सिएल असीम
पुस्तकालय ज्ञानको स्रोत हो । यसमा विविध विषयका थरीथरी पाठ्य,दृश्य,श्रव्य सामग्री सङ्कलन गरिन्छ । यी सामग्री सबैका साझा हुन्छन् । इच्छा हुने र आवश्यकता पर्ने जो कसैले पुस्तकालयमा सङ्कलित पाठ्य,श्रव्य,दृश्य सामग्री उपयोग गर्न पाउँछन् । यसले समस्त मानवलाई अवसर दिन्छ । पुस्तकालय ज्ञानको क्षितिज उघारेर फराकिलो आकाश चियाउन मार्ग प्रशस्त गर्ने साझा संस्था हो ।
यही अवधारणाबाट प्रेरित छ नेपाल लाइब्रेरी फाउन्डेसन (नेपाल पुस्तकालय प्रतिष्ठान ।) नेपाल लाइब्रेरी फाउन्डेसन सन् २००८मा क्यानडाको सम्पर्क कार्यालयको रुपमा सुरु भएको संस्था नै २०६९मा नेपाल लाइब्रेरी फाउन्डेसन स्थापना भई नेपालका दूरदराजसम्म पुग्दै छ । यो दूरदराजमा रहेका बालकहरूलाई ज्ञानको ज्योतिले आफूतिर तानेर उनीहरूको भविष्यमा गति प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो । यसको विशिष्ट योगदानले आजसम्म तीन सयभन्दा बढी पुस्तकालय स्थापना भइसकेका छन् भने पन्ध्रवटा भन्दा बढी पुस्तकालयको प्रवर्धन गरिसकेको छ । यसले निकट भविष्यमा नेपालभरि पुस्तकालय सञ्जाल पु¥याई चेतनाको स्तर उठाउन बल गरिरहेको छ । यसले सिर्जनात्मक सिप र व्यवहारबाट सभ्य एवं सक्रिय जीवनका लागि आवश्यक ज्ञान, सिपको विस्तार गर्दै आएको छ । यसको थप प्रभावकारिताका लागि यो पठन संस्कृति प्रवर्धनका लागि पुस्तकालय मूल शीर्षक अन्तर्गत विभिन्न उपशीर्षकमा नियमित बहस सञ्चालन गर्ने योजना बनाइरहेको छ ।
नेपाल लाइबेरी फाउन्डेसनको यो नियमित बहस बालकहरूमा पुस्तक पढ्ने बानी कसरी बसाउन सकिन्छ भन्ने एक मात्र लक्ष्य राखेर सुरु गरिएको हो । आजका कर्णधार बालकको मूल्यवान् बालउमेर पुस्तकप्रेमी बनाएर उपयोग गर्न– गराउन सकियो भने सामाजिक विकास र देशको समृद्धिमा भरपर्दो टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ । यो झट्ट सुन्दा र अनुमान गर्दा सामान्य लाग्न सक्छ तर यसको अन्तर्यमा पसेर हेर्ने हो भने यो अति महत्त्वपूर्ण कार्य हो भन्नेबारे दुई मत नरहला । यसले समयको सदुपयोग त गराउँछ नै सँगसँगै कर्मशील जीवनका लागि आवश्यक ज्ञान, सिप र उत्प्रेरणा पनि प्रदान गर्छ ।
यस नेपाल पुस्तकालय प्रतिष्ठानले समाजको प्रत्येक सदस्य दिनमा एकपटक, नसके हप्तामा एकपटक, अझ यो पनि सम्भव नभए पन्ध्र दिनमा एकपटक पुस्तकालय छिरोस् र वर्षमा २४ दिन अनिवार्य रूपले पुस्तकालयमा पसोस् । ऊ आफू एक्लै होइन साथी लिएर पसोस् । साथीहरू लिएर पसोस् भन्ने विशिष्ट उद्देश्यबाट प्रभावित र प्रेरित भई समाजका प्रतिनिधि समूहका विशिष्ट व्यक्तिहरू बिच अन्तरक्रिया गराई त्यसबाट निस्केको निचोडलाई मार्गदर्शक सिद्धान्त मानेर आफ्ना गतिविधि अघि बढाउने नै छ । यहाँहरूबाट प्राप्त सुझाव र सल्लाहको उचित कदर हुनेछ भन्ने विश्वास दिलाउँछौँ ।
यो पठन संस्कृति प्रवर्धनका लागि पुस्तकालय मूल शीर्षक अन्तर्गत बाह्रवटा उपशीर्षक राखी प्रत्येक महिनाको पहिलो शुक्रबार अन्तर्कियात्मक विमर्श गर्ने हाम्रो प्रयास मात्र हाम्रो नभई हामी सबैको साझा प्रयास र दायित्व बन्न सकोस् भन्ने सामूहिक भावनाको उच्च सम्मान सबैतिरबाट हुनेछ भन्ने विश्वासले हामीलाई हौस्याएको छ । यहाँहरुको साथ र सहयोगले बल बढाउने नै छ ।
प्रकाशित: २९ मंसिर २०७७ ०७:५९ सोमबार