कला

नमिलेको समीकरणजस्तो जिन्दगीको कविता

पुस्तक

घर →खेत → घर= किसान

घर → कार्यालय → घर = कर्मचारी  

घर → पसल → घर = व्यापारी  

घर → पाठशाला → घर = विद्यार्थी  

...बेरोजगार

... बेरोजगार

... रिटायर्ड

...घरबुढो

...घरबुढी

झुप्रो → सडक → झुप्रो = भिखारी

...बालक

...बालिका

...हाम्रो जिन्दगी।

कुनै प्रसंगमा होला, इन्द्रबहादुर राईले जीवनबारे भनेको (एम. पथिक, इन्द्रबहादुर राई ‘अन्तरंग सवाल’, २०१७ः१२ तथा कथा उहाँकै कथा ‘खीर’) सम्झन्छु। के के नमिलेको, अडभाङ्गे, भत्कोसहरूले नछोड्ने, केही पनि भनेजस्तो नमिलेको कुराका अड्कलको योगफल मात्रै रहेछ मानव जीवन। प्रकृतिको सौन्दर्य, मानव मनका चञ्चलता, भावना र विवेकको द्वन्द्व, समसामयिकता र उथास्थिति, जीवनको तालबेतालको राग र विसंगति सबैलाई तानतुन र टालटुल गर्दै मिलाएको हरदर योगफलको हिसाब रहेछ मानवजीवन।  

म समालोचकको होइन, जसले कृतिको मिहीन विश्लेषण गर्दछ। न त म आलोचक, जसले कृतिको मिनमेख निकाल्ने काम गर्छ। पढ्दा स्वाद लागे पढ्ने पाठक मात्र हुँ। प्रकृतिप्रेमी फोटोकवि, समसामयिक विषयका काव्यिक समीक्षक र कवि ध्रुवकुमार सापकोटाको कवितासंग्रह ‘समीकरण जिन्दगीको (२०७६)’ पढेपछि मनमा उठेका तरंग चित्रित मात्र गरेको हुँ।

००७ सालमा जनक्रान्तिले जहानियाँ राणाशासनको अन्त गर्दै नेपालमा प्रजातन्त्र ल्याए पनि एक दशक पनि टिक्न नपाई निर्दलीय र निर्विकल्प पञ्चायत व्यवस्था ०१७ सालमा उदायो। मानवाधिकार र मौलिक हकले सम्पन्न स्वतन्त्र नागरिकको हुनुको अनुभूतिसम्म गर्न नपाई ३० वर्षसम्म राजाको निरंकुश र निर्विकल्प पञ्चायती शासन व्यवस्थामा आमनेपालीले बाँच्नुपर्‍यो। ०४६ सालको जनआन्दोलनले निर्विकल्प र निरंकुश राजाको शासनबाट मुक्ति दिलायो। तर दलीय स्वार्थ र राजनीतिमा मौलँदो भ्रष्टाचारका कारण एक राजाका ठाउँमा अनेक राजाको जन्म भयो। १२ वर्षसम्म हिंसात्मक द्वन्द्वमा हामीले लासहरूको दुर्गन्धका बीच भयाक्रान्त जीवन गुजार्नुपर्‍यो। यो हामी आफैँ भोगेको कटु यथार्थ हो।  

किनाराको साक्षी भुइँमान्छे (म नयाँ सडकको पीपल बोट)ले नयाँ सडकको पीपलको बोटले जस्तै नपुंसक क्रान्ति र तुहिएका राजनीतिक परिवर्तन हेर्न विवश छ। निरंकुुशताका विरुद्ध बलिदान दिएर थाकेका निरीह भुइँमान्छेको थिचिएको असहाय क्रन्दन नै कवि ध्रुवकुमार सापकोटाको कविता हो।

उखेलिए तिम्रा जहानियाँ शासनका बागडोरहरू

तर जंगबहादुर !

तिम्रा घोडाका टापहरूको आवाजले  

मेरा कान अझै बजिरहे।  

आफ्नो हितलाई मात्र प्राथमिकता दिन स्वार्थमा लिप्त मान्छे अवसरको लाभ लिनका लागि छेपाराझैँ रङ फेर्छन् (चरित्र)। सक्नेले जहाँ पनि, जे गर्दा पनि हुने भ्रष्टाचार, नातावाद र कृपावादमा डुबेका धिक्कारको पात्र जनप्रतिनिधिहरू र देशको जर्जर अवस्था र अत्यासलाग्दो स्थितिले रन्थनिएको आक्रोश नै कवि सापकोटाका कविता हुन्, (जाउँ, हिँड सुन्तली ओलाङ्चुङगोलामा)।

भो, प्रिय ! मलाई अलकत्रा खानु छैन,

अनि मट्टीतेलले कुल्ला गर्नु छैन,

म मन्त्री बन्न सक्दिनँ।  

मुलुकको राजनीति, राजनेता र शासकहरू र जनप्रतिनिधिको नैतिक अधोपतनमाथिको योभन्दा सशक्त र भयानक व्यंग्य के हुन सक्छ ?  

हाम्रा नीति–निर्मातामा व्याप्त अदूरदर्शिताले देशका कुनाकाप्चामा अवस्थित कुनै दिन नाम चलेका सहरबजार र व्यापारिक नाका र औद्योगिक सहरहरू मसानघाट भएको हामीले देखेका जानेका यथार्थ हुन्। व्यापारिक र औद्योगिक सहरहरूको मृत्यु भनेको लाखौँ मजदुर र किसानको रोजगारीको अन्त्य हुनु हो। अन्य पेसाका लाखौँ मानिसको आजीविकाको स्रोत सुक्नु हो। गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउने राजमार्ग निर्माण गर्ने काम गर्नु हो। सापकोटाका कविताले विश्वकै हरिप र सर्वहाराको साझा पीडाको यथार्थ र सजीव चित्रण गर्र्छ। चाहे हुन्, ती सबै त हेपिएका, मिचिएका र थिचिएका मजदुर तथा गरिब–गुरुवाका फोसामा पाएको श्रमको मूल्यले सुविधासम्पन्न हुन पुगेका, राजा–महाराजा, बादशाह तथा बहुराष्ट्रिय कम्पनीहरू कुलीन वर्ग नै ती मुनाफाखोर हुन्, जो सत्ताको केन्द्रमा बसेर निरोको बाँसुरी बजाइरहेका छन्। इतिहाससिद्ध छ कि मिश्रका पिरामिडमा, आग्राको ताजमहलमा वा नेपालको सिंहदरबारको भित्तामा श्रम गर्ने लाखौँ मजदुर र निमुखाका नामोनिसान छैन। कवि सापकोटाका कविता समसामियक विश्व, आफ्नो देश र वर्तमानको प्रभावशाली चित्रफलक हो (हामी त्यो देशका बासी हौँ)।

हामी त्यो देशका बासी हौँ...

जहाँ...

बाच्छाहरू हलो जोत्छन्,

भेडाहरू खेती गर्छन्

तर चितुवा बाली भित्र्याउँछ।

हामी त्यो देशका बासी हौँ...

जहाँ हुँडारहरू सिपाहीमा भर्ना हुन्छन्

स्यालहरू सिंहासनमा बस्छन्

अनि, ब्वाँसाहरू देश चलाउँछन्...

तर समयले कसैलाई भेदभाव गर्दैन। राप र ताप, शक्ति र बल अविचल स्थिर हुँदैन। कुनै वस्तु निर्विकल्प हुँदैन। यस्तो परिस्थिति पनि आउँछ, जब निर्बलता पनि सबलताभन्दा बलियो हुन्छ। ‘तिमी जून जस्ती भन्दछन् सूर्यजस्ती भन्दैनन्’। कसैले पनि ‘तिम्रो मुहार चन्द्रजस्तो भन्छन्, सूर्यजस्तो भन्दैनन्’जस्ता कवि सापकोटाको कवितामा पाइने सांकेतिक अभिव्यक्ति यस्तै परिस्थितिको द्योतक हो। भूमण्डलीकरणको युगमा उपभोक्ता संस्कृतिमा हुर्केका आजका यान्त्रिक मानिस संवेदनाहीन रोबोट हुन्। शासित, शोषित र पददलित आममानिस यन्त्रमानव बनून् भन्ने शक्तिसम्पन्न, हैकमवादी र निरंकुशहरूको इच्छा र उद्देश्य सदा हुन्छ भनिन्छ। आर्थिक साम्राज्य विस्तारमा लागिपरेका बहुराष्ट्रिय कम्पनीको प्रयत्न मानिसलाई रोबोटिक मानिसमा परिवर्तन गर्नु नै हो। रोबोटले जे भन्यो, त्यो गर्छ। संवेदनारहित रोबोटिक मानिसको स्वतन्त्र इच्छा–आकांक्षा हुँदैन (तिमी रोबोटसँग बिहा गर)। इच्छा–आकांक्षा नहुनेले स्वतन्त्रताका लागि न विद्रोह, न क्रान्ति गर्दछ। त्यसैले पहुँचमा हालिमुहाली हुने उपभोक्ता संस्कृतिका दलालले रोबोटजस्तो उपभोक्ता–मानिसको उत्पादनमा जोड दिन्छन्। उपभोक्तावादी संस्कृतिमाथि कवि सापकोटाका कविता कठोर व्यंग्य हुन्।

एकछाक अघाउन्जी खाने सपनाको सुनको मृग खेद्दै भारतका विभिन्न सहर, मलेसिया र हङकङ हुँदै खाडीका मुलुकदेखि युरोप र अमेरिकासम्म रोमाञ्चकताले भन्दा बाध्यताले नेपाली युवा जनशक्ति पुगेका छन्। र, घर–परिवारको मायाबाट विमुख र चिन्ताग्रस्त अर्काको देशको विकास र निर्माणमा जोतिने, अर्काकै देशको सीमारक्षामा ज्यान गुमाउने डायस्पोराका नेपालीको मानसिक अवस्थाको करुण र सजीव चित्र हुन् उनका कविताहरू।  

कविताको विषयवस्तु अनेक हुन्छन्। समसामयिक विषय मात्र हुँदैनन्। कवि सापकोटाका कविताले पनि दैनन्दिनको मानवजीवन र प्रकृतिसँग सन्तुलित समीकरण चराचर जगत्को हितमा हुन्छ भन्ने भाव बोकेको छ। प्रकृतिसँग द्वन्द्व होइन, सामञ्जस्य र प्रेम नै जीवन प्रवाहको सुमधुर सुन्दरता हो (फेवाताल)। ‘तिमी तिमी नै भएर बाँच, म मै भएर बाँच्छु’ सहअस्तित्व–बोधले आ–आफ्नो स्थानमा सबैले सम्मानपूर्वक बाँच्नसके मानवजीवन सहिष्णुता र सद्भावले सुन्दर र प्रेमिल हुन्छ। मानवताको पक्षमा कविको यो बोध सन्देशका रूपमा पाठकहरूलाई हो।

आधुनिकता र भूमण्डलीकरणसँगै परसंस्कृतिको महामारीको दुस्प्रभावले हाम्रा रैथाने परम्परा र संस्कृति असमयमै कालकवलित भइरहेकामा चिन्ताले पिरोलिनु संवेदनशील कविको प्रारब्ध हो। उनका कविताको विषय समसामयिक नेपाली समाजमा व्याप्त विचलन र विसंगति मात्र छैनन्, विगतका स्मृतिमा भौँतारिन्छन् (कहाँ गए ती दिन) पनि कवि। बितेका दिन उम्केका माछा हो, सबैलाई ठूलो (मूल्यवान्) लाग्दछ। बालपनको सम्झना त झन् सपनाले ल्याउने मीठो उदासीजस्तो हुन्छ। मीठो सपना देखेजस्तो रोमान्टिसिजम्को हलुका मात उनका कवितामा पाइन्छ। रैथाने प्रेमिल कोमल भाव गाउँघरका भित्तामा रातो माटोको लेपझैँ लिपिएका छन् भने मायाको पूर्वस्मृति पातलो बादल आकाशमा टाँगिए जसरी देखिन्छ उनका कवितामा।  

जीवन त नदी हो, जलको अविच्छिन्न र अविराम प्रवाह। पानी बगेर नै नदी भएको हो। जीवन्त भएर नै जीवन भएको हो। जुन क्षण यो मानव जीवनको गतिशीलता टक्क रोकिन्छ, त्यस क्षण जीवन मृत चट्टान भएर उभिनेछ। नदीमा सबै थोक बग्छन्। मेरो र त्यसको हुँदैन। लोकतान्त्रिक मूल्य–मान्यता र पद्धतिलाई पदलोलुपता र स्वार्थका लागि जर्जर बनाउने भ्रष्ट राजनेता र जनविरोधी राज्य व्यवस्थाविरुद्ध निर्णायक संघर्ष हुनुपर्ने, देशको सम्प्रभुता र स्वाभिमानप्रति संवेदनशील कविको निष्ठामा विमति जनाउने ठाउँ छैन।  

विकासको वेगसँगै प्राकृतिक स्रोत–साधनको दोहनसँगै वातावरणको विनाशले हाम्रा जनजीवन, सामाजिक र सांस्कृतिक मूल्यको विनाश पनि भइरहेछन्। हाम्रा तराई र पहाड प्वाँख उखेलिएका पन्छी भएका छन्। सुक्दै गएका खोलाहरू ढलमा परिणत हुन थाले र हाम्रा उर्वर भूमि मरुभूमि। आकाश कलकारखानाबाट उत्सर्जित धुँवाले कालो छ। हिउँविहीन पर्वतहरू काला र नांगा पहाड बन्दैछन्। पन्छीहरूको कलरव सुनिँदैन अब। मानिस र प्रकृतिबीच बढ्दो दूरीले मानवता मात्र नभएर पृथ्वीको अस्तित्व नै संकटापन्न भएको अवस्था छ। ज्ञान, विज्ञान र प्रविधिबाट मानिसले गरेका उपलब्धिभित्र आफैँलाई कैदी भएको अनुभूति गरिरहेको छ, मानिसको पीडा, छटपटाहट, पश्चाताप र तिनबाट उन्मोचन आजका कविताका विषयवस्तु हुन्। 

कविका विचारमा हामीलाई चाहिएको भौतिक समृद्धि र शक्तिसँगै आध्यात्मिक प्रेमभाव हो। शक्तिले सूर्यजस्तो प्रचण्ड सत्तामा पुर्‍याउँछ, तर मायाले जुनेलीझैँ प्रेमिल मानवताको अँगालोमा बाँध्दछ। जसरी सुन वा सुनको मृगको चाहनाले मानिसलाई लोभीपापी, छली र कपटी बनाउँछ, त्यसरी नै अपरिमित शक्तिको चाहनाले मानिसलाई क्रूर, निर्दयी र मानवताविरोधी बनाउँछ। शक्तिदेखि तर्सने तर माया र प्रेमले घनिष्ट हुने हो। हामी के पाउँछौँ भने ध्रुवकुमार सापकोटाका कवितामा दैनिक मानवजीवनको कठोर र उराठलाग्दो निरसता, माया, प्रेमप्रतिको मांसल र आत्मिक आसक्ति, प्रकृतिप्रति प्रेम र भावविह्लताको समभावको प्राचुर्य छ।

जटिल प्रयोगले कविता असुरक्षित भने पनि कवि प्रयोगधर्मिताबाट अलग हुन सक्दैन (समीकरण जिन्दगीको)। तर पनि अपवाद कविताबाहेक सरल शैली र सहज भाषामा कविता लेख्नु कवि ध्रुवकुमार सापकोटाको सामथ्र्य र विशेषता हो। सबैका पहुँचभित्र पुग्ने कलमको सामथ्र्य (कविता) तरबारभन्दा शक्तिशाली हुन्छ। त्यसैले राजनीतिक र सामाजिक चेतले जीवन्त समसामयिक विषयमा लेखिएका उनका कविता शक्तिशाली छन्। संवेदनाविहीन भौतिकतावादी जीवनको लोभीपापी मन र क्षणभंगुरता र त्यसबाट मुक्तिको भाव र समसामयिक जीवनप्रति सचेत सरोकार कवि ध्रुवकुमार सापकोटाका कवितामा गहिरो चेतनाका रूपमा विद्यमान रहेका छन्।

प्रकाशित: ११ पुस २०७७ ०३:५५ शनिबार

नमिलेको समीकरण जिन्दगीको कविता