चन्द्र मादेन आन्छन
पहिले उनीहरूले
आदिवासी मङ्गोलहरूलाई
सदियौंदेखिको राज्य विच्छिन्न पारी कुण्ठित बनाए
म मौन रहे
किनकि म समावेशी चाहने
म मात्रै मानव थिएँ
उनीहरूले जुगौदेखिको
भूमि खोसी ताम्रपत्र र लालमोहर तोडे
म मौन बसे
किनकि एकाधिकार भावना
मेरो थिएन
त्यसैले केके गर्छौ
नियालिरहेको थिएँ
उनीहरूले पुनः
भाषा, लिपि,धर्म, संस्कार
अनि संस्कृतिमै प्रतिबन्ध लगाए
म मौन रहे
किनकि सबैले फुल्न र मौलाउनुपर्छ
भन्ने मेरो धारणा
सबैमा खुला किताबझैं दिएको थिएँ
फेरि उनीहरूले
नातावाद, नश्लीय एकल जातिवादले
तलमाथि, कुना भित्ता सबै भरे
तर, साम्प्रदायिकको विल्ला हामीलाई लगाए
म मौन बसे
किनकी म नाताविहीन
निरीह वृहस्पति थिएँ
उनीहरूले विश्वलाई चिनाउदै
भ्रष्टाचार र विकृतिलाई देशै
कालो रङले पोते
आफूचाहिं राजसी
अधिनायक भएर बसिरहे
म मौन बसे
किनकि लाज र सरमले
पानीपानी भएर शिर निहुराएको थिए
उनीहरूले गरिवको घर आगो लगाए
किसानको हलो खोसे
लङ्गडाको वैशाखी खोसे
भाषण नारा चिप्ला र गुलिया दिए
म मौन वसे
किनकि जनताहरू उस्का कुटिल भाषणले
किंकर्तव्यविमूढ भएका थिए
उनीहरूले कोरोना प्रकोप
भूकम्प, बाढीपहिरो
सबैमा सुनौलो अवसर देखे
पीडितहरू जिउँदै जले, मरे
म मौन बसे
किनकि पहुँच पदमा
उनीहरू नै थिए
उनीहरूले हत्या, हिंसा र बलात्कार सबै गरे
सजाय दोषचाहिं
निरपराधी र निरीहले पाए
म मौन बसे
किनकि सत्ता र शक्ति उसकै थिए ।
फेरि उनीहरू
विदेशी दलाल
साम्राज्यवादी विस्तारवादी
सबैको अपवित्र पुच्छर बने
देशको सिमानाको कद घटाए
म मौन बने
किनकि म सामर्थ्यविहीन थिएँ
उनीहरूले मुलुकलाई आज
कहालीलाग्दो खोक्रो कङ्गाल बनाएको छ
अत्याचारको ज्वालामुखी बाँध फुटेको छ
अन्यायको पराकाष्ठा नागिसकेको छ
त्यसैले अब भने म मौन बस्ने छुइनँ
मेरो मन बेचैन र विक्षिप्त भएको छ
एक मुठी सास र एक थोपा रगत भएसम्म
निर्भिकताका साथ डटिरहनेछु
मेरो प्राणभन्दा प्यारो
नेपाली माटोलाई दिनेछु ।
प्रकाशित: १ पुस २०७७ ०६:५५ बुधबार