कला

यलम्वर संगीत प्रतियोगितामा खोटाङकी प्रवृत्ति राई प्रथम

विजेतालाई हङकङ जाने अवसर

एलम्बर संगीतका निर्णायक तथा आयोजक । तस्बिर : नागरिक

यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रवृत्ति राई प्रथम भएकी छन्। किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समिति काठमाडौंले अनलाइनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरेको यलम्वर संगीत प्रतियोगिताको शनिबार भएको फाईनल अडिसनमा प्रवृत्तिले प्रथम स्थान ओगटेकी हुन्। २०७५ साउन २ गते ओखलढुंगामा सम्पन्न भिजन आईडल फस्ट रनरअप जितेकी प्रवृत्तिले टप टेनमा पुगेका प्रतिस्पर्धीलाई उछिन्दै यलम्वर संगीत प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेकी हुन्।  

द यलखिम रेष्टुरेण्ट पार्टी प्यालेस ललितपुरमा आयोजना गरिएको फाईनल अडिसनमा सुनसरीकी सरिता राई दोश्रो र खोटाङकै लकेस राई तेश्रो भएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले बताए। यस्तै, दर्शक छनौटमा सुनसरीका रामकुमार राईलाई उत्कृष्ट प्रतिभा घोषणा गरिएको छ।  

यलम्वर संगीतका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीलाई क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण–पत्र प्रदान गरिने छन्। भर्जुअल प्रतियोगिता गरिएकाले विजेतालाई केही समयपछि पुरस्कार प्रदान गरिने किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ। सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरसको महामारीका कारण अनलाइन संस्करणमार्फत विश्वव्यापी बनाइएको किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष रामकर राईले बताए।  

प्रतिस्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो। जसका लागि विभिन्न १० देशका २१३ जना प्रतिस्पर्धीले भाग लिएका थिए। प्रतियोगीले आफ्नो ‘ओरिजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलव्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा विभिन्न चरणका प्रतिस्पर्धा गराउने व्यवस्था मिलाइएको थियो। प्रतियोगितामा वरिष्ठ संगीतकर्मी सुर्य थुलुङ, शम्भु राई, शान्तिराम राई, पार्वती राई र राजुएन राईले निर्णायकको भूमीका निर्वाह गरेका थिए। एलम्बर संगीतको फाईनल अडिसन गायक तथा संगीतकार जितेन राई प्रमुख आतिथ्यता एबं किरात राई यायोक्खाका महासचिव जनक राईको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो।  

किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो। हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्वर संगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन्। प्रतियोगीतामा किरात राई समुदायका प्रतिभाले मात्र सहभागिता जनाउन पाउने व्यवस्था छ भने सहभागीले किराती विषयमा सम्बन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने मापदण्ड छ।  

विजेतालाई हङकङ जाने अवसर

यलम्वर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवसर पाउने भएका छन्। हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किरात राई यायोक्खा हङकङले यलम्वर संगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतीका लागि लैजाने निर्णय गरेको हो। यलम्वर संगीत प्रतियोगिताका दोश्रो पुरस्कार विजेतालाई एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजकले जनाएको छ। पृथक क्रियसनले गीतको स्टुडियो खर्च निःशुल्क गर्ने र बाँकी खर्च जय राईले प्रायोजन गर्ने प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक थुलुङले बताए।

प्रकाशित: २८ मंसिर २०७७ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App