कला

पोखरामा सिनेमा हल खुले

मिडटाउन सिनेमा हल

पोखरामा सिनेमा हल खुलेका छन् । कोभिडको त्राससँगै नौ महिनादेखि हल बन्द थिए । हल खुलेपनि दर्शकको आगमन भने खासै छैन् । हलमा नयाँ फिल्म पनि छैनन् । नौ महिनादेखि बन्द रहेको मिडटाउन सरकारको सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै खोलिएको मिडटाउनका प्रबन्ध निर्देशक निकेश द्वाले जानकारी गराए ।  

मिडटाउनमा पुरानै चलचित्रलाई प्रदर्शन गर्दै हल सञ्चालनमा रहेको सर्वसाधारणलाई जानकारी गराउने अभिप्राय मात्रै रहेको द्वाले बताए । नयाँ चलचित्र बनेका छैनन् । छायाँकन समेत गरिएको छैन् । यस्तो परिस्थितिमा नयाँ फिल्म हलमा लगाएर जोखिम मोल्ने सम्भावना पनि कम रहेको उनले बताए । लगानीकर्तालाई नयाँ फिल्म चलाउँदा आईपर्ने समस्यालाई समेत ध्यान दिनुपर्ने अवस्था छ ।  

सरकारले पीडा नसुनेको र बाध्य भएर आफूहरुले हल संचालनमा ल्याएको द्वाको भनाई छ । ‘बैंकबाट ऋण लिएर हल संचालन गरियो । आज पनि फोन आइरहेको छ । सरकारले हल संचालकहरुको हकमा केही सोच्दैन । अब बैंकको किस्ता ब्याज कसरी बुझाउन,े’ उनले आफनो पीडा सुनाए ।  

उनले मनोरञ्जनको क्षेत्रमा भएका लगानीको सुरक्षामा सरकार मुकदर्शक बनेको गुनासो पोखेका छन् । सरकारले फिल्म हल बन्द गर्ने आधार स्पष्ट नपारेपछि उनले आफूहरुले अनुमति बेगर नै हल संचालन गर्न बाध्य भएको जनाए । ‘पुरानै चलचित्र देखाएर हल खुलेको सन्देश दिएका छौं,’ प्रवन्ध निर्देशक द्वाले भने । उनका अनुसार अहिले मिडटाउनमा चलचित्र ‘आमा’, ‘सेन्टिभाइर’  र अंग्रेजी चलचिल ‘इन्भिजिबल मेन’ प्रदर्शन गरिएको छ । दिउँसो १, अपरान्ह ३ः४५ र साँझ ६ बजे फिल्म प्रदर्शन गर्ने गरी हल संचालनमा आएको द्वाको भनाई थियो ।  

द्वाले रेष्टुरेण्ट, दोहोरी साँझ, क्लब खुल्दा हल संचालन हुन नपाउनु दुर्भाग्य भएको बताएका छन् । मिडटाउन संचालन नहुँदा ४५ जना कामदारको रोजीरोटीमा असर पुगेको द्वाको भनाई छ । उनले मिडटाउन सिनेमाकै कारण वरिपरिका चिया पसल पनि चलेको र उनीहरुको समेत आम्दानीमा प्रभाव परिरहेको जानकारी गराए ।  

स्वास्थ्यको मापदण्ड पुरा गर्दै भौतिक दुरी कायम राखेर एउटा सिट खाली राखेर दर्शकलाई चलचित्र हेर्ने बातावरण मिलाइएको छ । कर्मचारी र ग्राहकलाई पूर्ण सुरक्षाको वातावरणमा प्रत्याभुत हुने गरी काममा खटाइएको उनले बताए । रकम तिर्दा समेत अनलाइनका माध्यम व्यवस्थापन गरिएको र पैसा लिदादिँदा समेत सेनिटाइजरको व्यवस्थापन गरिएको द्वाले बताए । हल संचालन गरेको तीन महिना नाफा कमाउने भन्दा पनि फिल्म चलाउने वातावरण बनाउने उनले बताए । ५० प्रतिशत अकुपेन्सीमा आफूहरुले हल संचालन गरेको उनको भनाई थियो ।  

नयाँ फिल्म रिलिज हुन केही समय लाग्ने छ । महामारीका कारण पर्ख र हेरको अवस्थामा पुगेका छन् । अहिले निर्माता निर्देशक नै फिल्म रिलिज गर्न डराइरहेको अवस्था छ । हल संचालकले समेत सोच विचार गरेर फिल्म रिलिज गर्नुपर्ने अवस्थामा आफूहरु पुगेको द्वाले बताए । महामारीले सिनेक्षेत्रमा पु¥याएको असरको सामाना सबैले मिलेर गर्नुपर्ने उनको तर्क छ । ‘अब आत्तिएर केही हुनेवाला छैन । सरकारसँग अपेक्षा गर्ने बाटो पनि हरायो । अब हामी सबै मिलेर लगानी जोगाउनुपर्ने बेला आएको छ,’ उनको भनाई थियो । 

प्रकाशित: १५ पुस २०७७ ०७:४० बुधबार

सिनेमा हल