कला

‘चलू सखी आजु रघुवर के परिछन चलू हे सखी’

विवाह–पञ्चमी

चलू सखी आजु रघुवरके परिछन चलू हे सखी

सब सखी मिलीजुली परिछन चलू हे सखी

रघुवर लागल दुवारी हे परिछन चलू हे सखी।

परिछन करय हरषि चल सजनी गे  

दुलहा अवध किशोर सजनी गे।

अर्थात् ‘हे सखीहरू, अवध किशोर राम दुलहा बनेर हाम्रो द्वारमा आउनुभएको छ। हामीहरू सबै मिलेर रघुवर रामलाई पर्सिनका लागि जाऔँ।’

उपरोक्त पङ्क्ति गाउँदै अयोध्याका राजकुमार रामचन्द्रलाई दुलहाका रूपमा जनकपुरवासीले पर्सिएर आफ्नी प्राणदुलारी राजकुमारी श्रीसीतासँग विवाह गराएको दिन हो, मार्गशीर्ष शुक्ल पञ्चमी। यस दिनलाई आज पनि विवाह पञ्चमीका नामले चिनिन्छ। पञ्चमीका दिन विवाह सम्पन्न हुने भए पनि यो पर्व सप्ताहव्यापी चल्छ र यसलाई विवाहोत्सव पर्वका रूपमा जनकपुरधाममा धुमधामका साथ मनाइन्छ। त्यसैले यस पर्वले सांस्कृतिक स्वरूप प्राप्त गरेको छ। हिन्दु समाजमा रामलाई विष्णुकै अवतार र सीतालाई लक्ष्मीकै अवतार मानी पूजाआराधना गर्ने धार्मिक परम्परा छ। तात्कालिक मिथिला राज्यकी राजकुमारी र अयोध्या राज्यका राजकुमारका बीच भएको वैवाहिक सम्बन्धको सम्झनास्वरूप आज पनि त्यस क्षेत्रमा सांस्कृतिक पर्वको आयोजना गरी मन–मस्तिष्कमा राम र सीताप्रतिको अगाध आस्थालाई प्रकट गरिन्छ। 

यो परम्पराको निरन्तरतामा कति पनि रुकावट आएको देखिँदैन। अयोध्या कहाँ पर्छ भन्ने सम्बन्धमा हाल आएर केही सन्दर्भबाहिर आएका भए पनि यस सांस्कृतिक कार्यमा भारतको अयोध्याबाट जन्ती आउने काम सदियौँदेखि चलेको छ र आज पनि त्यसले निरन्तरता पाएको छ। यस सन्दर्भले नेपाल र भारत राजनीतिक आधारमा भिन्न देश भए पनि जनस्तरमा रोजीरोटीदेखि लिएर बेटीको आदान–प्रदानसम्मको सम्बन्धलाई उजागर गरेको छ। फलस्वरूप नेपाल र भारतका जनताबीच वैवाहिक सम्बन्धहरू आज पनि यथावत गाँसिदै आइरहेका छन्। त्यसैले नेपाल र भारतको सम्बन्धलाई रोटी र बेटीको सम्बन्धका रूपमा लिइन्छ। यस सम्बन्धलाई विवाह पञ्चमीले बल पु¥याएको देखिन्छ।

पौराणिक सन्दर्भ

अयोध्याका राजकुमार राम र लक्ष्मणलाई लिएर महर्षि विश्वामित्र राजा जनकले राखेको धनुर्यज्ञमा सहभागी हुन जनकपुर गएका थिए। ठुल्ठूला वीरहरूले उचाल्न नसक्ने शिवको धनुलाई सीताले एक्लै सारेर वरपर लिपपोत गर्थिन्। यस्तै वीर पुरुष, जसले शिवको धनुमा ताँदो चढाउन सक्छ, उसैसँग जानकीको विवाह गराउने प्रतीज्ञा राजा जनकले गरेका थिए। त्यस यज्ञमा अनेकौँ राज्यका राजाले धेरै प्रयास गरे पनि शिवको धनुमा ताँदो चढाउन सकेनन्। पृथ्वी वीरशून्य भएको भन्दै जनकले गुनासो गर्न थाले। त्यसपछि विश्वामित्रको आदेशमा श्रीरामले धनु उठाएर ताँदो चढाउन खोज्दा धनु नै भाँचिन्छ। जनकको वाचाबमोजिम जानकीको विवाह रामसँग हुने निधो हुन्छ। र, अयोध्याबाट जन्ती लिएर आउन अयोध्याका राजा दशरथलाई खबर गरिन्छ।  

अयोध्याबाट जन्ती जनकपुरमा आएपछि मार्गशीर्ष अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह सम्पन्न हुन्छ। यही दिन रामका भाइहरू भरत, लक्ष्मण र शत्रुघ्नका साथ सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतिकीर्तिको पनि विवाह हुन्छ। सीतोपाख्यानमा बताइएअनुसार आश्विन पूर्णिमाका दिन शिवको धनु भाँचिएको र मार्गशीर्ष पञ्चमीका दिन राम र सीताको विवाह भएको उल्लेख छ। यही पौराणिक सन्दर्भलाई आधार बनाएर प्रत्येक वर्ष मार्गशीर्ष पञ्चमीका दिन जनकपुरमा सीता र रामको विवाह महोत्सव गर्ने प्रचलन चलेको हो भन्ने मानिन्छ।  

यो पर्व मनाउने विधि  

यो पर्व सात दिनसम्म मनाइन्छ। यसको पहिलो दिन राम र लक्ष्मणले नगरको दर्शन गरेको सम्झनास्वरूप नगरको दर्शन गरिन्छ। दोस्रो दिन फूलबारी लीला गर्ने गरिन्छ। रामचरित मानसमा बताइए अनुसार राम र सीताको पहिलो देखाभेट फूलबारीमा भएको थियो। यसैको प्रस्तुतीकरण यस दिन गरिन्छ। तेस्रो दिनका दिन धनुर्यज्ञ गरिन्छ। यो पर्व थालिएको चौथो दिन अर्थात् मार्गशीर्ष द्वितीयाका दिन भारतको अयोध्याबाट जन्ती आउँछन्। जन्ती जनकपुरधाम आइपुग्दा भव्य स्वागत गरिन्छ। ती जन्तीलाई नेपाल प्रवेश हुनासाथ मटिहानी, जलेश्वर, पिपरा आदि ठाउँमा पनि भव्य रूपमा स्वागत गर्ने परम्परा छ। जन्ती समूहमा अयोध्याका साधुसन्त र अन्य भक्तजनको उपस्थिति हुन्छ।  

यस पर्वको पाँचौँ दिन अर्थात् तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरका साधुसन्त, अयोध्याबाट आएका जन्ती र नगर प्रमुखको उपस्थितिमा शुभसाइतमा तिलकोत्सव हुन्छ। तिलकोत्सव भनेको टीकाटालो वा वाग्दान हो। पर्वको छैटौँ दिन अर्थात् चतुर्थी तिथिको सन्ध्यामा मटकोर गरिन्छ। मटकोर भन्नाले बाजागाजासहित निस्केको कन्यापक्षका महिलाको झाँकीले जनकपुरको ऐतिहासिक गंगासागरमा गई विवाहका लागि मडवा (मण्डप) बनाउन माटो ल्याउनु र त्यस माटोलाई विधि–विधानसहित जानकी मन्दिरमा भित्र्याउनु हो। 

यस अवसरमा अन्य भक्तजनको पनि उत्साहजनक रूपमा उपस्थिति रहने गर्छ। यसको सातौँ दिन अर्थात् पञ्चमीका दिन रंगभूमि मैदानमा राम र जानकीको स्वयंवर गरिन्छ। स्वयंवरका दिन राम–मन्दिरबाट रामको डोलीलाई रंगभूमि मैदान लगिन्छ भने जानकी मन्दिरबाट सीताको डोलीलाई पनि रंगभूमि मैदान लगिन्छ। त्यहाँ सीताको डोलीले रामको डोलीलाई पाँचपटक परिक्रमा गराइन्छ। त्यसपछि राम मन्दिरका महन्तले सीतालाई पुष्पहार प्रदान गर्ने र जानकी मन्दिरका महन्तले सीताका तर्फबाट रामलाई वरण गर्ने परम्परा छ।  

यसपछि रामको डोलीलाई अगाडि लगाई नगर परिक्रमा गराउँदै राम र सीताको विवाहस्थल जानकी मन्दिरमा गइन्छ। त्यसको साँझ राम र सीताको विवाह मैथिली संस्कृतिअनुसार धुमधामका साथ गरिन्छ। विवाहका सिलसिलामा मिथिला संस्कृतिअनुसार चलेका विभिन्न परम्परागत गीत पनि गाउने गरिन्छ। यसले विवाहलाई संस्कृतिमय बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यस अवसरमा कुनै युवायुवतीलाई सिँगारेर राम र सीता बनाइएको हुन्छ। विवाहमा राम अर्थात् बेहुलाको तर्फबाट राम मन्दिरका महन्त र सीता अर्थात् बेहुलीको तर्फबाट जानकी मन्दिरका महन्तले अभिभावकको भूमिका निर्वाह गरेका हुन्छन्।  

यसरी सांस्कृतिक पर्वका रूपमा लिइने विवाह पञ्चमी अर्थात् विवाहोत्सव पर्व मिथिला÷जनकपुरमा धुमधामका साथ आज पनि मनाउने गरिएको छ। त्रेतायुगीन सीता र रामको विवाहमा तात्कालिक जनकपुर र अयोध्यामा विवाहको रौनक जस्तो थियो, आज पनि त्यो रौनक उस्तै देखिन्छ। यद्यपि तात्कालिक अवस्थामा त्यो विवाहले यथार्थलाई प्रस्तुत गरेको थियो भने आज त्यसले विवाहको सांस्कृतिक स्वरूपलाई वरण गरेको छ। त्यसैले यो पर्व मिथिला/जनकपुर र अयोध्याको सांस्कृतिक सम्बन्धको प्रतीक बनेर रहेको छ।

त्रेतायुगीन सीता र रामको विवाहमा तात्कालिक जनकपुर र अयोध्यामा विवाहको रौनक जस्तो थियो, आज पनि त्यो रौनक उस्तै देखिन्छ। यद्यपि तात्कालिक अवस्थामा त्यो विवाहले यथार्थलाई प्रस्तुत गरेको थियो भने आज त्यसले विवाहको सांस्कृतिक स्वरूपलाई वरण गरेको छ। त्यसैले यो पर्व मिथिला÷जनकपुर र अयोध्याको सांस्कृतिक सम्बन्धको प्रतीक बनेर रहेको छ।

प्रकाशित: ४ पुस २०७७ ०४:३४ शनिबार

विवाह–पञ्चमी