – अन्तिम कवज । चेतनाले ऊसँग कसरी जोगाउला ।
“मर्न तयार बन, को पहिले मर्ने ? छिटो भन...।”
बहिनी हतारिँदै भन्छे –“हे दुई खुट्टे ! मेरो मुटु र कलजो कमुलो छ । आऊ छिटो खाऊ मलाई ।”
“होइनहोइन” दिदी अघि सर्दै भन्छे –“मलाई खाऊ म छिप्पिएको छु । मेरा सबै अंग तिक्खर छन् । त्यो सानालाई खायौ भने महापाप लाग्ने छ । त्यसले के नै पो देखेको भोगेको छ र । मैले त सुन्दर संसार हेरिसकेको छु । मधेस, पहाड, लेक, बेंसीका हिँडेर, हेरेर त्यहाँ उब्जेको खाएर परिपक्व भइसकेकी छु । मलाई खाऊ दुई खुट्टे ।”
“होइनहोइन, यो यौवनको दैलामा पुगेको दिदीलाई खायौ भने सात जुनी पार पाउने छैनौ । त्यो उमेरमा मर्नु भनेको ठूलो भूल हुनेछ । उहाँको आँगमा बूढाबूढी आमाबुबा, भाइबहिनीको भारी र जिम्मेवारी छ, तिनीहरूको वियोग महापाप हुनेछ । त्यसैले मलाई खाऊँ साँच्चै मीठो छु अस्तिसम्म आमाको लाम्टो चुसेकी छु । खुसीसित खाऊँ । तिमीसँग कुनै प्रतिरोध गर्ने छुइन ।”
दुई खुट्टे तीन छक्क पर्छ दिदीबहिनी बीचको अपार माया देखेर । एकले अर्काे बचाउने र आफू मर्न तयार छन् । यिनीहरूका मलाई खाऊ, मलाई खाऊ भन्ने समर्पित मन मलाई भुल्याउने कार्य त गरिरहको छैनन् ? मैले छिटो निर्णय गर्नुपर्छ । नत्र मेरा यति मिठो मौका जाने छ ।”
यस्तै सोच्दै दुई खुट्टेको मनमा उटपटयाङ कुरो सोच्यो र भन्यो –“ए मेरा परिकारहरू हो ! अब म प्रश्न राख्छु । जसले सटीक उत्तर दिँदैन त्यसलाई खान्छु । दुवैले नसके दुवैलाई खान्छु ।”
बहिनी रमाउँदै भन्छे – “हामी पनि एउटा प्रश्न राख्छौँ । तपाईले सन्दर्भ सहितको जवाफ दिए मात्रै हामीलाई खान पाउने छौ ।”
“हाहा ” तिमीहरू टुसे दाँतेहरूले के सोध्दछौ ? प्रश्नकर्ता परिपक्व हुनुपर्छ आमा, बुबा, गुरु र मौसमजस्तै । ल तेरो प्रस्ताव स्वीकार्य छ ।”
“माटो, पानी, हावा, घाम र आकाशको बाच्चा ?” बहिनीले हाँस्दै भनी ।
“बाच्चा ! मेरो पूर्वजको बाच्चा । यो प्रश्न दिदीलाई ! भन जीवन के हो ?”
“सुन्दर गीत ...।” दिदी अलिक अकमकिँदै भन्छे ।
“भएन ...।” दुई खुट्टे मुख मिठ्याउँदै भन्छ – “यही प्रश्न बहिनीलाई ।”
“गीत, स्वर र संगीत उपयुक्त भए लोकप्रिय गीत बन्छ...।”
बहिनी आकाशतिर हेर्दै भन्छे । दुई खुट्टे बुरुक्क उफ्रन्र्दै –“भएन...जीवनभन्दा गीत, गायन र संगीत उच्च छैनन् । जीवन सर्वैसर्वा हो ।
दोस्रो प्रश्न– जीवनको रङ्ग कतिवटा हुन्छन् ?”
दुवै बहिनी एकैस्वरले कराए –“सुख र दुःखले रंगिएको छ जीवन ।”
“फेरि गलत !” दुई खुट्टे नाच्दै बोल्छ –“जीवनका रङ्गहरू भूत, वर्त र भविष्य हुन् । धेरैले भनेका छन् जीवनपछि पनि भूत र भविष्य हुन्छन् । अब अन्तिम प्रश्न । यसको पनि उत्तर दिन सकेनौ भने इहलोकबाट विलीन हुन्छ तिमीहरूको पहिचान ...।
अब भन – “स्पर्श के हो ? माया कि पीडा?”
“स्पर्श मायै मायाको उचाइ हो ।” दुवै बहिनी एकैस्वरले भन्छन् –“मनको स्पर्श, आँखाको स्पर्श र तनको स्पर्श । आमाको स्पर्श, गुरुको स्पर्श र प्रकृतिको स्पर्श । स्पर्शमा कहाँ हुन्छ पीडा ?”
“हाहाहाहा !” दुई खुट्टे उन्मुक्त हाँस्दै –“यो पनि गलत भयो । स्पर्श माया र पीडा दुवै हो । मायाको स्पर्शको बखान गरयौ त्यो ठिक हो । तर, सिस्नुको स्पर्श, झुस्लेको स्पर्श, आगोको स्पर्श, हिउँको स्पर्श, काँडा र सर्पको स्पर्श आदिले ज्यानै जान सक्छ ।”
दिदीबहिनी घोसो मन्टो लाएर –“ठिक हजुर ।”
“त्यसो भा अब म दुवै बहिनीलाई खान सक्छु” – दुई खुट्टे भन्छ मुख, मिठ्याउँदै ।
“पख्नोस् हाम्रो प्रश्न बाँकी नै छ ।” बहिनी हाँस्दै भन्छे ।
“भोग लाग्यो...। तेरो मुटु कहिले खाउँजस्तै भा’छ । छिटो भन के प्रश्न छ?”
“धर्य गर्नाेस् । लु पर हिड्नोेस...। तल खोलाको किनारमा जाऊँ ।”
पछिपछि लाग्यो दुई खुट्टे खोलामा पुगेर बहिनी भन्छे – “लु यो बाटोको सुरु र अन्त पत्ता लगाएर आउनोस् । हामीलाई देखाउनोस् अनि हामीलाई मजाले खानोस् ।”
“भागौला म पत्ता लगाएर आइहालेँ....” भन्दै दुई खुट्टे हिड्यो ।
दुई खुट्टे गा’को गा’को भयो । बाटाको सुरु र अन्त पत्ता लगाएर फर्केन दुई खुट्टे । उज्यालो खस्यो, घाम लाग्यो । खोलाको चिप्लेटी ढुंगामा भुसुक्कै निदाई बहिनी रातभरिको जागरणले गर्दा ।
एक टँगालो घाम आइसक्यो । घाँसेले उठाउँदा पो झल्याँसै भई बहिनी । घाँसेलाई रातभरिको कथा सुनाई । सबैले भने धन्न बाँचे छौ । यो जंगलभरि छ्यापछ्यापी छन् मान्छे खाने बाघ, भालु र बन मान्छेहरू।
घाँसेलाई लिएर दिदी भएको ठाउँमा पुगी । तर, त्यहाँ दिदी थिएनन् । आगो त्यसरी नै बलिरहेको थियो । सबैतिर हेरे, कतै छैन दिदी । कुनै जनावरले बोकेको गोहोहरू पनि छैन । दसीहरू पनि छैनन् । बहिनी डाँको छोडेर रोई । माउलामा छैन । घरमा आफन्तहरूमा कतै भेटिएन दिदी । सबैले ठहर गरे बनमान्छेले खायो । यसरी दिदीको कथा यही अन्त हुन्छ ।
बहिनीको बिहे भयो । नानीहरू भए । तीखो बुद्धि हुँदाहुँदै पनि लोग्नेको सही सहायता पाएन । लोग्नेको सिकार गर्नु, माछा मार्नु, बछिम, अरिँगाल र मौरी काड्नु, च्याउ खोज्नु दिनचर्या नै थियो । उनीहरू खेती गर्दैनन्थे । कान्छी पनि जहिले पनि भुन्टे डोको बोकेर जङ्गलमा कन्दमुल खनिरहेकी हुन्थी । एक दिन खोपनमा तिस्कालाले भ्याकुर खन्दै गर्दा केही आवाज सुनी । र ठूलो ढुंगाको आड लागेर हेरी दुई जना बनमान्छे उतिरै आउँदै छन् । अनुहार देखेर छक्कै परी एउटाको अनुहार दिदीको जस्तै थियो भने अर्काेको सानोमा खान आट्ने दुई खुट्टेकोजस्तै, दुरुस्तै थियो ।
उसलाई देखेपछि दुई जनाले ऊमाथि आक्रमण गरयो । ऊ बेहोस भई ।
“आमा,बुबा ! बाहिर आउनुहोस् आज मीठो सिकार ल्याएको छौँ । लु हेर्नोस्” भन्दा झसङ्ग भएर बहिनीको होस आयो ।
“खै कस्तो सिकार बाबु हो” भन्दै ओडारबाट बाहिर निस्केका अलिक पाका दम्पतीलाई देख्दा छक्कै परी बहिनी, पुरुष त्यही दुई खुट्टे थियो भने महिला आफ्नै हराकी दिदी थिइन् ।
उसलाई देखेपछि दुई खुट्टे र दिदी छमछम नाच्न थाले । हेर्दाहेर्दै फेरि बेहोस भई बहिनी ।
बहिनीलाई फेरि होस फर्कदा त्यही भ्याकुर खनेको माटोमाथि आफैंलाई भेट्दा अचम्मै परी । इष्ट देवलाई भाकल गरी आफू जिउँदो रहेकोमा । अनि मनमनै सोची– बहिनीले त्यो दुई खुट्टे बाटोको सुरु र अन्त हेर्ने निहुँ गरेर अर्कै चोरबाटोबाट बासस्थानमा पुगी दिदीलाई लिएर श्रीमती बनाएछ र घुमन्ते जीवनमा, लोग्नेसँगै दिदी पनि मान्छे खाने राक्षस भएछिन् । आज सायद दिदीले मलाई चिनिन् होली र त छाडे राक्षसहरूले । नत्र म कसरी बाँच्न सक्थेँ नरभक्षीका मुखबाट ।
त्यो दिनदेखि कतै सुनिएन रे मान्छेले मान्छे खाको घटनाहरू ।
यो कथा सुन्नेलाई सुनको माला,
भन्नेलाई फूलको माला,
पढ्ने सबै मरेपछि वैकुण्ठ जाला ।।
प्रकाशित: २४ पुस २०७७ १०:४८ शुक्रबार