कला

मोनालिसाको नेपाल भ्रमण

कलाकार स्वयं पथ–प्रदर्शक बने। मोनालिसा नेवार वेशभूषाका साथ तयार भइन्। दुवै नाउमा सवार भए। रमाइलो घुमघाम भयो। झन्डै यस्तै वर्णन भएझैँ इसान परियारले एक सुन्दर चित्र बनाएका छन्। यस्तो लाग्छ, मोनालिसा इटालीको फ्लोरेन्सबाट नेपाल भ्रमणका लागि आएकी छन्। लकडाउनमा बनेको यो उनको चित्र सामान्य लाग्दैन। अलिकता कोभिड–१९ को महामारी, यसले थलथलो पारेको विश्वका मानिसको मनस्थिति (यसैबाट कलाकारमा उब्जेको भाव), यसै वर्ष सरकारले घोषणा गरेको पर्यटन–वर्ष, करिबन २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने योजना, अर्थात् यो सन्दर्भलाई आफ्ना चित्रमा घुसाउने उपक्रमले पनि यो चित्रमा थोरै भूमिका खेलेको थियो।  

यसैबखत थोरै नयाँ ढंगको कला–प्रस्तुति गर्ने लालसा अर्थात् ‘कन्सेप्चुअल आर्ट’ वा थोरै ‘कन्टेसचुअल आर्ट’को वरिपरि पनि बसेर यो चित्रको निमार्ण गर्नु थियो। यही समग्रको प्रतिफलका रूपमा उनका यो काम बन्न गएको हो। उनको कलालाई कन्सेप्चुअल कलाको सर्वांगमा अँगाल्ने सन्दर्भ त देखिँदैन, तर थोरै यसैको अवधारणालाई च्याप्ने उपक्रम भने उनको कलामा देखापरेको छ। यथार्थपरक बनेको उनको चित्रमा अलि अप्ठेरो पाराले मोनालिसासँग आफू पनि बाँसुरी बजाइबसेको दृश्य छ। यसअघि बनाएको उनको अर्को मोनालिसाको चित्रमा नेवारी हाकुपटासी वेशभूषाका साथ नेपाली मोनालिसा नमस्तेको पोजमा विदेशी पर्यटकलाई स्वागत गर्न बसेकी छन्। 

कलाकारले यो चित्र कहिले पनि बेचेनन् भन्ने गरिन्छ। उनले यो चित्रलाई यति मन पराउँथे कि आफ्नो सयन कक्षमा आफू यसो ढल्कँदा आँखा पर्ने गरी झुन्ड्याएका थिए भनिन्छ। पछि यो चित्र तत्कालीन राजाको चासोको विषय थियो र कहिले कहाँ कहिले कहाँ झुन्ड्याउँदै हाल यो चित्र पेरिसको लुभ्रेको संग्रहालयमा बुलेटफ्रुफभित्र प्रदर्शित छ।

नेपाली पर्यटन वर्षलाई सफल पार्न उनको ख्यातिप्राप्त मोनालिसालाई एक पात्रको रूपमा प्रयोग गर्ने सोच थोरै पप–आर्टको सानो अंशसँग पनि जोडिएको छ। पप आर्टको कुरा पछि उठाउला।

यसअघि नै अग्रज कलाकार मनोजबाबु मिश्रले बनाएको मोनालिसाको चित्रबाट उनी साह्रै प्रभावित भएका थिए। अलिकति अग्रजलाई सम्मान र स्वभावतः अग्रजबाट प्रभावित भएर उनले पनि आफ्नै ढंगले मोनालिसालाई आफ्नो क्यानभासमा झारेका थिए। मूलतः इसान भर्खरकै युवा छन्। तथापि शिल्प–दक्षतामा उनको गहकिलो पकड छ। नयाँ कुरा गर्ने चाह पनि उनीसँग भरमार छ। उनले यता केही वर्षदेखि नेपाल मात्र होइन, विदेशमा समेत थुप्रै अन्तर्राष्ट्रिय कलाका कार्यशाला, रेसिडेन्सीमा भाग लिइसकेका छन्। समसामयिक कलाको पनि उपविधा उत्तर–आधुनिक कला यसैको उपविधा पर्पmमेन्स अनि इन्स्टलेसन कलामा राम्रो दख्खल दिँदै आएका इसानका कला समसामकीय सवालमा बन्ने गर्छन्। यो मोनालिसाका सिरिजमा काम गर्न थालेको उनले सन् २०१८ देखि हो।

मनुजबाबुले भने इसानभन्दा धेरैअगाडि आफ्नो क्यानभासमा मोनालिसालाई प्रवेश गराइसकेका थिए। मोनालिसालाई आफ्ना दुलही बनाई आफू स्वयं दुलाहा बनी पन्चेबाजाका साथ नाउमा बसी बिहे गरेको उनको यो चित्र यहाँ मात्र होइन, विदेशमा समेत चर्चा चलेको थियो। हतारमा गरिएजस्तो देखिने यो चित्रमा नाटकीयता यथेष्ट मात्रामा पाइन्छ। प्यारोडीको भाव, भावना र रोमान्टिक वातावरणको आभास पनि पाइन्छ। वस्तुतः यो चित्रमा नाउमा सवार मोनालिसालाई छाताले ओडाइदिएको दृश्य अङ्कित छ। स्वैरकाल्पनिक रूपमा गरिएको यो चित्रमा आफ्नै अनुहारलाई कलाकारले टाँसेका छन्। हुन त उनको आफ्नै मुहारसँग खेल्ने स्वभाव पहिलेदेखि नै छ। र, सम्भवतः किसिम–किसिमका आफ्नै मुहारलाई उनले आफ्नो क्यानभासमा सयौँपल्ट चित्रित गरिसके होलान्। यसरी आफ्नै यत्रो विघ्न मुहार चित्रलाई चित्रपटमा पर्दार्पण गराउने नेपालमा अन्य समसामयिक कलाकार देखिँदैनन्। मूलतः उनको यो चित्र बेलायतको एक कला दीर्घामा प्रदर्शित भएको थियो। मनुजबाबु मिश्र नेपाली आधुनिककलाको शुभारम्भका बेला एउटा बलियो स्तम्भ पनि हुन्। नेपालमा सन् ६० को दशकमा शुभारम्भ भएको आधुनिक कलाको दौडमा उनी आफ्ना अन्य समकालीन कलाकारभन्दा अलग्गै स्वैरकाल्पनिक चित्र बनाएर अग्र स्थानमा रहन्थे। उनी समसामयिक कन्टेस्टलाई नजिकबाट नियाली आफ्नो प्रतिक्रियालाई व्यक्त गर्ने खालका कलाकार थिए। 

यसर्थ त्यसैबेला पनि उनका यस्ता चित्रले नेपालको समसामयिक कलाको इतिहासमा एक पृथक् आयाम खडा गरेको थियो। मिथको अद्भुत विम्ब उग्र रूपमा प्रयोग हुने उनका पात्र डरलाग्दा र भयावह हुने गर्दथे। सबैभन्दा उनको महत्वपूर्ण विशेषता भनेको तत्कालीन कन्टेस्ट हो। यसमा आफ्नो खरो प्रतिक्रिया दिन सक्ने जागरुक, क्रियाशील कलाकारको रूपमा उनलाई चिनिन्छ। अध्ययनशील मनुजबाबु मिश्र राम्रा निबन्धकार पनि हुन्। र उनले मोनालिसाकै बारेमा धेरैपल्ट लेखिसकेका छन्। विश्वमै प्रसिद्धि पाइसकेको मोनालिसाको चित्रले उनलाई कसरी छोयो, उनका मनमा यस्ता विचार कसरी बग्यो, अहिले हामी बुझ्न सक्तैनौ किनकि उनी आज हामीबीच छैनन्। तथापि आजका युवा कलाकारझैँ समसामयिकतालाई बुझ्न र सोही अनुसार आफ्नो कलामार्फत प्रस्तुति दिन सक्ने शक्तिशाली, गतिशील उनका रेखा र रङहरू आजको सन्दर्भमा पनि ताजै लाग्छ। संयोग मिलेको सन्दर्भ भनेको चाहिँ जोडी बनाउने, नाउ र आफू पनि समावेश हुने प्रक्रिया इसानसँग ठ्याक्कै मिल्दा सम्भवतः यसलाई काकताली नै भन्न पर्छ।  

उत्तर आधुनिक कलाको प्रयोक्ता मनिषलालले पनि एक अलग्गै पाराले मोनालिसालाई चित्रित गरे। उनले भने बग्रेल्ती बिन्दु थुपारेर थोरै नौलो टेक्निकबाट मोनालिसालाई व्यक्ति चित्रका रूपमा आफ्ना क्यानभासमा उतारे। झट्ट हेर्दा क्यानभासभरि बग्रेल्ती बिन्दु सलबलाएको मात्र देखिने उनको चित्र क्यामेरामा हेर्दा भने सग्लो देखिन्थ्यो। यो एउटा प्रविधिले उनको यो मोनालिसाको चित्र चर्चामा ल्याएको थियो। तर, यसमाथिको उनको विचार वा भाव केही देखिँदैन। अर्थात् उनले विचारलाई बुनेका छैनन् र उनको विशेष जोड भनेको प्रविधिमा गाँसिएको छ। उनको मोनालिसा हेर्दा यस्तै लाग्छ। उत्तर आधुनिक कलाको अर्को प्रखर प्रयोक्ता सुनील सिग्देलले गहिरो अवधारणाका साथ मोनालिसालाई आफ्ना क्यानभासमा ओरालेका छन्। सम्भवतः हालसम्म नेपालमा देखिएका यस्ता काममा सबैभन्दा उत्कृष्टमध्येको एक भन्नुपर्ने हुन्छ। अर्कोतर्फ विश्व बजारमा नेपाली कलालाई समेत समसामयिक धारामार्फत उजिल्याउने काम यिनले गरेका छन्। नेपाल बाहिर समेत नाम कमाइसकेका उनका धेरै काम छन्। 

नेपालको समसामयिक कलाको उत्तरआधुनिक काल खण्डको शुभारम्भको कला कार्यशाला कक्सिङ द नेचर (सन् २००३) मा ‘सिँढीमा मान्छे’ र ‘गेटमा कात्रो’ नामक काममा त्यसैबेला प्रशस्त चर्चा कमाइसकेका थिए। यसैको निरन्तरतामा अझ अन्तर्राष्ट्रिय राजनीतिक मुद्दामा समेत प्रवेश गरी सुनील झन्डै दुई दशकदेखि यसै प्रवृत्तिका काममा दत्तचित्त भएर लागिपरेका छन्। अतिसूक्ष्म रेखालाई खेलाउन सक्ने शिल्प दक्षताले खारिएका सुनीलमा नेपाली परम्परागत चित्रको पनि यथेष्ट ज्ञान र सीप छ। यसर्थ दुवैलाई समिश्रणमा प्रस्तुत गर्ने कलाकारका रूपमा चिनिन्छन्। आफ्नो राष्ट्रको एक अलग्गै पहिचानका साथ गहन अवधारणा उनका कलामा समाहित हुने गर्छ। सोझो रूपमा मोनालिसाको चित्र अंकित छैन, पछाडि पृष्ठभूमिमा हाम्रो परम्परागत पौभा चित्र अति गुणस्तरको रूपमा देखिन्छन्।  

अग्रभागमा मोनालिसाको व्यक्तिचित्र र उनैको अनुहारमा परम्परागत शैलीमा नेपाली देवीको मुहारलाई समेत अंकित गरिएको छ। यो चित्रमा सशरीर, आसन, वेशभूषा, मुद्रा समेत नेपाली देवीको पहिरनमा दृश्यावलोकन हुन्छ। बाह्य–दृश्यमा आकर्षण लाग्ने र बाह्य–चक्षुले समेत सहजै पहिचान गर्न सक्ने उनको काममा अवधारणा अझ गहन पाराले देखापरेको छ। उनले मोनालिसालाई पश्चिमका देवीको रूपमा चित्रित गरेका छन्। नेपाली देवीचाहिँ उनै मोनालिसाको अनुहारभित्र समावेश भएको देखिन्छ। यता हाम्रा देवीहरूभित्र ‘इनर्जेटिक पावर’ यथेष्ट मात्रामा रहेको तर बाहिर हेर्दा शान्त रहने परिदृश्यलाई प्रस्तुत गर्ने उनको मूल अभीष्ट हो। यो चित्रको नाम उनले ‘मेटामोर्फोसिस अफ साइलेन्स’ राखे। यसको साइज पनि ठूलो छ, १८० सेन्टिमिटर बाइ १२० सेन्टिमिटर। उनले यो चित्र २०१८ मा बनाएका हुन्।  

यसबाहेक मोनालिसाको अनुहारलाई सृजन राजभण्डारीले पनि आफ्नो क्यानभासमा ओरालेका छन्। ‘सुपर रियालिस्टिक’ काममा माहिर मानिने सृजन राजभण्डारीले अति घतलाग्दो पाराले नेपाली चर्खा कातिरहेकी बुढी महिलाको साथमा मोनालिसालाई चित्रित गरेका छन्। मूलतः उनी यसबखत चर्खा सिरिजमा काम गरिरहेका थिए। चर्खा सिरिज परम्परादेखि घरेलु प्रविधिमा धागो कात्दै आएको चित्रमार्फत प्रस्तुत भएको छ। थुप्रो क्यानभासलाई अस्वाभाविक तरिकाले जोड्दै समग्रमा अलि विहङ्गम देखिने उनको चित्र जापानको एक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा समेत छनोट भएको थियो। मूलतः अति सूक्ष्म रेखासँग खेल्न सक्ने, महिनौँ लगाएर चित्र सिर्जनामा रमाउन सक्ने सृजन स–साना रौँहरूलाई अनुशासनबद्ध बनाएर चित्र बनाउने गर्छन्। 

नेवारी संस्कारसँग नजिक रहेका सृजनले यो चित्रलाई पनि नेपाली परम्परा घरेलु व्यवसायको संस्कारसँग गाँस्ने काम गरेका थिए। मूलतः ‘हबिब आर्ट फाउन्डेसन’ले मोनालिसा कृति जन्मिएको पाँच सय वर्षको उपलक्ष्यमा विश्वभरिका कलाकारलाई मोनालिसामाथि चित्र बनाउन आह्वान गरेका थिए। यो कार्यक्रमका लागि नेपालबाट दुई कलाकार मनुजबाबु मिश्र र सृजन राजभण्डारीले आ–आफ्नै ढंगले मोनालिसालाई पुनव्र्याख्याका साथ प्रयोग गरी अनुपम चित्र बनाएका थिए। आह्वान आयो, उनलाई बनाउन भनियो र धेरै मिहिनेत गरेर सृजनले चित्र बनाए। तर, उनले यसलाई निरन्तरता दिएनन्। उनले मोनालिसाकै अर्को चित्र भने फेरि बनाएनन्।  

मनुजबाबुलाई के आकर्षणले छोयो घरीघरी मोनालिसालाई किसिम किसिमका पात्रको रूपमा आफ्ना क्यानभासमा उतारिरहे। कतिवटा बनाए, यो एक अलग्गै खोजीको विषय छ।  

बेग्लै पारामा मोनालिसाको चित्र बनाउने अन्य कलाकारभन्दा सर्वथा पृथक् पाराले आशा डंगोलले आफ्ना क्यानभासमा मोनालिसालाई झारे। अचम्मको सन्दर्भ भनेको उनले थोरै मोनालिसा र थोरै आफ्नै श्रीमती एरिनाको अनुहारलाई गाँसेर चित्र बनाए। र, चित्रपटको वरिपरिको भागमा चारैतिर मोटरसाइकल राखेर पोलुसनको स्थितिलाई जताउन खोजे। यही पोलुसनको वातावरणलाई र यसले प्रभाव पारेको मोनालिसा भन्ने सन्दर्भमा बुझ्न भावकलाई पनि आग्रह गरे। उनले यो चित्रको नाम पनि ‘एरिनालिसा’ राखे।  

रसना वज्राचार्यले अझ अर्कै पाराले मोनालिसालाई आफ्नो क्यानभासमा उतारेका छन्। मोनालिसाको रहस्यमय मुस्कानको पत्तै नलागेको अवस्थासँग क्यान्सर कसरी निको हुन्छ पत्तै नलागेको समान स्थितिलाई तुलना गर्दै यथार्थ रूपमा मोनालिसालाई चित्रित गरे। दुरुस्तै मोनालिसाजस्तो देखिने यो चित्रमा शिरमा एउटा पनि केस देखाइएको छैन। टाउकोमा केश नहुनु सम्भवतः क्यान्सर रोगको सूचक होला। यस्तै प्रकारले सुवास क्षितिज श्रेष्ठले स्वैरकाल्पनिक स्वरूपमा मोनालिसालाई प्रकृतिसँग तुलना गर्दै आफ्ना क्यानभासमा ओरालेका छन्। नेपालमा झैँ विश्वमा सयौँ कलाकारबाट मोनालिसाका यस्ता चित्र विविध पोजमा सम्भवतः सयौँ मात्रामा उतारिएका छन्।  

कन्सेप्चुअल कला  

कलाविद् जोन स्कुल कन्सेप्चुअल आर्टको विषयमा यसरी धारणा पोख्छन्– कलासँग जहिले पनि एक विचार हुन्छ, सामान्यतः भौतिक वस्तुले नै विचारको जन्म दिन्छ। जब कलाकारले दोस्रो या तेस्रो आयामिक रूपमा आफ्ना कलालाई प्रस्तुत गर्छ। उसको मस्तिष्कमा जे घटित हुन्छ, रूप यसैको व्याख्या हो। यही विचार नै अवधारण (कन्सेप्ट) हो। कन्सेप्चुअल कलाकोे तरंग उठ्न थालेको भनेको माने (१८३२–१८८३) र मार्सल डुचेम्पको (१८८७–१९६८) बेलादेखि हो।  

मानेले सन् १८६३ मा ‘तृणमाथिको भोजन’ नामक चित्र बनाए। जसमा बाह्य वातावरणमा दुई सवस्त्र पुरुषबीच दुई महिलालाई सर्वांग वस्त्रहीन रूपमा चित्रण गरिएको थियो। यसअघि यसरी कलाकारका विचार स्पष्ट रूपमा आउन सकिरहेको थिएन। लाए–अह्राएको काम गर्ने वा कल्पनामा बढी कुद्ने कलाकारको स्वभाव थियो। वस्तुतः त्यसबखत कलाकारलाई कमिसन वर्कले बढी थिचेको थियो। तत्कालीन फ्रान्स सरकारको कलालाई हेर्ने निकाय ‘सालोन’को शास्त्रीय कलाको नियमभन्दा पर जान कलाकार चाहँदैनथे। यस्तो बखतमा बनेको मानेको यो चित्रले तत्कालीन समाजमा खैलाबैला मच्चाएको थियो। जुन चित्रका कारण समाजमा, कलाकारबीचमा नयाँ तरंग मात्र ल्याएन, यसले आधुनिक कलाको लागि ढोका पनि खोलिदियो। यो चित्रभित्र नारीलाई हेर्ने उनको दृष्टिकोण र विचार वा तत्कालीन समाजमाथिको अवस्थालाई तीतो कटाक्ष पनि थियो। विचारको वीजारोपणको रूपमा देखापरेको यो चित्र परोक्ष रूपमा भए पनि परम्पराभन्दा अलग्गै थियो।  

डुचेम्पले जब सन् १९१७ मा फाउन्टेन नामक काम गरे (यसलाई मूर्ति वा चित्र भन्ने प्रचलन छैन)। सम्भवतः त्यसबेला यो अचम्मको कलाको रूपमा प्रस्तुत भएको थियो। डुचेम्पले एक सग्लो रूपमा बजारबाट किनेर ल्याएको युरिनल प्यान प्रदर्शन कक्षमा राखे। यो युरिनल प्यानमा उनले कम्पनीको नाम मात्र थप लेखे। र, यसैमार्फत आफ्ना विचार पोखे। सम्भवतः यसैबेलादेखि कलाकारका विचारलाई देखिने गरी कलामा गतिलो प्रकारले घुसाउने परम्परा सुरु भयो। अझ उनको भनाइ यहाँसम्म देखापर्‍यो कि प्रकृतिले सबै कुरा बनाइदिएको छ, कलाकारको काम भनेको यसैमा केही थपथाप गर्नु मात्र हो। यसैबेला उनले ‘रेडिमेन्ट एप्रोच’लाई स्थापित गरे। जसको आधारमा यो उनको काम बन्न गएको थियो। यसैलाई निरन्तरता दिँदै मोनालिसाको सग्लो चित्र अचम्मको रूपमा देखापरेको हो। यसैको सेरोफेरोमा पाँच सय वर्षदेखि नै चर्चामा रहेको र पछि अझ चर्चाको उत्कर्षमा पुगेको मोनालिसाको प्रिन्टलाई सन् १९१९ मा सर्वप्रथम मार्सल डुच्याम्पले प्रयोग गरे। 

जसको नाम एलएचओओक्यू राखे। यो कन्सेप्चुयल आर्ट टर्मलाई क्वाइन गरेको सन् १९६० मा अमेरिकन फिलोसफर, संगीतकार, राइटर एक्टिभिस्ट हेनरी फाइन्ट (१९४०) ले हो। यो कलाको आन्दोलनले कला सिर्जना गर्दा शिल्प दक्षता चाहिन्छ कि चाहिँदैन भन्ने अहं मुद्दालाई उठाइएको थियो। अर्थात् यो अवधारणाको दह्रो विश्वासमा कला निर्माणका लागि शिल्प दक्षता हुन आवश्यक छैन भन्ने तर्क यिनीहरूको थियो। क्यानभासभरि अक्षरहरूको भरमार प्रयोग, कहिले बनिबनाउ वस्तुमाथि आफ्नो एक अलग्गै समसामयिक विचारलाई प्रस्तुत गर्नु आदिले कैयौँ ठाउँमा कला शिल्पको आवश्यकता नै थिएन। मूलतः कन्सेप्चुअल कला विचार र प्रक्रियासँग आबद्ध भएर देखापरेको थियो। यसले स्पेस र समयलाई महत्वका साथ केन्द्रमा राख्ने प्रयास गर्‍यो।  

विचार मानिसमा उमेर हेरेर आउँदैन। जुनसुकै बेला आउन र यसको प्रयोग हुन सक्छ। तथापि अनौपचारिक रूपमा गरिएको वा भएको सन्दर्भलाई सोचीबुझी विशेष अर्थका साथ प्रयोग गर्नु अर्कै कुरा हो। विश्वमा यस्तो विचारको औपचारिक रूपमै प्रयोग भएको ६० को दशकको उत्तरकालमा हो। यो कलाको स्वरूप औपचारिक रूपमा नेपाल पसेको भने सन् २००३ पछि हो। अहिले नेपालमै पनि प्रायः हरेकजसो युवा कलाकारले यसलाई प्रयोग र अभ्यास गर्न रुचाउँछन्।  

रेडिमेन्ट एप्रोच  

रेडिमेन्ट एप्रोच डुचेम्पले सन् १९१७ प्रतिपादित गरेका हुन्। विश्वमै विकसित भएको उत्तर आधुनिक प्रवृत्तिको मूल स्रोतको रूपमा डुचेम्पको यही अवधारणा, सिद्धान्तलाई अगाडि सारिन्छ। बनिबनाउ वस्तुलाई पुनः कलाको एक मूल पात्रका रूपमा ल्याउने यो एप्रोचको सन्दर्भ अहिले नेपालमै भइरहेको उत्तरआधुनिक कुनै पनि कलामा देख्न सकिन्छ। यो रेडिमेन्ट एप्रोचका तीन महत्वपूर्ण सिद्धान्त छन्। पहिलो, वस्तुतः व्यक्तिगत विचारको छनोट नै एक सिर्जनात्मक कला हो। दोस्रो, कुनै वस्तुको उपयोगी तत्वलाई बदर गरेपछि यो एक कला बन्छ। तेस्रो, यसको प्रस्तुति र त्यही वस्तुमा केही थप्ने प्रक्रियामा एउटा नयाँ विचार दिन्छ। यसबाट एक नयाँ अर्थ निस्कन्छ। सम्भवतः यही कलाका सिद्धान्तले इसाको ६० को दशकपछि कलाकारले औपचारिक घोषणा नै गरेर अनेक स्वरूपका कला निर्माण गरे। विश्वको सन्दर्भमा आज यस्ता कला समसामयिक कलाको मूलस्वरूप बन्न गएको छ।  

भिन्चीको मोनालिसा 

सक्कली मोनालिसा भनेको एक महिलाको व्यक्तिचित्रको सन्दर्भ हो। लियोनार्दो दा भिन्चीले यो चित्र सन् १५०३ देखि १५१६ को बीचमा सिर्जना गरेको विद्वान्ले आकलन गरेका छन्, कसैकसैले भिन्चीले सन् १५०० बाट सुरु गरेर १५०४ मा सकेका थिए पनि भन्छन्। कला जगत्मा यो चित्रको जस्तै चर्चा सायदै कुनै अन्य चित्रको चर्चा भएको होला। यसैले पनि यसबारे विद्वान्ले किसिम किसिमका अड्कलबाजी गरेका छन्। मोनालिसा, फ्रान्सिस्को डेल जिओकोन्डोकी श्रीमती थिइन्। यसैले यो चित्रलाई ला जिओकोन्डो भन्ने पनि गरिन्छ। ७७ गुणा ५३ सिएमको साइजमा काठको फ्लेकमाथि तेल रङले यो चित्र बनेको छ। यो चित्र रहस्यमयी छ। र, अलग्गै प्रकारको आकर्षण छ यसमा। मोनालिसाको मुस्कान नै यसको मूल विशेषता हो। रोए जस्तो, अलिकता हाँसेजस्तो वा एउटा कोणबाट हेरे एक किसिमको, अर्को काणबाट हेरे अर्कैजस्तो देखिने भनी यो चित्रलाई विश्वका धेरै कलाविद्ले व्याख्या–विश्लेषण गरेका छन्। मूलतः कलाविद्, कला–समीक्षकले उनको ओठको कुनामा कलाकारको शक्तिशाली तुलिकाघातलाई केन्द्रमा राखेर यो चित्रको विश्लेषण गर्ने गर्छन्। कलाकारले यो चित्र कहिले पनि बेचेनन् भन्ने गरिन्छ। उनले यो चित्रलाई यति मन पराउँथे कि आफ्नो सयन कक्षमा आफू यसो ढल्कँदा आँखा पर्ने गरी झुन्ड्याएका थिए भनिन्छ। पछि यो चित्र तत्कालीन राजाको चासोको विषय थियो र कहिले कहाँ कहिले कहाँ झुन्ड्याउँदै हाल यो चित्र पेरिसको लुभ्रेको संग्रहालयमा बुलेटफ्रुफभित्र प्रदर्शित छ।  

मोनालिसाको सन्दर्भ किन ?  

भिन्चीको मोनालिसा पुनः अर्कै सिर्जनाको मूल पात्र बन्नुको सन्दर्भ के हो ? अलिकता इतिहासलाई हेरौँ। विश्वमा ४०–५० को दशकमा आधुनिककलाको चरम उत्कर्षमा पुगेको अमूर्त अभिव्यञ्जना आफैँ पनि पुरानो भइसकेको थियो। अभिव्यञ्जना र अमूर्तताको समिश्रणको प्रसंग पनि पुरानो भइसकेको थियो। यसर्थ, यसबेला कलाकार भावनाबाट विमुख भए र अझ नयाँ गन्तव्य खोज्ने क्रममा थिए। भावना र अभिव्यक्तिबाट थप नौलो कुरा उपार्जन गर्न कलाकार लागिपरे। प्रयोग गर्न हुने÷नहुने रङ ठूलो क्यानभासमा छर्दै खन्याउँदै सयौँ रङका धारा बन्दै र खप्टदै अजंगको क्यानभासमा जता पायो उतै पोखिँदा, पोखाउँदा ‘एक्सन पेन्टिङ’को विकास भयो। मात्र रंगको आन्तरिक गुणस्तर खोज्ने क्रममा ‘कलर फिल्ड पेन्टिङ’ विकास भयो। रूपहरूलाई मिलाएर संयोजन र संगठन गरिनुपर्ने कलाको सामान्य सिद्धान्तलाई पछार्दै रूप र आकार क्यानभासको पछाडि पनि छ कि जस्तो देखिँदा ‘हार्डएज पेन्टिङ’ प्रारम्भ भयो। 

आँखालाई मात्र तिर्मिराउने गरी हेरिरहन नसकिने, हेरिरहँदा चित्र आफैँ चलायमान हुने रेखाहरूको भरमारको प्रयोगका साथ ‘अप आर्ट’ विकास भयो। यी सबै प्रयोग धेरै कालसम्म चलेनन् र यसैबेला समाजमा चरम चर्चामा रहेको व्यक्ति, घटना र वस्तुलाई मूल पात्रमा ल्याउने क्रमका साथ पप कलाको पनि विकास भयो। मोनालिसाको पुनप्र्रयोग, पुनव्र्याख्या आदि यसैबेला सबैभन्दा चर्चा रहेको वस्तुको रूपमा प्रयोग भयो। सम्भवतः विश्वभरि र नेपालमा पनि मोनालिसाको पुनप्र्रयोगको अभ्यास यसैकारण भएको हुनुपर्छ।  

(लेखक कलाकार तथा कला समीक्षक हुन्।) 

प्रकाशित: ४ पुस २०७७ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App